साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बिर्सिस्यो कि’ : हास्यहीन व्यङ्ग्य

प्रगतिवादमा निष्ठा राख्ने हुँदा विसङ्गत यथार्थको विरुद्ध सुसङ्गत यथार्थको निर्माण उनको अभिप्राय रहेको छ । हास्यको छिचरोपन उनको पहिचान होइन, व्यङ्ग्यको गम्भीर वैचारिक आक्रमण उनको अभीष्ट हो ।

Nepal Telecom ad

विष्णु प्रभात :

पद्मशमशेरको संविधानसँगै पाँचथरको च्याङ्थापुमा टुप्लुक्क देखापरेका मान्छे झापा झरे पनि दिगो बसाइमा रमेनन् । फलतः काठमाडौंको कोटेश्वरमा बस्न पुगे । रुद्र खरेल पातलो छाला भएका संवेदनशील मानिसको चिनारीमा परिचित छन् । श्रममा संलग्न भएर पसिना बगाउन थालेपछि मात्र छाला पातलो हुन्छ र जिउ कल्कलाउँदो बन्न पुग्छ । हल्का हावा सिर्र चले पनि मन मस्तिष्क संवेदनशील भएर शीतलताको अनुभूति उब्जन्छ । त्यस अनुभूतिले नै कला, साहित्य र सङ्गीतको सिर्जना गर्दछ । सच्चा स्रष्टा जो छन् ती सबै पातलो छाला भएका छन् । बाक्लो छालाका गैँडेहरू ‘लबस्तरा’ जस्तै हुन् । संवेदनाशून्य पराश्रमीहरू हुन् । मानिस जब संवेदनाशून्य हुन्छ तब ऊ आकारले मात्र मान्छेजस्तो देखिन्छ । आदर्श र आचरण, व्यवहार र बुद्धिमा जङ्गली जनावरसरह हुन्छ- निरङ्कुश शासकहरू जस्तै । त्यसप्रकारका बाक्लो छालाबाट डम्मरु र ढ्याङ्ग्रो बन्न सक्छ । स्वदेशी अनुहार लिएर विदेशीको सेवारत रहने विशेषता नै तिनीहरूको मूल चरित्र हुन्छ । मानवतावादको ‘बाक्लो छालावाद’ सवार भएको वर्तमान समयमा मनुष्यको संवेदना र संस्कृति बचाउने भित्री इच्छाले व्यङ्ग्यको गुलेलीमार्फत् विसङ्गति र कुरूपताको थाप्लोमा शब्दको मट्याङ्ग्रा हान्दै आएका एउटा बिर्सनै नसकिने प्रतिभा हुन् । हामीले नबिर्से पनि उनी विर्सन्छन् । त्यसैले कहिले ’तपाईंको नाम के हो ?’ भन्दै ‘तोरीलाहुरे चोकमा एकछिन’ टोल्हाउँछन् । कहिले सोझै ‘बिर्सिस्यो कि ?’ भन्दै प्रश्न गर्दछन् । बडा गजपको मान्छे छन् । सधैँ नै भादगाउँले टोपीमा सजिन्छन् । ‘दुःखी गरीवप्रति सहानुभूति र सामन्ती शोषकहरूसँग विद्रोह’ उनको विशेषता हो । (रामप्रसाद दाहाल, साहित्यकारहरूको परिचय-२०५४, वि.पु.भ. पृष्ठ ३६०) सानो कुरा समाएर ठूलो बनाउने खुबीका यी मान्छे हुन्- रुद्र खरेल, रुद्रमय व्यवहारमा रौसिएका ।

