रेहित सैजुमान्छे महान्
मान्छेसँग न तीखा तीखा नङ्ग्रा छ, न धारिला पुच्छर छ, न जिब्रोमा विष छ, न उड्न जान्छ, न कसेर कुद्न जान्छ, पानीमा पौडने त टाढाको कुरा एक मिनेट पानीभित्र डुबेर बस्यो भने त्यही अन्तिम क्षण हुन सक्छ ।

रेहित सैजु :
सामान्यतयाः मान्छेहरू स्थलीय (टेरेस्ट्रियल) प्राणी हुन् । तर अब यो यत्तिमा मात्र सीमित हुने छैन किनकी मान्छेले स्थलचरका त भइ नै हाले अब यसको अलावा जलचर, उभयचर, चराचर सबैखाले प्राणीको हक अधिकार सबै सबै भोग गर्न सफल भइसकेका छन् । सङ्ख्यात्मक मान्छेले असङ्ख्य प्राणीलाई आफ्नो तहमा राख्न सकेकै भएरै हुनुपर्छ मान्छे आफूले आफैलाई प्राणी जगतको सर्वश्रेष्ठ प्राणी भनेर परिभाषित तेर्स्याई हिँडेको ।
पृथ्वीमा स्थल एक चौथाइ भाग मात्र रहेको छ । अझ यसमा पनि धेरै जस्तो भाग पहाड, पर्वतले ओगटेको छ । तसर्थ भन्ने नै हो भने मान्छेका लागि पृथ्वीमा राज गर्न धेरै ठाउँ भने पक्कै छैन । केही सीमित स्थलीय भागमा पनि हिंस्रक जनावरहरू बस्ने भएकाले मान्छेका लागि ठाउँ थोरै मात्र छ । यो धर्तीमा क्षेत्रफल ओगटेको हिसाबले जलचर, उभयचर र चराचर प्राणीको बिगबिगी हुनुपर्ने हो तर विडम्बना यी प्राणीहरू चाहिँ दिनप्रतिदिन मान्छेबाट असुरक्षित छन् । प्रकृतिको विभाजनलाई फेल खुवाउन सफल भएकोले नै मान्छेलाई महान् ठहरिएको हो कि भन्ने भान लगाउन सकिन्छ ।
सम्भवतः मान्छेको उत्पत्ति आजभन्दा ६० लाख वर्षअघि भएको मानिन्छ । तर जलचर, उभयचर प्राणीको उत्पत्ति करोडौं करोड वर्ष अघि भएको हो । हुन त यो क्रमविकासको सिद्धान्त हो र पनि मान्छेसँगै अन्य कति प्राणीहरूको उत्पत्ति भएका थिए होलान् तर मान्छेको यो नरभक्ष रूप यी प्राणीहरूले एक थोप्पा सोचेका पनि थिएनन् होला… । र त अहिले ती प्राणीहरू लोप्पा खाइरहेका छन् । मान्छेले हिंसा गर्न बाँकी प्राणी सायदै छैनन् भन्दा अचम्म मान्नु पर्ने कुरै छैन । मान्छेसँग न तीखा तीखा नङ्ग्रा छ, न धारिला पुच्छर छ, न जिब्रोमा विष छ, न उड्न जान्छ, न कसेर कुद्न जान्छ, पानीमा पौडने त टाढाको कुरा एक मिनेट पानीभित्र डुबेर बस्यो भने त्यही अन्तिम क्षण हुन सक्छ । लौ तपाईं आफैँ भन्नुस् त यो बबुरो लेखकलाई, मान्छे अरु प्राणी भन्दा कसरी महान् बन्न सक्यो ?
