डा. भरतकुमार भट्टराईहास्यव्यङ्ग्यको परिचय (१)
हास्यलाई आत्मस्थ र परस्थ भनेर पनि वर्गीकरण गरिएको छ। भरत र अभिनवगुप्तका अनुसार विदूषक वा पात्र आफै हाँस्नु अर्थात् स्वगत हास्य आत्मस्थ र अर्कालाई हँसाउनु वा अर्को हाँसेको देखेर हाँस्नुलाई परस्थ भन्ने गरिन्छ ।

डा. भरतकुमार भट्टराई :
विश्वसाहित्यका इतिहासमा हास्यव्यङ्ग्यले प्राचीन कालदेखि नै आफ्नो उपस्थिति जनाउँदै उल्लेख्य स्थान प्राप्त गर्दै आएको हो ।
हास्य र व्यङ्ग्य जीवनका अभिन्न पक्ष हुन् । मानिसका जीवनशैलीमा यिनले ठाउँ पाएकै हुन्छन् । मानिसको मूल प्रवृत्तिभित्रै हास्यले आफ्नो डोब राखेको हुन्छ भने बिनाछेडपेच बाँचेको मानव समाज पनि पाउन मुस्किल नै हुन्छ । समाजका उच्चवर्गदेखि निम्नवर्गसम्म र अति भद्र भलाद्मीदेखि सर्वसाधारण व्यक्तिसम्म यसको प्रभावमा परेकै हुन्छन् । अनपढ गोठालोदखि प्रबुद्ध व्यक्तिसम्मले यसलाई आफ्नो जीवनमा कुनै न कुनै रूपमा अँगालेकै हुन्छन् । त्यसैले हास्यव्यङ्ग्य मानव जीवनमा जन्मजात रहने एक शाश्वत नैसर्गिक गुण हो (भट्टराई २०४४:९) । सामान्य व्यवहारमा अभिन्न रूपमा रहने हास्यव्यङ्ग्य मानिसले गर्ने सिर्जनात्मक अभिव्यक्तिमा समेत अभिन्न भई अतीतकालदेखि नै प्रयोग हुँदै आइरहेको तथ्य हाम्रा सामु विदितै छ । यो कुरा पश्चिम र पूर्वका प्राचीन साहित्यले सँगालेका सुखान्त नाटकका सन्दर्भबाट स्पष्ट भएकै छ (भट्टराई २०४४:७) । पछिपछि साहित्यका अन्य विधाले पनि यस तत्त्वलाई उचित स्थान दिएकै हुन् ।
१. हास्यव्यङ्ग्यको सङ्क्षिप्त चिनारी
हास्य र व्यङ्ग्य दुवै संस्कृत शब्द हुन् तर हास्यको व्यापक चर्चा संस्कृतमा भए पनि व्यङ्ग्यको व्यापक चर्चा चाहिँ पाश्चात्य अङ्ग्रेजी साहित्यमा मात्र भएको पाइन्छ । पूर्वमा हास्यले रसको दर्जा पाएको र त्यसैअनुरूप व्याख्या-विवेचनाको सेरोफेरो भेटेको छ भने व्यङ्ग्यले चाहिँ चामत्कारिक अभिव्यक्तिविशेषका रूपमा मात्र स्थान पाएको छ (भट्टराई २०४४:५) । परन्तु, नेपाली साहित्यमा यी दुवै शब्दले सहकारी भूमिका निर्वाह गर्ने अन्योन्याश्रित शब्दशक्तिका रूपमा प्रयोग हुने परिवेश भेटेको छ । पश्चिमी अङ्ग्रेजी साहित्यमा भने हास्य (Humor) भित्रै व्यङ्ग्य (Satire) लाई समेटी यसकै एक प्रमुख शक्ति र तत्त्वका रूपमा स्विकारिएको स्थिति पाइन्छ । त्यसैले हास्यव्यङ्ग्यलाई सहकारी भूमिका प्रदान गरेर नेपाली साहित्यमा अँगाल्न थालिएको अनुभव गरिन्छ । पूर्वमा हास्यरसका रूपमा वर्णित भई हृदयगत भावको तहमा रहेको छ भने पश्चिममा चाहिँ व्यङ्ग्यका स्तरसम्म तन्किएको छ । हास्यव्यङ्ग्यलाई केही पूर्वी, पश्चिमी र नेपाली आँखाबाट चिनाउनु उपयुक्त हुनेछ ।
१.१ हास्यको पूर्वीय अभिमत
