साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्मकान्त र स्वर्गको खोज

बरू बेलाबखत मजदुरको खल्ती लुट्न विभिन्न यज्ञ र अनुष्ठान प्रायोजन गर्छन् तर दुवै तर्फका देउता बनाउने मालिकहरू आयोजनाको चक्रघट्टले पिसेका दिमागबाट प्रफुल्ल भक्त जन्मेको देखिएन ।

Nepal Telecom ad

शम्भु प्रसाद गजुरेल :

समृद्धिको आशामाथि गरिबीको लाठो बज्रेर थिल्थिलो भएको धर्मकान्तको शरीर र अलौकिक शक्तिद्वारा काल्पनिक स्वर्ग प्राप्त हुने कुरामा विश्वस्त बनेको मस्तिष्क हिजोआज कर्ममा भन्दा धर्ममा दौडिन थालेको छ । बिहानै वस्तुभाउलाई घाँसपानी गरेर खेतीपाती चाहार्ने, गम्खा, समाह थुन्ने आफ्नो दैनिकीमा विस्तारै भक्ति कार्य पनि थपेको छ उसले । प्रारम्भमा केवल सङ्केतात्मक भएको आराधनाको शङ्ख ध्वनिले बिस्तारै तपस्याको स्वरूप धारण गर्दै गयो । हेर्दाहेर्दै धर्मकान्त कर्मकान्तबाट धर्मकान्तमा रूपान्तर हुने क्रम नर्कट घाँस (नेप्पियर)को वृद्धि जस्तै तीव्र भयो, हलक्क, सलक्क तर कमिलाले खोतलेको जरो जस्तै सिम्सिम पानीले पल्टाउने खालको आधार रहित । धर्म आस्था हो कर्म पूजा हो भन्ने सिद्धान्तले ओतप्रोत वाक्यांश जन्माउने धर्मकान्तमा यो आमूल परिवर्तन आउनुको कारण भने आफ्नो वाक कलाले बाघ नारेर खेत जोत्ने खालको तिकडम जानेका घिउ पण्डितको मदानी दिमाग नैं थियो । हरेक बिहान शङ्ख फुकेर निधारमा लामो टीका लगाउँदै गाउँ तथा शहरबाट दान असुलेर ठाँटले बसेको घिउ पण्डित मिठा शब्दले आफ्नो सुखको आधार प्रभु भक्ति भएको बताउथ्यो । तपस्या, दान, जप तथा तीर्थ यात्राले भगवान प्रसन्न हुने र यो लोकमा ऐश्वर्य र परलोकमा ऐश्वर्या प्राप्त हुने कल्पनाको लड्डु बारम्बार खुवाउँथ्यो । भक्तिमार्गमा दौडेको धर्मकान्तको नजरले दायाँबायाँ देख्न छोड्यो अनि बालीनालीले आली नाघ्न छोड्यो । दातव्य प्रदान र यात्राको व्ययभारले हाहाकार बनायो गृहको चुलोमा, ढुकुटीमा साङ्लाका पखेटा र खुट्टामात्र भेटिन थालेको पनि लामै समय भयो ।

