सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुच्छर माने हनुमान

समाजमा काजीमान होइन कि पाजीमानका रूपमा भने स्थापित भएर वहिष्कृत जीवनयापन गर्न बाध्य भएको देख्न पाइन्छ । हनुमानहरूले भोग्नु पर्ने नियती पनि यहीँ नै हो जस्तो लागेर आउँछ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

पुच्छरको अर्थ जेजे भए पनि त्यसको बर्थ वास्तवमा पुच्छर हुने जन्तुसँगै नै भएको हुन्छ । पहिले जन्तु जन्मिएर पछि पुच्छर जन्मिने अवश्य पनि होइन र पहिले पुच्छर जन्मिएर पछि जन्तु जन्मिने पनि होइन । लगाएर क्षणिक रूपमा अडिने मात्र हो पुच्छर, दीर्घरूपमा टासिइरहन सक्ने पनि होइन । मान्छेकै पुर्खा भनी स्वीकारिएको बाँदरको त पुच्छर भयो तर मान्छेको पुच्छर किन नभएको होला भनि आश्चर्य मान्ने मान्छेहरू पनि यो मुलुकाँ जिउदै बाँचेका छन् ।

आजका मान्छेको हनुमानको जस्तो अनुहार भए पनि त नक्कली हनुमान भनेर सम्बोधन गर्न मिल्थ्यो तर अनुहार मिल्दैन र पुच्छर पनि नहुँदा त्यसै पुच्छर भएर हिँड्नका लागि जयश्री राम पनि भनिरहन पर्दैन, जय नेता भन्दै हिँडे पुग्छ । जय भोट भनौँ भने जनताले सुनेमा नराम्रोसँग चोट खुवाउने भएकोले जनताबाट बाँचेर हिँड्न पनि जय नेता नभनि धरै छैन् । घर पालुवा जनावरझैँ मान्छे पनि घरपालुवा नै हो । तर दुवै घर पालुवा भए पनि एउटाको पुच्छर हुने अर्कोको नहुने भनेको ब्रह्माजीले मान्छेप्रति गरेको विभेद हो भन्दा कुनै पनि बेलामा अत्युक्ति नहुन सक्छ । किनभने मान्छे भनेको प्राणी मध्येको बेजोड चतुर हो भने जनावरहरू भनेका बुद्धिविहीन भएकोले पनि होला उनीहरूको पुच्छरको व्यवस्था राम्रोसँग भएको हुन सक्छ ।

उहिले उहिलेका मान्छे हुन वा देवता कसैको पनि पुच्छर थिएन । रामचन्द्रका दुत भनौ वा अङ्ग रक्षक भनौँ हनुमानको भने पुच्छर थियो । तर हनुमानको पुच्छरले के काम गर्‍यो त भन्दा बस्दा खेरी ओछ्याउने काम बाहेक अरु केही भएको थाहा छैन । अर्को एउटा काम भने गजबले भएको थियो रे त्यो केहो भने रावणको दरबार जलाउनलाई हनुमानले त्यही पुच्छरमा आगो सल्काएर लङ्का दहन गरेका थिए रे ! हनुमानको जत्तिको शक्ति भएका दुतहरू हिजो आजका देवता भनाउँदाहरूका पाइएको पनि छैन । बरू शक्तिको भक्ति गरेर बिना पुच्छरका हनुमानहरू भने यो मुलुकाँ धेरै जन्मेको कुरालाई कसैले पनि नकार्न सक्दैन । हिजोका देवताका हनुमानहरूले गर्न नसकेका कर्तुतहरू गरे भने आजका नेताका हनुमानहरूले जे मनलाग्यो त्यही गरेर देखाएका छन् । जुन उनीहरूका लागि ठूलो पुरुषार्थको रूपमा रहेका छ । नेताको पुच्छर हुँदैन तर हनुमान हुन्छन, हनुमान हुदैनन बरू पुच्छर हुन्छन । हनुमान भए पुच्छर हुन्छन र पुच्छर भए हनुमान हुन्छन भन्ने कुरा तितो के भनौ मिठै सत्य नै सावित भएको छ ।

