सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यमा नारी हस्ताक्षरः हिउँचुलीको मेवा

नेपालीको मन प्राय चाम्रो छ, तर ’म छोरो मान्छे’ लिङ्गभेदी संस्कारका विरूद्ध बोल्दा पूरा गीलो भइदिन्छ । पुरूषप्रति द्वेष पारिजातमा कति थियो कुन्नि नारीजातमा भने प्रशस्तै भेटिन्छ, त्यसैले कुन्ति र द्रौपदी पूजनीय बन्छन् ।

Nepal Telecom ad

विष्णु प्रभात :

नेपाली साहित्यको कविता विधामा हास्य व्यङ्ग्यको प्रयोग गर्ने प्रथम नारी प्रतिभा योगमाया हुन् जस्तो लाग्छ । उनको विचार सामन्ती सुधारवादको घेराभित्रै रहेको भए पनि त्यसबेलाको परिस्थिति, उनको शिक्षादीक्षा र संस्कारसमेतको सापेक्षतामा प्रगतिशील थियो । सन्त-साहित्यको प्रभावमा कवयित्री योगमायाले ज्ञानदिल दासको परम्परालाई अघि बढाएकी थिइन् । उनले जातिवादको कट्टरताका बिरूद्धमासमेत आफूलाई लगाइन् । परन्तु जीवन-बोधको सही समझ नहुँदा उनले अँगालेको नारीमुक्तिको बाटो, समाजसुधारको पाटो दुवै विफलतामा बिलीन भए । तर जुन विद्रोह उनले गरिन् त्यसले नेपाली नारीहरूलाई अदम्य साहश दिइरहेको छ र पुरेतवादी चिन्तनका बिरूद्ध विधवा विवाह गर्नु, जातीय मिश्रणलाई जोड दिनु, राणाशासनको बिरोध गर्नु, मूर्ति पूजाको विरोध गर्नु, सहज-सिर्जनाको आसु कवित्वद्वारा जनतालाई प्रभावित गर्नु र अलौकिकताकै बलमा भए पनि आफ्ना अनुयायीलाई मर्नसमेत तयार पार्ने खूबी हासिल गर्नु उनको विशिष्ठता हो । नेपाली इतिहासमै एउटा विद्रोही नारीलाई नियन्त्रण गर्न सयौंको सङ्ख्यामा सेना प्रयोग गरिएको पहिलो घटना पनि उनीसँग नै सम्बन्धित छ । उनको सिर्जनामा रहेको विशिष्ठतामा यिनै कुराहरू रहेका छन् । हास्य व्यङ्ग्यको साहित्यिक मूल्य कमै भए पनि प्रयोगका दृष्टिले उनका कविता राम्रा रहेका छन् र निकै व्यङ्ग्यात्मक छन्-

ebook bishnu prabhat
ebook bishnu prabhat

यौटा घर श्राद्ध खाई अर्का घरमा आँटे
ग्रहहरू बिन्ति गर्छन् पुरोहितले ढाँटे
विद्या लिने ब्राम्हण नै व्यशनका धनी,
बनियाँका काममा लागे उत्तम् मणि पनि ॥
– योगमाया, सर्वार्थ योगवाणी, प्रथम संस्करण पू. ५२ ।

योगमायाले भन्ने गर्थिन्- “मेरो जात शंकरजीमा शरण पर्न गो !” वास्तवमा अपठिता नारीले यसरी व्यङ्ग्य गर्नु योगमायाको विशेषता थियो । ज्ञानमणि नेपाल भन्छन “आफ्ना तिख्खर वाणीले विभिन्न विषयमा व्यङ्ग्य गर्न पुगेकी सन्त कवयित्री योगमाया स्वस्फूर्त कार्यकलाप गर्ने विद्रोही नारी थिइन् । त्यसै गरी पारिजात भन्छिन् “योगमाया जो एउटा आसुकवि थिइन्, तिनको कृति पढेर म निकै प्रभावित भएँ ।” उनका रचनामा रहेको व्यङ्ग्यधर्मिता र गहन- चिन्तनको छनक हेरौँ-

पुर्खा मेरा शून्ना-भवन, पृथ्वी मेरी माता,
पृथ्वीभित्र जन्म्या जति सम्बन्धका नाता ।
जाति मेरा आत्मगुरू सागर मेरा शाखा,
आकाश मुनि पृथ्वीमाथि बास् हो मेरो खासा ॥ (‘सर्बार्थ योगवाणी’ पृ.६२)

