साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको सारतत्त्व खोतल्दा (१)

हास्यव्यङ्ग्यमा अन्तरवस्तु र रूपको सन्तुलन जरुरी हुन्छ । समाजको संरचना अनुकूल सप्टाहरूले जीवनबोध गर्नु र समाजको सिर्जनामा तदनुकूलका अनुभूतिलाई उतार्नुका कारण हाम्रा हास्यव्यङ्ग्यमा सामाजिक अन्तरविरोधको प्रतिविम्व प्रस्टैसंग व्यक्तिएको छ ।

Nepal Telecom ad

विष्णु प्रभात :

हास्य सुखात्मक हुन्छ र सुखको आलम्ब कामनाको परिपूर्ति हो । कामना भोगको लालसा मानिन्छ र त्यसको उत्कर्ष सम्भोग हुन पुग्दछ । त्यसैले हास्य सिर्जना शृङ्गारिकताउन्मुख हुन्छ भन्नेहरू पनि छन् । हास्यको मनोविज्ञानलाई यसरी हेर्ने हो भने व्यङ्ग्यको मनोविज्ञान बिल्कुलै भिन्न हुन पुग्दछ। व्यङ्ग्य सामाजिक कामनाको आधारमा समष्टिगत आनन्दतर्फ अग्रसर हुन्छ। अभाव र दुर्भाव दुवै स्थितिको अन्त्यका लागि विरोधाभासका विरुद्धमा लक्षित भएर नै व्यङ्ग्य निःसृत हुन्छ । विनोदप्रियताको माध्यमबाट अन्तरमनको अनुरागतर्फ कुंडलिने हासो र चिन्तनशीलतातर्फ डोऱ्याउने व्यङ्ग्यको भेदलाई सम्यक् एकत्वमा उनेर हास्यव्यङ्ग्य सिर्जना हुन्छ । हाँसो र छांसोलाई एकतावद्ध गरेर हास्यव्यङ्ग्य भन्ने चलन नेपाली समाजमा हर्किएको छ। विसङ्गति, विपथन र विचलनका विरोधाभासलाई हटाउने अभिप्रायमा हास्यव्यङ्ग्य सिर्जना, कथन र अभिनय धेरै अघिदेखि सञ्चालित भइआएका छन् र हाम्रो लोकपरम्परामा हास्यव्यङ्ग्यको विशिष्ट स्थान छ ।

आनन्दको भावातिरेकद्वारा हाँसो पैदा हुन्छ भन्ने दृष्टिकोणले हास्यव्यङ्ग्यलाइ इन्द्रियानुभूतिमा आश्रित गराउँछ र आनन्दलाई सुन्दरतासंग गाँस्छ। यसरी सौन्दयंलाई इन्द्रिय ज्ञानको विषय मान्नेहरूले हास्यमा भावुक सवेदनाको पक्ष त देख्छन् तर व्यङ्ग्यले दिने पीडाको अन्तर्बोधलाई देख्न सक्तैनन् र ज्ञात्त-विज्ञानको सार्वभौमिकता-लाई पनि देख्न सक्तैनन् । हंसाइमा रमाउन र छंसाइमा आफ्ना कमीहरूतर्फ घोत्लिनुमा निकै भिन्नता छ । त्यसैले व्यङ्ग्यमा वाणीको मधुरता रहे पनि भावको कठोरता लुकेको हुन्छ । प्रकृतिको सुन्दरतामा सवेदनात्मक पक्ष त रहन्छ तर विद्रूपताको पक्षले मानिसलाई चिन्तनशीलतातर्फ नै डोऱ्याउँछ । ज्ञानको भोकले हिमाल चढ्नेहरूमा पत्थरिला चट्टान र हिमतालले दिने आनन्दमा हाँसो होइन चिन्तनको पक्ष नै प्रबल हुन्छ।