नेताहरूले पुच्छर नउमार्न प्रयास गर्दा पनि जवरजस्ती उम्रिने, हनुमान नपालुँ भन्दा पनि जबरजस्ती पाल्नु पर्ने बाध्यताले गर्दा घरको न घाटको भएर बस्न परेको कथा पनि सुनाउने गरेका छन् । नेता भनेका सर्वप्रथमतः गोठाला विनाका बस्तु भएकोले पनि होला उनीहरूका हनुमान पनि पुच्छर हल्लाउँदै चमर डोलाउँदै नेताका अघि पछि गरेर हिँड्ने गरेका होलान् । यसो अनुमान गर्दा यी हनुमानहरू आफूलाई बडेमानको सम्झन्छन् । हनुमान चालिसा समेत पढन नजान्ने आजकलका हनुमानहरू अनुमानकै भरमा ज्योतिष शास्त्र समेत केलाउन खप्पिस ठान्दछन् आफूलाई । नेताका घरमा होस वा बाहिर नेताका अगाडि हनुमानकोझैँ फुलेर, खुलेर बोल्न र खेल्न नसके पनि पछाडि भने फुलेर महन्थ हुन्छन । हनुमान चालिसा पाठ गर्न लाउँदा हनुमानको ह समेत शुद्ध रूपले उच्चारण गर्न नसक्ने नेताका पुच्छर भएका हनुमानहरूले हामीले अनुमान गरे भन्दा पनि बढी मान सम्मान पाउन थाले पछि नेताहरू समेत तीनछक्क परेर लाटाले पापा हेरेरझैँ हेरिरहन्छन । कतिपय हनुमानहरू यस्ता पनि छन कि उनीहरू आफ्नो पुच्छरलाई सम्हाल्न समेत सक्दैनन । आफ्नो पुच्छरले कहाँ कस्लाई छोएको छ वा असर गरेको छ भन्ने कुराको भेउ नेताको छेउमै बसेर पनि पत्तो नपाउनेहरूले हनुमान बनेर नेताको नाम जप्नु नै बेकार हुन्छ । भनौ पुच्छर बन्न इच्छुक महासयहरूले सर्वप्रथमतः त्यसको महत्व र विशेषताका वारेमा स्पष्ट हुनु जरुरी हुन्छ । पुच्छर आफ्नो लागि भइएको हो वा अर्काका लागि भइएको हो सो कुरा नबुझेसम्म पुच्छर बन्नुको कुनै औचित्य नै हुँदैन ।

नेताका हनुमान वा पुच्छरका बारेमा कुरा गर्ने हो भने एक जनाले पैतालिस जनासम्म राखेको पाइएको छ । राष्ट्रपति, परधानमन्त्रीदेखि नजिकधानमन्त्री सम्मकाले पुच्छर पालेर तलब खुवाएका छन् । पुच्छर हुनेहरूले साँच्चै भन्ने हो भने घाँस खाएको हामीले देखेका छौँ । तिनीहरूलाई गोठमा बाँधेर घाँस हामी सबैले खुवाएका छौँ । राजनीति क्षेत्रमा होस् वा प्रशासनिक क्षेत्रमा होस् हनुमानहरूलाई ठालुमान बनाउन नेताले वा प्रशासनका प्रमुखहरूले नजानिँदो पाराले अहम भूमिका खेलेका हुन्छन् । जसले आफूलाई ठेलेर, पेलेर राजनीतिमा चिनाएका छन् तिनीहरूलाई अहम भूमिका खेलेर हनुमान बनाएका हुन्छन् । तर कतिपय पुच्छर भएका नेताका हनुमानहरू त बाँदरको पुच्छर लौरो न हतियारझैँ भएर बसेका हुन्छन । यस्ता हनुमानहरूले गरिखान पनि गाह्रो होला जस्तो लागेर आउँछ । रामदुत हनुमानको पुच्छर जस्तो महत्वपूर्ण पुच्छर भएका आधुनिक नेताका हनुमानले नेताका असली दुत भएर काम गर्न नसकेका कारण पनि पुच्छरले महत्व नपाएको हो कि भन्न सकिन्छ । किनभने हनुमानको पुच्छरले रावणको लङ्कालाई ध्वस्त पारेको थियो । त्यस्तो पुच्छर पो पुच्छर त भन्नेहरूले चाहिँ आफ्नो पुच्छर उमार्न सकेका छैनन् । पुच्छरको औगात नभए पनि सौगात खान भने सधैँ अघि सर्ने बानीले गर्दा हिजोआज सिङहरूबाट समेत पुच्छरले दपेटिनु परेको छ । सिङ न पुच्छर भन्ने उखानबाट नै थाहा हुन्छ कि हनुमान बनेका नेताका पुच्छरहरूको कुनै अर्थ नै छैन ।

