सूर्यबहादुर पिवालोग्नेका मुनि स्वास्नी बराबर स्वास्नीका मुनि लोग्ने
लोग्ने बराबर स्वास्नी नभएसम्म कुनै घरमा पनि जोईपोइमा कचमच बन्द नभई मेलमिलाप हुनै सक्दैन । आमा बराबर बाबु नभएसम्म लोग्नेमान्छे र स्वास्नीमान्छे समान हुँदै हुँदैन ।

सूर्यबहादुर पिवा :
“बिहे गरेर स्वास्नी ल्याइसकेको मान्छेलाई लोग्नेमान्छे भन्न हुन्छ र त्यस्तै बिहे गरेर लोग्ने भइसकेकी आइमाईलाई स्वास्नीमान्छे भन्न मिल्छ तर स्वास्नी नै नभएको, बिहे नै नभएको मान्छेलाई लोग्नेमान्छे भन्नु ठीक छैन र लोग्ने नै नभएकी, बिहे नै नभएकी आइमाईलाई पनि स्वास्नीमान्छे भन्न मिल्दैन ।” एक जना भाषावेत्ताले मलाई भन्यो ।
अनि मैले भनेँ- “हामी त भालेको चिह्न जुँगा भएको मान्छे भो भने त्यल्लाई लोग्नेमान्छे भन्छौँ र त्यस्तै त्यस्तै पोथीको चिह्न देखापरिसकेको मान्छे भो भने तिनलाई स्वास्नीमान्छे भन्ने गर्दछौँ । ठूलो भइसकेको भाले मान्छेलाई हामी केटा भन्दैनौँ र ठूली भइसकेकी पोथी मान्छेलाई हामी केटी भन्दैनौँ ।”
“भाले मान्छेलाई लोग्नेमान्छे भन्नलाई कि त त्यसको गर्ल (केटी) फ्रेन्ड (साथी) भइसकेको हुनुपर्दछ कि त उसले मनमनले कुनै लडकीलाई स्वास्नी बनाइसकेको हुनुपर्दछ । त्यस्तै पोथी मान्छेलाई स्वास्नीमान्छे भन्नलाई पनि कि त तिनको ब्वाइ (केटा) फ्रेन्ड (साथी) भइसकेको हुनुपर्दछ कि त तिनले मनमनले कुनै केटोलाई लोग्ने बनाइसकेको हुनुपर्दछ ।” यस्तो भाषावेत्ताले भन्दा मनमनले बाटोमा देखेको भाले मान्छेलाई या पोथी मान्छेलाई लोग्ने या स्वास्नी बनाउन पाए हुन्छ भन्ने भावना राखेर लोग्नेमान्छे या स्वास्नीमान्छे बन्नुभन्दा त बरु गर्ने फ्रेन्ड बनाएर लोग्नेमान्छे बन्ने र ब्वाइ फ्रेन्ड बनाएर स्वास्नीमान्छे बन्ने अङ्ग्रेजी चलन नै बेस चलन हो कि जस्तोजस्तो लागेर आयो । गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने चलन भो भने स्वास्नी या लोग्ने चाहिने बेलाबखत भएपछि बाटोमा देखेको भाले मान्छेलाई या पोथी मान्छेलाई लोग्ने बनाउन पाए हुन्थ्यो कि र स्वास्नी बनाउन पाए हुन्थ्यो कि भन्ने मनमा कुभावना त उठ्दैनथ्यो होला ।
एक दिन म एक जना गणितज्ञकहाँ पुगेँ र सोधेँ- “हाल भर्खर निस्केको एउटा गणितको पुस्तकमा “मान्छे बराबर मान्छे” भनेर प्रमाणित गर भनी दिइएको एउटा हिसाब देखेँ । “मान्छे बराबर मान्छे” भन्ने हिसाब त दिमाग घोटीघोटीकन प्रमाणित गरेँ । तर “लोग्नेका मुनि स्वास्नी बराबर, बाबुका मुनि आमा” भन्ने हिसाबचाहिँ त मैले गर्न सकिनँ । “लोग्नेका मुनि स्वास्नी बराबर बाबुका मुनि आमा” भन्ने हिसाब एकपल्ट तपाईंले गरेर देखाउनुपर्यो ।”
