शिवप्रसाद जैशीविवेकका मलामी
अहिले भने नरम शक्ति प्रयोग गरेर पूर्ण रुपमा विवेकको क्रय विक्रय हुन्छ। अदृष्य रुपमा लिलाम बडाबडको माध्यमद्वारा मानिस, मानिस उकाल्ने भर्याङ, बस्ने स्थानको मुख देखाउना साथ विवेक लिलामहरूको सट्टा भर्ना गरिन्छ आलोपालो।

शिवप्रसाद जैशी :
शब्दकोशले भन्दो रहेछ विवेक भनेको असल र खराब, सत्य र असत्य, न्याय र अन्याय आदि छुट्याउने काम; त्यस्तो क्षमता वा ज्ञान। प्रकृति र पुरुषको भिन्नताको ज्ञान। बुद्धि; समझ। सत्यको ज्ञान; यथार्थको ज्ञान। मलाई थप्न मन लागेको मानिस र अरु प्राणीमा भिन्नता। भौतिक वस्तुहरूको प्रयोगको वास्तविक ज्ञान। अनुसन्धान, अध्ययन र नवप्रर्वतन गर्न सिकाउने तत्व। यो ब्रह्माण्डको यथार्थता पत्ता लगाउन मानिसलाई उद्धेलित गराउने प्रेरणाको स्रोत। विज्ञानको उत्खनन गर्न घट, मन, हृदय र मस्तिष्कलाई घच्घच्याउने अभौतिक शक्ति, तागत, बल।
मलामी, मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथमा जाने व्यक्ति। मलाई अलि थप्न मन लागेको शवको सद्गति गरी नुहाइ आगोको सानिध्यमा गएर मसान भगाइ घर फर्कने मानिस वा मानिसको समूह। परलोक भएका मानिसको सानिध्यमा पुग्दा विवेकको निर्देशनमा दुःखका अश्रुधारा निस्कने, अनुहार मलिन हुने, साइनो अनुसार ढोग, नमस्कार र आशीर्वाद लगायत शुभकामना आदानप्रदान गर्न बञ्चित भएको अवस्था हो मलाम। औपचारिक र अनौपचारिक वातचितबाट अलग्गिएर मानिसको अन्तिम यात्राको साक्षी हो मलामी।
विवेक सक्रिय भएर सत्यको नजिक पुगेको अनुभूतिमा आफ्ना इन्द्रियहरूमाथि विजय प्राप्तगरी आफ्नै मलामको प्रतिबिम्बको अवस्था हो मलाम र मलामी जानु। मुर्दाको मलामीमा विवेकको अन्तरकुन्तरमा कसैको आवास र आभास दुवै हुँदैन।केवल सत्यको नजिक। अन्तिम यात्राको यथार्थता। पुनः भेट नहुने र बिदाइ गर्नेलाई थाहा नहुने अवस्थामा गरिएको श्रद्धा सम्मान जे भनेपनि हुने। निःस्वार्थ जवाइ।
विवेकको मलामी मुर्दाको मलामी भन्दा बिल्कुल फरक हुने देखियो। विवेकको मलामी जाँदा आँसु नआउँदा रहेछन्। हाँसोका खित्का मात्र होइन मलामी मन, घट र विवेक जायजेथातिर लम्केर लमतन्न परी लाजका ढोकामा चुकुल लाग्दो रहेछ। अन्तहीन आवश्यकताले विवेकलाई अर्धमृत अवस्थामा पुर्याउने र आधि बाँचेको विवेकले गर्न नहुने सबैथोक गर्न लगाउने देखियो। विवेकको बन्दुकले सन्दुक देखाउन थालेपछि विवेक नियन्त्रित अवस्थालाई विवेकको मलामी भन्दा उत्तम होला। विवेकलाई कतै पैँचोमा राखिएको, ज्यालामा बेचिएको, बस्तु विनिमयको माध्यम बनाइएको सजिव अवस्थाले लाज नपखालेपछि काज सरुवा दखिनतिर गर्ने र उतैको विवेकको बेटरीले मुटुको धड्कन चलाउने कुप्रथा रङ्क देखि मङ्क सम्म कैयौ पुस्ताले देख्ने भयो।