नाम रुद्र भए पनि जनताका निम्ति डरलाग्दा छैनन् । रूप्से छहराझै निरन्तर चिन्तनमा बगिरहने हुनाले उनलाई रुमानी रचनाका स्रष्टा मान्नुपर्छ भन्ने तर्क गर्नेहरू देखिन सक्छन् । तर उनी समाजवादी चिन्तनपद्धतिमा विश्वास राख्ने यथार्थवादी लेखक हुन् । (राजेन्द्र सुवेदी, स्रष्टा, सृष्टि, द्रष्टा दृष्टि, साप्र. २०५८ पृ.१८३) भूमिकासहित सत्र रचनाको मुठो पारेर आएको ‘व्यङ्ग्य निबन्ध सङ्ग्रह’ हो- ‘बिर्सिस्यो कि ?’ यो उनको साँहिलो कृति हो । जाँडमा साहित्य र साहित्यमा जाँड अविच्छिन्न उपस्थिति देखेर लेखेकी पहिलो रचनाले साहित्यलाई मनोरञ्जनको साधन मान्ने स्वान्तः सुखायवादीहरूलाई हिर्काएको छ । आफू उभिएको ठाउँ र उद्देश्य हेक्का राख्दै आलङ्कारिक भाषामा समाजको समग्र विसङ्गतिमाथि प्रहार गर्छन् । बुद्धिजीवीहरू जोडजीवीमा बदलिएको चित्रण सँगसँगै उनी भन्छन्- ‘मुलुकको प्रशासन र राजनीतिको अनौपचारिक अड्डा भट्टीपसल नै हो । औपचारिक अड्डामा त छाप र लेटरप्याड मात्र हुन्छ, कानुनी रीत पुर्‍याएर दस्तखत मात्र हुन्छ ।’ लुँड्याउने कामको चाँजोपाँजो र शुभारम्भ भने भट्टीमै हुन्छ ।’ (रुद्र- बिर्सिस्यो कि ? पू.३) वास्तवमा यो तीतो सत्यले देशलाई जाँडमा डुबाउनेहरूको पोल खोलेको छ । सरकार जाँड व्यापारीको इसारामा नाचिरहेको छ । दुई-चार बोतल घरेलु जाँड बनाउनेलाई पक्रने र करोडौं लिटर उत्पादन गर्ने धनाढ्यहरूलाई कर मिनाहा गर्ने कामले यसको पुष्टि गर्दछ । सरकारी अड्डामा जाँडखर्चको हिसाब उल्लेख छ, आलेख । वस्तुपरक निबन्ध भएर पनि आत्मपरकताको आभाष यसमा पाइन्छ । ‘सारीको हावा’ दोस्रो रचना हो । संस्मरण जस्तो लाग्ने यस निबन्धको विषयवस्तु सामान्य घटना लाग्दछ । परन्तु नारीप्रतिको हेपाहा संस्कारलाई झापड दिनमा भने यो बेजोड छ । सारीले नछोएको हावा पृथ्वीमा नै छैन भन्दै ‘हामीले धर्ती टेक्नुअघि सारीको थाङ्ना टेकेको’ तथ्य औँल्याएका छन् । सवाल सारीको होइन नारीको हो, नारीको निन्दा गर्नेले सिर्जनाकै निन्दा गर्दछन् । उनी भन्छन्- ‘जुन सारीको थाङ्नामा ग्यालिलियो, फ्लेमिङ र आइन्स्टाइन जन्मे, बुद्ध र माक्स जन्मे, गंगालाल र देवकोटा जन्मिए, त्यो कसरी दुर्गन्धित हुन्छ त्यो त सुन्दरताको सष्टा हो । म त्यस जीणर् टुक्राको सम्मान गर्दछु’ भन्ने भावमा निकै राम्रो अभिव्यक्ति दिएका छन् । उनले आफ्नो विशेषतामार्फत् प्रकट गरेका छन् । ‘भ्यालेन्टाइन्स डे’ पनि रोचक छ । राजनीतिको थोरै मिसमास गरिएको त छ, तर मूलपक्ष सांस्कृक्तिक विकृतिप्रति व्यङ्ग्य गर्नुमै केन्द्रित रहेको छ । फागुन ७ गते टुडिखेलमा रमिता हेर्ने सामान्य जनताका लागि अहिले पनि प्रजातन्त्र भनेको ‘बुट बन्दुक र तोपको गर्जन साथ गरिने सैनिक परेड’ भएको छ । कस्तो चोटिलो प्रहार गर्छन् रुद्र बनेर । वर्गअन्तरको यथार्थसंगै चेतनाको भिन्नता औल्याउँछन् र सहरमा हुर्कदै गरेको छाडा यौनसंसर्ग र पैसाका निम्ति नैतिकता बेच्ने दृष्प्रवृत्तिको विषयमा पाठकलाई गम्भीर सोचमा डुबाउन सक्षम देखिन्छन् । सञ्चारका साधनमा प्रस्तुत नग्नताप्रति पनि व्यङ्ग्य गर्छन् । उनी भन्छन्, ‘श्रम गरेर जीवनमा चमत्कार ल्याउनेहरूको साँचो कथा टेलिभिजनमा आउँदैन ।’ (ऐ. पृ. १०) बिल्कुल सही कुरा हो यो ।

