केशवराज आमोदीवक्रोक्तिका कवि गिरी र निर्विषाको छोटो परिक्रमा
बहुविधाकेन्द्री कवि धनराज गिरीका कतिपय शब्दहरू वक्रोक्तिमै रहने हुनाले मलाई आनन्दको शिखरमा पुर्याउँछन् । विविध विषय, विविध लय, विविध रस, विविध भाव विचरणानुकूल व्यक्त वक्रोक्ति र विविध बिम्बमयताको रस-प्रवाह जहींतहीं सम्भव पनि हुँदैन ।

केशवराज आमोदी :
धनराज गिरी मेरा अनन्य मित्र हुन् ।रत्ननगरको सौराह चोकबाट तीन किलोमिटर दक्षिण धनराज गिरी र रत्ननगरकै आकासे पुलबाट उति नै दुरीको दक्षिणमा मेरो बसाइ रहे पनि हाम्रो भेटघाट, चियापान र भलाकुसारी ०३४/०३५ सालदेखि प्राय: चलिरहेकै छ । ती भेटघाटमा दैनिक जीवनका सुखदुख, नेपाली भाषा साहित्य र साहित्यसित सम्बन्धित समारोह र वार्तमानिक राजनीतिक चर्चाले ठाउँ बनाएको हुन्छ ।
अर्थशास्त्रमा एम ए गरी गुरुकर्मबाट नै ४२ वर्ष बिताएका हजारौं चेलाचेलीलाई गणित र तथ्याङ्क शास्त्र दिल अर्पेर निस्पृह भावले उनीहरूको भविष्य उज्यालो बनाइदिने कार्य सुसम्पन्न गरेका निष्काम कर्मसेवी र उदार भावनाका सत्पात्र हुन्- धनरा गिरी । उनका सुकर्मप्रति सद्भाव प्रकट गर्ने इच्छा जाग्रत भइरहँदा र वाल्मीकि साहित्य सदनले निर्विषा (कवितासङ्ग्रह) र पाखण्ड पुराण ( हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह) यी दुवै कृतिहरूमा केन्द्रित हुने गरी लोकार्पणीय र समीक्षात्मक कार्यक्रम भव्यरूपमा गर्ने मनसाय बनाउँदा नबनाउँदै देशभित्र र बाहिरका साहित्यप्रेमीहरूमा कोमल भावुकताबस कृतिकार स्वयंले पुस्तक उपहार दिंदै फोटो खिंचाउँदै यत्र-तत्र वितरण गरिरहँदाका अवस्थामा उनका यी रहरिला क्रिया-कर्मलाई नौलो प्रयोग मानेर खुशी मानाइरहिएकै थियो ।
वि. सं. २०१५ साल भाद्र ९ गते मकवानपुर हटिया दाबिलेमा धनराज गिरीको जन्म भएको हो । उनी राष्ट्रिय निकुञ्ज सौराहसँगै जोडिएको बछ्यौलीमा बसी आकृति पुस्तिकाका माध्यमबाट विश्वविचरण गर्ने साहित्यिक तर लहडी (मनमौजी) यायावर हुन् । यात्राका क्रममा नेपाली र हिन्दी फिल्मी गीतहरू गाएर मनोरञ्जन दिने हँसिला, रसिला र कँसिला धनराज गिरी शैक्षिक क्षेत्रमा मात्र होइन साहित्यका गजल, मुक्तक, निबन्ध, कथा , संस्मरण र नियात्राजस्ता विधाहरूमा तुरुन्त लेख्नसक्ने बेगशाली साहित्यकार हुन् ।