तपाईं भन्नु होला, मान्छे अत्याधुनिक प्रविधिमा पोख्त छ । मान्छेले नजान्न बाँकी लगभग केही राखेको छैन । उबेला देवी देवताले गर्न नसकेको चमत्कार मान्छेले गर्न सकेको भएरै मान्छेलाई महान् नै मान्नु पर्छ । होशियार ! यस्ता पानीआन्द्रे तर्क बोकेर मेरो अघि देखा नपर्नुस् है । फेरि देब्रे कान टिनिनिनिनि… बज्ने गरी भेट्नु होला… ! हो, यो लेखक मान्छ । मान्छेले यावत् खानीहरूको अनुसन्धान र उत्खनन गरेर अनेक अनेक वस्तुको प्रयोग र फ्युजनमा गगनचुम्बी महल ठड्याए, मोटर, सडक, पुल, पानीजहाज, हवाइजहाज, रकेट, बम लगायत विभिन्न सञ्चारका साधनहरूको आविष्कार गरे । के यी मान्छेलाई साँच्चै आवश्यक थिए ? यी बेतुके चकचक मान्छेले कतिञ्जेल उपभोग गर्न पाउँछन् ? यो त पृथ्वीमाथिको ज्यादतीपन हो । प्रकृतिको स्वरूपलाई जानी जानी बिगार्ने मान्छे महान् होइन दुष्ट नै हो भन्ने मेरो ठम्याईं रहेको छ ।
यो मान्छेको अनावश्यक हुर्मत देख्दा अचम्म लागेर आउँछ भन्या । अरु प्राणीहरू चुपचाप आफ्नै शैलीमा जीवन व्यथित गर्छन् । उनीहरूको जीवन सरल, सामान्य छ । तर मान्छेको जीवन असहज, जटिल छ । मान्छेलाई केही गर्दा पनि पुग्दैन, हुँदैन । मान्छे भन्नु यावत् भोगीहरूको आजन्म रोगी हो । वस्तुवाद, भौतिकवाद, यथार्थवाद, स्वयं चिन्तनवादको स्वाद चाख्न छाडी टपरटुय्याँवादको पछाडि लागिरहेका छन् । मान्छे आफू आफूमा विभाजित छन् । मान्छेमा द्वन्द्व छ । जसको प्रत्यक्ष असर अन्य अन्य प्राणीमा परिरहेको छ । तर मान्छेलाई यसको केही मानेमतलब छैन । मान्छेको गुण, क्षमता, या धर्तीमा मान्छेको आवश्यकता के कसो हो त्यो सृष्टिकर्ता आफै जानून् ।
मान्छे असन्तुष्ट प्राणी हो भन्नेमा कुनै दुईमत छैन । अरु अरुको नक्कल गर्न मान्छेलाई आजसम्म कुनै प्राणीले भेट्न त के कैयौँकोश पर रहेको छ । मान्छेले आकाशमा चरा उडेको देख्यो, उसले पनि उड्न खोज्यो तर सकेन । राइट ब्रोदरले यसको बारे खोज अनुसन्धान गरे र इन्जिनको प्रयोगले हवाइजहाज बनाएर उडाइ अवतरण गराएरै छाडे । अहिले आकाशमा चरा भन्दा ज्यादा हवाइजहाज नै होलान् । यिनीहरूले उडन्ते प्राणीको अधिकार लुटे, अब राइट ब्रोदरलाई फाइट खेलेर कारवाही कसले गर्ने ?
त्यसैगरी मान्छेले नदी समुद्रमा जलचर प्राणी पौडेको देखे, उसले पनि पौडन खोज्यो तर सकेन । पहिलो कुरो जलचर प्राणीले गिल्सको सहायताले श्वास फेर्छन् मान्छेले फोक्सोले अनि कुरो कसरी मिल्छ ? अन्ततः जलचर प्राणीले जस्तो खोला नदीमा एडजस्ट गर्न नजाने पनि मान्छेले पानीलाई मनोरञ्जन, यात्राको माध्यम बनाउने सोच बोकेर आयो । एकान्तमा बसी यसमा लामो खोज, अध्ययन अनुसन्धान गरेर प्लवनले ‘कुनै पनि वस्तु पानीमा उत्रिन, पौडिन उसले आफ्नो तौल बराबरको तौल तरल पदार्थमा विस्थापित गर्नु पर्दछ’ भन्दै सिद्धान्त प्रतिपादन गरे । यत्ति भएपछि अरु के चाहियो र… त्यसपछि पानी जहाज लगायत थुप्रै मनोरञ्जनका साधन बन्न थाले र मान्छेले प्रयोग गर्न थाले । अहिले त जलमार्ग सबैभन्दा छिटो, भरपर्दो माध्यम भनेर यसैतर्फ नजर दौडाइरहेका छन् यतिखेर मान्छेहरू । प्लवनको यस्तो हर्कतले कति जलचर प्राणी असुरक्षित भए, कतिले अनाहकमा मर्नु पर्यो त्यो कसले बुझ्न सक्लान्… ? ओहो ! मान्छेहरू पानीभित्र घर बनाइरहेका छन् । सडक, पूल, शहर बस्ती नै बनाइरहेका छन् । मान्छे किन यति साह्रो महत्वाकाङ्क्षी ? उफ्… ।
ल ठिक छ, यति त भइगो, हुँदाहँदै मान्छे अहिले पृथ्वीको मरुञ्जेल ज्यादती गरेर अन्तरीक्ष, अन्य ग्रहतिर पनि लम्किरहेका छन् । यहाँ प्रतिस्पर्धा छ, कुन देश पहिलो पुग्ने… कसले रोचक र रहस्य तथ्य पत्ता लगाउने… मानव बस्ती बसाल्न मिल्छ कि मिल्दैन… यस्तै यावत् कुराहरू… मङ्गल ग्रहमा पानी होस् कि नहोस् मान्छेलाई केको टाउको दुखाई… ? चन्द्रमामा जुनसुकै ग्याँस होस् मान्छेले सोच्नु बुझ्नु पर्ने कुरा फिटिक्कै हो जस्तो लाग्दैन । पृथ्वीको ब्रुटल्ली हत्या गरेर अझै पुगेन मान्छेलाई ? म भन्छु, मान्छे पृथ्वीको उपज हो । पृथ्वीको चक्रको एउटा केवल सानो एकाइ मात्र हो । पृथ्वी हामी सबै प्राणीहरूको साझा घर हो । धनी र शक्तिशाली देशहरूको चुरीफुरी पो कहिले समाप्त होला… मान्छेले पृथ्वीलाई सानो बिरौटा बारी सम्झेका छन्… किन यति सस्तो बनाइँदैछ पृथ्वीलाई ? लेखक यो सवालको हाक्काहाक्की जवाफ दिने माइकलाल खोजिरहेको छ । तपाईंले कतै पाउनुभो भने खबर दिनु है त… !