पुस्तकको नाम राखिएको रचना हो- ‘बिर्सिस्यो कि ?’ यसमा सामान्य मानवीय कमजोरीका रूपमा हुने बिर्साइ र प्रयोजनमूलक ढङ्गले बिर्सिएको स्वाङ पार्ने बिर्साइबीचको अन्तरसँगै बाटो बिर्सने र माटो विर्सनेहरूप्रति व्यङ्ग्य हानिएको छ । बिर्सेको सकार्ने भैरव अर्याल र बिर्से नबिर्सेको कुरा पधार्ने रुद्र खरेलबीच व्यङ्ग्य लेखकको बाहेक अरू साइनो छैन । भैरव पनि ’नबिर्से पनि बिर्सेको अभिनय गर्ने’ नक्कली बिर्सुवाको चर्चा गर्छन् र रुद्र खरेल पनि ‘इच्छापूर्वक बिर्सनुमा षड्यन्त्र, दुरा गयर बाँद्ने दाउ हुन्छ भन्छन् । स्वार्थ बिर्सनेहरू प्राक्तिक बिर्सुवाहरू हुन् । भैरवका नजरमा ‘मान्छेको दामित पदोन्नति जाने केही बानीहरूमध्ये बिर्सने चानी पनि एक हो । (गलबन्दी २०२६ पृ. १६७) रुद्र भन्छन्- बिर्सनु मानवीय कमजोरी मात्र होइन, जाती कुरा पनि हो । (बिर्सिस्यो कि ११) भैरव बिर्सने र सम्झने सुधीवालहरूको चर्चा गर्छन्, रुद्र निमाठ विमान हिसाब बिर्सनेहरू छन्’ भन्दै ओछ्यान बिर्सने बिर्सुवालाई सबभन्दा खतरनाक मान्छन् । कानून कलेजको कोठाबाट कालोपाटी पुछ्ने डस्टर राख्न बिर्सेर उनी आफै फुस्रो हात लिएर पुतलीसडक पुगेको रमाइलो घटना सुनाउँछन् । ठाउँठाउँमा कविता मिठास थपेका छन् र निकै राम्रो, स्तरीय रचना हामीलाई दिएका छन् । ‘आयो हल्लाउँदै झम्झम् इष्टकोट’ अर्को रोचक खुराक हो । सामयिकताको प्रयोग गर्दा अखबारी स्तरलाई नाघेर अघि बढ्ने कुशलता रुद्र खरेलको विशेषता हो भन्ने साक्षी बक्न यो रचना काफी छ । सुन प्रिय संस्कारमा सिस्नो लगाएर नुनका समस्यातर्फ हामीलाई प्रयासमा यो सिर्जना लम्केको छ । बेइमानी र लुटका लागि इमान्दारिताको शपथ लिनेहरूप्रति व्यङ्ग्य हान्दै हाम्रो देशको उद्योग व्यापार, सञ्चार, बजार, गांधसीमा र स्वतन्त्रतासमेत नदीनाला, प्राकृक्तिक स्रोत र विद्युत् ऊर्जा पनि विदेशीले हल्लाइरहेको यथार्थ औँल्याउँछन् । गीतको एक फाँकीबाट शीर्षक लिइएको यस निबन्धले कुर्ता पाइजामा लगाएर इष्टकोट हल्लाउने, रुखो राजनीतिमा मास्तिर होंगी हाल्दै तलतिर जरा गाड्नेहरूप्रति गुलेली चलाउँछ । खासगरी राष्ट्रियताप्रति संवेदनाशून्य भएको तास पङ्क्तिलाई चोटिलो मट्याङ्ग्रा हान्छन् । अर्को रचनामा उनी ‘क्रान्तिकारीहरू सुधारवादीमा फेरिए’ भन्ने सङ्केत गर्दै भन्छन्- ‘भालेहरू ब्वाइलरमा बदलिए’ । उनीहरूले समयलाई पहरा दिन जानेनन् । हिजो गोलघरमा र जेलका खुँगीभित्र भेटिने भालेहरू आज आधा करोडका पजेरोभित्र पाइन्छन् । (ऐ. पृ.१८) त्यसैले जीवन र भविष्यप्रतिको प्रेमले सिल्टिमूर खायो । तर, उनी निराश छैनन् भाले बास्ने आशा अझै बाँकी छ र बास्दा अरू नै भाले बास्छन् भन्दछन् ।

