साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्कृष्ट व्यङ्ग्यको झापु ‘बाघेझापु’ छोटो गन्थन

एउटै निबन्ध भित्र पनि साना साना निबन्धात्मक भङ्गालाहरू रहेका छन् । ती भङ्गालाहरूमा हाँसो र व्यङ्ग्य बाढीहरू उर्लापात गइरहेको देखाउनु निबन्धकारको सफलता हो । सबै निबन्धहरूमा भाव , भाषा, र शैलीको परिस्कृत रुप बिम्ब छाएको छ ।

Nepal Telecom ad

केशवराज आमोदी :

वि.सं. २०२१ साल फागुन २३ गतेको शुभ मुहूर्तमा पिता ईश्वरीप्रसाद दाहाल र माता कलादेवी दाहालका पुत्ररत्नका रूपमा ऐतिहासिक जिल्ला गोरखाको तान्द्राङ-३, मझिन्थोकमा चिरञ्जीवी दाहालको जन्म भएको हो। हाल कालिका नगरपालिका- ६, चितवनलाई स्थायी बसोबासमा रूपान्तरित गरी जीवनका उर्वर समय जागिरमा खर्चेर सेवा निवृत्त भएउपरान्त उमेरले नेटो काट्न लागेको अवस्थामा बैँसेजोश र उत्साहका साथ साहित्यको अध्ययन, सिर्जन र उन्नयनमा लाग्नु र दिनोत्तर सफलता हासिल गर्दै जानु नव- सर्जकहरूका निम्ति प्रेरणा -प्रसङ्ग र साहित्य अम्मलीहरूका लागि हर्षदायी प्रसङ्ग बन्नसक्दछ।

अन्तर्मुखी स्वभावका दाहालजी स्वभावतः विनयी, मितभाषी, स्पष्टवक्ता र कर्तव्यपरायण चरित्रका व्यक्तित्व हुन् । मनोविज्ञानसम्मत उनको मनोद्वन्दमा आच्छन्न आत्मकथ्यमा आधारित सुन्दर कृति मुमूर्षा ( २०७८) समृद्धि ( संयुक्त मुक्तक सङ्ग्रह २०७७ ) राष्ट्रिय बहरमाला २ (संयुक्त गजलसङ्ग्रह २०७९) ग्रीष्मजा (उपन्यास २०८०) राष्ट्रिय बहरमाला ३ ( संयुक्त गजलसङ्ग्रह २०८० ) र बाघेझापु (व्यङ्ग्य निबन्धसङ्ग्रह २०८१) जस्ता कृतिहरूले लोकख्यातिका पताका फर्फराइरहेका छन् ।

आत्म-कथानकताका आधारमा “मुमूर्षा” बाट साहित्यिक यात्रामा संलग्न चिरञ्जीवी दाहालका समसामयिकतालाई च्याप्दै रदीफोकाफियामा समन्वित चतुष्पदीय शैलीका रोचक घोचक मुक्तकहरू, उर्दु – फारसीले तय गरेका रुक्न- अर्कानको प्रयोगमा अवलम्बित बहरबद्ध गजलहरू, नारी मनोजजगत्मा व्याप्त उल्झन, समस्या, मानसिक तनाब, चुनौती र विवशतामा केन्द्रित आख्यानपरक कृतिको मनग्गे सफलता पश्चात् व्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह “बाघेझापु” देखापरेको छ । यो कृति भर्खरै फित्कौली अनलाइन मिडिया कलङ्की काठमाडौंमार्फत प्रकाशनमा आएको हो ।

‘बन्ध’ धातुमा ‘धञ्’ प्रत्यय र नि उपसर्ग लागेर निबन्धको निर्मिति भएको पाइन्छ। नैबन्धिक विधामा रुचि राख्ने निबन्धकारद्वारा आत्मपरक वा वस्तुपरक अथवा आगमन वा निगमन शैली र ढाँचामा मनोतरङ्गित भावना, विचार, सोच या दर्शनका यावत् भावहरू प्रकट गरिनु नै निबन्धको प्राप्ति हो भने शिल्पका आधारमा विषयवस्तु, उद्देश्य, भाषाशैली र दृष्टिविन्दुबाट निबन्धन हुनु नै निबन्धको सौन्दर्य हो ।