यिनका हालसम्मका कृतिहरूमा ‘राष्ट्रै टुहुरो भयो (छन्दात्मक कवितासङ्ग्रह-२०५४), अर्थात् (मुक्तकसङ्ग्रह-२०५८ ), गजलामृत ( गजलसङ्ग्रह-२०६०), कुन्साङ काका (नानी गजलसङ्ग्रह-२०६२ ), पुष्पलता सामाजिक शान दैवी वरदान (गीतिकाव्य-२०६२), ढल्दैन स्वाभिमान कसै गरे पनि (गलसङ्ग्रह-२०६४), शराह र सौराह (संयुक्त गजलसङ्ग्रह-२०६६), अनन्त पाइला (उपन्यास-२०६९), सँगी (गजलसङ्ग्रह-२०७३), जरुवाजल (गजलसङ्ग्रह-२०७५ ), साथी (लघुकथासङ्ग्रह-२०७६), निर्विषा (कवितासङ्ग्रह-२०८१) र पाखण्ड पुराण’ (निबन्धसङ्ग्रह-२०८१) उल्लेख्य मानिन्छन् ।लेखेर सम्मान-पुरस्कार कति पाए उनै जानून् । यिनका अतिरिक्त फुटकररूपमा विभिन्न पत्रपत्रिकामा प्रकाशित देखिन्छन् ।
पाखण्ड पुराणको पाठकीय चर्चा जोडतोडले भइरहेको छ । हुनु पनि पर्छ । निबन्ध र कथाको मिश्रणले पनि कृतिमा नवीनता, उत्सुकता, समसामयिकता, मधुरता र हार्दिकता भरिएको छ । वक्रोक्तिको बेमिसाल प्रयुक्तिले व्यङ्ग्यात्मकताको हुरीले धुरीमा पुर्याएको छ । यस सन्दर्भमा निर्विषा’ (कवितासङ्ग्रह ) अलि पछि चर्चामा परेजस्तो लागेर कृतिमा छचल्किएका र मनको मर्स्याङ्दीमा मचल्किएका एक दुई कुराहरू राख्ने मनसाय बनाएको हुँ ।
यसमा १३८ वटा शीर्षकका सार्थक कविताहरू सङ्कलित छन् र इन्दिरा, पञ्चचामर, शार्दूलविक्रीडित, दिक्पाल, मन्दाक्रान्ता, भुजङ्गप्रयात, स्रग्धरा, स्रग्विणी, शिखरिणी, तोटक, विधाता, वसन्ततिलका र अनुष्टुपजस्ता पिङ्गल मुनिकृत १३ वटा छन्दको प्रयोग रहेको छ । ८३३ वटा श्लोकहरूको समाविष्टिले कृतिको आकार निर्धारण गरेको छ । गति र यतिको कुरो छाडे पनि छन्द कतै बिग्रन दिइएको छैन ।
यिनका रचनाहरू सरल र सरस भाषामा हुन्छन्, छोटा मिठा खिरिला पदविन्यासहरूको रहर लाग्दो उखान र अनुप्रासीय तुक्काहरूले व्यङ्ग्यका कसिला मुक्काहरू बर्साइरहेका हुन्छन् । उनको लेखकीय विशेषता नै वक्रोक्ति हो । उनका सृजनाहरू अभिधा, लक्षणा र व्यञ्जनाका वक्रोक्तिमा प्रवाहित भइरहने हुँदा बौद्धिक पाठकहरूले औधी चखिला, घोचिला, पेचिला र तिख्खर मानेर प्रशंसा गरिरहेका हुन्छन् ।
त्यसो त वक्रोक्तिको अनेक अर्थ हुन्छ । यसले काव्यिक अलङ्कारसित गहिरो नाता जोडेको छ र त वक्रोक्तिका वारेमा साहित्य दर्पंणमा आचार्य विश्वनाथ लेख्दछन्-
अन्यस्यान्यार्थकं वाक्यमन्यथा योजयेद्यदि ।
अन्य: श्लेषेण काक्वा वा सा वक्रोक्तिस्ततो द्विधा ।