यसप्रकार योगमायाले नेपाली कविता विधामा हास्यव्यङ्ग्यको प्रयोग गरेर नारी जागरणको अर्को बाटो पनि खोलेर गएकी छन् । यद्यपि उनको यस्तो शैली साहित्य-साधनाको यात्रामा सचेतन ढङ्गबाट प्रयोग भएको होइन । नेपाली साहित्यको इतिहासमा नारी-हस्ताक्षरको पहिलो पट्टीमा परेकी योगमायाको निधनपछि लामो समयसम्म अर्को प्रतिभा पाइँदैन- भानुभक्त मोतिरामको व्यङ्ग्य- लेखन तथा ‘अलौकिक जागरण’ कालमा मात्र होइन, सातसालको सामाजिक सङ्घर्षद्वारा अग्रचालित क्रान्तिकारी उथलपुथलका बीच पनि नारी-लेखनको ‘लौकिक जागरण’ यात्रा अत्यन्तै न्यून रहिआएको छ । अहिलेसम्म ललितत्रिपुरसुन्दरीलाई पहिलो महिला लेखक मानेर चर्चा गरिँदै आएको छ । परन्तु के उनीभन्दा अगाडि योगमाया रहेकी छैनन् ? भक्तकुमारी राणाको चर्चा छ, लोकप्रियादेवी र कुसुम मञ्जरीको उल्लेख पाइन्छ । गोमा, सावित्री सुन्दास र पुण्यपप्रभा ढुङ्गानाको पनि नाम आउँछ तर योगमायाको प्रायः उल्लेख गरिँदैन किन ? यिनीहरूमध्ये केही त फुटकर लेखनमै रहेका छन् र केहीले मात्र आफ्ना रचना-सङ्ग्रहलाई ढिलो भए पनि सारा समाज सामु प्रकाशित गरेका छन् । प्राय सबैको लेखन सामान्य छ ।

भाव प्रस्तुतिका सामान्य शैलीलाई विशिष्ठ मान्न सकिन्न । हास्य व्यङ्ग्य भाव प्रस्तुतिको विशिष्ठ शैली हो। यो हाँसो र छाँसोको मिश्रण भए पनि कथा, कविता, नाटक, उपन्यास झै स्वतन्त्र विधा होइन । यी सबैमा प्रयोग हुन्छ तर सन्तुष्ट बन्दैन । त्यसैले चित्रकारी कलादेखि रंगमञ्च अभिनयको फाँटमासमेत हास्यव्यङ्ग्य उफ्रिन्छ । श्रव्य दृष्य र पाठ्यरूपमा प्रयोग हुने विविध भाव, संवाद र सन्देशसँग एकात्मक बनेर हास्यव्यङ्ग्य शैली उपस्थित हुन्छ । साहित्यमा विधागत विभाजनअनुरूप विस्तार हुन्छ, चित्रकलामा प्रायः कार्टुन बन्दछ र अभिनयमा रञ्जक भई अभिव्यञ्जित हुन्छ । ध्वनि सामीप्यमा विपरीत भाव पस्कनु, हास्य रससँग छेपनको लेपन ठोंसिनु, बिग्रेकालाई सपार्न हपार्ने हाँक स्वीकार्नु र शब्दकलाको सहजतामा बत्तिनुसँगै चित्रमा विचित्र अङ्कन गर्नु र अभिनयमा सविनय भावको उल्टो दगुर्नु यसका विशेषता बनेका छन् । लेखन, मञ्चन, अङ्कन र प्रवचनमा प्रयोग गरिँदै आएको यो विशिष्ठ-शिल्पलाई कलाको तहमा उचाल्न निरन्तर साधना चाहिन्छ । यस्तो शिल्प-चातुर्य फुटकर रचनामा फाटफुट फेला परे पनि कृतिगत लेखन-परियोजनमा राम्रोसँग अभिव्यक्त गर्न गराउन सकिन्छ । जुन काम नारी- लेखनका क्षेत्रमा अझै अभाव छ ।

नेपाली कविता-यात्रामा देखापरेका नारी-हस्ताक्षरहरूले मूलतः सामान्य शैली नै प्रयोग गरेका छन् । चारवटा सङ्ग्रह प्रकाशित विद्यादेवी आचार्य दीक्षित, तीनवटा सङ्ग्रह प्रकाशित रमोलादेवी शाह, (छिन्नलता) दुई कविता सङ्ग्रह र तीन खण्डकाव्य प्रकाशित गोमा, दुई कविता सङ्ग्रहसमेत थुप्रै संस्मरण, कथा र उपन्यास लेखिका पारिजात, एउटा कविता सङ्ग्रह लेख्ने र हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्ने पहिलो महिला सम्पादक बनेकी आशासिंह शाह (सिम्रिक) दुई कविता सङ्ग्रह र एउटा काव्य लेखिका बानिरा गिरी, एक एकवटा सङ्ग्रह प्रकाशित कुन्ता शर्मा, शिला विष्ट, शारदा शर्मा, श्यामा ओझा, भद्रा घले, बाबा बस्नेत, भारती खरेल, मञ्जु काँचुलीहरू र फुटकर लेखन्ताहरूमा प्रेमा शाह, शशिकला, विजया शर्मा, कुन्दन शर्मा, विनिता सिंह, मन्जु काँचुली, शर्मिला पोखरेल, शान्ता श्रेष्ठ, प्रतिसरा सायमी, सानुमति राई, आरती राई, भुवन ढुंगाना, उषा दीक्षित, सावित्री अर्याल, गार्गी शर्मा, सुलोचना, शुभ श्रेष्ठ, सीता पाण्डे, शारदा शर्मा, उषा शेरचन, तोया गुरुङ, इन्दिरा प्रसाई, भागिरथी श्रेष्ठ, अनिता तुलाधर, रमासिंह, लक्ष्मी उप्रेती, वेञ्जु शर्मा, माधुरी भट्टराई, नम्रता गुरागाई, शोभा गौतम, गौरा रिजाल, लक्ष्मीदेवी अर्याल, शुष्मा मोक्तान आदि धुप्रै नामहरू संझन सकिन्छ ।