काव्य ग्रन्थमा बेसी सुखात्मक अनुभूत हुने हास्यरस आचार्य भरत मुनिका अनुसार चार उपरसहरूको कोटीमा आउँछ भने आचार्य विश्वनाथका मतानुसार स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित गरी छ भेद मानिन्छन् । हास्यरसको स्थायी भाव हास, विभाव, आचार, व्यवहार, केशविन्यास, नाम तथा अर्थ आदिको विकृतिमा वर्द्धित श्रृङ्गार- रसमा मुछिएर विकृत वेशालङ्कार, धाष्टर्य (धृष्टता) लौल्य ( चञ्चलता वा अस्थिरता), कलह, व्यङ्ग्यदर्शन, दोषारोपणमा यसले विशेष प्रभाव पारेको हुन्छ । आत्मस्थ र परस्थ वा आत्म समुत्थ र परसमुत्थ गरी हास्यका थप दुई भेद देखिन्छन् । स्वयं हास्नु वा अन्य कोही हाँस्नुमा यो अवलम्बित रहन्छ । यी सामान्य हास्यरसजन्य चर्चा “ हास्य र व्यङ्ग्य, हास्य वा व्यङ्ग्य , हास्य पनि व्यङ्ग्य पनि ” को द्वन्द समासीय विग्रहमा निर्मित समस्त पदीय हास्यव्यङ्ग्यको समायोजन भएको हो । हास्यले जस्तै व्यङ्ग्यको अर्थ खोतल्दा कतै भ्यागुतो, कतै जसको कुनै अङ्ग असामान्य वा विकृत भएको छ र कतै शब्दको त्यो अर्थ जो त्यसको व्यञ्जनावृत्तिबाट प्रकट हुन्छ । शब्दका व्यञ्जना शक्तिबाट प्रस्फुटित अर्थमा विस्तारित हुँदै हास्यव्यङ्ग्यको सतह फैलिँदै गएको मान्नुपर्ने देखिन्छ ।

बहुव्रीहि समासको सादृश्यरुपमा सृजित “ बाघेझापु” का बारेमा केही पाठकीय विचार राख्ने सोच बनाउँदैछु । कवि, गजलकार, उपन्यासकार र निबन्धकारको परिचय बनाउन सफल चिरञ्जीवी दाहालको ”बाघेझापु” उत्कृष्ट हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको रुपमा आएको छ । यसले हास्यव्यङ्ग्य लेख्ने हरूलाई प्रतिस्पर्धामा उतारिरहेको छ भने आफ्ना मानक पाठकलाई हास्यव्यङ्ग्यको मोहनीले खिचिरहेको छ । मानवीय संवेग, मनोविकृति , मनो दौर्बल्य र मनोद्वन्दका आरोह- अवरोहदेखि राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक तहमा दृष्टिगोचरीभूत विकृति- विसङ्तिजन्य दुष्प्रवृत्ति, दुर्भाव, दुर्विपाक र दुर्भिसन्धिप्रति कतै इन्द्रको बज्र, कतै भीमसेनी मुक्का र कतै हाँडीगाउँले बाघेझापुको मुङग्रे ठोकाइ पाइन्छ ।

प्रकाशक्यौलीद्वारा प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले भूमिका लेखनका सन्दर्भमा “बाघेझापु मार्फत हानिएको सशक्त व्यङ्ग्य प्रहार ” को विशेषोक्ति प्रकट गर्दै कृतिगत वस्तुतथ्यको प्रकाश पारेका छन् भने अर्का चर्चित चट्याङ् मास्टरको “हार्दिक बधाई र शुभकामना” ले पनि कृतित्व र कृतिकारका बारेमा यथासम्भव उल्लेख गरेकै छन् । स्मरणीय के छ भने अग्र आवरणदेखि लिएर भित्री तहका उनन्चालिस वटै निबन्धहरूको र तिनको विषयवस्तुसँग सुहाउँदो चित्र कोरेर पाठकवर्गलाई सहजतापूर्वक बुझ्न सक्ने व्यङ्ग्य चित्रकार टंक आलेको चित्रकारिता प्रशंसनीय रहेको छ । यसै गरी मुखबन्ध शीर्षकबाट लेखकले आफ्ना भनाइहरूलाई पस्कँदै निबन्ध, निबन्धलेखन र प्रकाशनका सन्दर्भलाई स्पर्श गर्दै सहयोगी सबैलाई धन्यवादको औपचारिकता निर्वाह गरेका छन् ।

प्राय: चिकित्सकहरूले सानासाना नानीहरूलाई हसाउँदै इन्जेक्सन दिए झैँ हास्य र व्यङ्ग्यमा पाठकलाई भुलाउन निबन्धकार खप्पिस देखिन्छन् । त्यसो त हाँसो त्यसै फुस्किँदैन, हाँसो फुस्किन वा फुस्काउन विकृत मुखाकृति, विकृत साजसज्जा, विकृत दोषारोपण, विकृत चालढाल र विकृत कार्य व्यापारको खुबी चाहिन्छ। बेलगाम हँसाउनु र मर्माहत हुने गरी व्यङ्ग्यका लपेटाले लप्काउनु सबैलाई सहज – सम्भव हुँदैन। यसकालागि विशिष्ट अभिव्यञ्जनात्मक क्षमता भएका वा तिनैको सिको गर्दै हास्यव्यङ्ग्य निबन्धमा प्रवेश गरेका चिरञ्जीवी दाहालको लेखनी निकै शक्तिशाली बनेर देखापरेको छ ।