कतिपय पुच्छरहरू यस्ता छन् कि नेता यता न उता भएका बेलाँ आफैँ सबैको उत्तराधिकारी भएझैँ गरी फाइफुइँ लाएर कुरा नबुझ्नेहरूलाई झार्छन् र टार्छन् । नेताको झिङ्गा धपाउने पुच्छरका रूपमा रहेका हनुमान साहेवहरूले रामदूतकाझैँ काम गर्न सकेको भए अहिले नेपालमा उनीहरूको स्थान नेताको भन्दा पनि अगाडि हुने थियो । हिन्दीमा एउटा उखान छ- चेला चिनी हो गया, गुरु गुड हि रहगया भन्ने । गुरु जहाँको त्यही छ कुनै प्रगति गर्न सकेको छैन तर चेलाले भने हेर्दा हेर्दै प्रगति गरेर गुरुलाई नै जिती सकेको हुन्छ । ठीक त्यस्तै भएको छ नेपालमा पनि, नेताको अवस्था जहाँको त्यही छ उसका पुच्छर भएका हनुमानहरूको अवस्था भने एक्कासी फेरिएको पाइन्छ । जुन पुच्छर वा हनुमान भएकै परिणाम हो भन्दा कुनै अत्युक्ति हुदैन । यति पनि गर्न नसक्ने हो भने पुच्छर भएर हिडनुको कुनै औचित्य नै हुदैन । नेता सोझो भए पनि पुच्छरहरू बाङ्गा हुन्छन, नेता बाङ्गा भएमा पुच्छरहरू सोझा हुन्छन जसका कारण काम गर्दा तालमेल मिल्दैन र जनताहरू उनीहरूको जालझेलमा पर्दछन । खानका लागि पनि जय नेता भन्नु हनुमाने पुच्छरहरूका लागि आजको सन्दर्भमा उचित हुने ठहर्छ । किनभने सर्वसाधारणले कुनै काम गर्नु पर्‍यो भने जय बजरङ्बली भनेझैँ पुच्छर भएर हनुमान बनेकाहरूले पनि जय नेता भनेका खण्डमा शक्तिले भक्ति गर्नेलाई बचाउनु स्वभाविकै ठानिन्छ ।