२०५६ सम्म पनि साझा प्रकाशनबाट कुनै नारी- रचना पुरस्कृत भएको छैन र त्यसले छापेका ९५२ पुस्तकमा महिला हस्ताक्षर जम्मा एकतीस रहेका छन् । त्यसरी नै एकेडेमीद्वारा प्रकाशित ५५१ पुस्तकमा २१ मात्र नारी हस्ताक्षर छन् । नारी-सिर्जनाको संख्या हेर्दा जुन न्यूनता छ, त्यसले के देखाउँछ भने हाम्रो समाजमा उनीहरूको स्थान अत्यन्तै पछाडिएको छ । शिक्षाको पछौटेपन र अवसरको हनन हुँदा शिक्षित नारीहरूकै संख्यासमेत कम रहन गएको छ । त्यस माथि साँस्कृतिक सिर्जनाको महत्वपूर्ण फॉँट- साहित्यमा रहेको खडेरी बीच हास्यव्यङ्ग्य-शैलीमा लेख्ने त हिउँचुलीको मेवा हुने भइहाल्यो ।

नेपाली हास्यव्यङ्ग्य सिर्जनाको इतिहासमा श्रव्य दृष्य र पाठ्य क्षेत्रको यथोचित अवलोकन, अनुसन्धान तथा मूल्याङ्कन भएको पाइँदैन । यसवाट हाम्रो साङ्गीतिक फाँटमा भर्खर भर्खर फष्टाउन थालेको व्यङ्ग्य-गीत, कविता, हास्य- जुहारीको अवस्था निक्र्योल हुन सकेको छैन । हास्यव्यङ्ग्यकै रचनाका रूपमा प्रसारित नाटिकाहरू, गीतिकाहरू, चित्रचक्का र सिनेमाको पनि विवेचना भएका छैनन् । फलतः तिनीहरूमा प्रयोग गरिएको भाव, भाषा र प्रस्तुतिको कलात्मक- मूल्याङ्कन गर्ने काम हुन सकेको छैन । पाठ्य-सिर्जनामा पनि हास्यव्यङ्ग्य साहित्यको विविधतामा व्यक्त कविता, कथा, नाटक, निबन्ध, संवाद र समीक्षाको विधागत स्थिति सपार्नेतर्फ लेखैयाहरूको ध्यान गए जस्तो लाग्दैन । आजको नेपाली हास्यव्यङ्ग्य जो छ त्यो कविताबाट शुरू भएर निबन्धमा थिग्रिएको छ । हाम्रा हास्यव्यङ्ग्य कथाहरू, नाटक प्रहसनहरू, उपन्यास र समीक्षाहरूको अवस्था कस्तो छ ? केही चुट्किला- ठट्टा सङ्कलन र केही प्रहसन छन् जो एक दर्जन पनि पुग्दैनन् । दुई तीनवटा उपन्यास र काव्यहरू छन् । निर्धक्कसँग महाकाव्य भन्न सकिने कृति अझै देखिएको छैन यद्यपि डा. भीष्मराज प्रसाईले आफ्नो “आत्मसमर्पण” लाई ‘व्यङ्ग्य-महाकाव्य’ भनेर अघि सारेको पाइन्छ र चूडामणि रेग्मीले ‘गजवाष्टक’ नामको ८६४ श्लोकको कवितात्मक व्यङ्ग्य सङ्ग्रह पस्केका छन् । हावामा गर्जर्ने चट्याङ पनि मास्टर बनेर गीता पढ्न थालेपछि झण्डै दुईसय वर्ष लामो नेपाली हास्यव्यङ्ग्य कविता यात्रामा ‘सेलको माला’देखि ‘भालु पुराण’सम्मका पुरूष रचनाहरू नपाइने कुरै भएन । ‘छ्याकन’ को डोको बोकेर भूतको भिनाजु नाच्दा पनि महिलाहरूद्वारा रचित एउटा कुनै सङ्ग्रह हास्यव्यङ्ग्यको देखा परेन ।

