डा. सत्यराज थपलियागर्न चाहिँ गाह्राे
"अल्छी तिघे ! स्वादे जिभ्रे ! त्यसै मिल्छ चारो ? भन्दा उल्टै रिसाएर मुठ्याउँदै घारो । "आइन्दा क्यै बोल्यौ भने झारिदिन्छु दाह्राे"। भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥

सत्यराज थपलिया :
बास्नाबिना फुले जस्तै पलाँसको फूल ।
अकर्मण्य बन्नु नै हो जिन्दगीको भूल ॥
“आम्दानीको बाटो केही छैन तातोछारो ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥१॥
घुँडोमुन्टो गरेर पो के भयो खै सार ?
खोज्छन् सबै सम्पत्तिमा मात्रै अधिकार ॥
“खडेरीले सुकाउँछ पानी जरुवाको” ।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥२॥
के हो आफ्नू कर्तव्य ? यो कल्ले याद गर्छ ?
भन्छन् अझै “भएपर्छ, नभएमा टर्छ” ॥
“समाजैले निन्दा गर्छ जाँगरमरुवाको ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥३॥
“अल्छी तिघे ! स्वादे जिभ्रे ! त्यसै मिल्छ चारो ?
भन्दा उल्टै रिसाएर मुठ्याउँदै घारो ।
“आइन्दा क्यै बोल्यौ भने झारिदिन्छु दाह्राे”।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥४॥
रित्तो गाग्री भरिंदैन थापी सुके धारो ।
आलस्यले बनाउँछ जिन्दगी नै थारो ॥
“पुऱ्याउनै परे पैल्यै गर्नुपर्छ फारो” ।
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥५॥
सन्तानको हृदय भो ढुङ्गाभन्दा साह्रो ।
हुँदो कुरा बोल्दा पनि चढाउँदै पारो ॥
“बसीबसी खसाल्छु म आकाशको तारो ।”
भन्न धेरै सजिलो छ, गर्न चाहिँ गाह्रो ॥६॥
०००
काठमाडाैं
रचना : २०७६।१२।०६
Subscribe
Login
0 Comments
Oldest







