पुच्छर बनेका हनुमानहरूको बारेमा कुरा गर्ने हो भने हजार जिब्रा भएका शेष नाग वा भेषधारी नागहरूले पनि सक्दैनन् भने केशधारी मानवले त झन् सक्ने कुरै भएन । मन्त्रीका पुच्छर भएका हनुमानहरूको कुरा गर्ने हो भने हनुमान माथि हनुमान राखेर मन्त्रीकै टाउको माथि खुट्टा घुमाएर रजाइका साथ ठाँटले बसेका छन । भनौँ मन्त्री नै आफै भएझैँ गरी हनुमाने पुच्छरहरूले ढिकुटीमा आँखा गाडेर चोर्ने दाउ हेरिरहेका छन । हामीले अनुमान गरेका कुरामा हनुमानहरूको क्रियाकलाप मिल्ने भएकोले पनि होला उनीहरूले अर्को जुनीमा चोला फेर्न कुनै आइतबार पर्खनु पर्दैन । हनुमाने प्रवृति देखाउने चलन हाम्रो समाज र मुलुकका लागि कुनै नौलो कुरा होइन भने पुच्छरे संस्कृति पनि पुरानै हो । पुरानो संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने मान्यताले व्यापकता पाएको समयमा राजनीतिले घुसाएको घुस्याहा नीतिले हनुमाने भनौ वा पुच्छरे प्रवृतिलाई समेत हुर्कने अवसर प्रदान गरेको छ ।

अहिलेको समय भनेको कलियुगबाट ढलिमली युगमा परिवर्तन हुँदै गरेको समय भएकोले उहिलेका भगवानहरूको पुच्छर हुनेहरूको कुरा गर्नु आवश्यक भए पनि त्यो अहिलेको अवस्थामा सान्दर्भिक हुँदैन । किनभने सत्य र तथ्य अहिलेको लागि मिथ्या कुरा हुन्छ । रामभक्त हनुमान, कृष्णभक्त सुदामा, विष्णुभक्त प्रह्लाद लगायतका भक्तहरूले गरेको भक्तिले शक्तिको काम गरेको थियो । त्यो शक्ति आजका पुच्छर बनेका हनुमानहरूमा पाउन गाह्रो हुन्छ । आजको हनुमाने संस्कृतिले समाज र मुलुकलाई नै बिगारेको छ । एउटा हनुमानले अर्को हनुमानको खुट्टा तान्ने, पुच्छर निमोठ्ने जस्ता कामहरूले प्रश्रय पाएको समयमा शक्तिले समेत भक्तिगर्नेहरूको गुणगान गाउनु पर्ने अवस्था छ । भनौँ नेताको शक्ति भन्दा पनि भक्तिको शक्ति ठूलो छ । एउटा हवल्दारले गर्न नसकेको काम सिपाहीले गरेर देखाउँछ भने हवल्दारको त्यहाँ कुनै अर्थै हुँदैन । समाजका हरेक क्षेत्रमा यस्ता खाले प्रवृतिगत विशेषता बोकेका पुच्छरे हनुमानहरूको बाहुल्यता बढ्दै गएका कारण पुराना कुराको घ्याम्पोमा बिर्को लाग्न गएको होकि भन्ने बडेमानको अनुमान गर्न सकिने ठाउँ भने छ । अहिलेका देवता ठान्नेहरूले आफ्ना भक्तहरूलाई न हनुमान बनाउन सके, न सुदामा न प्रह्लाद नै । बरू विरप्पनको भाइ र फूलनदेवीको बहिनी बनाएर आफ्नो स्वार्थ पुरा गरेका छन् । केन्द्रदेखि जिल्ला तहसम्म नै हनुमानेहरूले तहल्का मच्चाएका छन् ।

