साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको परिचय (१)

हास्यलाई आत्मस्थ र परस्थ भनेर पनि वर्गीकरण गरिएको छ। भरत र अभिनवगुप्तका अनुसार विदूषक वा पात्र आफै हाँस्नु अर्थात् स्वगत हास्य आत्मस्थ र अर्कालाई हँसाउनु वा अर्को हाँसेको देखेर हाँस्नुलाई परस्थ भन्ने गरिन्छ ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

विश्वसाहित्यका इतिहासमा हास्यव्यङ्ग्यले प्राचीन कालदेखि नै आफ्नो उपस्थिति जनाउँदै उल्लेख्य स्थान प्राप्त गर्दै आएको हो ।

हास्य र व्यङ्ग्य जीवनका अभिन्न पक्ष हुन् । मानिसका जीवनशैलीमा यिनले ठाउँ पाएकै हुन्छन् । मानिसको मूल प्रवृत्तिभित्रै हास्यले आफ्नो डोब राखेको हुन्छ भने बिनाछेडपेच बाँचेको मानव समाज पनि पाउन मुस्किल नै हुन्छ । समाजका उच्चवर्गदेखि निम्नवर्गसम्म र अति भद्र भलाद्‌मीदेखि सर्वसाधारण व्यक्तिसम्म यसको प्रभावमा परेकै हुन्छन् । अनपढ गोठालोदखि प्रबुद्ध व्यक्तिसम्मले यसलाई आफ्नो जीवनमा कुनै न कुनै रूपमा अँगालेकै हुन्छन् । त्यसैले हास्यव्यङ्ग्य मानव जीवनमा जन्मजात रहने एक शाश्वत नैसर्गिक गुण हो (भट्टराई २०४४:९) । सामान्य व्यवहारमा अभिन्न रूपमा रहने हास्यव्यङ्ग्य मानिसले गर्ने सिर्जनात्मक अभिव्यक्तिमा समेत अभिन्न भई अतीतकालदेखि नै प्रयोग हुँदै आइरहेको तथ्य हाम्रा सामु विदितै छ । यो कुरा पश्चिम र पूर्वका प्राचीन साहित्यले सँगालेका सुखान्त नाटकका सन्दर्भबाट स्पष्ट भएकै छ (भट्टराई २०४४:७) । पछिपछि साहित्यका अन्य विधाले पनि यस तत्त्वलाई उचित स्थान दिएकै हुन् ।

१. हास्यव्यङ्ग्यको सङ्क्षिप्त चिनारी
हास्य र व्यङ्ग्य दुवै संस्कृत शब्द हुन् तर हास्यको व्यापक चर्चा संस्कृतमा भए पनि व्यङ्ग्यको व्यापक चर्चा चाहिँ पाश्चात्य अङ्ग्रेजी साहित्यमा मात्र भएको पाइन्छ । पूर्वमा हास्यले रसको दर्जा पाएको र त्यसैअनुरूप व्याख्या-विवेचनाको सेरोफेरो भेटेको छ भने व्यङ्ग्यले चाहिँ चामत्कारिक अभिव्यक्तिविशेषका रूपमा मात्र स्थान पाएको छ (भट्टराई २०४४:५) । परन्तु, नेपाली साहित्यमा यी दुवै शब्दले सहकारी भूमिका निर्वाह गर्ने अन्योन्याश्रित शब्दशक्तिका रूपमा प्रयोग हुने परिवेश भेटेको छ । पश्चिमी अङ्ग्रेजी साहित्यमा भने हास्य (Humor) भित्रै व्यङ्ग्य (Satire) लाई समेटी यसकै एक प्रमुख शक्ति र तत्त्वका रूपमा स्विकारिएको स्थिति पाइन्छ । त्यसैले हास्यव्यङ्ग्यलाई सहकारी भूमिका प्रदान गरेर नेपाली साहित्यमा अँगाल्न थालिएको अनुभव गरिन्छ । पूर्वमा हास्यरसका रूपमा वर्णित भई हृदयगत भावको तहमा रहेको छ भने पश्चिममा चाहिँ व्यङ्ग्यका स्तरसम्म तन्किएको छ । हास्यव्यङ्ग्यलाई केही पूर्वी, पश्चिमी र नेपाली आँखाबाट चिनाउनु उपयुक्त हुनेछ ।

