सूर्यबहादुर पिवाअविश्वासको प्रस्ताव
पुरुषवादप्रतिको यो आइमाईहरूको अतिवादी दृष्टिकोण देख्नुहुन्छ भने विरोधमा मत खसाल्नुहोला । समर्थन लेख्ने र असमर्थन लेख्ने दुईओटा कापी टेबलमा छन् । समर्थन गर्नेहरूले समर्थन लेखिएको कापीमा आफ्नो नाम लेख्नुहोला ।

सूर्यबहादुर पिवा :
यस परिवारको प्रतिनिधिसभाका सांसदज्यूहरू अर्थात् छोराछोरीहरू, जुवाई-बुहारीहरू, जेठाज्यू-जेठानहरू, नन्द-देवरहरू, भतिजा-भतिजीहरू एवं नातिनातिनाहरू ।
म यो विशेष अधिवेशनमा मन परेर होइन, मन नपरी-नपरीकन बाध्य भएर आफ्नो घरको धानमन्त्री अर्थात् आफ्ना पतिका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्दैछु । अब उहाँको नायकत्वमा हाम्रो परिवार सञ्चालन हुन दिनु हुँदैन । यहाँहरूलाई मेरो कुरो उचित छ जस्तो लाग्दछ भने मैले आफ्ना श्रीमान्को विरुद्धमा राख्न लागेको अविश्वासको प्रस्तावको समर्थनमा यहाँहरूले आफ्नो मत दिनुहोला । होइन, मेरो अविश्वासको प्रस्ताव यहाँहरूलाई अनुचित छ जस्तो लागे मेरो अविश्वासको प्रस्तावको विरोधमा भोट दिनुहोला । प्रजातन्त्र समर्थन र असमर्थनको आधारमा चल्दछ । तर सर्वप्रथम मेरो अविश्वासको प्रस्ताव राख्नुपरेको कारणबारे मेरो भनाइ ध्यान दिएर सुनिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
प्राचीन कालमा झै आज पनि हाम्रो घरमा लोग्नेवाद लागू गरेर मेरा पतिदेवले घर सञ्चालन गर्दै हुनुहुन्छ । लोग्नेमानिस स्वास्नीमानिसभन्दा जेठो, अग्लो र बलियो भएकोले हो कि केले हो, स्वास्नीको नाताले मैले आफ्नो लोग्नेको हप्काइ खानु परिरहेछ । स्वास्नी भएन भने जीवन नीरस हुन्छ भनेर जुघाको रेखी बस्नासाथ बिहे गर्ने रहर लोग्नेमानिसहरूले नै देखाउन थाल्दछन् । अरूकी छोरीबेटी माग्न पठाउने या पछि लागेर लभ गर्न थाल्ने पनि लोग्नेमानिसहरू नै हुन् । जन्त गएर या लभ गरेर बिहे गर्दाखेरि “म तपाईकी छोरीलाई आफ्नै छोरीसरह पाल्नेछु“ भनी आफ्नो बाबुलाई दश औंला जोड्न लगाएर भन्न लगाउँछन् । छोरीका आमाबाबुहरू पनि ज्वाइँको बाबुको कुरालाई आँखा चिम्लेर पत्याउँछन् । तर सासूससुराले बुहारीलाई घरभित्र हुलेको केही दिनपछि नै बुहारीलाई काम गर्ने घरकी नोकर्नी र आफ्नी छोरीलाई घरकी लक्ष्मीको रूपमा हेरेर व्यवहार गर्न थाल्दछन् । त्यसो भएकाले आजभोलि बुहारीहरू पनि आफ्नो लोग्नेलाई जादू-टुना गरेर घरबाहिर लगेर सासूससुरासँग अलग्ग बस्न पुग्दछन् ।