हास्यव्यङ्ग्य समीक्षाको कृति पनि फगत भैरव अर्यालको एउटा ‘दश अवतार’ बाहेक अहिलेसम्म पनि अर्को झरेन । स्थितिको यो पाखामा हेरेर नै होला कतिपय समीक्षकहरूले अहिले पनि नेपाली हास्य व्यङ्ग्य भैरव अर्यालको स्तरबाटमाथि जान नसकेको कुरा गर्दछन् । परन्तु विकासको यात्रा मात्रात्मक फन्को मार्दै गुणात्मक फड्को हान्छ । अहिले भैरवको मृत्यु पूर्वका हास्यव्यङ्ग्य रचनाहरू र पछिका रचनाको स्थिति हेर्ने हो भने निकै अन्तर पाइन्छ । भैरव अर्यालको कु-मृत्यू २०३३ सालमा भएको थियो । त्यसअघि नेपाली हास्यव्यङ्ग्य साहित्यको भण्डारमा जम्माजम्मी एघार कविता सङ्ग्रह, तेह निबन्ध सङ्ग्रह, एक उपन्यास र तीन नाटकहरू रहेको विवरण एकमात्र हास्यव्यङ्ग्य पुस्तकालयको लिखतमा भेटिन्छ । तर २०३३ पछिको अवस्था प्रत्येक विधामा फरक छ । अहिले सोही स्रोतका आधारमा हेर्दा थप २१ कविता सङ्ग्रह, ६५ वटा निबन्ध सङ्ग्रह, उपन्यास २ वटा, नाटक नौ वटा र समीक्षा सङ्ग्रह एक प्रकाशित भएका छन् । पहिलेको संख्यामा यी पुस्तक पुस्तिका थप हुँदा हाम्रो हास्यव्यङ्ग्य साहित्य भण्डार पुष्टिदै-मोटाउँदै गएको कुरालाई कसैले नर्कान सक्दैन । जहाँसम्म गुणस्तरको मूल्याङ्कन गर्ने प्रश्न छ- त्यसपछिका सबै कृतिको व्यवस्थित अध्ययन, विश्लेषण र निष्कर्ष निकाल्ने काम कुनै समालोचकले गरेका छैनन् । नयाँ पुस्ताका रचनाहरू पाठ्यांशमा नराखिएको हुँदा विश्वविद्यालयका प्राध्यापकहरूको पनि यसतर्फ ध्यान गएको छैन । त्यसैले हिजोलाई हिजोकै परिवेशमा र आजलाई आजकै परिवेशमा केलाएर नयाँ निष्कर्ष निकाल्नु पर्दछ । यसको तात्पर्य अतीतको नकारात्मक निषेध भने बिल्कुल होइन ।

हास्यव्यङ्ग्यमा नारी-हस्ताक्षर हेर्दा फुटकर प्रयोगको परम्परामा पाइने बाहेक सिङ्गै हास्यव्यङ्ग्य सङ्ग्रह लिएर आउने प्रतिभा कुन कुन विधामा को को हुन् ? यतिखेर यो प्रश्नको समाधान खोज्नुपर्ने भएको छ । कौवा प्रकाशनले छपाएको ‘छ्याकन’ सङ्ग्रहमा एकमात्र महिला व्यङ्ग्यकार परेकी छिन्- विद्यादेवी दीक्षित । उनको त्यो रचना ‘सन्दूस’ कविता सङ्ग्रहबाट झिकिएको भए पनि सिङ्गो सङ्ग्रह व्यङ्ग्यमा दरिँदैन । नरबहादुर दहालको सम्पादनमा निस्केको “सेलको माला” मा भने तीनजना महिला व्यङ्ग्य कवि भेटिन्छन्- उमा साम्पाङ राई, सुश्री ढंग हराएकी र अरूणा । यो सङ्ग्रह भारतीय नेपालीहरूले दार्जलिङबाट छपाएका हुन् । वासुदेव शर्मा लुइँटेलद्वारा सम्पादित “डाढो” सङ्ग्रहमा जम्मै पुरूष लेखक छन् र यो सङ्ग्रहमा सबैले एउटै शीर्षकमा लेख्ने विशेष प्रयोग गरेका छन् । ‘जस्ता तस्तै’ मा पनि नारीहस्ताक्षर छैनन् । ‘भालुपुराण’ मा पनि कुनै लेखिकाको नाम पाइँदैन । त्यसपछिको अर्को महत्वपूणर् विवरण बन्न आइपुगेको “हास्य-व्यङ्ग्यकार नालीवेली” मा पनि कुनै महिलाको नालीबेली छैन । २०५८ मा सिस्नुपानी नेपालद्वारा प्रकाशित एवं माणिकरत्न शाक्यद्वारा सम्पादित उक्त पुस्तकमा पचास जना व्यङ्ग्यकारको विवरण सङ्कलित छ तर ती मध्ये महिला कोही छैनन् । यसप्रकार नारी प्रतिभाको चिनारी खोज्दै जाँदा सिस्नुपानी नेपालद्वारा आयोजित “सोझा नारीका बाङ्गा कविता वाचन कार्यक्रम” सम्म पुग्दा पनि सन्तोषी बन्न सकिएन । त्यसैले खोजबिनको काममा हात बढाउनु हामी सबैको हितमा हुनेछ ।