१.१ हास्यको पूर्वीय अभिमत
पूर्वीय संस्कृत साहित्यमा हास्यले रसको पगरी पाएको छ र यसको आविर्भाव हुने मूल कुरा चाहिँ विकृति हो भन्ने धारणा रहेको छ । हास्यलाई रसका रूपमा परिभाषित गर्ने पहिला पूर्वीय विद्वान् भरतमुनि हुन् । उनले शृ‌ङ्गार, रौद्र, वीर र वीभत्स गरी चार प्रमुख रसको स्थापना गरे अनि हास्य चाहिँ शृ‌ङ्गारबाट उत्पत्ति हुने बताए । उनका विचारमा हास्यरस शृङ्गारको अनुकृतिबाट जन्मन्छ (भरत ६:३९-४०) । भरतका यस विचारमा आंशिक सत्य छ किनभने अहिलेसम्म पनि शृ‌ङ्गारिक वा अश्लील वा यौनजन्य प्रसङ्गबाट हाँसो उमार्ने चेष्टा साहित्यकारहरूले गरेकै छन् (उदाहरणका लागि शक्तिवल्लभको ‘ हास्यकदम्ब विसं १८५५, राधावल्लभको ‘साँढ्याको कवित् वि.सं. १८५७हुँदै वर्तमानकालका हास्यकवि वसन्त सापकोटाको ना‌ङ्गो नाक २०६० हेरे हुन्छ) । परन्तु, हास्यलाई शृ‌ङ्गारको उत्पत्ति र अनुकृति मान्ने भरतमुनिको धारणा शाश्वत तथा सर्वमान्य बन्न सकेन र उत्तरवती आचार्य वा साहित्यचिन्तकहरूले त्यसप्रति विरोध जनाउँदै फरक धारणा व्यक्त गर्न थाले ।

यस क्रममा उत्तरवर्ती संस्कृत साहित्याचार्य धनञ्जय, विश्वनाथ आदिले विकृत आकार, बोलीवचन, वेशभूषा, चेष्टा आदिद्वारा हास्यरसको आविर्भाव हुने बताए (धनञ्जय ४:७५, विश्वनाथ अर्काको विचित्र वेशभूषा, चेष्टा, शब्दावली र कार्यकलापद्वारा हास्योत्पत्ति ३:२१४) । आफ्नो वा हुन सक्छ (धनञ्जय ४:७५) । भारतीय विद्वान् शारदातनयले रजोगुण हटेर सत्त्वगुणको आविर्भाव भएपछि हास्य उत्पन्न भएर प्रेममूलक चित्तविकृतिका रूपमा रहने कुरा भारतीय प्रकाश (पृ ४७) मा उल्लेख गरेका छन् । त्यस्तै गरी अभिनवगुप्तले सबै रसाभासद्वारा समेत विशेष परिस्थितिमा हास्यको उत्पत्ति हुन सक्ने धारणा हिन्दी अभिनवभारती (पृ. २९७) मा प्रस्तुत गरेका छन् । यसै लहरमा अर्का भारतीय विद्वान् विशेष परिस्थितिमा करूण, वीभत्स आदि रसहरूद्वारा पनि हास्यको सृष्टि हुन सक्ने र विकृतिका साथै अनौचित्य (अशिष्टता र वैपरीत्यसमेत) लाई पनि हास्य उत्पन्न गर्ने कारकतत्त्व मान्न सकिने धारणा राख्छन् (वर्मा २०२०:९६५) ।