छोरीलाई झै मलाई पनि व्यवहार नगरेको हुनाले मैले पनि आफ्ना श्रीमानलाई सासूससुराको घरबाट निकालेर ल्याएकी थिएँ । आखिरमा लोग्ने लोग्नेमान्छे नै हुँदारहेछन् । घरबाट निस्केको केही वर्षसम्म त मेरा श्रीमानले मैले भनेभनेजस्तो गरे । तर जब पछि मेरो जवानी अलि खस्केर गयो तब मेरा श्रीमान्ले मलाई एक जना अबला नारी सम्झन थाले । यो घरमा मेरै आम्दानीले घर चल्दछ, अतः म नै यो घरको मालिक हुँ भनेर मेरा श्रीमानजीले भन्न थाले । मैले भनेभनेजस्तो सबै घरका सदस्यले मान्नै पर्दछ भनेर एकतन्त्री शासन जस्तो घर चलाउन थाले । ठीक समयमा भात त के चिया खान पाइएन भने पनि मलाई गाली गर्ने भएर निस्के । के लोग्नेमानिस मात्र घरका मालिक हुन् र ? के श्रीमती घरकुरुवा र भात पकाउने भान्छे बाहुनी मात्र हुन् त ? के श्रीमतीहरू बच्चा पैदा गर्ने यन्त्र मात्र हुन् त ? के उनीहरू मज्जा लिनलाई ख्यालठट्टा गर्ने खेलौना मात्र हुन् त ? के उनीहरू अशक्त अवस्थामा स्याहार-शुश्रूषा लिनलाई ल्याइएका दासी मात्र हुन् त ? म त भन्दछु- “यो कदापि होइन ।” तर लोग्नेहरू अग्ला, बलिया र डरलाग्दा जुँघे भएर जहिले पनि आफ्ना श्रीमतीलाई तर्साएर, दबाएर मुनि राख्न खोज्दछन् ।
मेरा श्रीमान् ठीक समयमा अफिस जान्छन् । तातो भात र ताजा खाना पनि उनी नै सधैँ पहिले खान्छन् । तर साँझ उनी अफिसबाट अबेला घर फर्कन्छन् । अनि उनी भन्दछन “आज मलाई खान नै मन छैन किनभने मलाई एक जना साथीले होटेलमा ख्वायो ।” त्यसो भन्ने लोग्नेले घरमा पकाउनलाई तिहुनको हकमा कि गुन्द्रुक कि तोरीको साग किनेर ल्याउँछन् । के सधैँ गुन्द्रुक र तोरीको साग मात्रै किनेर ल्याउनुहुन्छ ? भनियो भने बजारमा तरकारी यति महँगो छ अब जागीरदारले तिहुन राखेर भातै खान नसकिने भइसक्यो भनेर लम्बेतान भाषण श्रीमानजी गर्न शुरू गर्दछन् । कहिलेकाहीँ यति अबेला घर फर्केर आउनुहुन्छ सँगै भात खाऊँ भनेर बस्दाबस्दै निद्रा लागिसक्छ । उंगेर भात कुरेर बस्नुपर्ने हुन्छ । छोराछोरीहरूलाई भात खुवाएर सुताउँछु । आफू भात नखाइकन बसिरहन्छु । श्रीमान्जी त जङ्गबहादुरको घोडा किन्ने भएर अबेला राति घर पस्दछन् । के गरेर आउनुभएको हो हँ ? यस्तो पनि ताल हो भनियो भने घरकी राजामती र देशको राजनीतिको चिन्ताले दिक्क भएर चिन्ताबाट मुक्त हुन अलिकता रेष्टुराँमा गङ्गाजल सेवन गरेको थिएँ, लागिहालेछ- भन्दछन् । रक्सी लागेको बेलामा “अब मैले सरकारसँग सापट लिएर तेरो नाममा एउटा घर ठड्याइदिने पक्का गरेको छु, बुझिस् लाटी ।” भनेर पनि फकाउनलाई भन्दछन् । यस्तो कतिपल्ट भनिसके कतिपल्ट भनिसके । आजसम्म डेरावालको डेरावालै छु ।