जहाँ कसैको अन्यार्थक वाक्यलाई कोही दोस्रो व्यक्तिले काकुद्वारा अन्य अर्थमा घुमाइदिएमा दुई प्रकारको श्लेषवक्रोक्ति र काकुवक्रोक्ति बन्न पुग्दछ । एउटालाई भनिएको कुरो अर्कोले अर्को अर्थ लगाएमा मनोरञ्जनको ठाउँमा भान्ति वा संशयले वातारण रमाइलो वा विरसिलो बनिदिन सक्छ । ‘धरान’ भन्न नपाउँदै ‘धनराज नगर’तिर अर्थ मोडिएमा श्रोतामा पर्ने वक्रोक्तिका अनुप्रासमा सहोक्ति , विनोक्ति , समासोक्ति वा विशेषोक्ति जप्दै जानुको उपादेयता रहदैन । ‘आगो’ बाट आमोदी र गोकर्ण वा ‘धरा’ बाट ‘पृथ्वी’ अथवा धन-राम वा ‘धनराज’ले तात्कालिक व्यक्तिबोधको व्यङ्ग्यात्मक अर्थदेला तर सार्वकालिक र सार्वदेशिक रहन सक्दैन । यो प्रसङ्ग यति नै । आगे वक्रोक्तिकारको जो मर्जी ।
बहुविधाकेन्द्री कवि धनराज गिरीका कतिपय शब्दहरू वक्रोक्तिमै रहने हुनाले मलाई आनन्दको शिखरमा पुर्याउँछन् । विविध विषय, विविध लय, विविध रस, विविध भाव विचरणानुकूल व्यक्त वक्रोक्ति र विविध बिम्बमयताको रस-प्रवाह जहींतहीं सम्भव पनि हुँदैन । एउटा उदाहरण दिएर प्रसङ्ग छोट्याउँछु । जस्तै-
मौरी हुन् मधु चाह गर्छ मनले यायावरी वागमा
रोजे फूल अनन्त सन्त वनमा वैशाखमा माघमा
दानी वीर र धीर कर्ण घरमा सञ्चारमा गीतमा
प्यारा हुन् कविजी उदाहरण हुन् मोती बने शीतमा । -ऐ. हे रात दे काव्य दे , प़ृ. ८४ ।
त्यस्तै प्रीतिप्रणयले भरिएको सुकोमल र श्रुतिमधुर कविताका केही हरफहरू राखेर प्रकरणलाई अझै खुम्च्याउँछु-
तिमी साधना हौ तिमी सिर्जना हौ
तिमी स्वप्न मेरी तिमी अर्चना हौ
तिमी शब्द मेरो तिमी अर्थ मेरो
तिमी साथ प्यारी उज्यालो कटेरो । ऐ. तिमी, पृ. १४२
वक्रोक्तिको छनक-
सगर्व गर्व जानकी सगर्व गर्व कालिका
कमाल वेदको सखा अनेक देव बालिका ।’ ऐ. गर्व , पृ. १०
रचनाकारको कल्पनाको उडान यति आकाशिएको हुन्छ कि कहिलेकाँही त अलिकति भेउ पाउन पनि हम्मेहम्मे पर्दछ ।
यहाँ देव-बालिकाका रूपमा प्रतिष्ठापित जानकी, कालिका र बालिकालाई वेदका ‘सखी’ नभनेर ‘सखा’ भनिएकोले मेरो समझ बाहिरको लिङ्गसङ्गतिमा आएको वक्रोक्तिले अर्थमा ल्याएको परिवर्तन ठम्याउन सक्दिन।
अन्त्यमा पाखण्ड पुराणका पङ्क्तिपङ्क्तिमा प्रयुक्त अनुप्रासिक सौन्दर्य निर्विषामा कतै कुनै श्लोकमा छ कि भनी हेरें पाइन । कविका हृदयमा तरङ्गित भावनाका उच्छालहरूसँगै तरङ्गिदा सारै आनन्द पनि लाग्यो । यति सुन्दर कृति मुफ्तैमा उप हार पाएकोले खुशी पनि लाग्यो । किताब पढिसकेपछि प्रभाववादमा केन्द्रित मनमौजीका सुन्दर दुईकृतिहरू पढ्न बाँकी रहेका साथीहरूलाई एकचोटि पढिदिन आग्रह गर्दै कविजीकै शब्द-वाणीमा शारदामा नमन गर्दै लेखनी बिसाउँछु ।
०००
रत्ननगर नगरपालिका, चितवन
Subscribe
Login
0 Comments
Oldest







