‘सोझा नारीका बाङ्गा कविता’ खोज्दै गरिएको गोष्ठी सम्भवत नेपाली हास्यव्यङ्ग्य सिर्जनामा पहिलो महिला साहित्यिक जमघट भने पनि हुन्छ । यस प्रकारको गोष्ठी प्रज्ञाको कुरै छाडौँ, हाँसनेले पनि आयोजना गरेको थिएन । फलतः छब्बीस जना नारी प्रतिभाले आफ्ना रचना पाठ गरेर हास्यव्यङ्ग्य कविता लेखनमा आफूलाई उत्साहित बनाए । प्रथम महिला प्राज्ञ तोया गुरूङ्ग प्रमुख अतिथि रहेको सो गोष्ठीमा अरूणा उप्रेती, आभा आचार्य, कमला पराजुली, गीता कार्की, गायत्री विष्ट, जयन्ती सत्याल, दुर्गा पोखरेल, नर्मदेश्वरी सत्याल, नम्रता गुरागाईं, प्रभा भट्टराई, बेञ्जु शर्मा, बुनू लामिछाने, मञ्जु काँजुली, रमा शर्मा, शान्ता श्रेष्ठ, सुलोचना, सुधा त्रिपाठी, सिर्जना दुवाल, सम्झना शर्मा, सुमित्रा तिवारी, शोभा साइन, शर्मिला पोखरेल र हरिकला उप्रेती सम्मिलित थिए । अहिले म तपाईंहरूसँग तिनै मध्येकी एउटी कवयित्री हरिकला कान्छीको पहिलो कविता सङ्ग्रह साथ केही धुँगा कुराकानी गर्दै चिनारी दिन चाहान्छु ।

जेठी हरिकलाको जन्म ताप्लेजुङ्गको हाङपाङमा भएको हो र उनी योगमायाको मृत्युपछिको तेस्रो महिनामा जन्मेकी थिइन् । गर्गगोत्रकी जेठी हरिकला आध्यात्मिक भावधारामा रचिने भक्ति-साहित्य लेखिका हुन् र उनको वैचारिक आँगन सामन्तवाद रहेको छ । ‘भजनमाला’, ‘हिमशोक काव्य’ र ‘दिव्यदेवी दर्शन’ जस्ता रचनाका माध्यमबाट चिनिएकी ती हरिकला हास्यव्यङ्ग्य सिर्जनाको फाँटभन्दा निकै पर छिन् । शायद माइली हरिकला पत्रकार छिन् । यी कान्छी हरिकला व्यङ्ग्यकार बन्ने होडमा जेठी हुन आइपुगेकी छन् । यिनको जन्म २०३० भदौ ३ गते तेह्रथुमको आठराई ईवा गाउँमा भएको हो । आमा कृष्णमाया र बाबु धनपतिकी एक मात्र छोरी हरिकलाका ५ जना दाजुहरू छन् भाइ छैनन् । प्रारम्भिक शिक्षा-दीक्षा गाउँकै श्रीपोखरी माध्यमिक विद्यालयमा भएको थियो । आई.ए.सम्मको पढाईपछि उनी साहित्य सिर्जनातर्फ लम्किन् र यही यात्राको पहिलो सौगात ‘उपद्रो’ कविता सङ्ग्रह भएको छ ।

हरिकला कान्छीको ‘उपद्रो’ एक होइन, अनेक छन् । मान्छे जब उपद्रो गर्न थाल्छ, तब उसले एउटा दुईटामा कहाँ सन्तोष मान्छ र ? पूरापुर बाउन्नवटा बटुलेर आएकी छिन् । समकालीन राजनीति, अर्थतन्त्र, संस्कृति र सङ्घर्षका छायाँ- छवि उतार्दै उनले आफ्नो सिर्जना सिङ्गारेकी छिन् । “सुटेडबुटेड” बाट सुरूगरेर “किन लागेँ कलमतिर ?” मा सिध्याइएको हास्यव्यङ्ग्य कविता सङग्रहले विभिन्न समय, परिवेश र विषयवस्तु उनेको छ । “आफ्नो भाका आफ्नै भाव, शास्त्रीय छन्दको पूरै अभाव“ यस सङ्ग्रहका कविताहरूको विशेषता बनेको छ । परन्तु लोकलयसँग मिल्ने -मिलाउने मेहनती प्रयास पनि प्रष्टै देख्न सकिन्छ । अनुरोधको भाषामा जँड्याहा लोग्नेको प्रतीकमार्फत पितृसत्ताको विरोध गर्छिन् र दुईजीब्रे नेताको ’हजुरी’ गाउँछिन् । विस्तारवादी हैकमको विरोध नगरेर बसेका सत्ताधारीहरूले नेपाललाई बिकाऊ माल बनाएकोमा चिन्ता व्यक्तगर्दै दमनतन्त्रको विरोध गर्छिन् । ढिलासुस्ती, कमिशनखोरी र भ्रष्टाचारको विरोधसँगै दलीय दलदलको अहंकार र अवसरवादको जयजयकार गर्ने क्रममा उनको बहुदलीय बजेट बोल्छ-
पार्टी ठूलो चारतारे नेता ठूला हाम्रा,
शक्ति जता उतै भक्ति नीति पनि राम्रा
रूख जस्तै हाँगै हाँगा पार्टी भित्र गुट,
हाम्रा पछि लागे मात्र कल्याण हुन्छ उठ ।
(‘बहुदलीय बजेट’ पृ.३१)

सबै नयाँ कुरा राम्रा हुन्छन् भन्न सकिन्न । नराम्रो नयाँ कुरालाई राम्रोमा बदल्नका निम्ति परिश्रम चाहिन्छ । ‘ओल्ड इज गोल्ड’ भने पनि पुरानो सबै सुन हुँदैन । त्यसैले काव्यात्मक लालित्य खोज्नेहरूका लागि उनका अभिव्यक्तिमा मिठास नपाइन सक्छ । तर कतै पितपत्रकारिताको विरूद्ध बोलेझै र कतै कलाकारको बखान गरेझै गरी प्रेमको अभिनय गर्नेलाई थप्पड हान्छिन् । प्रेम पुरानै कुरा हो तर सबै खाले प्रेम राम्रो भन्न कसैले सक्दैनन् । विछोडको सोच नयाँ हो सबैले नराम्रो भन्दैनन् । प्रेम र विछोडको सम्बन्ध परस्परको सहजीवन, समविश्वास र सहनशीलतामा निर्भर गर्दछ । दोहोरीले दिन खोजेको सन्देशभित्र लुकेको अन्तरविरोधले आर्थिक जीवनको पाटोलाई पनि अघि सार्दछ । ‘पाजी हुम्ला’ द्वेयार्थक छ । एकातर्फ यो क्रान्तिको बन्दूक पड्किरहेको लालभूमि पनि हो र विकासको बत्ति वल्न बाँकी रहेको दुर्गम भूमि पनि हो । दुवै अर्थमा डर लाग्न सक्छ ।

सुन्दै पनि डर लाग्ने कर्णालीका कुरा,
त्यस्ता ठाउँमा कुन मुर्खले गर्छ काम पूरा,
सकेजति विकास निकास आफ्नै नाउँमा गर्छु
हुम्ला प्रेमी हुनुभन्दा बरू बसाइँ सर्छु ॥
(‘पाजी हुम्ला’ पृ.२८)

राजधानी वा ठूला शहरमा बसेर राज्यको ढुकुटी गोब्याउने घुनहरू नुनको जोहो हैन, सुनको गोहोमा हिंडेका हुन्छन् । त्यस्ताको ’यात्रा’ अनियन्त्रित बजारको हजार-हजारको गड्डी हुन सक्छ । परन्तु एक्काइसौं शताब्दीका पुरुषहरू जो छन् ती पनि त एघारौं शदीको चिन्तनमा गुँडुल्किन सक्छन् । त्यसैले कवि व्यङ्ग्य गर्छिन्-
भावी शिशुको गर्भ मैले बोक्नु परेको भए,
ठस्ठस् कन्दै घरधन्दा र मेलापात गर्नु परेको भए,
अहो मलाई त खलखल पसिना आयो
सम्झनै सकिन, धन्न म पुरुष भएँछु ॥
(‘हामी एक्काइशौ…’ पृ. २३)

पुरूष बनेर सोच्ने अभ्यास आफैमा एउटा व्यङ्ग्य बनेको छ भने महिला मुक्तिको अनुराग बीच पोथी बास्ने कुराको प्रसङ्गले कवयित्री कुन्ता शर्माको कविता सम्झाउँछ । समताको हक ममतापूर्ण भयो भने मात्र समाज ठीक ढङ्गले अधि बढ्छ । यसका लागि चड्कन नलाउने पोइ आवश्यक हुने कुरा ‘जरूरी सूचना’ मार्फत व्यक्त भएको छ । आफैप्रतिको बेजोड व्यङ्ग्य- यस कवितामा अभिव्यक्त छ । एउटा योग्य वरको माग गरिएको छ तर थुप्रै शर्तबन्दीका साथ । ‘शिक्षा’ ले त्यस क्षेत्रमा भएको ब्यापारीकरणको बिरोधसँगै शैक्षिक क्षेत्रमा रहेको वर्ग विषमता बोल्छ । गाउँ र शहरको भेद दर्शाउँदै ‘आयोजना’ कविताले बिजुलीमा भइरहेका भ्रष्टाचार र विदेशी नियन्त्रणलाई नङ्ग्याउँने काम गरेको छ । विकासका नाममा भएका भ्रष्टाचार एवं असन्तुलित विकास, सरकारसँगै बाटो बदल्ने तरीका र यात्रा बदल्ने गरेका कुराहरू उनको “हजुरबालाई सन्देश” मा व्यक्तिएका छन् ।

‘छ्याकन’ मा कविता पसाल्ने विद्यादेवी दीक्षितले बाँदर-बाँदर्नी सम्वाद लेखिन् भने ‘उपद्रो’ मच्चाउने कान्छीले बाँदरले तर मारेको देखिन् । ‘अरूण तीन’ को चर्चा गर्दा जलमाफियाप्रति घृणा व्यक्त गर्छिन् र भन्छिन्-

