डा. सत्यराज थपलियागोरुको गन्थन
कल्ले ध्यान दिएर सुन्दछ यहाँ यो गोरुको गन्थन ? यी आफ्नै घरगाउँबाट अहिले बन्दै छु विस्थापित । पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ?

डा.सत्यराज थपलिया :
भन्थे क्वै घिउभात बाबु त मरे बल्दो मरेमा सब ।
राख्दै हात निधारमाथि पहिले रुन्थे कठै ! मानव ॥
कल्ले गर्दछ याद गोरु अहिले बाँचोस् मरोस् ? वास्तव ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥१॥
जोत्ने गोरु भनी स्वयं दिनदिनै पीठो, ढुटो, चामल ।
अण्डा, तेल, कुनाउरो अघि कुनै दिन्थे मलाई, सब ॥
आयो जोत्न नवीन यन्त्र म यहाँ बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥२॥
पैले गोरु छिटै अघाउनुपर्यो भन्थे विहानै उठी ।
सोर्थे गोवर नित्य सोतर स्वयं ल्याएर हाल्थे जुटी ॥
ऐले यन्त्र छ गाउँमा र त्यसले पार्दै छ विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥३॥
पानी घाँस परेन ख्वाउन, त्यही पेट्रोल हाले पुग्यो ।
बढ्ता सक्दछ जोत्न ट्याक्टर यही के काम त्यो गोरुको ?
भन्छन् मानिस आज गाउँघरमा बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥४॥
गौसेवा अहिले कथा बनिसक्यो को सुन्छ ? को गर्दछ ?
गाईगोरु लखेटिंदा सडकमा बेवारिसे छौँ सब ॥
सीमापार पुऱ्याइँदै छ अझ क्वै गर्छन् यहीं नै वध ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥५॥
मेरा मालिक हुन् महेश्वर उनी छन् भाङले रन्थन ।
कल्ले ध्यान दिएर सुन्दछ यहाँ यो गोरुको गन्थन ?
यी आफ्नै घरगाउँबाट अहिले बन्दै छु विस्थापित ।
पीडा, सङ्कट, दुःख, दर्द दिलको पोखूँ कहाँ ? कोसित ? ॥६॥
०००
रचना : २०७६।०९।१४/
Subscribe
Login
0 Comments
Oldest







