अनुगमनको भरमा वा शङ्काकै भरमा लङ्का हल्लाउने “अड्कले काका “को अनुमानको छेउ टुप्पो फेला नपारे पनि यसैले काकाले जीवन गुजारी रहेका छन् । अडकले काकाका मनोवृत्तिका पात्रहरूको राम्ररी चरित्रफास भएको छ । इच्छै इच्छाको पहाड बोकेर मानिस बाँचिरहेछ तैपनि “ऊ रावण र यी रावण”को भेद नपाएर कहिलेसम्म बतासिरहने हुन् यसै भन्न सकिन्न। “जहाँ नपँहुचे रवि उहाँ पहुँचे कवि” भनिने हिन्दीको उखान झैँ अहिले राजनीति विषाक्त धुवाँले कविको चन्द्रमा वर्णनले पुष्टि गरेको पाइए पनि “क्लिटोमेनिया” बाट पार पाउन विज्ञानलाई समेत हम्मेहम्मे परिरहेको छ । नबोल्नेको चामल बिक्री नहुने देशमा बोल्नेको पिठो बिकीरहेको हुन्छ भनेझैँ यहाँ “कोइलीको होइन कौवाको पूजा हुन्छ” तर के गर्नु खुशी आकासबाट बर्साउन मलजलको प्रबन्ध त गर्नैपर्छ । खेतबारीमा काम गर्ने खेतालोको श्रमको महत्व कति हुन्छ, बाली भित्र्याउँदा चाल पाइन्छ जस्ता विषयवस्तुमा हास्यव्यङ्ग्यले पाठकलाई विघ्नै तरङ्गित गर्दछन् ।

“खौरिएको कपाल र श्राद्धको फुरौला” मा बाल स्वभावजन्य कुतुहलतामा ताडित हुनुपरेको , “गुरुलाई चिठ्ठी”मा ” यद् पठितं तद् गुरुवे समर्पिते ” (जे पढेँ गुरुलाई नै समर्पण गरेँ) भनेझैँ नैतिकता, मर्यादा , अनुशासन र इमान्दारिता छोडिसकेको जानकारी गराइएको सन्दर्भमा निकै घोचपेचहरू भएका छन् । त्यसैगरी “चटक जारी छ”, “झुट बोल्न छुट”, “ताली लगाउने पेसा”, “तालुको रौँसँगै हराएको सुद्धी”, “थाम्न नसक्ने बोझ”, “दरबारी कवि”, “नमस्कार प्रथा खारेज होस्”, जस्ता शीर्षकहरूले हाँसो र व्यङ्ग्यको पोखरीमा पटकपटक डुबाउँछन् । राज्यमा भइरहेका राजनीतिक खिचातानी, सर्वसाधारणमाथि थिचोमिचो र सांस्कृतिक विचलनप्रति कडा प्रहार गरिएको छ । “नानीदेखिको बानी”, “निकम्मा हाकिम र दास प्रवृति”, परिवर्तन, पाखण्डी लेखकको मखण्डी लेखाइ, “फेसबुके जात्रा” का निबन्धहरूले नै देशको वर्तमान अवस्थाप्रति हास्यव्यङ्ग्यात्मक खिचडी पकाइरहेका छन् ।

“बाघेझापु” कृति भित्रको चौबिसौँ निबन्ध हो । बाघेझापु मार्फत पद प्रतिष्ठा र पँहुचमा बसी मनपरी गर्नेहरू प्रति हानिएको कसिलो झापड हो तर पनि यसले बाँकी निबन्धहरूको समेत प्रतिनिधित्व गरेको देखिन्छ । त्यसै गरी “भातमारा”, “मर्द र नामर्दको परिभाषा फेरिएपछि”, “मान्छे जुधाउँदाको मजा”, “मिथ्या पुराण”, “मिथ्या सिद्धान्तको शालिक” जस्ता निबन्धहरू पनि मर्मस्पर्शी र उत्तिकै पठनीय छन् । “मुर्ख”, “रङ नम्बर”, “वरिष्ठताको भूत”, “स्तुति गान”, “साढुदाइको ससुराली”, “सानो कद”, “सित्तैमा मनोरन्जन लिने हो”, “शहर”, “हामी ढोलक हौँ बजिरहन्छौं” र “क्षमा पाउँ प्रभु” भित्रका सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक र ऐतिहासिक विकृतिका उच्छवासहरू निस्रित देखिन्छन् ।

एउटै निबन्ध भित्र पनि साना साना निबन्धात्मक भङ्गालाहरू रहेका छन् । ती भङ्गालाहरूमा हाँसो र व्यङ्ग्य बाढीहरू उर्लापात गइरहेको देखाउनु निबन्धकारको सफलता हो ।

अन्त्यमा सबै निबन्धहरूमा भाव , भाषा, र शैलीको परिस्कृत रुप बिम्ब छाएको छ । उखानटुक्का वा वाग्धाराहरूको यथास्थानको प्रयुक्तिले निबन्धमा निखार आएको छ । शैल्पिक प्रयुक्तिलाई केलाउँदै लेखक हास्यव्यङ्ग्यात्मक निबन्धलाई नै आफ्नो मूल विधा मानेर साधनामा डुबेझैँ लाग्छ । यति सुन्दर कृति उपलब्ध गराउनु भएकामा लेखकलाई धन्यवाद दिँदै लेखनी यहीँ बिसाउँछु ।

०००
आमोदी निकेतन / रत्ननगर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x