सुनको प्रसङ्ग अघिल्लो रचनामा परेको भए पनि उनको चित्त बुझ्दैन, अनि ‘सुनको चराले…’ थप करा कथुर्छ । विद्रोही नारी योगमायादेखि अमर गिरीसम्मको कविता समावेश गरेर ‘सुन संस्कृति’ को धज्जी उडाउँछन् । मिथकीय प्रभावको छनकसँगै ‘मुनामदन’ र महिला मुक्तिको प्रसङ्ग यसमा पाइन्छ । ‘सुन भनेको अहिलेको समाजको चिन्तनको चुरो हो, सस्कृक्तिको निणर्ायक तत्त्व हो । (पृ. २१) जस्तासुकै अपराधी हुन् सुनको दिव्यास्वले न्याय र कानुनका सिङ भाँचेर सुनकै छातीमुनि ढाडे बिरालो जस्तो घुरेर निदाइरहेका छन् । परिवेश भिन्नताले फरक देखिए पनि सुनको सिङका पछि रामलाई पठाएर सीताले लोभ प्रकट गरेकी थिइन् त्यसको अवशेष आजका नारीहरूमा पनि छ । त्यसैले सुनको पिजराबाट मुक्त नभएसम्म महिलाहरूले केही गर्न सक्दैनन् भन्ने ठहर रुद्र खरेलमा छ । (पु.२२) जून कुरा वास्तवमा सही हो । जबसम्म नेपाली महिलाले गहना पन्छाएर पुस्तक बटुल्ने र पढ्ने काम थाल्दैनन् तबसम्म सुनसँगै सती जाने संस्कार बददिँदैन । ‘भोजन र प्रेम’ ले दिएको मुख्य सन्देश हो- घाँसलाई गाईगोरुले पनि हान्दैन । अर्थात् कमिशन, घुस कोसेली पाउँदा प्रहरी, प्रशासन र अदालतका हाकिमहरूले पनि लात्ती हान्दैनन्, सिङ उज्याउँदैनन्, गिद्धले अर्काको सम्पत्तिमा आँखा लगाउँछन् र इन्साफ दिने बहानामा ‘भोजन’ हसुर्छन् । वास्तवमा बिरालोको सामु मुसाको रोदनले के पो गर्छ र ।

‘बिल्टुवाहरूको भीडमा उभिँदा’ कामचोरहरूलाई इज्जत दिने समाज-व्यवस्थाप्रति घृणा पैदा हुन्छ । अनि पुर्पुरो मान्ने सोचप्रति व्यङ्ग्य गर्दै समाजका लुटाहाहरूको चरित्र नग्याउँछन् । उनी रमाइलो तथ्य अघि सारेर छुर्पी चोर पुलिसको लुटारपनसँगै हिन्दी व्यङ्ग्यकार हरिशङ्कार प्रसाई र शरद जोशीलाई ल्याइपुर्‍याउँछन् र पुष्टि गर्छन्- पुलिसको यो प्रवृत्ति नेपाल र भारतमा समान छ । वास्तवमा तथ्य बोल्छ ‘जुलुसहरूमा लठ्ठी तिनैमाथि बज्रिन्छ जसका हातमा दामीघडी र औँठी हुन्छन् । तिनै महिलाहरू बढी चुटिन्छन् जसका घाँटीमा सिक्री र नाडीमा सुनको चुरी हुन्छ । दुर्घटनाहरूमा पुलिस- फौजको मानवीय सेवा र उद्धारमा पनि पहिलो नजर ‘पहेँलो’ वस्तुतिरै हुन्छ । जसको माध्यमबाट उसको पारिवारिक उद्धार हुन्छ । आखिर मान्छे मारेर तक्मा भिर्ने डफ्फा त हो त्यो । कतिपय अभिव्यक्तिहरू भने व्यङ्ग्यात्मक नभएर सोझै भनिएका गम्भीर विश्लेषणजस्ता पनि पाइन्छन् । परम्परादेखि पशुपतिका अखाडामा सरकारले जोगीहरूलाई गाँजा बाँड्दै आएको छ । गाँजा, धुनी, भतेर, भोजजस्ता श्रमविरोधी परम्परालाई श्रमको आडमा राज्यले मान्यता दिएको छ । (पृ. ३१) उनी घोषणा गर्दछन्, ‘म भाग्य र अदृश्य शक्तिमा विश्वास पटक्कै राख्दिनँ ।’ (पृ. ३३) यद्यपि केही प्रसङ्गमा भाग्य र भगवान्, आत्मा र ईश्वरका कुराहरू समावेश भएको पाइन्छ । विल्टुवापनको परिभाषा दिदै उनी भन्छन्- ‘सिधै अरूको ओछ्यान र भान्छा ताकेर हिँड्नु हाम्रो समाजको स्थापित र मर्यादित विल्टुवापन हो ।’ जाडोमा पाहुना आउँदा मुङलिङको बाटोझै कुलङलिङ परेर सुत्न विवश हुनु अतिथि सत्कारको आदर्श भने हुन्छ । सोझै नेताको नाम लिएर राजनीतिमा व्यङ्ग्य हान्ने खेवारामा ‘बःअः’ नामक रचना आएको छ । कृष्णप्रसाद भट्टाराईको कुरामा साबुनको विज्ञापन जोडेर हँस्यौली हाल्ने प्रयास गरिएको भए पनि हाँसो हैन छाँसो नै बलवान् बनेर प्रस्तुत हुन्छ । माधव पोखरेल र वासुदेव त्रिपाठी, चूडामणि रेग्मी र रुद्र खरेल मिसमास हुन पुग्दा संस्मरण-निबन्धझै लाग्छ । वास्तवमा कुरा चपाएर बोल्ने प्रवृत्ति नङ्ग्याउने क्रममा नामै काढेर लेखिएको त छ तर अशिष्ट भने छैन । शालीन र घुमाउरो भाषामा कुरा कथुरेर आफ्नो विश्लेषण अघिसार्ने खप्पिस्याई यसमा देखापर्दछ ।

‘सरस्वती पूजा’ – व्यङ्ग्यात्मक छ । पूजा सामग्रीमा छुरी ‘चेन’ डण्डा र खुकुरी थपिएको प्रसङ्गसँगै खोयाबिर्के झोल ‘पञ्चामृत’ बन्न पुग्छ । सरस्वती पूजाको नाममा बलपूर्वक चन्दा लिने, पुस्तक पूजाको परम्परागत अन्धविश्वासलाई अँगाल्ने र परलोक सुधार्न पुस्तक पढ्नेहरूप्रति निर्मम व्यङ्ग्य हानिएको छ । शौचालय साहित्यको चर्चा गर्दै परीक्षामा फैलिएको चरम विक्ति र शिक्षकप्रतिको अभद्र व्यवहारलाई ‘उत्तरआधुनिक’ बताउँछन् । (५-३९) शिक्षा ज्ञानका लागि होइन, दाइजो तिलकको मात्रा बढाउन हो, त्यसैले चिट संस्कृक्तिलाई सम्मान गर्नुपर्छ । चिट छात्रछात्राले मात्र होइन लेखकको स्वीक्तिबेगर ‘गाइड’ बेच्ने मास्टरहरूले पनि सारेका छन् । त्यसकारण आज जसले सिङ्गो देशलाई चिट गर्दछ त्यो नै ठूलो मान्छे भइआएकाले विश्वविद्यालयले पनि दुईतिहाई लद्दुलाई नै विद्वान्को प्रमाणपत्र बाँड्दैछन् । हाम्रो शिक्षा व्यवस्थाको ‘तेत्तीसे नियम’ ले यही भन्छ । यो निकै राम्रो रचना हो । सामान्यतया सङ्ग्रहमा रहेका धेरै निबन्धहरू राम्रा छन् । विषयको विविधता छ । अतिराजनीतिक छैनन् र बौद्धिकतापूणर् छन् । ठाउँठाउँमा अरूको रचनालाई उद्धृत गरिएको छ । यी रुद्र खरेलका रचनात्मक वैशिष्ठ्य बनेका छन् । ‘प्रगतिवादहरूको आत्मपरिचय’ बौद्धिकतापूणर् व्यङ्ग्य