चाहना र आवश्यकता पुरा गर्न बोल कबुलमा सामेल भएको विवेकले वास्तविक खेलाडीले चलेको चाल नबुझेको, बुझ्न नसकेको, बुझपचाएर, जानाजानी अरुमाथि अन्याय गरेको, प्रलोभनमा परेको, धोकाधडीका फसेको। अदृष्य शक्तिको पासोमा परेर गर्न नहुने काम गरेको, न्याय र अन्याय सत्य र तथ्य छुट्याउन नसकेको, परिबन्धनमा परेको कारणले नहुनु पर्ने काम भएको अवस्थालाई विवेकको मलामी भन्नु पर्ने देखियो।
विवेक मर्दा र विवेकलाई मुर्दा मानेर मलामी जाँदा शरीरका तन्तुहरू सक्रिय हुँदा रहेछन्। इन्द्रिय र जनेन्द्रिय दुवै बडो उत्तेजित अवस्थामा हुँदा रहेछन्। विवेकमाथि सबै अवयवहरूको नियन्त्रणका कारण नै विवेक मरेको मानिँदो रहेछ। उही मानिस आफै आफ्नै विवेकको मलामीको अवस्थामा पुगेपछि उसले गर्ने सबै नाजायज कर्महरू लाजको ढोकामा सरो लागेर जायज हुँदा रहेछन्। लाजको साङ्लोले विवेकलाई कँडेलीले खैंचेर किलोमा दाम्लोले बाँधेपछि नाङ्लोमा निफनिएको ढुटोको मुठोले आँखबन्दि गरेर कुकर्महरू कर्ममा बदलिँदा रहेछन्।
ज्ञानको मसानले अज्ञानताको भूत छोपेपछि सिसि क्यामराले तर्साउन छोड्दो रहेछ। बन्धकमा राखिएको विवेकले परेलामा पर्दा झुन्ड्याउँदा बाहिरी संसारले नदेखेको भानमा अन्धोपनले जे पायो त्यही गर्दो रहेछ।
श्रीपेच खोस्न हिँडेको क्रान्तिकारी भ्रान्तिमा परेर श्रीपेच छोड्न तयार भूतपूर्वले बिसाएको चाकमा नाकले सुँघेर, आँखाले हेरेर सशरीर विराजमान भएर तस्बिर खिचेको दृष्यले वास्तवमा विवेकका मलामीको झझल्को दिएकै थियो। पटकपटक दूर नियन्त्रित विवेकहरू लँगौटी र पेटिकोटको गलपासोमा आफ्नो मलामी आफै भएको देखिएकै थियो, छ र यो क्रम टुङ्गिएला जस्तो पनि लाग्दैन, बसीबसी सिन्को नभाँच्ने कथा वाचकहरूलाई।
इराकमा आफ्नै मानिसको हलाल हुँदा यता विवेकका मलामीहरू भने खोजीखोजी आफ्नै सम्पत्तिको हलाल गर्न उद्धत थिए। दुवैतिर हलाल आफ्नै भएको थियो। उता ऋतिक रोशनले कुन्नी के भन्दा यता घाटतिर पुगेको विवेकले छानीछानी सम्पत्तिको हत्या गर्दै थियो। चिहानमा आगो झोस्दै थियो नुन र घ्यू थपेर।अलिकति तोरी र सर्स्यौका गेडा पनि।कुनै बेला एकजना उपल्लो दर्जानि चिन्ह प्राप्त शासकमा दर्जिएको मानिसले विदेशमा कमाएको रकमको ब्याज बापतको कलम उतै राखी मुद्रा अपचलन गरेको अभियोगको आरोपमा छ महिनासम्म रेलिङ भाँचेर सम्पत्तिको इहलीला समाप्त गर्दै थिए विवेकहीन हाम्रा हत्केलाहरू।