कङ्गालको वर्गमा झरेको धर्मकान्तको द्वारमा गुहार माग्न पुग्यो तर अब धर्मकान्त धर्मे मात्रै भैसकेको थियो तब त घिउ पण्डितको दुर्वाच्य सुन्न बाध्य भयो ऊ । आर्थिक अवस्था खस्केको धर्मेले आज घिउ पण्डितको पिँढी टेक्न पाएन बेमेल जातीय भिन्नताको कारणले । मनमा च्वास्स घोचे जस्तो भएको धर्मेको मनोदशा नियालेर बसेको पिटरप्रसाद उपाध्यायले झम्ट्यो तत्काल अनि सुम्सुम्यायो ढाडमा दशैँको खसीको ढाड छामे जस्तै गरेर । तिलको तेलमा दियो बालेर धुपौरामा धूप धुवाउँदै नारनपातीको फूल र चन्दन अक्षताले भगवान रिजाउन तल्लीन धर्मे घिउ पण्डितको व्यवहारिक टोकाइले चिच्याउँदै पिटरप्रसादको प्रभु पसलमा लोलाउन पुग्यो । कुरामा मात्रै होइन भनाइमा पनि भिन्नता थियो त्यहाँ ! ईश्वर प्राप्त गर्न कठोर तपस्याको मार्ग बताउने पण्डितले प्रायः नग्न देहले आराधना गर्नुपर्ने बताउने गरेकोमा पिटरको धर्म पसलमा टिलिक्क टल्केका जुत्ता लगाएर प्रवेश गर्न पाइन्थ्यो । दियोको सट्टा मैनबत्ती बालिन्थ्यो, शङ्ख घण्टको स्थानमा गितार र ड्रम बज्थे मुर्तिमा रङ्गीन चन्दन नचढाए पनि पूजा मुर्तिकै हुन्थ्यो त्यहाँ पनि । चुस्ने उता पनि थिए यता पनि, मुक्तिको चाहनामा समर्पित भएकाको भावनामा घुसेर मगज कब्जा गर्ने खेलमा समर्पित धार्मिक माफियाले कमजोर मानवलाई आकर्षण गर्ने र दास बनाउने गर्दा रहेछन् । सत्तलबाट सुतलमा उक्लेको अनुभूति गर्नुपर्ने धर्मकान्त आकाशबाट खस्यो रुखमा अड्क्यो भनेको जस्तै अनुभव गर्दै थियो । भेटी दुवैतर्फ दिन जरुरी थियो भिन्न भिन्न प्रयोजनको लागि । जल दुबैतर्फ पिउन पर्थ्यो एकातर्फ पिसाब खुवाइन्थ्यो भने अर्कोतर्फ मदिरा पिलाइन्थ्यो ।

समृद्धिको सम्म मैदान खोज्न भौतारिएको धर्मकान्त नयाँ बजारमा टहलिँदा नवीन नामाकरणको दबाबमा परेर गुम्सिएको बेला मान्छेले निर्माण गरेका मुक देवता अनि तिनका रखुवालेको समान धारणा रहेको जब ज्ञात भयो तब जन्मसिद्ध भगवान खोज्ने विश्वास बोकेर नाम परिवर्तन नगर्ने निर्णयमा पुग्यो ऊ । फर्कियो आफ्नै घरमा तर अहिले ऊ भक्त थिएन आलोचनाले भरिएको स्वधर्मी थियो ऊ । देवताको धुकुरी बजाएर र ध्वाँसको खुकुरी नचाएर देव आशीर्वाद पाउने भनाइ जालीको जालो हो भन्ने पनि बुझ्यो उसले । आदर र सत्कारलाई रत्तिभर नघटाउँदै अन्ध भक्तिको रसातलमा हिस्स परेर नबस्ने दृढ सङ्कल्प बोकेर कर्मको खेतबारी स्याहार्न जुट्यो धर्मकान्त । बरू बेलाबखत मजदुरको खल्ती लुट्न विभिन्न यज्ञ र अनुष्ठान प्रायोजन गर्छन् तर दुवै तर्फका देउता बनाउने मालिकहरू आयोजनाको चक्रघट्टले पिसेका दिमागबाट प्रफुल्ल भक्त जन्मेको देखिएन । बरू पसलेलाई प्रश्न सोध्नेको लर्को लाग्न थालेको थियो । दौडधुपको धपेडी र विश्वासमाथिको प्रहारले घाइते मनमा कर्मको मलहम दलेर कल्पनाको मुर्कट्टो कथा बेच्ने कोचलगाँडाका नायकलाई तृण जस्तै मान्ने उद्घोषण गरेर बाँ बाँ गर्दै कराउँदै गरेकी गाईलाई घाँस काटन थाल्यो खोलाको किनार तर्फ गएर धर्मकान्त ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x