अलि पहिलेका मान्छेहरू प्राकृतिक ओडार, गुफामा बस्थे । पछि बिस्तारै स्थान्तरण हुँदै घर भवनमा सरे । यो क्रम यत्तिमै सीमित भएन । अहिले त पहाड भन्दा अग्ला टावरहरू बनिसकेका छन् । अग्ला अग्ला गगनचुम्वी टावरको पावर देखाएर साना तथा कमजोर राष्ट्रलाई त्रास धम्की दिने देशहरूको हैकम पनि हेरिनसक्नुको छ ।
मान्छे जत्ति फगत फोगटिया प्राणी यो जगतमा कुनै पनि छैनन् । भन्न त मान्छेले आफूलाई प्राणीहरूमध्यकै उत्तम प्राणी हो भनेर चिनाउँदछन् तर वास्तवमा भन्ने हो भने मान्छे यो संसारको खत्तम प्राणी हो । मान्छे बाहेक अरु प्राणीहरूको न देश हुन्छ न त तोकिएको साँध सीमा नै । उनीहरू स्वतन्त्र छन् । तर मान्छे परातन्त्र खेपेर बाँचिरहेको छ । यदि ऊ सँग नागरिकता भएन भने उसको अस्तित्व, पहिचान नै धरापमा पर्दछ । उसलाई निश्चित साँध सीमाभित्र राखिएको छ । उसलाई देश दिइएको छ । र उसको हातमा उक्त देशको नागरिकता अथवा परिचयपत्र थमाइदिएको छ । ऊ राहदानीबिना देश छोड्न सक्दैन । मान्छे सीसाको एक्वारियम भित्र बस्नुपरेको माछाजस्तै हो । केहीगरी उसले नीति नियम भुल्यो भने मृत्युवरण गर्नुपर्ने पनि हुन सक्छ ।
अन्तमा, मान्छे पनि ढुङ्गे युग हुँदै आज वैज्ञानिक युगसम्म आइपुगेको हो । यहाँसम्म आइपुग्दा मान्छेले साँध सीमा, क्षेत्र सबै बनाउन भ्याए । आफ्नो बल, बुद्धि, शक्ति प्रदर्शन गरेर सबैलाई आफ्नो हैकममा राख्न सफल भए । आफ्नो सजिलोको लागि मनमोजी गर्न थाले । समयको बहावसँगै बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण, रोग, भोक, अभाव, असीमित इच्छा, आकाङ्क्षा, आवश्यकताले स्वयं आफूलाई इतर बितर बनाएको मान्छेले देख्न सक्छन् या सक्दैनन् त्यो तिनै मान्छे जानून् ।
मान्छे धाक देखाएर ‘हामी धर्तीका महान् हौँ, सर्वश्रेष्ठ प्राणी हौँ’ भन्दै नाक फुल्याउँछ भने त्यो भद्दा मजाक बाहेक अरु हुन सक्दैन । यो लेखकले मान्छे महान् भएको कुरा स्वीकार्न सक्दैन । लेखक भन्छ, ‘धर्तीमा सबै प्राणी समान हुन्, सबै सृष्टिका उपज हुन्, एकअर्कासँगको अन्योन्याश्रित सम्बन्धले नै सृष्टि चलेको हुन्छ, सबै प्राणी एउटै सरल रेखामा समानान्तर भएर चलिरहेका छन्, बरू मान्छेले स्वीकार्ने कहिले ?’
०००
रामेछाप










































Wow
निबन्धात्मक लेख अत्यन्तै राम्राे छ।वास्तवमा मान्छे संसारकाे सर्वश्रेष्ठ प्राणी हुदै हाेइन,समानान्तर प्राणी मात्र हाे प्रकृतिकाे सृष्टिमा।
रामेछापे ठिटाेले देब्रे कान टिनिनिनी बजाइदिंदा धेरै महान् मान्छेहरू अस्पतालकाे भेन्टिलेटरमा पुगेकाे खबर यतिखेर भाइरसका रूपमा फैलिएर भाइरल बनेकाे समाचार छ
वास्तवमै मान्छेले आफुलाई के के न सोच्दासोच्दै पञ्च्तन्त्रका विद्वान जस्तै बनाएको छ नि ! सहि कुराको उज्जागर साने !! जय होस् !!!
सराहनिय