साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टरसाहेब ! नमस्कार !!

अस्ति मेरो नाता पर्ने एक जना साथीलाई एउटी केटी बिहे गर्ने पक्का नै भइसकेको थियो। तर पछि पेशा के हो ? भनेर सोद्धाखेरि मेरो साथीको पेशा त मास्टरी हो भन्ने थाहा भएछ । तब मास्टर भन्नेलाई पनि छोरी दिन हुन्छ र ?

Nepal Telecom ad

सूर्यबहादुर पिवा :

केटाकेटीमा मेरा बुबा मलाई सधैँ भन्नुहुन्थ्यो- “छोरा बुझिस् तैँले ? उत्तम खेती, मध्यम व्यापार, निर्धिनी चाकडी । त्यसैले सकिन्छ भने खेती गरेर खाने । होइन, खेती गरेर खान मन नभए व्यापार गरेर खाने । खेती गरेर खान पनि मन नभएको, व्यापार गरेर खानलाई सम्पत्ति पनि नभएको मानिसले मात्र बाध्य भएर नोकरी गरेर खान्छन्, बुझिस् तैँले ?”

बाबुले केटाकेटीमा यस्तो भनिराखेको हुनाले मलाई नोकरी गरेर खाने पटक्कै मन भएन । तीन-तीन वर्षसम्म मोरा राणाहरूले जेलमा ठोसिदिएका हुनाले तीन वर्षपछि राणाशाही ढलेपछि जेलबाट छुटेर बाहिर आउँदा त मेरा पिताजीले साहू भएर कमाएर छाडेर जानुभएको धन-दौलत घामले पानीलाई बफाएर लगेझै भएर सखाप भइसकेको पो दाजुले हिसाब बुझाए । म त जिल्ल भएँ । अब के गर्ने भनेर विचार गरेँ । खेती गर्नलाई न त खेत नै थियो, न त तरकीब थाहा थियो । त्यसैले खेती गरेर खाने कुरै आएन । व्यापार गरेर खानलाई पूँजी चाहियो । म …जीसँग पूँजी पनि नभइसकेकाले बाबुजस्तै साहूजी भएर खाने पनि कुरै भएन । अनि त मन परे पनि, मन नपरे पनि जेलबाट बाहिर निस्केपछि पेटनारायणलाई पूजा गर्न पढेको मान्छेले जता पनि पाउने काम मास्टरी गर्न अर्थात् पढाउने काम गर्न थालेँ र म मास्टर हुन पुगेँ ।

म मास्टर भएको लगभग तीस वर्ष भइसक्यो । शुरुशुरूमा मास्टर हुँदा मलाई अनाहकमा मास्टरी गर्न आएछु भन्ने लागेको थिएन, किनभने त्यसताका नेपालमा व्यापक रूपमा शिक्षा प्रचार हुन लागेको हुनाले जनता-जनार्दन मास्टर हुने व्यक्तिलाई बाहुन बाजेलाई ढोगेझै गरेर आदर-सत्कारका साथ ‘नमस्ते’ गर्थे । ‘म मास्टर हूँ’ भन्ने कुरो थाहा पाएपछि कति गाउँलेले र कति पाखेले त “बाजे ! ढोगूँ न हात” भनेर मलाई भनेका थिए । मास्टरी गरिराखेको हुनाले चिनजान नभएका पढेलेखेका मानिसहरूले समेत पनि ‘म मास्टर हूँ’ भन्ने थाहा पाएपछि मलाई बाहुन नै ठान्थे किनभने मेरो टाउको सुदामाको जस्तै ठूलो थियो र मेरो नाक बाहुनको नाकजस्तै लामो थियो। क्षत्री अर्थात् छ घरी भएको नाताले मेरो गर्दनमा जनै पनि थियो र पढेलेखेको मान्छे भएको हुनाले कुरा गर्दाखेरि पण्डितहरू जस्तै कुरा गर्नमा सिपालु थिएँ र कुरा गर्दा मुस्किलले बुझिने संस्कृत र अङ्ग्रेजी शब्दहरू बीचबीचमा घुसाईघुसाईकन म कुरा गर्थे ।

अतः म साधारण मानिसहरूको मनमा नम्मरी विद्वान् थिएँ । तर मास्टरको तलवचाहिँ त्यस बेला पनि जेलको कैदीको खाना जस्तै कम थियो । तर पनि त्यस बखत मास्टर भएकोमा मलाई कत्ति पनि खेद थिएन किनभने त्यस बेला समाजमा तलबको मान कम भए पनि मास्टरलाई मान बढी थियो । घूसको नाममा भूससम्म पनि खान नपाइने मास्टरको जागीर भएको हुँदा मेरो अनुहारचाहिँ अब मर्दैन भन्ने पक्का भएपछि आर्यघाटबाट भर्खर फर्काएर ल्याइएको बिरामी मान्छेको अनुहार जस्तै थियो । मास्टरको अवस्था त्यस्तो हुने भए पनि दुनियाँदारबाट आदर-सत्कार पाउनाका निम्ति त्यस बेला मानिसहरू खुशीराजीका साथ मास्टर हुन्थे । त्यसैले त्यस बखत म मास्टर भएको थिएँ ।