अनि गणितज्ञले भन्नुभयो- “लोग्नेका मुनि स्वास्नीको अर्थ हो- लोग्नेमान्छे भनेका ठूला मान्छे हुन् र स्वास्नीमान्छे भनेका साना मान्छे हुन् । यो पुरुषवादी सिद्धान्तलाई ठीक सिद्धान्त मान्ने मान्छेहरू भन्दछन्- “लोग्नेमान्छे अग्लो मान्छे भएकाले लोग्नेमान्छेलाई ठूला मान्छेमा गन्नुपर्दछ र स्वास्नीमान्छे होची मान्छे भएकाले सानो मान्छेमा गणना गर्नुपर्दछ । पत्यार नलागे संसारको जुनसुकै भागमा बस्ने मान्छेहरू हेर्नुहोस् । अधिकांश लोग्नेमान्छेहरू अग्ला हुन्छन् र धेरैजसो स्वास्नीमान्छेहरू होचा हुन्छन् । अग्लो मान्छेले होचो मान्छेलाई शासन गर्दछ । यो कुरो राजनीतिशास्त्रमा मात्र होइन, समाजशास्त्रमा पनि लागू हुन्छ । अतः लोग्नेमान्छेले स्वास्नीमान्छेलाई साना-साना कामहरू जस्तै बच्चा जन्माउनु, भात पकाउनु, लुगा धुनु, घरकुरुवा बस्नु आदि-इत्यादि मात्र दिए। आफूहरू अग्ला र बलिया भएकाले लोग्नेमानिसहरूले गाह्रो र डरलाग्दा कामहरू जस्तै लडाई लड्नु, लडेर मर्नु, खेत खन्नु, भारी बोक्नु, बलले गर्नुपर्ने र साहस चाहिने कामहरू जम्मै आफूले गर्ने गरी जिम्मा लिए । लडाइँमा गएर मर्नुपर्ने डर स्वास्नीमानिसहरूलाई छैन भने पनि हुन्छ । बोकालाई बलि दिइन्छ, बाखीलाई बलि दिइन्न । अतः डरलाग्दो काम जनावरमा पनि भालेले नै लिएको देखिन्छ । वीराभोग्याः वसुन्धरा । जसले मह काढ्छ त्यसले हात चाट्छ भनेझै शासकको नाताले लोग्नेमान्छे अलि सुविधाभोगी भइरहेको देखिन्छ । त्यसैले लोग्नेका मुनि स्वास्नीको सिद्धान्त लागू भएको मुलुकमा आमाभन्दा बाबु नै ठूलो हुन्छ र घरसम्पत्ति पनि बाबुकै नाममा हुन्छ । त्यस्तो देशमा छोरा ठूलो हुन्छ र छोरी सानू हुन्छे र “बाबुका मुनि आमा” को मुलुकमा “छोराका मुनि छोरी” हुन्छ । अतः यस्तो मुलुकमा छोरो जन्मियो भने लोग्ने र स्वास्नी दुवै दङ्ग हुन्छन् । छोरी जन्मिई भने उनीहरू दिकदार हुन्छन् । यस्तो मुलुकमा छोरा नजन्मिएसम्म सन्तान जन्माउँदै जान्छन् र परिवार नियोजन कार्यक्रम सफल हुँदैन । परिवार नियोजन कार्यक्रम सफल नभएपछि जनसङ्ख्या बढ्दै जान्छ र काम र मामको समस्या पनि बढ्दै जान्छ । काम नभएपछि माम हुँदैन र माम नभएपछि मानिसले जे पनि गर्न थाल्दछ । यस्तो मुलुकमा अपराधको काम पनि बढी हुन्छ । अनि सुखभन्दा दुःख बढी हुन्छ ।”
अनि मैले सोधेँ- “ संसारमा कुनै-कुनै मुलुकमा “छोरीका मुनि छोरा” र “आमाका मुनि बाबु” पनि हुन्छन् रे भन्ने सुनेको छु । के यो ठीक कुरा हो ? अनि त्यस गणितज्ञले भन्नुभयो- “छोरीका मुनि छोरा” र “आमाका मुनि बाबु” भएका मुलुकहरू पनि नभएका होइनन्, छन् । त्यस्तो मुलुकमा “लोग्नेका मुनि स्वास्नी” र “बाबुका मुनि आमा” को मुलुकमा जस्तो छोरी पोइल जान्नन् अर्थात् छोरीलाई अर्को घरमा दिएर पठाइन्न । छोरीका मुनि छोरा र आमाका मुनि बाबुको मुलुकमा छोरा जोइलो जान्छ अर्थात् छोरालाई जन्त भित्र्याएर अरूकी छोरीको