सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खाओवाद जिन्दावाद !

त्यसैले आजको सभ्यता र संस्कृति नै एकले अर्कोलाई खाने होड बन्न पुगेको छ र सबले भन्न थालेका छन्- खाओवाद जिन्दावाद ! खाओवाद जिन्दावाद !! तर म भने भोकै भए पनि जिन्दावाद हैन, खाओवाद मुर्दावाद ! मुर्दावाद ! भनिरहेको छु ।

Nepal Telecom ad

विष्णु प्रभात :

खानुमा जुन मजा हुन्छ त्यो खानेलाई मात्र थाहा हुन्छ । नखाने र खानेका बीचमा ठूलै खाडल रहेको छ । त्यसैले यी दुई थरिका मान्छेको एकता बिरलै हुन्छ । खानुको तात्पर्य सामान्य पेट भर्नुमा सीमित राख्ने हो भने हाम्रो ज्ञानको परिधि साँगुरिन्छ र खाओवादसम्म पुग्नै सकिदैन ।

खाओवाद आजको विश्वको सबभन्दा पपुलर अर्थात लोकप्रिय जनवादी सिद्धान्त हो । प्रत्येक व्यक्तिको मौलिक मानव अधिकार सम्मानित जीवन बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने कुनै सिद्धान्त छ भने त्यो खाओवाद रहेको छ । जनजनमा व्याप्त र मनमनमा मौलाउने यस जनसिद्धान्तलाई तपाईंले कत्तिको बुझ्नु भएको छ त्यो मलाई थाहा छैन । तर जब मार्क्सले पूँजी लेख्दा भोकभोकै परेर छोरो गुमाउनु पर्‍यो, लेनिनले अक्टुबर क्रान्तिमा लाग्दा निसन्तान हुनु पर्‍यो र माओकी श्रीमती याङकाई हुइलाई फाँसी दिइयो ! तबदेखि मान्छेले खाओवादको खोजीकार्य तीव्र पार्न थाले । हाम्रो देश नेपालमा पनि खानुको मजा अहिलेका मान्छेले भन्दा उहिलेका मान्छेलाई थाहा थियो भन्दै- ‘हाम्रा बाजेका पालामा रुपियाँ गन्थे डालामा’ जस्तो धक्कू लगाउने तुक्का जोरेको सुनिन्छ । ‘खानमा सिन्की शानमा घिऊ’ भएका बूढाहरूको कुरा आफ्नै समयको थियो । त्यसो हुँदा आजभोली ‘उहिलेका कुरा खुइले’ भनेर हामीहरूले पनि आफ्नै समयको धाक लगाउनु पर्दछ । आजभोलि पप बोलीमा गुञ्जने लोली यसप्रकार सुनिन्छ-
अहिलेको युगीन चालामा
चुम्बन साटछौँ गालामा !
कुखुराको सेकुवा रक्सीको झोल
खानुको मज्जा क्या अनमोल !

वास्तवमा खानुको मजा भोकमा रहनेहरूलाई हुन्छ । पपसप बेकारका गफ बन्दछन् । परिश्रमीले गमखानुको मजा जान्दछन् रमखानुको मजा जान्दैनन् । आलु खानुको पीडा जान्दछन् ठालु हुन जान्दैनन् । त्यसोभएर उनीहरूका लागि यस्ता कुराहरू कान खाने हुन्छन् । तर जमाना खाओवादको छ भन्नेहरूले आफूलाई भोगवादी मात्र हैन भगवानवादी पनि बनाएका छन् । उनीहरूले खाएर कहिल्यै नअघाउने अगस्त्य ऋषिको कथा सुनाउँदै सुरापान गर्दछन् । भुँडेगणेशलाई अघि सार्दै भोजन भट्ट बन्दछन् र रङ्गरसको सन्सार नै स्वर्ग हो भन्दै इन्द्रको महिमा गाउँछन् ।