अन्तरराष्ट्रिय पाइलट सङ्घ छ, अन्तरराष्ट्रिय महिला सङ्घ छ, तर अन्तर्राष्ट्रिय शिक्षक सङ्घ छ भन्ने मैले सुनेको छैन । अतः अरुअरु मुलुकमा मास्टरको हालत कस्तो छ त्यो त मलाई थाहा छैन । तर हामीकहाँ भने मास्टर धोबीको कुकुर न घरको न घाटको बरोबर नै छ । हामीकहाँ शिक्षक न सरकारी कर्मचारीसरिबरी छ न त जनतासरिबरी छ । हामीकहाँ शिक्षकको टाउकोको पनि खुट्टाको पनि राष्ट्रियकरण छ तर पेट भने प्राइभेटीकरण छ । नेपालमा शिक्षकहरूले पनि अरु सरकारी कर्मचारीहरूले सरह उपदान, बिरामीखर्च, सञ्चयकोष, पेन्सन आदि पाउनुपर्दछ भन्यो भने सिंहदरबारको सरकारी सालेपालेको पनि टाउको दुख्छ । त्यसैले आजभोलि शिक्षक भएर जागीर खान्छन् वर्तमानबहादुर मात्र, वर्तमानलाल मात्र, वर्तमानप्रसाद मात्र, वर्तमानरत्नहरू मात्र । भविष्यबहादुरहरू, भविष्यलालहरू, भविष्यप्रसादहरू त कतै अन्तैतिर पद पाउनासाथ सुइँकुच्चा ठोकिहाल्दछन् । त्यसैले आजभोलि घरको केही धन्दा-सुर्ता लिन नपर्नेहरू मात्र शिक्षकको पदमा बसेर मास्टरी गरिरहन्छन् । अस्ति म सरासर असनमा आइरहेको थिएँ । बाटोमा एक जना भूतपूर्व विद्यार्थीसित भेट भयो । उसले भन्यो- “होइन, मास्टरसाहेब ! तपाईंको चेहरामा त म आजभोलि आइमाईपन पो देख्दछु । के भएर यस्तो भएको हँ, मास्टरसाहेब !”

अनि मैले भनेँ- “मोरा । आइमाईले जस्तो लामो कपाल पालेर, कुर्कुच्चा अग्लो भएको जुत्ता लगाएर, सारीरङ्ग र बुट्टाको कपडाको कमीज लगाएर आइमाईको फेशन गरेर हिँड्नेचाहिँ तिमीहरू । चेहरामा आइमाईपन लिएर हिँड्नेहरूचाहिँ हामी मास्टरहरू भयौं, होइन के ?”

अनि उसले भन्यो- “होइन, मास्टरसाहेब ! यो मास्टरी जागीर लोग्नेमान्छेले नखाने जागीर भइसक्यो अब । स्वास्नीमान्छेले मात्र खाने जागीर जस्तो भइसक्यो । यो मास्टरी जागीर । जिल्ला शिक्षा अधिकारीको कार्यालयले आइमाईहरूलाई मात्र मास्टरी जागीर दिएमा उनीहरूले भो भने फरियाको सप्कोले ब्ल्याकबोर्ड पुस्न पनि सक्ने भएकाले डस्टर किन्ने पैसा बचाउन आजभोलि मास्टरीमा आइमाईहरू खोजी खोजीकन भर्ना गर्ने चलन भइरहेको छ भने । आइमाईहरू, हुन पनि हो, शिक्षिका भइदिएमा उनीहरूले बिरामी खर्च र अरू सहुलियतहरू माग्ने छैनन् किनभने उनीहरूको ओखती-खर्च र अरू खर्चसर्च बेहोर्ने घरमा उनीहरूका प्राणनाथहरू भइराखेका हुन्छन् । यस्तो ठानेर शिक्षक पदमा धेरैजसो आइमाई भर्ना गरिरहेकाले आजभोलि आइमाईहरू जुनसुकै स्कूलमा पनि बढी हुन थालेका छन् । मास्टरीमा आइमाईहरू हरेक स्कूलमा बढी भएको हुनाले तपाईंहरू जस्ता पुराना-पुराना शिक्षकहरूमा पनि आइमाईहरूको सङ्गतले गर्दाखेरि आइमाईपन देखापर्न थालेको हो कि जस्तो लाग्यो। लड्की-फेशन गर्ने आजभोलिका जवान युवकहरू भए तापनि आइमाईपन लिएर हिँड्नेहरू आजभोलि तपाईंहरू जस्ता शिक्षकहरू भइरहेछन् ।

अस्ति मेरो नाता पर्ने एक जना साथीलाई एउटी केटी बिहे गर्ने पक्का नै भइसकेको थियो। तर पछि पेशा के हो ? भनेर सोद्धाखेरि मेरो साथीको पेशा त मास्टरी हो भन्ने थाहा भएछ । तब मास्टर भन्नेलाई पनि छोरी दिन हुन्छ र ? जहिले पनि उही नाम्लो, जहिले पनि उही कुम्लोको जागीर हुन्छ मास्टरको जागीर, फेरि प्रमोशन पनि कहिल्यै हुने जागीर होइन मास्टरी जागीर । त्यसैले मास्टर भन्ने मान्छेलाई छोरीबेटी दिनु हुन्न के। यसो भनिदिएर मेरो साथीको बिहे नै क्यान्सिल भइदियो । तपाईंमा जस्तै मेरो साथीमा पनि आइमाईपन भएर बिहे नभएको हो । आइमाईपन भएको जस्तो लागेर तपाईंमा आइमाईपन देखियो भनेर भनेको हुँ। नरिसाउनुहोस् है, मास्टरसाहेब ! भनेर ऊ सरासर आफ्नो बाटो लाग्यो ।

तब म वाल्ल परेर केही बोल्नै सकिनँ ।

०००
‘घुयेँत्रो’ (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीमती हिरोइन

श्रीमती हिरोइन

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा
0
Would love your thoughts, please comment.x
()
x