प्रयोगात्मक मनोविज्ञानका आधारमा प्राप्त निष्कर्षले पनि मानिसका रुचिहरू भिन्नभिन्न हुन्छन् भन्ने कुरालाई पुष्टि गरेको छ । रुचिको सम्बन्ध रागसँग पनि जोडिन्छ । राग-अनुरागकै बीचमा लहरिदै झुल्दै बालबालिका, युवा-युवती प्रौढ र वृद्धाहरूको मनोभावअनुरूप आआफ्ना छनोटहरू छान्दछन् । कसैलाई रातो त कसैलाई नीलो रङ्ग मन पर्नु, कसैलाई प्राविधिक काम गर्न त कसैलाई प्राज्ञिक अनुसन्धानमा लागिपर्न र कसैलाई गाउन अनि कसैलाई अभिनय गर्न मन पर्नुको विविधता यसै क्रममा प्रकट हुन्छ । हाँसो पनि यही विविधतापूर्ण मनोभावद्वारा परिचालित हुन्छ । एउटा व्यक्तिलाई हाँसो उत्पन्न गर्ने विपयले अर्को व्यक्तिलाई हाँसो उत्पन्न नगर्नु, एउटा व्यक्तिलाई राम्रो लागेको दृश्य अर्कोलाई रुचिकर नहुनु जस्ता भिन्नताको स्रोत मनोविज्ञान नै हो । मानिसको मनोविज्ञानमा समाज र संस्कारको पक्ष पनि रहेको हुन्छ र तदनुरूप नै हास्यव्यङ्ग्य पनि प्रकट हुन्छ ।

त्यसैले हास्यव्यङ्ग्य सिर्जनाले सामाजिक प्रगति र संस्कारको उन्नतिसँग जोडिएर आफ्नो मानक स्तर सुनिश्चित गर्दछ । विकास र विद्याको दृष्टिले पछि परेकाहरूको हाँसोमा रतिरागात्मक दिल्लगी-छिल्लगीको मात्रा बढी पाइन्छ भने अघि बढेकाहरूमा व्यङ्ग्यात्मकताको मात्रा बढी पाइन्छ । यस्तो हुनुमा उनीहरूको जीवन-शैलीमा आएको परिष्कार अर्थात् सामाजिक उन्नति कारक तत्त्व बनेको हुन्छ । त्यसैले हास्यव्यङ्ग्यको सम्बन्ध इन्द्रियानुभूतिसँग मात्र होइन, सामाजिक जीवन र संस्कारसँग पनि जोडिएको हुन्छ, सह-संवेदनको साझा अनुभूतिसँग पनि जोडिएको हुन्छ । अन्तर्मनका व्याख्याताहरूले हाँसो वा छाँसोमा व्यक्त गर्ने मानवीय सङ्केतलाई अपूर्ण इच्छासँग जोडेको पाइन्छ । सिग्मण्ड फ्रायडले लियानार्दो दा भिन्चीको चित्रकला उनको दमित कामनाको प्रतिविम्व भनी व्याख्या गरे । परन्तु व्यवहारवादीहरूले उनको चित्रमा सामाजिक प्रतिविम्बको छवि देखाए । यसरी नै हास्यव्यङ्ग्यको रूप र सारमा पनि अप्राप्तिको अनुभूति मात्र हैन, ईर्ष्याको अभिव्यक्ति पनि जोडिएको हुन्छ भन्ने धारणा पाइन्छ । प्रत्यक्ष बोधको आनन्दलाई नै हाँसोको आधार मानेर व्याख्या गर्दा भावबोधको गम्भीर सञ्चेतनाको पक्ष छुट्न जाने हुन्छ । हास्यव्यङ्ग्यमा सवेदना र सञ्चेतनाको समन्वय हुने गर्दछ । स्वभाव र परभावको सन्तुलनमा सिर्जित हास्यव्यङ्ग्यले संवेदना र सञ्चेतनालाई एकीभूत गर्दछ । सहसवेदनाको अनुभूतिमा यसलाई प्रस्ट देख्न सकिन्छ ।