घरमा दिएर पठाइन्छ । यस्तो मुलुकमा पनि पहिले एकताका “लोग्नेका मुनि स्वास्नी सिद्धान्तले राज्य गरिसकेको हुनाले बच्चा जन्माउने एउटा कामचाहिँ स्वास्नीमानिसहरूलाई दिइसकेको हुँदा बच्चा जन्माउने एउटा कामचाहिँ स्वास्नीमान्छेहरू नै गर्दछन् । तर बच्चालाई बोक्ने, भात पकाउने, घर कुर्ने आदि- इत्यादि काम भने लोग्नेमान्छेहरू नै गर्दछन्, स्वास्नीमानिसहरू गर्दैनन् । यो काम गर, उ काम गर भनेर खटाउने काम पनि आइमाईहरू नै गर्दछन् । त्यस्तै स्वास्नीको कुरा काट्ने काम लोग्नेमान्छेले पटक्कै गर्न सक्दैनन् । पुरुषवादले राज्य गरेको मुलुकमा पनि यदि कुनै घरमा एउटा लोग्नेले स्वास्नीको कुरा काट्न नसकी स्वास्नीको कुरा सुनेर आमाबाबुलाई नहेर्ने र आमाबाबुसँगै नबस्ने र स्वास्नीले भनेभनेजस्तै गरेर नाच्ने लोग्नेहरू पनि भएका देखिन्छन् । यदि यस्तो देखियो भने “लोग्नेका मुनि स्वास्नी बराबर बाबुका मुनि आमा” सिद्धान्त त्यो घरमा कानूनमा मात्र लागू भएको ठहरिन्छ तर व्यवहारमा स्वास्नीका मुनि लोग्ने नै लागू भएको ठहरिन्छ । अधिकांश मुलुकमा कानूनले लोग्नेका मुनि स्वास्नी भए तापनि व्यवहारमा अर्थात् कामकारवाहीमा स्वास्नीका मुनि लोग्ने नै भएको छ भन्ने धेरैजसो जोइटिङ्ग्रेहरूको धारणा छ ।”
अनि मैले फेरि सोधेँ- “लोग्नेका मुनि स्वास्नी, छोराका मुनि छोरी, स्वास्नीका मुनि लोग्ने र छोरीका मुनि छोरा । हिसाब दिइएको पुस्तकमा लोग्ने- बराबर स्वास्नी, छोरा बराबर छोरी र बाबुबराबर आमा पनि हिसाब दिइएको देखेँ नि। के यो हिसाब पनि ठीक छ त ?”
अनि गणितज्ञले हाँस्दै भन्नुभयो- “लोग्नेका मुनि स्वास्नी र स्वास्नीका मुनि लोग्ने सिद्धान्त र व्यवहारको कुरा भयो । साँच्चैको हुनुपर्ने सिद्धान्त र व्यवहार त लोग्नेबराबर स्वास्नी र छोराबराबर छोरी र आमाबराबर बाबु हुनुपर्ने हो । यसको मुख्य अर्थ यो हो – छोराबराबर छोरी नभएसम्म यो संसारमा जनसङ्ख्या बढ्ने काम बन्द हुँदै हुँदैन । लोग्ने बराबर स्वास्नी नभएसम्म कुनै घरमा पनि जोईपोइमा कचमच बन्द नभई मेलमिलाप हुनै सक्दैन । आमा बराबर बाबु नभएसम्म लोग्नेमान्छे र स्वास्नीमान्छे समान हुँदै हुँदैन । लोग्नेमान्छे र स्वास्नीमान्छे नै समान भएन भने कुनै जातिको मान्छे ठूलो र कुनै जातिको मान्छे सानो भएर जहिले पनि साम्प्रदायिक झैझगडा भएर अशान्त वातावरण हुन्छ भनेझै घरघरमा जोईपोइहरूमा झगडाको आगो सल्किएर बराबर अनमन भइ नै रहन्छ । तपाईंलाई यो मेरो कुरा कस्तो लाग्यो, भाइ ?”
यो कुरो सुनेपछि मलाई त्यस गणितज्ञको कुरा साह्रै चित्त बुझ्यो । अनि गणितज्ञलाई मुरीमुरी धन्यवाद दिएर म सरासर घर आएँ ।
०००
‘घुयेँत्रो’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest






































