केशवराज आमोदीतलतल
-"शब्द ब्रह्म हो , चिरन्तन रहिरहन्छ भन्ने कुरो तिमीलाई थाहा रहेनछ ।त्यसैले यस्ता फजुल कुरा निकाल्छ्यौ ।"

केशवराज आमोदी :
एकदिन गफैगफमा अभिवक्ता आरोहीले भनी- ” साहित्यमा म स्वैर कल्पनालाई उति महत्त्व दिन्न ।”
-‘महत्त्व देऊ या नदेऊ तर तिमी आफैं स्वैर कल्पनाको मनोजगत्मा उडिरहेकी हुन्छ्यौ ।’ प्रोफेसर मदिराले भनी ।
-“मनले मानेको चिन्तन गर्नु नै स्वैर कल्पना हो । हरेक व्यक्तिको सोच वा कल्पनाग आफ्नै खालको हुन्छ । सोचमा स्वैर नहुने हो भने सबैको सिर्जनाका शब्द , भाव , प्रवृत्ति र प्रस्तुति एउटै हुने थियो । तिमी जे भन , म मान्दिन ।”
-‘नमान तिम्रो सोच हो तर साहित्यले समाजलाई नै समात्ने हुँदा बाहिर उम्कन सक्दैनौ । त्यसैले सबैको लक्ष्यभेदनको तारो समाज नै बन्दछ , होइन र ?’
– “मैले एकघण्टा लगाएर एउटा गजल लेख्दा तिमी दसवटा लेखिसक्छ्यौ । म गुणात्मकतामा र तिमी सङ्ख्यात्मकतामा जोड दिन्छ्यौ । एउटै साल मैले एउटा कृति र तिमी दसवटा कृति प्रकाशन पक्कै गर्ने छैनौं ।त्यसैगरी मैले दसवटा कृति प्रकाशन गर्दा तिमीले पक्कै सयवटा कृति प्रकाशन पनि गर्दिनौ । सयकृति प्रकाशन गर्ने तिम्रो स्वैर कल्पनाले हाबा खाइसकेको हुन्छ । तुकबिनाका उडन्ते गफबाट तयार पारिएका तिम्रा वा मेरा सिर्जनालाई आजका आर्थिक लाभमा दोडने कुनै पनि प्रकाशकले प्रकाशनको अवसर दिने छैनन् । किलोको भाउमा कवाडीलाई दिने नै हो भने दिमाग खर्चेर समय किन बर्बाद गर्दछ्यौ त ?”
-“शब्द ब्रह्म हो , चिरन्तन रहिरहन्छ भन्ने कुरो तिमीलाई थाहा रहेनछ ।त्यसैले यस्ता फजुल कुरा निकाल्छ्यौ ।”
ती दुवै कुरा गर्दागर्दै आरोही चाँहि आफ्नै प्रीति-सरोवरको नायकको फोनको लतमा अल्झिई भने मदिरा पनि साँझ पर्दै गएकोले नियमित नशाको तलतलले छोपी ‘म गएँ’ भन्ने सङ्केत गरी रापती छेउकै होमस्टेतिर सोझिई ।
०००
१८/०२/२०८३
चितवन
Subscribe
Login
0 Comments
Oldest






