हाँसोमा आनन्दी-चेत मुख्य पक्ष हुन्छ भने छाँसोमा चिन्तन-चेत मुख्य पक्ष हुन्छ। अघिल्लो जैविक वृत्तिमा आधारित भएर सहजबोधमा सिद्धिन्छ, पछिल्लो वौद्धिक वृत्तिमा ठडिएर व्यञ्जनाबोधतर्फ लम्कन्छ । देहविनोदी भाव र बुद्धिविनोदी भावको मिश्रणमा निर्मित हास्यव्यङ्ग्य पनि छन् । रसिकताको यो द्वन्द्वात्मकतामा हाँसोका चरित्रहरू निर्माण हुन्छन्- शिष्टाचारी, अनुरागी र वीतरागी। मान्छे स्वयम्निर्मित विम्व र प्रतीकमा रमाउने प्राणी भएकाले ऊ आफ्ना प्रतीक र विम्बलाई सिँगारेर पूजा गर्छ, रमाउँछ । सम्भवतः यस प्रकारको मनोविज्ञान मान्छेसँग मात्रै रहेको छ। रमाउन त अरू जीवजन्तु-पंक्षीपञ्जर पनि रमाउलान्, सुर्ताउलान् वा पीडाका कहरहरू पोख्लान्, तर विस्मित् भावको विचित्र गुण मान्छेमा मात्र पाइन्छ। दङ्गी पर्ने यो मधुर गुणले गर्दा मान्छे चिन्तनशील बन्छ, सोच्छ, खोज्छ र चित्त बुझेमा हाँस्छ । आकस्मिक हाँसो अनायासी हुन्छ, निरुद्देश्य हुन्छ । हाँस्नुको कारणबोर्धावना हाँस्ने र कारणवोध भएर हाँस्ने हाँसोमा भिन्नता छ । लहलहैमा हाँस्ने लाटो चेतनाभन्दा प्रयोजनमा हांस्ने चेतना वाठो हुन्छ। आधित हाँसो र आक्षेपी हाँसोका वीच भिन्नता छ। त्यसैले हाँसो मनोवैज्ञानिक सत्यको उद्घाटन गर्ने साधन पनि हो ।

हास्यबोधको उदय एउटा मनोवैज्ञानिक विकल्पका रूपमा उपस्थित हुन्छ । मनोविज्ञान व्यक्ति र वृत्तिकेन्द्रित मात्र हुदैन। व्यक्ति सर्माप्टको वृत्तमा आबद्ध हुने हुँदा हास्यव्यङ्ग्यको मनोविज्ञान समाजकेन्द्रित पनि हुन्छ । मान्छे एक्लै हाँस्दैन, समूहमा हाँस्छ । समूह वस्तुसाहचर्यका रूपमा, दृश्य-साहचर्यका रूपमा, पाठ-साहचर्यका रूपमा, बोध-साहचर्यका रूपमा र घटना-साहचर्यका रूपमा समेत उपस्थित हुन्छ । वस्तुसंग रूप, भाव, विम्ब, मनोवृत्ति र अवस्था जोडिन्छ । त्यसैले सुखद शान्तिको जीवन र दुःखद अशान्तिको जीवनवीच हास्यव्यङ्ग्यको मनोविज्ञान भिन्न हुन्छ । जीवनबद्धतामा हास्यव्यङ्ग्य आवद्ध हुन्छ र जीवन समाजबद्ध छ। जीवन र समाज वर्गीय छ तसर्थ हाँसो र व्यङ्ग्यको सार र रूपमा पनि जीवन र समाजको सापेक्ष छविचित्र प्रतिविम्बन भइहाल्छ । हास्यव्यङ्ग्यको सामाजिक सन्दर्भमा यो ज्यादै नै महत्त्वपूर्ण पक्ष हो र यसैमा हास्यव्यङ्ग्यकलाको सार अडिएको छ। रचनात्मकता स्वयं समाजसापेक्ष अभिव्यक्ति हुने हुँदा हास्यव्यङ्ग्य सिर्जनाका विधाहरूको व्यञ्जनामा सामाजिक यथार्थको गतिशील छवि अङ्कित भएकै हुन्छ। बेलाको बोली बनेर हास्यव्यङ्ग्यको गोली बजान्छ। त्यति खेर विसङ्गतिका कुनै पनि पक्ष प्रहारको विन्दु बन्न सक्तछ । किनभने विरोधाभासको बोधबाट नै हास्यव्यङ्ग्य उत्पन्न हुन्छ ।

