शालिग्राम अर्यालसबै चोरै चोर ?
नेता पार्टी भए चोर कर्मचारी छँदै थिए सत्ताको दाउमा ऐले चोरले आसनै लिए । काम चोर बढे ज्यादा दामचोर छँदै थिए मनचोर बढे ऐले ! धनचोर छँदै थिए ।

शालिग्राम अर्याल :
पीडाले थलियौं हामी सदियौँ नै निरन्तर
लडियो मुक्तिका लागि दिएनन् पार्टीले भर ।१।
युद्ध आन्दोलनै ठूला हाँकियो रन्कियो यहाँ
हजारौं मारिए जन्ता मुक्तित्व थन्कियो यहाँ ।२।
नेता महलमा थन्के, युवा थन्के विदेशमा
घरमा बालवृद्धा छन् नेतृत्व पर-भेषमा ।३।
सहमति हुँदै हुन्न नेताबीच कुनै छिन
राजनेता बने जोगी सत्ता दान गरिकन ।४।
पच्चिसौं वर्षदेखि यो पुराना पार्टीका गति
छोडौँ लागौं नयाँतर्फ शंकालु उसको मति ।५।
उपाय नहुँदा राम्रो भन्दा राम्रो लिनै पर्यो
उनैका मुक्तिनारामा केही साथ दिनै पर्यो ।६।
झुक्याए फेरि झुक्याए झुक्याउँदै सधैंभरि
भरोसा कसको मर्ने ? ढाँट्ला फेरि उसैगरी । ७।
नेता पार्टी भए चोर कर्मचारी छँदै थिए
सत्ताको दाउमा ऐले चोरले आसनै लिए ।८।
काम चोर बढे ज्यादा दामचोर छँदै थिए
मनचोर बढे ऐले ! धनचोर छँदै थिए ।९।
धर्म चोर अझै ब्यूँते, कर्म चोर पुरानिए
प्रोत्साहित सबै चोर सत्तासिन गरिदिए ।१०।
०००
धादिङ
(२०८१ भदाै १ गते धादिङमा लाेकार्पित “पुरानाे पाेकाे” कविता कृतिबाट।)
रचनाकाल : २०७५ को डायरी
Subscribe
Login
0 Comments
Oldest






