अघि अघि देवता भन्ने एउटा जाति थियो रे ! उनीहरू आफूलाई सुर भन्थे रे । भन्दा सुर भने पनि कामकुरा बेसुरका गर्थे । अरुलाई असुर भन्थे । असुर र सुरलाई राक्षस र देवताको रूपमा वणर्न गर्दा धेरै खाने, खाएर नअघाउने, जति पनि खान सक्नेलाई राक्षस भन्ने गर्दथे । तर आजका मानिसहरू सुर-असुर दुबैको ठेमाहा सन्तान भएको हुँदा जे पनि र जति पनि खाइदिन्छन् । घुस खाएर न्याय-निसाफ भूस पार्ने न्यायाधीश हुन् वा कमिशन ज्यूनार गरेर होनहार देशभक्त बन्ने मन्त्री महोदय हुन् उनीहरू जे पनि, जति पनि खान सक्ने देवता बनेका छन् । हावा खानुसँग कुनै तारतम्य नराख्ने नेताले देशलाई नै गोता ख्वाइरहेका छन् । जनता भोकमरीको चपेटामा परुन् वा महामारीको, ठालूहरूलाई कुनै चासो हुँदैन । आफूले खान पाएपछि पुग्यो ‘अरु सबै मर मेरै भूँडी भर’ मूलमन्त्र जप्ने खाओवादीहरूले जे जसरी आजको सभ्यतालाई हाँकेका छन् त्यो अपूर्व छ ।

सानाले ठूलाको सेवा गर्नु पर्छ, आवश्यकता परे कुर्सीबाट झर्नु पर्छ, पृथीवीबाट मर्नु पर्छ र प्रकृतिको नियम भनेर दासत्व स्वीकार्नु पर्छ, विरोध आलोचना वा तर्क गर्नु हुँदैन । विरोध गर्ने जतिलाई आज या त माओवादी भनिन्छ या हाहोवादी, बनाइन्छ । यसो गर्दा खाओवादीका आधारभूत लक्षण के हुन् र हाहोवादीबाट यसलाई छुटाउने तरिका छ कि छैन भन्नेतर्फ तपाइँको मन जानसक्छ ।

खाओवाद आफ्ना निम्ति सोंच्ने, आफ्नै निम्ति निर्मित मानव अधिकारको सिद्धान्तमा आधारित, दर्शन हो । अरुलाई खा भनेर दिने अथवा खाओ भनेर दिने चिन्तन प्रवृति होइन । एक प्रकारले नेपाली साहित्यमा पहिले ‘म खाऊँ मैलाऊँ सुख सयल वा मोज म गरुँ !’ भन्नेलाई ‘अबुझ र सठ भनेर गरिएको आलोचनाबाट सुधारिएर आएको नयाँ उपनिषद्भन्दा फरक पर्दैन । सानोभन्दा सानो फाइदा पनि आफूमै केन्द्रित गराउने, आफ्ना नाता गोता रक्तसम्बन्धीमा रमाउने र उनीहरूमै भर परेर सरकार चलाउने, आफन्तहरूको सेवा सुविधामा राज्यको ढुकुटी उडाउने, भ्रष्टाचारलाई संस्थागत आधार प्रदान गरी कमिशन हसुर्न, कुनै नाजायज काम होइन भन्ने घोषणा गराउने र व्यक्तिलाई सर्वोच्च मर्यादा दिँदा सबकुरालाई निजीकरण गर्ने तर रतिरागलाई सहकारीकरण गर्ने यसका मूल विशेषताहरू हुन् । त्यसैले यो सिद्धान्त- जैविक अजैविक दुबै क्षेत्रमा लागू हुन्छ ।