राष्ट्रका योद्धाहरूलाई त्रिशुलीमा ब्रह्मलिन गराइए। देश शोकमा डुब्यो। मनहरू बिचलित भए। बेचैन भए। छलकपटको गन्ध आयो। पत्ता लाउने निहुँमा महिनौँ बर्बरतरीकाले सम्पत्तिलाई आर्यघाट पुर्याोउन तयार भइयो। कसैको विवेकले निमिट्यान्न ती आस्थाका धरोहरको विवेक कसरी समाप्त पारियो अत्तोपत्तो नभै जिन्दगी धर्किन लागिसक्यो। नारायणहिटी पर्वको साक्षी बसियो। आधुनिक सभ्य युगको सबै भन्दा कलङ्कित हो नारायणहिटी पर्व जसको कुनै खोजबिन भएन।
राज्यविहीन राज्यको अनुभूतिले करोडौँ नेपालीलाई अहिले पनि झस्काउँछ। एउटा गोरु मर्दा समेत गाउँमा खेतीपाती नलाग्ने चिन्ता हुन्थ्यो। दर्जनौँ मानिस त्यो पनि सुरक्षा घेराभित्र छिनभरमा चेट। कस्तो भोगियो सम्झँदा पनि कहाली लाग्छ।
यस्ता दर्जनौं घटना र परिघटनाले कसको लिस्नो बलियो भयो, को माथि उक्ल्यो, कसको धुरी अग्लियो र कसको छानोमा पत्थर लागे भोग्नेले भोगे, देख्नेले देखे।सामसुम गुपचुप कसैको मुख बाइएन जिब्रो फट्केन।कोही फाँसिमा लट्केन। अन्याय जति न्यायमा परिणत भए।
माथि मोज र भोज, तल माथिका इसारामा भएको मृत्युको शवलाई छैन खोल भएको भएइछ। यो विवेकको हत्या उहिल्यै दरबार भित्र सीमित थियो। कोतपर्वमा जोतिएकाहरूले पाएनन् न्याय। जित्नेहरूले पनि त कहाँ पाएर न्याय लुकाइलुकाई धाई आमाले बचाइ दिएकाहरू बल्ल राणाशासनको अवसानको पौने एक सय वर्षपछि कताकता जमघट भएको त्यो पनि पर्दामा होइन समाजिक सञ्जालमा देखापर्दैछन्। शरीर मारिएका धाइ आमाहरूको जीवित न्यायिक विवेकले धन्न यिनको संरक्षण गरेको पाइयो। छ होला कतै तिनको मन, मुटु र घटमा ती जोगाइदिने धाइ आमाप्रति श्रद्धा ? अहँ मलाई लाग्दैन मेरो यो निजी विचार हो।
कसैलाई लाग्छ भने प्रमाण पेश गरेर आउनु होला मेरो विचारमा पुनरविचार गरौँला। इतिहास खोतल्दा र आजको डिनए परीक्षण गर्दा भित्रको वास्तविक वंश परम्पराका बारेमा थाहा हुँदो हो तिनका घुसपैठ, खिचातानी, मारापिटीमा खुँडाको आलो रगतको कथा पढ्दा र सुन्दा त राजाहरूको उमेर र ड्रगनफ्लााइ उमेर उस्तै थियो-पखेटा आयो कि परमधाम।
सत्तामा पुर्या उन लत्ता दिनेहरू बेपत्ता भएको सबुदहरू धेरै छन्। सत्तामा पुर्या उन आफ्नो गच्छेअनुसार भत्ता दिनेहरूको सत्तासीनहरूको व्यवहारले कता अर्कै भूमिमा आत्महत्या भएको सुनिन्छ। सत्तामा पुर्या्उन सुरक्षामा पल्टिनेहरूको पखेटाको नापो नमिलेर लखेटामा पर्न थाल्छन्। सत्तामा पुर्याषउन बास दिनेहरूको आश पहिरोमा गएर मर्छ। ओत दिने छानो बैभवका महलमा पसेपछि सानो देखिन्छ। अनि त्यही ओत दिने खेदिन्छ। भनिन्छ सत्ताको भत्ता। सत्ता वरवर विवेक परर। दुवैको मिलन बिन्दु घाम र पानी जस्तै हो- घामपानी परेको बेला स्यालको बिहे।
विवेक पनि कस्तो विभिन्न रूप हुने। गजबको विवेक त आफू भलो नगर्ने अरुको भलो देखि नसक्ने। अरुले घर बनाए धारे हात हान्ने। अरुको फसल राम्रो भए इन्द्रलाई बिन्ती चढाउने हे इन्द्र बिन्ती पानी नपार्देऊ पानीको सट्टा ठुल्ठुला दाना असिना झार्देऊ। असिना नझारे पसिना निकाल्ने। भकारीमा मुसो पसाल्न गणेशको पूजा गर्ने। बिरालोको मृत्यु पर्खने। पसल ठुलो चलाए देउता पुकार्ने। देउताले पसलको फसल घटाउन नसके आन्दोलनका नाउँमा लुटपाटका माध्यबाट आफ्नो भकारी भरेर अरुको पसलको मलामी बन्ने। कस्तो गजब आफ्नो विवेक धरौटीमा राखेर अरुको पसलको मलामी बन्दा सिसि क्यामेरा फुटेजको जमानामा स्वघोषित जटाधारी धर्मगुरु घर जलाएर आगो ताप्दै अरु घरहरू जलाउने शङ्खघोष गर्ने।
अर्कोतिर सम्यताको शिखर चुमेका जस्ता पहिरन र बनौट भएका सुसंस्कृत मानिसहरू बडो विश्व विजेता सरह फलफूल टिप्दै कपडा ओसार्दै भाँडाकुँडा लतार्दै आफ्नो क्षमताले नभ्याउँदा लछारिँदै लुटपाट मच्चाउँदा सायद मर्नु पर्ने कुरा र आफ्ना पनि मलामी होलान् भन्ने नबिर्सनु थियो कि ? उहिल्यै कुनै जुगमा मानिसको पनि बेचबिखन हुन्थ्यो। हाम्रै देशमा मानिसलाई विभिन्न नामले काम लगाएर हुने बेचबिखनको अन्त भएको धेरै कहाँ भएको छ र ? त्यो भौतिक थियो सुन्दा र देख्दा बडो अचम्म हुन्थ्यो।
अहिले भने नरम शक्ति प्रयोग गरेर पूर्ण रुपमा विवेकको क्रय विक्रय हुन्छ। अदृष्य रुपमा लिलाम बडाबडको माध्यमद्वारा मानिस, मानिस उकाल्ने भर्याङ, बस्ने स्थानको मुख देखाउना साथ विवेक लिलामहरूको सट्टा भर्ना गरिन्छ आलोपालो। यसको पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय र गाउँले सञ्जाल हुन्छ। मूल्य रेखा भने डाउन टर्न हुन्छ। आलोपालो भने काउण्ट डाउनमा हुन्छ। मूल्य विहीन जिम्मेवारले विवेकको सदुपयोग गरेको भ्रममा श्रम गरिरहेको हुन्छ।
अन्धभक्त हो वास्तवमा यो मूल्य बेगरको बिगारु श्रमिक। जिन्दावाद, मुर्दावाद, चोर देश छोड, भाँचाभाँच, तोडातोड, जिन्दगी गैल भैंस पानीमे, विवेक बन्धनमे, रकम इन्धनमे। श्रमको हरण, सृजनाको मरण, विवेकको अपहरण, नगरी कर्म, पालेर भ्रम, सत्यानाश गरम, नारा र जुलुसैमा गयो जोवन।
०००
कैलाली, हाल : थानकाेट काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