पूर्वीय संस्कृत साहित्यमा हास्यले रसको पगरी पाएको छ र यसको आविर्भाव हुने मूल कुरा चाहिँ विकृति हो भन्ने धारणा रहेको छ । हास्यलाई रसका रूपमा परिभाषित गर्ने पहिला पूर्वीय विद्वान् भरतमुनि हुन् । उनले शृङ्गार, रौद्र, वीर र वीभत्स गरी चार प्रमुख रसको स्थापना गरे अनि हास्य चाहिँ शृङ्गारबाट उत्पत्ति हुने बताए । उनका विचारमा हास्यरस शृङ्गारको अनुकृतिबाट जन्मन्छ (भरत ६:३९-४०) । भरतका यस विचारमा आंशिक सत्य छ किनभने अहिलेसम्म पनि शृङ्गारिक वा अश्लील वा यौनजन्य प्रसङ्गबाट हाँसो उमार्ने चेष्टा साहित्यकारहरूले गरेकै छन् (उदाहरणका लागि शक्तिवल्लभको ‘ हास्यकदम्ब विसं १८५५, राधावल्लभको ‘साँढ्याको कवित् वि.सं. १८५७हुँदै वर्तमानकालका हास्यकवि वसन्त सापकोटाको नाङ्गो नाक २०६० हेरे हुन्छ) । परन्तु, हास्यलाई शृङ्गारको उत्पत्ति र अनुकृति मान्ने भरतमुनिको धारणा शाश्वत तथा सर्वमान्य बन्न सकेन र उत्तरवती आचार्य वा साहित्यचिन्तकहरूले त्यसप्रति विरोध जनाउँदै फरक धारणा व्यक्त गर्न थाले ।
यस क्रममा उत्तरवर्ती संस्कृत साहित्याचार्य धनञ्जय, विश्वनाथ आदिले विकृत आकार, बोलीवचन, वेशभूषा, चेष्टा आदिद्वारा हास्यरसको आविर्भाव हुने बताए (धनञ्जय ४:७५, विश्वनाथ अर्काको विचित्र वेशभूषा, चेष्टा, शब्दावली र कार्यकलापद्वारा हास्योत्पत्ति ३:२१४) । आफ्नो वा हुन सक्छ (धनञ्जय ४:७५) । भारतीय विद्वान् शारदातनयले रजोगुण हटेर सत्त्वगुणको आविर्भाव भएपछि हास्य उत्पन्न भएर प्रेममूलक चित्तविकृतिका रूपमा रहने कुरा भारतीय प्रकाश (पृ ४७) मा उल्लेख गरेका छन् । त्यस्तै गरी अभिनवगुप्तले सबै रसाभासद्वारा समेत विशेष परिस्थितिमा हास्यको उत्पत्ति हुन सक्ने धारणा हिन्दी अभिनवभारती (पृ. २९७) मा प्रस्तुत गरेका छन् । यसै लहरमा अर्का भारतीय विद्वान् विशेष परिस्थितिमा करूण, वीभत्स आदि रसहरूद्वारा पनि हास्यको सृष्टि हुन सक्ने र विकृतिका साथै अनौचित्य (अशिष्टता र वैपरीत्यसमेत) लाई पनि हास्य उत्पन्न गर्ने कारकतत्त्व मान्न सकिने धारणा राख्छन् (वर्मा २०२०:९६५) ।
वास्तवमा हास्यको उत्पत्ति केवल शृङ्गारको अनुकृतिबाट हुँदैन । यो विकृतिबाट जन्मने हुनाले विकृत आकार-प्रकार, बोलीवचन, वेशभूषा, हावभाव-चेष्टा आदिद्वारा अभिव्यक्त हुन्छ । त्यसैले हास्य सिर्जनाका निम्ति शृङ्गारका अतिरिक्त जीवनका विविध परिस्थितिद्वारा देखा पर्ने विकृत्तिको आवश्यकता पर्छ । संस्कृत साहित्यले सङ्केत गरेअनुसार हास्यको स्रोतमा राग र द्वेष पर्छन् । आनन्द वा हर्षका बेलामा मान्छे हाँस्दा रागबाट प्रेरित हुन्छ भने अरू व्यक्ति वा वस्तुप्रति उपहास गरेर हाँस्दा द्वेषबाट प्रेरित हुन्छ । यस्तो राग प्रकृति