राजनीति कमिशनको खेल, पौडी खेल
दाता तिम्रो विश्व बैंक डलरको भेल ॥
(‘अरूण तीन’ पृ.३३)

कविताको भावमूमि वस्तुगत यथार्थ हो र त्यसलाई कवि शिल्पले चिटिक्क सिङ्गार्नु सष्टाको दायित्व हो । कला प्रकृतिको पुनः सिर्जना मान्दा यही यथार्थको प्रतिविम्वन गरिन्छ र खोक्रो प्रजातन्त्रको विशेषता दर्शाइन्छ-

जलस्रोतमा गर्व गर्ने धेरै पाइन्छ,
दाउरा बाल्दै विकासको डिंडो खाइन्छ,
समस्या भो भन्दै रूने धेरै पाइन्छ,
देशी उद्योग सुके पनि टेर्लिन लाइन्छ ॥
(‘मेरो देशमा’ पृ.७९)

सरकारको जेथा भनेकै जनता र देश हो । तर ती दुवैलाई बेचेर खाने राष्ट्रघाती-जनघातीका हातमा सत्ताको बागडोर भएपछि राष्ट्रियतामा सङ्कट पैदा हुन्छ । त्यसमाथी ’निजीकरण’ को डण्डा चलेपछि समाजमा हुने अवस्था उल्लेख गर्दै कवि भन्छिन्-

रोग जति गरीबलाई शोख जति धनीलाई
निजीकरण चारैतिर सबको भलाई
(‘निजीकरण’ पृ.२९)

नारीमुक्तिको नाराप्रति व्यङ्ग्य गर्दै नारी दिवश बोल्छ । लिङ्गभेदी व्यवहारको सामन्ती संस्कारमाथि र छाडा यौनाचारको धनवादी व्यापारमाथि दोहोरो प्रहार गर्दै व्यङ्ग्य कसिएको कविता हो- “महिला मुक्तिको माग” । यसले समकालीन परिवेशमा चल्दै गरेका बहसदेखि परम्परागत संस्कारसम्म नै झटारो हानेको छ । महंगी र नेपाल बन्दको चित्रण सहज अभिव्यक्ति बनेको छ भने ‘कामना’ ले अदालती अन्यायका विरूद्धमा, देशको स्वाभिमान झुकाउनेका विरूद्धमा, नदीनाला बेच्ने नेता विरुद्धमा शीर ठाडो पारेर लड्न आव्हान गर्दै विदेशीसँग झुक्ने बूढो रूख सिंगै ढलोस्गलोस् भन्छ र बकाइनाको बोटमा हलुवावेद फलोस् भन्ने व्यङ्ग्य प्रहार गर्दछ । “उन्नतिको चक्र” र “विकास” उस्तै उस्तै लाग्छ भने “मध्यावधि” सामान्य तुकबन्दीमा टुङ्गिन्छ । परन्तु “नारी” कविता राम्रो छ । ‘गजाधर सोतीकी घरबूढी अलछिन्की रहिछन्’ भन्ने लागेर भानुभक्तले वधुशिक्षा लेखे र नारीहरूलाई अर्तिबुद्धि दिए । शायद त्यसैको अलिकति चटनी मिसाएको हुँदा यस कवितालाई पुरूष गणले पनि छि भन्न हच्किने छन् ।

प्रधानमन्त्रीय पद्धतिको सरकारी पक्षपोषण र राष्ट्रपतीय पद्धतिको जनचासो र मागको द्वन्दमा संसदको औचित्य कस्तो छ ? प्रधानमन्त्रीको फेटा जस्तो छ भन्दै डण्डावालको थाप्लोमा टाकुरे ट्वाक लगाएर नपुगेपछि प्रजातन्त्रलाई अर्थात अहिलेको संसदीय बाऊदल व्यवस्थाको बारेमा कवयित्रीले छ्याङ्गै भन्छिन्- हजारौँको मतलब छैन शिखर एक चढ्छ, प्रविधिको विकासले बिनास मात्र बढ्छ । विकास भन्नु जनता ठग्ने जादुटुना रैछ प्रजातन्त्र तोङ्बा तान्ने काठे भाँडो हैछ । (‘तोङ्बा तान्ने भाँडो’ पृ.५२) नारीलाई किनबेचको बस्तु बनाउने पूँजीवादले सुन्दरी प्रतियोगिता आयोजना गर्छ । रूप, सिप र शरीरको व्यापार गर्छ, देहव्यापार र चेलीबेटी ओसार-पसारको धन्दा गर्छ । “लौन” कविताले यही भन्छ । पूँजीवादले बाल-बालिकालाई विज्ञापनदेखि नै वैज्ञानिक प्रयोगसम्म, सुसारेदेखि सैनिकसम्म प्रयोग गरिआएको छ । सुन्दरी प्रतियोगिताको विरोध नगर्नेहरूले त्यसलाई बौद्धिकताको छनौट भन्दछन्, परन्तु त्यो जैविकताको छनौट हो। कवयित्री काइदा साथ ’विश्वसुन्दरी’ मा व्यङ्ग्य गर्छिन्-