तर हाहोवाद भनेको खाओवादभन्दा भिन्न ठान्ने गरिन्छ र यो सब कुरालाई हल्लामा परिणत गरेर कुनै पनि विषयवस्तु, समस्या र सोचलाई हावामा उडाइदिने सिद्धान्त हो । हाहोवादलाई हल्लावाद पनि भनिन्छ । हाम्रो देशलाई “हल्लैहल्लाको देश” मान्नेहरूले हाहोवादलाई निकै बढावा दिएका छन् । हाहोवादसँग खाओवादको आन्तरिक गठबन्धन रहेको हुन्छ । ‘काम गर्दा गुप्त- बदनाम गर्दा- खुला’ शैली अँगाल्ने सञ्चार क्षेत्रका पुर्सुङ्गेहरूले यसलाई पनि खाओवादको सेवामा परिचालित गरेका छन् । तेरा बारेमा यस्तो सूचना छ- सम्झौता गर्ने कि फैलाइ दिऊँ ? भन्दै गाँठवाललाई अँचेटेर भट्भटे चढ़ने पत्रु आचरणका मान्छेलाई पत्रकार भनिन्छ भन्ने नबुझ्दासम्म मैले पनि उनीहरूलाई देवता ठान्थें । तर राक्षस पनि नठहरिने ती उल्लूहरू त खाओवादी पो रहेछन् ।

भन्दा हाहोवादी भनिने हल्लाकारहरू बेलामौकामा सल्लाहकार भइटोपले पनि हसुर्ने कलाका पारखी मात्रै हाहोवादी हुन सक्दा रहेछन् । त्यसो हुँदा म त न खाओवादी भएँ न हाहोवादी भएँ । यसो भन्दा कतिपयले माओवादी भएको आशङ्का व्यक्त गर्न पुगे पनि मैले आफूलाई जुन वादको समर्थक बनाएको छु त्यसको हल्ला चलाउने तर्फ अहिलेसम्म विचार पुर्‍याउन सकेको छैन । नेपाली साहित्यका दिग्गज भनिनेहरूले त ‘वादमुक्त’ साहित्यको कुरा गर्छन् भने ‘वादमुक्त मान्छे’ किन नहुने ? कहिलेकाहीँ यस्तो विचार पनि उब्जन्छ तर यो ठीक विचार हुँदै होइन ।

खाओवादीहरूका खाने तरिका अनेकौँ रहेछन्, कोही टेबुल मुनिबाट खाँदा रहेछन्, कोही टेबुलैमा सरसरी गनेर खाँदा रहेछन् । कोही ब्रिफकेसमा खाँदा रहेछन्, कोही पाँचतारे होटलमा ‘चियर्स’ भन्दै खाँदा रहेछन् । कसैले लुकेर खाँदा रहेछन् कसैले ढुकेर । कसैले भने उपहार र सौगात भनिकन खाँदा रहेछन् । कागज कलमको खेल खेल्दै बोली र गोली सँगसँगै चलाएर देश खानेहरूको पीडाले जिलिगाँठी सवै सुम्पेर झोली बोकी विदेश जानेहरूको भोको पेट बारे चर्चा गर्नु खाओवादी सिद्धान्त बाहिरको कुरा भएको हुँदा त्यो पक्षमा यो लेखन्ते पनि मौन छ । मौनता समर्थनको सङ्केत मान्नेहरू र नमान्नेहरू बीच झुल्दै आएको छ । म खाओवादको समर्थन गर्न सक्दिन त्यसैले मेरो मौनता विरोधको मौनता हो । बोल्नै पर्छ भने मैले भन्छु- खाओवादी मूर्दावाद !

केही कुराहरू भने समयले खाइदिएको छ । हिंजोका चाल-चलन, अज्ञानता र अन्धविश्वास आजका प्रविधि विज्ञान र ज्ञानले निलेको छ । भानुभक्तकालीन बिर्के टोपीलाई पाल्पाली ढाका टोपीले खाइदियो । पृथ्वीनारायणका पालाको भरुवा बन्दुक, नेपालीको खुकुरी शान, बाबु आमा र गुरुप्रतिको मान सबका सब समयले खाइसक्यो । त्यसैले आजको सभ्यता र संस्कृति नै एकले अर्कोलाई खाने होड बन्न पुगेको छ र सबले भन्न थालेका छन्- खाओवाद जिन्दावाद ! खाओवाद जिन्दावाद !! तर म भने भोकै भए पनि जिन्दावाद हैन, खाओवाद मुर्दावाद ! मुर्दावाद ! भनिरहेको छु ।

०००
२०५५/९/७/
‘रचना’ तथा ’प्रकाश’ साप्ताहिकमा प्रकाशित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे