केशवराज आमोदीवर्तमानका कुख्यात भ्रष्ट सम्राटहरूप्रति लक्षित दुई कृतिहरू
निबन्धकारको रोचकपूर्ण रचना शिल्प सशक्त भएर आएको छ । भनाइ र हनाइ उत्तिकै तोडपूर्ण छन् । नमुनास्वरूप एउटा अनुच्छेदांश प्रस्तुत छ- "बुद्ध , प्लेटो, सुकरात, फाल्गुनन्द र हज्जारौं ऋषिमुनिहरू आदिम युगका कुँडाकर्कट भए ।...

केशवराज आमोदी :
नेपाली साहित्यिक फाँटमा निबन्धकार तथा लघुकथाकारका रूपमा देखा परेका रामकृष्ण ढकाल सादा भोजन उच्च विचारका शालीन व्यक्तित्व हुन् । उनी षड्यन्त्रमूलक जुवाका चौका दाउमा सदैव मौलाइरहने राजनीतिक दाउपेचबाट टाढै रहन रुचाउने साहित्य-साधक हुन् । राजनीति कहिलेकाँही अराजक बनिदिनसक्छ , लिक छोडिदिन सक्छ, अनुशासन तोडिदिनसक्छ र परिआएमा निकृष्ट सम्झौताहरूमा हस्ताक्षर गरिदिनसक्छ तर नीति, न्याय, विधि वा पद्धतिमा पल्लवित र पोषित प्राणीले अवसर हेरी राजनीतिलेजस्तो दिउसै काँचुली फेर्न सक्दैन । यिनै जीवनका अनुभूतिहरूलाई निबन्धकार ढकालले उजागर गर्ने यथास इमानदार प्रयास गरेका छन् ।
माता दिलमाया ढकाल र पिता भवानीप्रसाद ढकालका पुत्रत्नका रूपमा जन्मिएका रामकृष्ण ढकाल हाल रत्ननगर न पा -२ , चितवनमा रहेर अध्यात्म र साहित्यको साधना र अध्ययनमा तल्लीन देखिन्छन् । उनले हालै एकसाथ दुई कृतिहरू ‘वामनकथा’ ( लघुकथासङ्ग्रह-२०८२ )’रामवाण’ ( व्यङ्ग्यनिबन्धसङ्ग्रह-२०८२ ) प्रकाशनमा ल्याएका छन् ।एउटाले बीसवटा शीर्षकबाट समसामयिकताको वस्तुविन्यासीय कथानकताको रूपमा र अर्कोले सिद्धान्त र दर्शनको नकच्चरो दुहाइ दिने भ्रष्टाचारीहरूलाई केन्द्रमा राखेर निबन्धात्मक ढाँचामा जोडदार घुयेँत्राहरूले तिनीहरूसँगै देशमा छाएको राजनीतिकता , सांस्कृतिक र सामाजिक विकृति , विसङ्गति र विद्रूपताप्रति शब्दभेदी सोलाहरू वर्षाएका छन् । राजनीतिले आफैले बनाएको संवैधानिक बार-बन्धनलाई भत्काउँछ भने न्याय-निष्ठाको तपस्वीले विधिको विधानलाई वेदका ऋचा ठानेर पाठ गर्दै अक्षरश: अमल गरिरहन्छ ।
रामवाण ( व्यङ्ग्यनिबन्धसङ्ग्रह ) चैं नामअनुसार नै रामले खर दूषणहरूमाथि वाणहरू प्रहार गरेझैं शब्दभेदी वाणहरूको बौछार गरी भ्रष्टहरूको सातोपुत्लो उडाएर निद्रा उडाइदिएका छन् । उक्ति-वक्रोक्ति भन्दा पनि शब्द वक्रोक्तिको विशेष प्रयोग रहेको यस कृतिमा “मणिशहरका हासित्यिकहरू, परिवर्तन, हासिफल, खायदेउको पार्थिव हनुमान, मुर्कुट्टोसँग खायालय