सुखवादी दर्शनको कमानीमा हांसो घुम्छ, सुधारवादी चिन्तनको कमानीमा व्यङ्ग्य घुम्छ । विरोधाभासको अन्त्यका लागि विरोधभावको सुगठनद्वारा हास्यव्यङ्ग्य सिर्जना गरिन्छ । हास्यव्यङ्ग्य अभिव्यक्तिको विशिष्ट शैली हो, यसले मानिसको मन र मस्तिष्क दुवैलाई एकैसाथ झकझक्याउँछ। अभिव्यन्जनाका जुनसुकै रूपमा पनि अभिव्यक्तिको यो शैली प्रयोग भई आएको छ। मानव कल्याणको अभिप्रायलाई गुदी बनाएर मानवजातिको कमजोरी केलाउनु, औल्याउनु र पन्छाउन प्रेरित गर्नुमा हास्यव्यङ्ग्यको सारतत्त्व सन्निहित छ ।

हास्यव्यङ्ग्यलाई साहित्यको एक तत्त्वका रूपमा त प्रायः सबै स्रष्टाले प्रयोग गर्दै आइरहेका छन् तर हास्यव्यङ्ग्यकारहरूले त्यसलाई सिर्जनाको मूल तत्त्व बनाएर, सूक्ष्मतम कला बनाएर, शैलीको चमत्कारका रूपमा प्रयोग गर्दछन् । सिर्जनाका जुनसुकै विधामा पनि उनीहरूले हास्यव्यङ्ग्यतत्त्वलाई मूल आधार बनाएर वाभिव्यक्तिलाई आकार दिन्छन् । साहित्यमा शब्दकलाको विचित्र प्रयोग हुन्छ भने अभिनयमा हावभाव र संवादको नाटकीयपनसंगै विरोधाभासप्रति प्रहार हुन्छ । चित्रमा रेखात्मक संयोजनसंग भावको विचित्र तालमेल हुन्छ जसले गर्दा थोरैमा धेरै सन्देश व्यक्त हुन पुग्दछ।

हास्यव्यङ्ग्यका शैलीमा पाइने प्रस्तुतिको यही चमत्कारले पाठक, श्रोता दर्शक र भावकलाई लठ्याउछ। व्यङग्यचित्रमा रेखा र रडको साथै विचारको गम्भीरता रहन्छ। रङ्गमञ्चमा विद्यकीय छिल्याहटभन्दा अभिनयको चिल्याहट रमाइलो लाग्दछ । वैपरीत्य सन्तुलन हास्यव्यङ्ग्यलेखनको मनोवैज्ञानिक आधार हो। शालीनताका लागि मात्र हैन सामाजिक मर्यादा पालनका लागि पनि यो जरुरी हुन्छ । द्वन्द्रको चित्रण एकताको मिश्रणमा आधारित हुन्छ। त्यस कारण हास्यव्यङ्ग्यमा भाव र भाषाको, रेखा र रङको, भाव-सबादको द्वन्द्वात्मक एकता निकै बलियो हुन्छ । द्वन्द्वात्मक एकता, एकतावद्ध द्वन्द् परस्परको सन्तुलनमा नै हास्यव्यङ्ग्यमा मृदु-कठोरता पैदा हुन्छ । मृदु-कठोरता स्वप विरोधाभासी शब्द हो। हास्यको कोमलतासँगै व्यङ्ग्यको कठोरता बुझाउनका लागि यही शब्द ठीक होला । त्यति भएर पनि मानिसको रुचिमा विविधता छ र तिनीहरूलाई परिष्कृत पार्नु लेखकीय दायित्व हो भन्ने कुरामा स्रष्टा सजग हुनै पर्दछ ।