हो भने द्वेष विकृति । रागोत्पन्न हास्य जति शुद्ध हुन्छ त्यति द्वेषोत्पन्न हास्य हुन्न । खासमा रागबिना मान्छेमा रञ्जन वा आह्लाद प्राप्त हुन्न । विशुद्ध हास्य मनोरञ्जनका लागि वा मानसिक तनाउबाट मुक्ति प्राप्त गर्नका लागि हुन्छ । तसर्थ हास्यको उत्पत्तिको स्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हुने मर्मलाई स्विकारेको पाइन्छ अर्याल २०३३:५१) । यसरी हास्यको सम्बन्ध रागसँग हुने हुँदा यो भाव वा रसका रूपमा फलित हुन्छ ।
संस्कृतमा हास्यलाई रसका रूपमा चर्चा गरेर यसका स्थायी भाव, विभाव, अनुभाव र सञ्चारी भावको निर्धारण गरेको पाइन्छ । यसअनुसार हास्यरसको स्थायीभाव ‘हास’ हो । यही हास स्थायी भावको विकसित स्वरूप नै हास्यरस हुन्छ । हास्यरसका विभावमा आलम्बन र उद्दीपन हुन्छन् । आलम्बनमा हास्यास्पद व्यक्तिका विकृत आकार (आकृति), वाणी, वेश आदि र उद्दीपनमा त्यस्ता व्यक्तिका विभिन्न चेष्टाहरू पर्छन् (विश्वनाथ ३:१३७) । हास्यास्पद व्यक्ति वा वस्तुका विकृत आकार, विचित्र वेशभूषा, मूर्खतापूर्ण हावभाव, निर्लज्जता, छिद्रान्वेषण आदि अस्वाभाविक पक्षहरू आलम्बन तथा बाङ्गा वचन, विचित्र अङ्गभङ्गी, अव्यवस्थित वेशभूषा र अरू खालका हास्यवर्धक चेष्टा उद्दीपन हुन् । खासमा विभाव आचार, व्यवहार, वेशविन्यास, नाम, अर्थ आदिका विकृति हुन् र यिनमा विकृत वेशालङ्कार, घार्थ्य-लौल्य-कुहक (काखी, घाँटी आदि छोएर हाँसो उठाउने विधि), असङ्गत फतफत, व्यङ्गदर्शन (विकलाङ्ग आदिको प्रदर्शन), दोषकथन आदि पनि पर्छन् (भरत ६ः५६) ।
हास्यरसका अनुभाव नेत्र सङ्कुचित तथा मुख विकसित हुनु, दाँत डिच्च गर्दै वा खित्का छोड्दै वा पेट मिच्दै हाँस्तु, ओठ टोक्नु, पसिना आउनु आदि हुन् (विश्वनाथ ३:२५२) । यसका व्यभिचारी वा सञ्चारी भाव निद्रा, आलस्य, अवहित्य वा अर्थगोपन, तन्द्रा, स्वप्न, प्रबोध, असूया (ईर्ष्या, निन्दा मिसिएको), अश्नु, कम्प, हर्ष, चपलता, निर्लज्जता आदि हुन् (विश्वनाथ ३:२५२) ।
हास्यरसका अविरोधी र विरोधी रसहरू हुन्छन्, जसमा शृङ्गार र अद्भुत अविरोधी अनि भयानक, करूण, रौद्र र वीर विरोधी रस मानिन्छन् । संस्कृतमा हास्यका भेदहरूको पनि चर्चा गरिएको पाइन्छ । भरतदेखि विश्वनाथ, अभिनवगुप्त आदिसम्मले देखाएका हास्यका प्रमुख भेद मुख्यतः ६ ओटा छन् स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित । यिनैलाई प्रकृतिका आधारमा ३ किसिममा बाँडिएको छ: उत्तम, मध्यम र अधम । स्मित र हसित उत्तम, विहसित र उपहसित मध्यम, अपहसित र अतिहसित अघम मानिन्छन् (विस्तृत चर्चा हेर्नू : भट्टराई २०५७:६) ।
