साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेल घस्ने खेल

मान्छेले मान्छेलाई छुँदै नछोई तेल घस्न सफल हुने खेलाडीहरू नै आजका भाग्यमानी भएका छन् । तोरीको शुद्ध तेलदखि छोरीको अशुद्ध खेलसम्मका यावत उपकरण यसमा प्रयोग भएको पाइन्छ ।

Nepal Telecom ad

विष्णु प्रभात :

मानव सभ्यतामा तेलको ठूलो महत्त्व छ । जुन दिन मान्छेले मान्छेलाई तेल घस्न सिक्यो त्यस दिनदेखि ऊ मानिसहरूबाट ईश्वरको निर्माण गर्न सफल भयो । त्यसैले तेल र मान्छेको सम्बन्ध ज्यादै घनिष्ट छ ।

मान्छे जन्मेदखि मर्ने बेलासम्म तेलकै संसर्गमा रमाउँछ । बालक कालमा आमाको काखमा रमाउँदै तेल घसाएका मानिसहरू नै पछि हुर्केर आफैँ तेल घस्ने मानिसमा बदलिन्छन् । तेल घस्ने र तेल घसाउनेको पङ्क्तिमा संसार बाडिएको छ भन्दा तेल घस्न र तेल घसाउन नरुचाउनेहरूको सानो हिस्सालाई पनि मुल्नु हुदैन । दुनियां परिवर्तनशील भएजस्तै सानो हिस्सा ठूलो हिस्सामा बदलिन सक्छ, सानो कुरा ठूलोमा फेरिन सक्छ र अल्प मत बहुमतमा परिवर्तन हुन सक्दछ । त्यसैले मानिसहरूमाझ रहेको यो तेल घस्ने खेल ऐतिहासिक भए पनि परिवर्तनशील छ। शुरूमा अर्काले तेल घसेर बांची हुर्केको मान्छे पनि पछि अर्कालाई तेल घसेर बांच्ने मान्छेमा परिवर्तन हुन सक्दछ । यो ऐतिहासिक मानवीय नियति ज्यादै पीडादायी त छ तर चानचुने भने हुँदै होइन ।

खेलको कुरा गर्दा धेरैले फुटबल, कपर्दी जस्ता साधारण खेल सम्झन सक्दछन् । ती त थोरैले खेल्ने खेल हुन । आजभोलि धेरैले खेल्ने खेल त तेल घस्ने खेल भएको छ । तेल घस्ने खेलको इतिहास निकै लामो छ । वर्षको एक पल्ट भाइलाई तेल घस्ने दिदीहरूलाई शायद यो लामो इतिहास थाहै छैन । तेलको प्रयोग दासयुगदेखि नै हुँदै आएको छ । तेलहन पेलेर तेल निकाल्ने आदिमानव पनि दासहरू नै हुनुपर्छ । यद्यपि उपभोग गर्ने अन्तिम मानव को हुने हुन् अहिले नै भविष्यवाणी गर्न सकिँदैन । किनभने दासयुगको परम्परामा सामन्ती युग हुक्र्यो र त्यसैको गर्भबाट पूँजीवाद जन्मेको हुँदा दासयुगको वंशानुगत गुण पछिल्ला समाज- व्यवस्थाहरूमा सर्दै आएको छ । तैपनि हामी के आशा राख्न सक्छौँ भने मानिसहरू एकनासले मोटाउँदै जाँदा भविष्यमा तेलको प्रयोग घट्दै जानेछ ।