मृदु व्यङ्ग्य अप्रत्यक्ष कथनको धारा हो भने कठोर व्यङ्ग्य प्रत्यक्ष कथनको धारा हो। यी दुईमध्ये मृदु व्यङ्ग्यलाई नै हास्यव्यङ्ग्यको मानक मानिएको छ। वास्तवमा हाम्रो व्यङ्ग्य साङ्केतिक छेप्पनमा घुमाउरो र नरम बोलीचालीका साथ प्रकट भयो भने मात्र उत्कृष्ट हुन्छ। हास्यको मुसुमुसुमा विचारको मृदुलता झागिएको व्यङ्ग्यकता नै सुन्दर ठहर्छ। प्रफुल्ल मनको आनन्दमा हास्यको सार्यकता रहे जस्तै आनन्दानुभूतिको उद्दीपनमा रमाएका वेता व्यङ्ग्यले आफ्नो लक्ष्य भेदन गर्दछ । बेमेल र वैपरीत्यका विरोधाभासलाई तारो बनाएर गरिने प्रहार हास्यको प्रफुल्लतामा नरम भइदिन्छ । वास्तवमा व्यङ्ग्यको प्रहार कठोर नै हुन्छ, तर त्यसको प्रयोजन सुधारात्मक रहेको हुंदा मित्रवत् बन्न पुग्दछ। वैयक्तिक स्वभाव र प्रवृत्तिलाई सामान्यीकरण गरी व्यङ्ग्य गर्नु सामाजिक सम्बन्ध र विधिव्यवहारका दुर्वलताहरूलाई आलोचनापूर्ण दृष्टि दिंदै व्यङ्ग्य गर्नु र जीवनजगत्‌को यथार्थसंगै कल्पनाजगत्‌को ईश्वरसम्बन्धी विश्वव्यापी भ्रमनाई समेत औंला ठड्याएर नयाँ मानवमूल्यको आवश्यकता दर्साउनु हाम्रो हास्यव्यङ्गाय सिर्जनाको विशेषता बनेको छ।

हास्यव्यङ्ग्यमा नैतिक आग्रह राख्ने गरिएको छ । अशिष्ट, अश्लील र अमर्यादित अभिव्यक्तिलाई बर्जित गर्नु पर्ने धारणा प्रायः सवै समालोचक एवं स्रष्टाहरूले व्यक्त गरेका छन् । यसको तात्पर्य नक्कल वा अनुक्तिका माध्यमबाट हासो पैदा गर्दा त्यो शालीनतापूर्ण हुनु पर्दछ भन्ने नै हो । अभिनय, हावभाव र बोली-व्यवहारको अनुकृतिद्वारा हास्यव्यङ्ग्य प्रक्षेपण गर्ने शिल्पीहरूका लागि नैतिक मर्यादाको यो मागते अनुशासित बनाउँछ । वस्तुविम्व र भावविम्बको अनुक्ति वनेर हास्यव्यङ्ग्यले एउटा समानार्थी सन्देश पनि दिन्छ जो सार्वजनिक सम्प्रेषणमा वझिने गरिन्छ । एक्न भावसन्देशको व्यङ्ग्यभन्दा यस्तो हास्यव्यङ्ग्य फरक हुन्छ । चित्रकला वस्तविम्ब मात्र रहंदा र भावविम्बको लक्ष्यअनुरूप घुमाउरो हुँदा अर्थात् व्यङ्ग्यचित्र बन्न पुग्दा, निश्चय नै फरक हुन्छ । अस्वाभाविकताप्रति प्रहार गर्नका लागि गरिएको नक्कल व्यक्तिबोधमा अडिन त सक्छ तर त्यस्तो व्यक्तिवादी अनुक्ति जन्मजात प्रवृत्तिद्वारा मात्र निर्देशित रह्यो भने सामाजिक शालीनता र मर्यादा भङ्ग गर्ने खतरा पैदा हुन्छ । अभद्रताको अनुकृति गर्नु हुँदैन, कदाचित गरेका खण्डमा त्यसको सादृश्य मर्यादित रहनु पर्दछ । दर्शक वा पाठकमा सम्प्रेपण हुने भाव श्लील हुनु पर्दछ । हास्यव्यङ्ग्य लेखनलाई नक्कल मात्रै ठान्नु हुदैन । वस्तु वा व्यक्तिको कुरूपतालाई चित्रित गर्नुको अभिप्राय त्यसमा सुधार होस् भन्ने नै हो। त्यसैले विरूपको रूप खोज्नु हास्यव्यङ्ग्य सिर्जनाको ध्येय बन्न पुगेको हुन्छ । अनैतिकलाई नैतिकवान् बन्ने आग्रह गरिएको हुन्छ । विरोधाभासलाई समाप्त गर्नका लागि सिर्जना गरिने हास्यव्यङ्ग्य सब्यवस्थित हुनुपर्छ । सिर्जनात्मक सुसङ्गतिका लागि त्यसका आधारभूत मान्यताहरूमा ध्यान पुग्नुपर्दछ । विषयवस्तुसंगै शिल्पको सन्तुलन अत्यावश्यक तत्त्व हो । जुनसुकै विधामा भए पनि हास्यव्यङ्ग्यले आफ्नो लक्ष्यभेदन तव मात्र गर्न सक्छ जब त्यसले कलात्मक चतुऱ्याइका साथ सौन्दर्य सृष्टि गर्छ।