हो । आफ्नो वृत्तमा देखापरेका विक्तिप्रति लक्षित यस रचनाले स्रष्टाहरूलाई गम्भीर बन्न मद्दत गर्छ । प्रगतिवादका नाममा व्यावसायिक कारोबार गर्नेहरूमाथि प्रहार गर्दै खाग्सीवादी, बद्ख्वाइँवादी, लोकपावादी, डाप्रोवादी, पेन्सनपट्टावादी, पर्मवादी, एनजीओवादी र खोयाबिर्के प्रवृत्तिको विरोध गर्दछन् । उनका अनुसार ‘खाग्सीवादीहरूले आफ्नो पार्टी, नेता र सरकारलाई चिल्याउने-टल्काउने, सत्यको कुनै मतलब नराख्ने अनि यो युगलाई डेन्टिङपेन्टिङको युग स्वीकार्ने गर्दछन् । घडीको लङ्गुरझै हल्लने, रक्सीको रमरममा रमाएर विद्रोही रचना लेख्ने र आमूल परिवर्तनको गफ भट्टी-भट्टीमा गर्नेहरू खोयाबिर्क प्रगतिवादका अनुयायी हुन् । पर्मवादीले प्रशंसाको आदान-प्रदान गर्छन् भने एनजीओवादीहरू डलरधन्दा चलाउँदै साहित्य लेख्छन् । पेन्सनपट्टावादीहरू संसदीय साहित्यकार हुन् र उनीहरूको विशेषता भाषणमा राष्ट्रिय स्वाभिमान, व्यवहारमा मुलुकको पूरा अपमान गर्नु हो । डाप्रोवादी प्रगतिवाद भनेको डाक्टर प्रोफेसरहरूबाट थरहरी हुने र पित्तले परिवर्तन स्वीकार्नेहरू हुन् र बद्ख्वाईवादीहरूले आफूलाई सयमा सय ठीक अरूहरू बेठीक भन्दै वर्गीय प्रेम, एकता अनि सिद्धान्तनिष्ठताको गफ गर्ने व्यवहारमा सधैँभरि ध्वंशात्मक आलोचना गर्ने गर्दछन् । लोकपावादी प्रगतिवाद लोग्नेको पार्टी भएवापत समर्थन गर्ने सोचमा अडिएको हुन्छ । संस्कारगत ढङ्गले पुरानो ‘छुक बिछुक सिद्धान्त’ मानेर फलित ज्योतिष साँधेमा आठको अङ्ग नै अशुभ हुने हुँदा यो सिद्धान्तमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था छ । सबैको बिल्लिबाठ पार्ने अथवा पुल्टुङबाजी ख्वाएर मार्ने मनसाय नराखी मैले यति कुरा भनेको हूँ । आखिर ‘आधुनिकता’ भन्ने कुरा लुगामा अडिने नभए त दुनियाँदारले यति धेरै लुगाफाटो, पहिरन र कहिरनको तर्जुमा गर्ने पर्दैनथ्यो । भाँती-भाँतीका टोपी र जुत्ता, टाई र कोटको जरुरत नै हुने थिएन । विचार र व्यवहारमा वैज्ञानिकता र यथार्थबोध भएर आधुनिक भइन्थ्यो भने नेपाली टोपी लाउँदा किन खिसी गरिन्छ ? भूत, प्रेत र बोक्सी लागेर धामी धाउने डाक्टर सफा र राम्रो लुगा लगाएरै आधुनिक हुन्छन् भने रुद्र खरेल किन यो कुरा मान्दैनन् ? उनी त उल्टै जनैले एकतीस तोपको सलामी पाउँछ भन्दै पुरातनको पो पक्षपोषण गर्छन् । कुरा ठिक्कै हो ‘मानव’ महाकाव्यमा मोदनाथले भने की त्यो ‘छ सरे धागो’ भएको भए पक्कै त्यस्तो सम्मान नपाउनु पर्ने यी सब कुराको गाँठी फुकाउँछन्- ‘आधुनिकता’ निबन्धमा रुद्र खरेल । उनी भन्दछन्- ‘शहीद दिवसमा उनीहरूप्रति सम्मान गर्दै तोप पर्किन्न । श्रम र पसिना अरूको पिएर मोजमस्ती गर्नेहरूको हालीमुहाली रहेको समाजमा जनै मनुवादको प्रतीक हो ।’ गाँठी कुरा त के हो भने दिमागको बाह्रबाक्सी ढुँसी नखुर्केसम्म आधुनिकताको भट्यौली खरानीको जनावर मात्रै हुनेछ । अरूलाई गाली गर्दा ‘साला’ भन्नेहरूप्रति खनिन्छ र आफूलाई सुधार । भन्ने सन्देश दिन्छ ‘साला’ निबन्ध । नारी पुरुष समताको भाव हुर्काउनुपर्ने सल्लाह दिँदादिँदै यो निबन्ध सकिन्छ । ‘डफलीवाले डफली बजा’ हिन्दीगीतको हरफबाट शीर्षक लिइएको रचना हो । यसमा क्याम्पसप्रमुखको नालायकीपन कुशलतापूर्वक नङ्ग्याइएको छ । पढेर सक्दा लघुकथाजस्तो लाग्छ । गीतहरूबाट शीर्षक लिने भ्रष्टाचार । यसमा सुर्तीविरोधी भाषण गर्ने नेताले मञ्चमा भाषण गर्दागर्दै जनताको आँखा छलेर सुर्ती लुँड्याएको चित्रण कुशलतापूर्वक गरिएको छ । नेपाली जनता हुस्सु बनेर थपडी पिट्दासम्म राजनीतिक भ्रष्टाचारीको ढोँगी व्यवहार चिन्न गाह्रो हुने तथ्य प्रस्तुत गरेर सतर्क बन्ने सल्लाह दिइएको यस रचनाले कल्पना र यथार्थको राम्रो संयोजन गरेको छ। यो उनको अर्को विशेषता पनि हो ।

सारांशमा भन्दा हास्यहीन व्यङ्ग्यको सुन्दर कृति हो- ‘बिर्सिस्यो कि ?’ यस सङ्ग्रहका आधारमा व्यङ्ग्यकार रुद्र खरेलको लेखनकर्म प्रयोजनबद्ध देखापर्दछ । प्रयोजनबद्ध व्यञ्जनात्मक प्रस्तुतिको वैशिष्ठ्य अङ्गालेर यथार्थलाई प्रतीकात्मक भाषामा पुनर्रचना गर्नु र त्यसमार्फत् सामाजिक सुधारको सन्देश दिनु उनको लेखनधर्मिता बनेको छ । प्रगतिवादमा निष्ठा राख्ने हुँदा विसङ्गत यथार्थको विरुद्ध सुसङ्गत यथार्थको निर्माण उनको अभिप्राय रहेको छ । हास्यको छिचरोपन उनको पहिचान होइन, व्यङ्ग्यको गम्भीर वैचारिक आक्रमण उनको अभीष्ट हो । नारी-पुरुष समताको भाव विषयगत विविधताको प्रभाव र मानवीय स्वभावको सहजताले रचनाहरू प्रवाहित छन् । न लामा न छोटा- ठिक्कका हुनु, समसामयिकताभित्र साहित्यिक मूल्य स्थापित हुनु, भाषाको प्रयोगमा झर्रोपन रहनु, दामपन्थी र वामपन्थी दुवै वैचारिक ध्रुवका खराबीप्रति आक्रामक हुनु, रोचकतापूणर् अभिव्यक्तिसँगै घोचक शैलीको गाम्भीर्य रहनु, वस्तुपरकतासँग आत्मपरकतालाई घुलमिल पार्नुजस्ता विशेषताले उनको हास्यव्यङ्ग्यकारिता भरिएको छ । संस्कृति, नेपाली र हिन्दी कविता एवम् गीतका हरफ हाल्नु र स्थानीय बोलीलाई समेत रचनामा पसाल्नुलाई पनि थप विशेषता मान्न सकिन्छ । यसप्रकार व्यङ्ग्य लेखक रुद्र खरेलले बिर्सिस्यो कि ? भन्दा ‘बिर्स्याछैनौँ, तपाईंलाई तोरीलाहुरे चोकमा भेटेको त हो । भन्नुपर्ने भएको छ ।

०००
‘स्मृतिमा रुद्र खरेल’ (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x