तेल भन्नासाथ चिल्लो पदार्थ बुझिन्छ । र चिल्लो घसेपछि खस्रा कुराहरू पनि नरममा बदलिन्छन् । चिल्लो पदार्थ भन्दा प्रायः मानिसहरू घिउ र तेलकै सम्झना गर्दछन् र जीउ सपार्न घिउ खानदेखि काम सपार्न तेल घस्नेसम्मका सबैले एउटै अर्थ विस्तार गर्न पुग्दछन् । तर चिल्ला पदार्थको विशेषता भने एउटै छैन । एउटा चिल्याउनु अर्को चिप्ल्याउनु तेल तत्त्वको विशेषता हो । पहिलो विशेषताले खस्रा कुरालाई चिल्ल्याएर प्रस्तत गराउँछ भने दोस्रो विशेषताले कुरा चिप्ल्याएर काम फत्ते गराउँछ । त्यसो हुँदा यी दुई पक्षको वैकल्पिक सम्बन्धः अटूट एकताद्वारा बाँधिएको हुन्छ । ‘घिउ न तेल पका बुढी सेल’ भन्ने हरिकङ्गालदेखि ‘तेल नहुन् तेलको धार हेर्न’ भन्ने कर्मचण्डालसम्मका मानिसहरूमाझ तेल र तेल घस्ने कला व्याप्त छ, लोकप्रिय छ । हुन त हाम्रो समाजमा ‘तेलको ठेकी सार्दै चिल्लो’ भन्नेहरू पनि छन् तर ती तेल-पानी मिलेको दुइजिब्रे चमेराहरू हुन् । दइजिब्रेको मोहनीमा नफसेका मान्छेहरू पिना के चाडै अलग्गिन्छन् । खै किन हो कुन्नि दुइजिब्रे हुन र तेल घस्न नजानेमा आजको जीवन चलाउन ज्यादै कठिन हुँदोरहेछ । हुन त आजका मनुष्यको मूल विशेषता नै यिनै कुरा हुन् भने पनि हुन्छ किनभने आज हरेक क्षेत्रमा तेलको प्रयोग अनिवार्य भएको छ । तपाईं भन्नुहोला, ‘कुरा ठीक हो, गाउँघरतिर मट्टितेलको प्रयोग हुन्छ र शहर-बजारतिर डिजेल पेट्रोलको खपत हुन्छ भनेर । तर ती तेलका खेलहरूलाई उछिन्ने अझै तेल पनि मानिसहरूसँग हुन्छ । शायद बोलीमा चिल्लो घस्ने करुण मन स्थिति तेल’ वा चोलीमा चिल्लो घस्ने ‘तरुण मनःस्थिति तेल’ सँग वनस्पति तेललाई दाँज्न मिल्दैन । उस्तै उस्तै भनेर गाँज्न पनि मिल्दैन । तेलको सर्वग्राहयता भने तुलनीय रहेको छ । घाउ लाग्दा बेसारसँग गाँसेर घस्नुस् वा ‘भाउ बढाउन ग्राहकसँग हाँसेर मोल कस्नुस् दुवैले कर्तालाई फलिफाप गराउँछन् । त्यसैले आज तेल घस्ने खेल हरेक क्षेत्रमा व्याप्त भएको पाइन्छ । भुटनको रूपमा तरकारीलाई तेल घस्नु, मसाजका नाममा ग्राहकलाई तेल घस्नु, सहवासका निम्ति प्रेमिकालाई तेल घस्नु, पदोन्नतिका निम्ति हाकिमलाई तेल घस्नु, प्रतिष्ठाका निम्ति नेताहरूलाई तेल घस्नु आदि सबै रूपहरू मानवीय तेल घसाइहरू हुन् । यसमा शायद कसैको विरोध पनि छैन । आफ्नै कपाल टोक्ने जुम्रालाई त तेल घसीघसी पाल्ने र काठ, फलामका औजारलाई समेत तेल घसीघसी सह्याल्ने नेपालीहरूले मान्छेलाई तेल घस्ने कुरामा किन आपत्ति जनाउन् ?? जनाउँदैनन । बरु हाकाहाकी समर्थन गर्दै दुवै हात उचालेर भन्न सक्छन् ‘तेल घस्ने प्रथा जिन्दाबाद !’

वास्तवमा तेलको खेल अपार छ- मोटरहरू तेलबिना चल्दैनन्, मेसिनहरू तेलकै सहारामा छिटोछिटो चल्छन् । सामान्य ठेलगाडाको धक्कादेखि ठूला यन्त्रशालाका चक्कासम्ममा तेलको खेल व्याप्त छ । यात्रुवाहक रेलदेखि यात्रुहीन च्यालेन्जरसम्म व्याप्त तेलको खेल साँच्चै भन्दा मानवसभ्यताको मेलका निम्ति ज्यादै महत्त्वपूणर् खेल बनेको छ । आज यसका रूपहरू अनेक भएका छन् । चाकडी, चापलुसी जस्ता परम्परागत रूपमार्फत् अद्वितीय शक्तिप्रदर्शन गर्न सक्षम यस खेलमा आज नयाँ परिष्कार आएको छ । हिजो झैँ तेल घस्न जीउ मुसार्नुपर्ने वा चिल्लो दल्न हात मल्नुपर्ने अवस्था आज छैन । आज त मान्छेले बोलीको लोलीबाट वा कोसेलीको झोलीबाट तेल घस्छन् । ठूला-ठूला होटेल र रेष्टुराहरूमा पस्छन् र पुरस्कार एवं पदवी दिएर पनि एकअर्काबीच तेल घस्ने खेल खेल्छन् । ‘तैँले कुटेकै गर म रोएझैँ गर्छु’ भन्ने साउतीद्वारा कमिसनका चिल्ला कार, घर-घडेरीका सुपर उपहार र स्वादिला रवीन बहारहरूको बाजीमा पनि यो खेल खेलिने गरिएको छ ।

आजको यस प्राविधिक युगमा तेल घस्ने उपकरणहरू पनि अत्याधुनिक बनेका छन् । मान्छेले मान्छेलाई छुँदै नछोई तेल घस्न सफल हुने खेलाडीहरू नै आजका भाग्यमानी भएका छन् । तोरीको शुद्ध तेलदखि छोरीको अशुद्ध खेलसम्मका यावत उपकरण यसमा प्रयोग भएको पाइन्छ । तेलकासा होस् वा त्रिपासा, केटाकेटी हुन् वा बूढाबूढी तेल घस्ने खेल सबैलाई मन पर्छ । ‘अहा ! बाबु कति राम्रो’, ‘नानी कति जाती ।’ भन्दा फुरुङ्ग नहुने कुरै भएन । त्यसैले चिल्लो घस्ने काम जसरी गरिएको भए पनि तेलको खेल अन्तर्राष्ट्रिय तहमै व्याप्त भएको हुँदा यसलाई अब ओलम्पिकमा समावेश गरिनु आवश्यक छ र यसका निम्ति सबै नेपालीहरू एक भई आवाज उठाउनुपर्ने भएको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x