सौन्दर्यलाई सिर्जनाको मूल तत्त्व मानेर हेरिने गरेको छ । साहित्य, कला, सङ्गीत र अभिनयका फांटमा सौन्दर्यका विशिष्टताहरू भिन्नभिन्न छन् । तर सौन्दयं विनाको आनन्दानुभूति कतै सम्भव छैन। साहित्यमा मात्र हैन कलामा पनि भाव सन्देशको सुस्पष्टताले नै धेरैलाई प्रभावित गर्दछ । हास्यव्यङ्ग्यमा त झन् विचित्रताको समेत माग गरिन्छ । विचित्रता अन्तरवस्तुलाई रूपाकृक्तिमा ढाल्दा उत्पन्न गरिन्छ । फरक फरक विधामा फरक फरक साधन र शैलीको प्रयोग गरेर वैचित्र्य निर्माण हुन्छ । साहित्यमा विचारपूर्ण शब्दकला, चित्रमा भावपूर्ण रेखा र रङको सन्तुलन एव अभिनयमा सवाद र भावभङ्गिमाको सादृश्यले विशिष्टता पैदा गर्दछ । हास्यव्यङ्ग्य सिर्जनामा कल्पनाको प्रयोगद्वारा पनि विशिष्टता पैदा गर्ने गरिएको छ। अतिकल्पना र कल्पना पृथक् छ । अघिल्लोले मानिसलाई यथार्थवाट पन्छाउँछ भने पछिल्लोले यथार्थलाई सुन्दर बनाउन सघाउँछ । भावनाका तरङ्गहरूलाई विवेकले सन्तुलनमा राखेर नै कलासिर्जना अघि बढ्छ । हास्यव्यङ्ग्य पनि एउटा कला हो ।