छोरालाई बोर्डिङ्ग स्कूलमा र छोरीलाई साधारण स्कूलमा पढाउने मनोवृत्तिका यी लोग्नेमानिसहरूले आफ्नी श्रीमतीलाई आफ्ना बाबुबाजेले झै आफूले खाएको पुरा खुवाउन अझ पनि छोडेका छैनन् । यस्ता लोग्नेमानिसहरूले आइमाईहरूलाई समान व्यवहार गर्लान् भनेर चिताउनु पनि वाहियात नै हो । लामो कपाल पाल्न लगाएर यी लोग्नेमानिसहरूले आइमाईहरूलाई मानो जङ्गली मानिसहरू हुन् कि जस्तो बनाइराखेका छन् । सारी पहिराएर प्रगतिपथमा लोग्नेमान्छे जति छिटो हिँड्न नसक्ने बनाउनेहरू पनि लोग्नेमानिसहरू नै हुन् । बच्चा जन्माउने काम त लोग्नेमान्छेलाई आएन भनौं। कम से कम बाहिर जाँदा उनीहरू जति छिटो हिँड्न र दगुर्न सक्ने आइमाईहरूलाई बनाउनुपर्ने थियो नि । कट्टु लगाउन लाज लाग्दैन रे आइमाईहरूलाई । त्यसो भनेर मलाई मेरो लोग्नेले आजसम्म कट्टु त के पाइन्ट र खुकुलो सुरुवालसम्म लगाउन दिएनन् । अतः आइमाईहरू आजभोलि सडकमा राम्ररी हिँड्न नै नसक्ने भइसकेका छन् । मलाई श्रीमान्ले घरखर्च गर्नलाई केही पैसा त दिनुपर्ने हो नि । पैसासैसा मलाई दिइराख्नोस् भन्यो भने भन्दछन्- “आइमाईहरू गहना राख्ने बैङ्क हो, पैसा राख्ने बैङ्क होइन भनेर एक पैसा दिँदैनन् । सेफको साँचो जनैमा भिरेर हिँड्छन् । कि हामीहरूलाई पनि कमाउन सक्ने बनाइदेऊ कि कमाएर ल्याएको जति हाम्रो कन्तुरमा पैसा हालिद्यौ भन्यो भने आइमाईहरू पैसा जिम्मा दिइयो भने उनीहरू पैसा लिएर मन परेको ठाउँमा गइदिन के बेर । के आइमाईहरू जे मन लाग्यो सो गर्नेहरू हुन् ? मनपरी गर्नेहरू त लोग्नेमानिसहरू हुन् । लोग्नेमान्छेहरू बाटामा आउने राम्रा तरुनीहरूलाई सन-गगल्स लगाएर चोरेर हेर्ने मानिसहरू हुन् । उल्टो आइमाईहरूलाई “स्त्रियाचरित्रम् पुरुषस्य भाग्यं दैवो नजानाति कुतः मनुष्य” भनेर आइमाईहरूलाई चरित्रहीन दृष्टिले हेर्ने लोग्नेमानिसहरू बरू उद्धत मानिसहरू हुन् ।
बलियो भएकाले हो कि के ले हो लोग्नेमान्छेले जे गरे पनि हुने रे, स्वास्नीमानिस कुनै लोग्नेमानिससँग एकान्तमा भेटेर कुराकानीसम्म गर्न नहुने रे। लोग्नेवादको जमाना गएको छैन, स्वास्नीवादको जमाना आएको छैन । छोराछोरीहरूले आत्मिक देख्ने यस धरतीमा कोही छन् भने आमा छन् । बाबु त बच्चालाई हुर्काउने कामै नगरी ड्याडमा उभिएर मात्र ठूलो मान्छे हुने व्यक्ति हुन् । न उनले बच्चालाई पेटमा राख्नुपर्दछ न उनले बच्चालाई राति उठ्दा उठेर दूध खुवाउनुपर्दछ। न कतै जाँदा उनले बच्चा बोक्ने कामै गर्दछन्। बच्चा रोयो भने जङ्गिएर “लैजा यल्लाई आमाकहाँ’ भन्दछन् । बच्चा हाँस्यो भने ‘ए राजा ए हीरा ।’ भनेर दङ्ग पर्दछन् । लोग्नेजति स्वार्थी मान्छे यो जगत्मा कोही छैनन् । स्वास्नी भनेकी गृहलक्ष्मी हुन् भनेर फकाएर बोका च्याङ्ग्रालाई खोरमा चुनेझै आइमाईहरूलाई घरभित्र थुनेर हजार वर्षसम्म लोग्नेमान्छेहरूले आफ्नी श्रीमती (सिल्लीमती) हरूमाथि राज्य गरिसकेका छन् । आज सुखबार हो र आज बिदाको दिन शनिवार हो भनेर लोग्नेमान्छे भनाउँदाहरू साथीभाइहरूसित पप्लू र म्यारिज