भ्रमण, सडकको आत्म सवाइ , आखिर किन ?, झरीको गन्थन, धन्य धन्य महाधन्य, पहिरो पुराण, बिजुली बखान, जात्रैजात्रा, गाँडतन्त्रको चोर सरात, दीर्घकालीन सुशासनको जय , नेपाल, नेपाली र पराइ, सभ्यताको सेरोफेरो, शुद्धबुद्धिविहीनस्य ढाडी राज्यं तथैव च, अँठ्याचार, क्षेतिपाती, ऊ::: कम्प , जाडोको घाँडो सवाइ, खायक्रम सञ्चालन, हासित्यिक पुरुष्कार वितरण तथा मैंमान कार्जेक्रम, गड्याङगुडुङ डड्याङडुडुङ, राष्ट्र्स गफाडी सम्मेलन, गन्दे चौरको महाधिवेशन, आन्दोलन कि हानेदोलन, बाह्र र बार’जस्ता ५५ वटा शीर्षकहरूमा निबन्धको पर्खाल ठड्याइएको छ । यी शीर्षकहरूमा पनि चुरीफुरी र हाबाहुरी, बक्चेट भाषण, नेता नं. ४२०, घिचपर्वको लाठे बैठक, मुन्तरीमन्डलको गौरवशाली खाइठक, ए फर एटम नून गुन र बैगुन’ निबन्धहरूमार्फत समसामयिक नाङ्गो राजनीतिलाई उदाङ्गै पारिएको छ ।
निबन्धकारको रोचकपूर्ण रचना शिल्प सशक्त भएर आएको छ । भनाइ र हनाइ उत्तिकै तोडपूर्ण छन् । नमुनास्वरूप एउटा अनुच्छेदांश प्रस्तुत छ- “बुद्ध , प्लेटो, सुकरात, फाल्गुनन्द र हज्जारौं ऋषिमुनिहरू आदिम युगका कुँडाकर्कट भए । ह्यान्सेल, र ग्रेटेल नामक दाजुबहिनीको कथा र रापुन्जेल नामक सुन्दरीको कथाजस्ता पश्चिमी कथामा वर्णित काला शक्तिधरहरू पूर्वका लागिमात्र अन्धविश्वास भए …. ।” प्राकृतिक , भौगोलिक , सामाजिक ,धार्मिक , सांस्कृतिक एवं जातीय , क्षत्रीय र लैङ्गिक तहमा लागेका काला धमिराहरूप्रति चाहिंदो शब्दमय विषादीको प्रयोग राम्ररी भए पनि निर्मलीकरण हुनसक्ला नसक्ला भविष्यकै गर्भमा छाडिदिनु बेस होला ।
वर्तमानको विद्रोहमा पनि राजनीति र न्यायको बिचको भेदलाई राम्ररी देखाएझैं कृतिकारले पनि निबन्धमा यिनै कुरालाई विश्लेषण-संश्लेषण गरी वर्तमानकालीन कुख्यात भ्रष्ट सम्राटहरूको चरित्रलाई उदाङ्ग पार्दै सरल , सरस र सहज भाषिक शैली-शिल्पको सुन्दर प्रयोग गरेका छन् । कृतिमा मुद्राराक्षसको अतिक्रमणले पनि व्यङ्ग्यलाई थप बल दिएको छ , तैपनि खुशीको कुरो यतिखेर यो कृतिले चितवनका साहित्यिक वृत्तमा नयाँ हलचल पैदा गरिदिएको छ । यति सुन्दर दुई कृतिहरू उपहार दिने निबन्धकारप्रति सधन्यवाद हार्दिक बधाई दिंदै उनमा लेखकीय ऊर्जा अझैं भरिदै जाओस्, हार्दिक शुभकामना !!
०००
चितवन
रामकृष्ण ठकालका दुइ कृतिमाथि भूमिका
Subscribe
Login
0 Comments
Oldest




