कोही हनुमानेहरू हत्यामा संलग्न हुने त कोही चन्दा, अपहरण, लुटपाट जस्ता कार्यमा सहभागी भै बहुराष्ट्रिय आयामिक व्यक्तित्वका रूपमा चिनिन लागि परेका छन् । शक्तिको आडमा माड खान नमान्नेहरूले जाँड भने खाएकाछन् । जनताको भात खाएका हुन् वा नेताको जेजे खाए पनि जनता सपार्ने काममा भन्दा बढी बिगार्ने काममा लागेका पुच्छर कम्पनिका हनुमानहरू चालु नहुने हो भने नेताजीको राजनीतिले लाजनीतिको स्थान नओगटला भन्न सकिन्न । हनुमानको काम रामलाई आपत विपत परेका समयमा सहयोग गर्नु हो, संजिवनी भएर पुनर्जीवन दिन सक्नु हो । तर अहिलेका हनुमानहरू न हुन आपत विपत परेका समयमा नेतालाई बचाउनुको साटो आफू कुलेलम ठोक्न दाउ हेरिरहेका हुन्छन् । बाँदरे प्रवृतिका यी हनुमानहरूको अवस्थाका बारेमा जतिधैरै बयान गरे पनि थोरै नै हुने भएकोले ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेझैँ हनुमाने पुच्छरहरूको यो मुलुकलाई कुनै काम छैन । न हनुमान पाल्ने नेताहरूलाई नै यिनीहरूको काम छ । केवल नाम भजाएर माम खाइ दाम हात लाउनु बाहेक अरु केही छैन ।

पुच्छर हुने प्राणी मध्ये बाँदर, ढेडु मान्छेकै प्रजातीमा पर्ने भए पनि बुद्धिका हिसाबले कुकुर बढी बुद्धिमानी हुन्छ भन्ने कुरा धेरैले बुझेका छन् । तर उनीहरू पनि आफ्ना प्रजातिको हनुमान हुने वा पुच्छर भएर हिड्ने संस्कार भन्दा बाहिर जान सकेका छैनन । अर्थात पुच्छर वा हनुमान भएर हिड्ने प्रचलन मान्छेमा मात्र होइन कि पशुहरूमा पनि परम्परागत रूपमा चल्दै आएको छ । सायद मान्छेले पनि पशुकै सिको सिकेर नै होला मान्छेको पुच्छर मान्छे नै भएर हिँड्न थालेको । पुच्छर भएर हिँड्ने मान्छेले आफूलाई हनुमान भन्न नरुचाए पनि मान्छेको लहरमा उभिन लायकको मान्छेका रूपमा भने अवश्य पनि दर्‍याउँछ । पुच्छर कुकुरको पनि हुन्छ र उ आफ्नो मालिकलाई देख्ने बित्तिकै खुशीले पुच्छर हल्लाउँछ, तर नेताका पुच्छर भएका हनुमानहरूले भने आफ्नो नेता आउँदा न पुच्छर हल्लाएर अभिवादन नै गर्छन न दुई हात जोडेर नै नमस्कार गर्छन् । उनीहरूसँग हात भए पनि नमस्कार, लाल सलाम, जय नेपाल वा जय मधेश, क्रान्तिकारी लाल अभिवादन केही गर्दैनन् भने झन पुच्छर त हुँदै नभएकोले हल्लाउने कुरै भएन । पुच्छरको साटो हातै हल्लाए पनि नेताजीहरूलाई चित्त बुझ्थ्यो होला नि त ! तर ब्रह्माजीले विना शुल्क भनौँ वा निव्याजी दिएको दुई हात त्यो हल्लाउन पनि अल्छि लाग्ने पुच्छर बनेका हनुमानहरूले जजमानकै धोती टिपेर लाउन पनि बेर लाउँदैनन ।

यसो अनुमान गर्दा यी हनुमानहरू समाजका अगाडि काजीमान बनेर फुलेल हुने प्रयास त गरेका छन् तर समाजमा काजीमान होइन कि पाजीमानका रूपमा भने स्थापित भएर वहिष्कृत जीवनयापन गर्न बाध्य भएको देख्न पाइन्छ । हनुमानहरूले भोग्नु पर्ने नियती पनि यहीँ नै हो जस्तो लागेर आउँछ । र, अर्को भन्नै पर्ने कुरा के हो भने हामीले समाजमा हनुमान पाल्ने चलनको विकासलाई निकास दिन सक्नु पर्दछ । नेताले पालेका हनुमान नीति र थिति विनाका वस्तुसरह भएकोले तिनीहरूलाई अस्तु सेलाएझैँ सेलाउनु आजको आवश्यकता भएको छ ।

०००
उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’