हास्यलाई यसरी मानवको प्रकृतिसँग जोडेर हेर्ने प्रवृत्ति पूर्वमा मात्र होइन पश्चिमी संसारमा पनि पाइन्छ । पश्चिमी जगत्मा हास्य भनेको त्यस्तो प्राचीन सिद्धान्त हो जसमा मानिएका चार हास्यहरूको मिश्रणबाट मानिसका फरक-फरक प्रकारका व्यक्तित्वहरूको निर्धारण गरिन्छ (अब्राम्स इ १९९३:२२०) । यसैलाई मध्यकाल तथा पुनर्जागरणकालका पश्चिमी साहित्यले तत्कालीन उपचारविधिमा अँगालिने विश्वासका रूपमा ग्रहण गरेर मानिसको चरित्र पहिचान गर्ने आधार बनाएको पाइन्छ । यस धारणाअनुसार मानिसमा प्रकृतिका चार तत्त्वहरूसित समानता राख्ने चार प्रकारका हास्य हुन्छन् ।
प्रकृतिका चार मूल तत्त्वहरू हुन् पृथ्वी वा माटो (earth), वायु (air), अग्नि (fire) र पानी वा जल (water) । यिनको मात्रा वा मिश्रण व्यक्तिमा जेजति हुन्छ त्यसै प्रकारको व्यक्तित्त्व उसको बन्ने विश्वास गरिन्छ । जुन मानिसमा रगत (blood) को मात्रा बढी हुन्छ त्यो पृथ्वी वा माटोसित, जो हावासित समानता राख्छ त्यसमा कफ (phlegm) ज्यादा रहन्छ, जसमा पित्त (choler) बढी रहन्छ त्यो अग्निसँग मिल्छ र जो पानीसित समता राख्छ त्यो पित्त वा पित्तदोष (bile) ज्यादा भएको मानिन्छ । मानिसमा यी सबै प्राकृतिक तत्त्वचको सन्तुलन भएको पाउन मुस्किल छ । पश्चिमाहरूका विश्वासमा तिनका प्रभु जिसस क्राइस्टमा मात्र सबै तत्त्वको सन्तुलन रहेको ठानिन्छ ।
यीबाहेक जो पृथ्वीसित मिल्ने रगत ज्यादा भएको व्यक्ति हुन्छ त्यो आशावादी, उत्साही, प्रसन्नचित्त हुन्छ । जो वायुसित मिल्ने कफ वा श्लेष्मा बढी भएको हुन्छ त्यो ज्यादा निरुत्साह, भावशून्य, शान्त र स्थिरबुद्धिको हुन्छ । जो अग्निसित मिल्दो पित्त बढी भएको हुन्छ त्यो क्रोधी वा रिसाहा हुन्छ । जो पानीसित मिल्दो पित्तदोष वा पित्त बढी भएको मानिस हुन्छ त्यो एकदमै विषादग्रस्त, उदास, दुःखी, निराश वा चिन्ताग्रस्त रहने मनोवृत्तिको हुने विश्वास गरिन्छ (कुइन इ. १९९९ र २०००:१५४) । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने जहाँ बेमेल, विकृति वा असन्तुलन हुन्छ त्यहाँ नै हास्य जन्मने गर्छ । हुनुपर्ने एकथोक तर भइदिन्छ अर्को थोक भने त्यो नै हास्यको मूल कारण बन्दछ ।
हास्यलाई आत्मस्थ र परस्थ भनेर पनि वर्गीकरण गरिएको छ। भरत र अभिनवगुप्तका अनुसार विदूषक वा पात्र आफै हाँस्नु अर्थात् स्वगत हास्य आत्मस्थ र अर्कालाई हँसाउनु वा अर्को हाँसेको देखेर हाँस्नुलाई परस्थ भन्ने गरिन्छ । खासमा आत्मस्थ आश्रय र आलम्बन एकै हुँदा आश्रयको असङ्गति विभाव भएर जन्मने हास्य हो भने परस्थ अन्य व्यक्तिको विकृति विभाव बनेर आउने हास्य हो । क्रमश:
०००
हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३)
Subscribe
Login
0 Comments
Oldest








