जन्मै तीखा वनको काँडा त्यस्तै छु म साँच्चै
छन्दवन्द मिलेकै छ उचाई तीन फूट मात्तै
क्याट्वाक् हिंडाइ नौइञ्च हिल् चिप्ल्यो भने चिलिम्
ओजन छ अस्सी के. जी. युग सुहाउँदो सिलिम् ॥
(‘विश्व सुन्दरी’ पृ.५३)

पुरेतवादीहरूका विरूद्धमा लक्षित एवं जाँड-रक्सी र चुरोटका विरूद्धसमेत प्रेक्षित ‘आजकाल’ रूद्रघण्टी अर्थात् किल्किलेमा रूद्राक्ष भिर्ने र चन्दन लेप्ने भजनीयाँहरू यथार्थ जीवनका हराम हुन् भन्ने सङ्केत गर्न सक्षम छ । यातायात बिसौनीमा रहेका होटेलहरूको चर्तिकला-दोबाटोको फसलमा व्यक्त छ । तर फसल र पसलमा भने अलमल पो उब्जने हो कि ? त्यसो हुन नदिन ‘चेतना भरौँ’ महंगी र मिसावटबाट थिग्रिएको जीवन कसरी बाँच्ने ? यस प्रश्नको समाधान कसले खोज्ने ? त्यसमाथि प्रजातान्त्रिक गोलीको त्रासले सर्वसाधारणदेखि हुनेखानेसम्म थरथर भएको बखत राज्यसत्ता जो छ त्यो दमनको औजार त बन्दछ । त्यसैले कवि प्रजातान्त्रिक गोलीको बोली यसरी बोल्छिन्-

सत्ता भए भत्ता हुन्छ भत्ता निम्ति सत्ता,
जता जता जान्छ सत्ता उतै जान्छु मता,
खेल्न मलाई मन पर्छ रगतको होली,
भटटट चलाइदिन्छु प्रजाान्त्रिक गोली ॥
(‘प्रजातान्त्रिक गोली’ पृ.५८)

सङ्ग्रहमा थुपारिएका कतिपय कविता रहरका उपज बनेका छन् र तिनीहरूले प्रयत्न र साधनाको अभ्यासिक भूमिकाभन्दा बढी मूल्य निर्माण गर्न सकेका छैनन् । ‘अनसन’ र ’किन लागें कलमतिर ?’ पढ्दा यस्तै लाग्छ । ‘सुटेडबुटेड’ जमानाको चित्रण गर्ने क्रममा घुसखोरीप्रति यस्तो व्यङ्ग्य पाइन्छ-

सुपारीको बहानामा खाजा माग्न थाल्यो,
गैंडा हात्ती खुरुखुरु खल्ती भित्र हाल्यो,
काम पनि छिट्टै हुने मुखै रसिलो,
भेटघाट हुँदा पनि बन्यो हँसिलो ॥
(‘सुटेड बुटेड’ पृ.१९)

कुर्सी गीत राम्रै मानिदिए हुन्छ । महान् नेता कस्तो ? सही लक्ष्य बिनाको डाङ्डुङ जस्तो पढेपछि तपाई स्वयं प्रश्न गर्नुहुन्छ कुरा ठीकै छ कि कसो ? ‘धाँदली’ राम्रै छ- धेरै जसो । किनभने सक्नेले त धाँधली गर्छ । नसक्ने के गर्छ ? ’लौन’ हजुर भन्दै चिखपुकार गर्छ तर कराउँदा-कराउँदै भ्यागुतो मराई मर्छ सर्पले पेट भर्छ । ‘अनौठो देश’ राम्रो छ, तर बोक्सीको देश भनिने खतरा जो छ त्यो भने नराम्रो छ । नेपालीको मन प्राय चाम्रो छ, तर ’म छोरो मान्छे’ लिङ्गभेदी संस्कारका विरूद्ध बोल्दा पूरा गीलो भइदिन्छ । पुरूषप्रति द्वेष पारिजातमा कति थियो कुन्नि नारीजातमा भने प्रशस्तै भेटिन्छ, त्यसैले कुन्ति र द्रौपदी पूजनीय बन्छन् ।

अन्त्यमा कान्छी हरिकलाको जेठो चिनारी लिएर आएको व्यङ्ग्य कविता सङ्ग्रह आफैमा एउटा प्राप्ती हो, जो हिउँचुलीको मेवा बनेको नारी लेखनमा अविस्मरणीय रहने छ । कान्छीलाई शुभकामनाका साथ हार्दिक बधाई ।

०००
(‘उपद्रो’को भूमिकाबाट)
हास्यव्यङ्ग्य एघारौँ अवतार (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तेल घस्ने खेल

तेल घस्ने खेल

विष्णु प्रभात
खाओवाद जिन्दावाद !

खाओवाद जिन्दावाद !

विष्णु प्रभात
स्वार्थजीवी भव सब !

स्वार्थजीवी भव सब !

विष्णु प्रभात
0
Would love your thoughts, please comment.x
()
x