खेलेर आनन्द लिन्छन् । घरमा श्रीमतीचाहिँ गोठमा गाई धुनिएझै थुनिएर बस्नुपर्दछ । आज सुखबार हो, आज बिदाको दिन शनिबार हो भनेर पिकनिक जस्तो गरेर कतै घुमाउन लग्ने कुरै गर्दैनन् । श्रीमती र छोराछोरीहरूको मनोरञ्जनको खातिर दुई पैसा खर्च गर्नुपर्यो भने पाकेट जहिले पनि पन्चर भएको हुन्छ । यसरी आइमाईहरूलाई घरमै मात्र थुनिराखेको हुनाले उनीहरूको मुखमा घाम र पानी नपरिदिँदा आइमाईहरूको दाह्री र जुघा नभएका हुन् भन्ने धेरै अडकलवाज मानिसहरूको भनाइ छ । आइमाईको दाह्री जुंगा नहुनु यो कारणले हो-होइन थाहा छैन तर लोग्नेहरूले स्वास्नीहरूलाई घरभित्र थुनेर संसार भनेको देख्नै नपाउने गरी जुगानजुग राखेको चाहिँ पक्का पनि हो। अक्षर पढ्न जान्ने भए भने आइमाईहरू लभलेटर लेख्ने गर्छन् भनेर कैयौं पुस्तासम्म लोग्नेमानिसले आफ्नी स्वास्नीलाई निरक्षर भट्टाचार्य बनाए। यो कुरा इतिहासले बताइरहेछ । बाहुनले अरू सबै मानिसलाई तल्लो जातको मान्छे देखेझै लोग्नेमान्छेले स्वास्नीमान्छेलाई निम्न जातको प्राणी सम्झिरहेका छन् । दक्षिण भारततिरका चोखा बाहुनहरू रजस्वला भइसकेका आइमाईहरूले पकाएको भातसम्म खादैनन् । परसरेकी आइमाईले पकाएको खानेकुरो खान हुन्न रे। तुलसीदासले लेखेर गए- “ढोल, गंवार, शूद्र, पशु, नारी । ये सब ताडनके अधिकारी ।” यसो भन्नु आइमाईलाई माथि राख्नु हो कि तल राख्नु हो ठण्डा दिमागले विचार गर्नुहोला । अतः म यो घरको संसदमा मन नपरी-नपरीकन पनि म मनपरी घर चलाउने आफ्ना श्रीमान्को विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्दैछु । अब लोग्नेलाई मात्र घरमा शासन गर्न दिनु भएन । अब श्रीमानहरूको हातबाट घरको शासन- बागडोर खोसेर श्रीमतीहरूको हातमा शासन-बागडोर सुम्पनुपर्यो । अवस्थाले यस्तै भनिरहेछ । अतः यहाँहरूले आफ्नो ब्रह्मले मेरो कुरो ठीक हो भन्यो भने प्रस्तावको समर्थनमा मत दिनुहोला । होइन, यो पुरुषवादप्रतिको यो आइमाईहरूको अतिवादी दृष्टिकोण देख्नुहुन्छ भने विरोधमा मत खसाल्नुहोला । समर्थन लेख्ने र असमर्थन लेख्ने दुईओटा कापी टेबलमा छन् । समर्थन गर्नेहरूले समर्थन लेखिएको कापीमा आफ्नो नाम लेख्नुहोला । असमर्थन गर्नेहरूले असमर्थन लेखिएको कापीमा आफ्नो नाम लेख्नुहोला ।
के आमाचाहिँले सभामुखको आज्ञा लिएर यति बोलेर मञ्चबाट तल आइन्, सबै घरका सांसदहरू समर्थन र असमर्थन लेखिएको कापीतिर अधि बढे । अविश्वासको प्रस्ताव राख्ने श्रीमतीका श्रीमान्चाहिं मुसुमुसु हाँसेर आफ्नी श्रीमती बसेको मेचछेउको मेचमा बस्न गए ।
०००
‘अविश्वासको प्रस्ताव’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest






