हास्यव्यङ्ग्यकलाका आफ्ना आधारभूत मान्यता र रचनापद्धतिहरू विकसित भइरहेका छन् । मानव जीवन र मानव मनको स्वस्थताका लागि हास्योपचार पद्धति समेत हुर्किदो छ । यस स्थितिमा हामीकहां भने हास्यव्यङग्यका बारेमा यथोचित चिन्तन-मनन भइरहेको पाईदैन। अशिक्षितहरूमा मात्र हैन कतिपय सुशिक्षितहरूमा समेत फगत मूल प्रवृत्ति अनुरूपको हाँसोमा रमाउने रोग बढ्दो छ । आनन्दलाई रतिराग होइन, मति बाग बनाइनु पर्दछ । किनभने आनन्द सामूहिक सर्वेगमा पनि व्यक्त हुन्छ । त्यसैले हास्यव्यङ्ग्यकलाको सार्थकता त्यसको सामाजिक सम्प्रेप्यतामा निर्भर गर्दछ । मूर्त वा अमूर्त, सुस्पष्ट वा अस्पष्ट, श्लील वा अश्लील शैलीमा अभिव्यक्त भएका हाम्रा हास्यव्यङ्ग्य सिर्जनाहरूमा तान्त्रिक मतदेखि यान्त्रिक मतसम्मको प्रयोग पाइन्छ । तर तिनीहरूमा यथोचित सामाजिक सम्प्रेपण पाइदैन । त्यसैको फलस्वरूप भावक वृत्त साँगुरो हुन पुगेको छ । प्रयोजनको सङ्कीर्णताले हास्यव्यङ्ग्य साहित्यको सिर्जना टाक्सिएको छ । अखवारी हास्यव्यङ्ग्यले यसकै उदाहरण दिएको छ । मौलिकताको मात्र हैन रचनाशीलताको समेत अभाव खड्किने त्यस्ता हास्यव्यङ्ग्यले साहित्यको मर्यादालाई चोट पुऱ्याएका छन् ।

हास्यव्यङ्ग्यकलाको उच्चता साधनावाट नै प्राप्त हुन्छ । साहित्य, ललितकला र अभिनयमा रूपवादी चिन्तनको एउटा धार छ । त्यसले हास्यव्यङ्ग्यलाई कुनै लक्ष्य, हेतु वा अभिप्रायमा बांध्नु हुँदैन भन्ने तर्क अघि सारेको पाइन्छ । परन्तु रूपलाई नै कुनै पनि वस्तु व्यक्ति, वा सिर्जनाको सर्वस्व ठान्नु गलत कुरा हो। सार र रूपको सहसम्बन्धविना कुनै पनि वस्तु, व्यक्ति वा सिर्जनाको वास्तविकता पहिचान हुन सक्दैन । व्यक्ति र वस्तुको सार उसको गुणमा अडिएको हुन्छ भने कृतिको सार त्यसको भावमा रहन्छ । त्यसैले हास्यव्यङ्ग्यमा अन्तरवस्तु र रूपको सन्तुलन जरुरी हुन्छ । समाजको संरचना अनुकूल सप्टाहरूले जीवनबोध गर्नु र समाजको सिर्जनामा तदनुकूलका अनुभूतिलाई उतार्नुका कारण हाम्रा हास्यव्यङ्ग्यमा सामाजिक अन्तरविरोधको प्रतिविम्व प्रस्टैसंग व्यक्तिएको छ । व्यक्ति समष्टिमा र समष्टि समाजमा छरिंदा नेपाली हास्यव्यङ्ग्य सिर्जना जाति, धर्म र संस्कारजन्य अभिव्यक्तिहरूवाट प्रभावित भएको छ । परस्पर होच्याउने उखान-टुक्का, लोककथा र गीतहरू हट्न सकेका छैनन् । सामाजिक वास्तविकताको एउटा पाटोमा पुरातनपन्थी सोच रहेको भए पनि स्रष्टाहरूले त्यसको विकल्प दिएर आधुनिक वैज्ञानिक एवं मानवीय सोच अघि सार्नु पर्दछ । स्वस्फूर्त सम्मिलन प्रक्रियामा रहेको मानव जातिलाई सुव्यवस्थित सम्मिलनतर्फ अभिप्रेरित गर्नु पर्दछ । नूतनपन्थी यथार्थ नै उन्नतिशील पक्ष हो । त्यसैले हास्यव्यङ्ग्य स्रष्टाहरूले पुरातनपन्थी सोचका विरोधाभासप्रति निरन्तर प्रहार गर्दै आइरहेका हुन् ।

क्रमश:

०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x