वास्तवमा हास्यको उत्पत्ति केवल शृ‌ङ्गारको अनुकृतिबाट हुँदैन । यो विकृतिबाट जन्मने हुनाले विकृत आकार-प्रकार, बोलीवचन, वेशभूषा, हावभाव-चेष्टा आदिद्वारा अभिव्यक्त हुन्छ । त्यसैले हास्य सिर्जनाका निम्ति शृङ्गारका अतिरिक्त जीवनका विविध परिस्थितिद्वारा देखा पर्ने विकृत्तिको आवश्यकता पर्छ । संस्कृत साहित्यले सङ्केत गरेअनुसार हास्यको स्रोतमा राग र द्वेष पर्छन् । आनन्द वा हर्षका बेलामा मान्छे हाँस्दा रागबाट प्रेरित हुन्छ भने अरू व्यक्ति वा वस्तुप्रति उपहास गरेर हाँस्दा द्वेषबाट प्रेरित हुन्छ । यस्तो राग प्रकृति हो भने द्वेष विकृति । रागोत्पन्न हास्य जति शुद्ध हुन्छ त्यति द्वेषोत्पन्न हास्य हुन्न । खासमा रागबिना मान्छेमा रञ्जन वा आह्लाद प्राप्त हुन्न । विशुद्ध हास्य मनोरञ्जनका लागि वा मानसिक तनाउबाट मुक्ति प्राप्त गर्नका लागि हुन्छ । तसर्थ हास्यको उत्पत्तिको स्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हुने मर्मलाई स्विकारेको पाइन्छ अर्याल २०३३:५१) । यसरी हास्यको सम्बन्ध रागसँग हुने हुँदा यो भाव वा रसका रूपमा फलित हुन्छ ।

संस्कृतमा हास्यलाई रसका रूपमा चर्चा गरेर यसका स्थायी भाव, विभाव, अनुभाव र सञ्चारी भावको निर्धारण गरेको पाइन्छ । यसअनुसार हास्यरसको स्थायीभाव ‘हास’ हो । यही हास स्थायी भावको विकसित स्वरूप नै हास्यरस हुन्छ । हास्यरसका विभावमा आलम्बन र उद्दीपन हुन्छन् । आलम्बनमा हास्यास्पद व्यक्तिका विकृत आकार (आकृति), वाणी, वेश आदि र उद्दीपनमा त्यस्ता व्यक्तिका विभिन्न चेष्टाहरू पर्छन् (विश्वनाथ ३:१३७) । हास्यास्पद व्यक्ति वा वस्तुका विकृत आकार, विचित्र वेशभूषा, मूर्खतापूर्ण हावभाव, निर्लज्जता, छिद्रान्वेषण आदि अस्वाभाविक पक्षहरू आलम्बन तथा बाङ्गा वचन, विचित्र अङ्गभङ्गी, अव्यवस्थित वेशभूषा र अरू खालका हास्यवर्धक चेष्टा उद्दीपन हुन् । खासमा विभाव आचार, व्यवहार, वेशविन्यास, नाम, अर्थ आदिका विकृति हुन् र यिनमा विकृत वेशाल‌ङ्कार, घार्थ्य-लौल्य-कुहक (काखी, घाँटी आदि छोएर हाँसो उठाउने विधि), असङ्गत फतफत, व्यङ्गदर्शन (विकलाङ्ग आदिको प्रदर्शन), दोषकथन आदि पनि पर्छन् (भरत ६ः५६) ।

हास्यरसका अनुभाव नेत्र सङ्कुचित तथा मुख विकसित हुनु, दाँत डिच्च गर्दै वा खित्का छोड्‌दै वा पेट मिच्दै हाँस्तु, ओठ टोक्नु, पसिना आउनु आदि हुन् (विश्वनाथ ३:२५२) । यसका व्यभिचारी वा सञ्चारी भाव निद्रा, आलस्य, अवहित्य वा अर्थगोपन, तन्द्रा, स्वप्न, प्रबोध, असूया (ईर्ष्या, निन्दा मिसिएको), अश्नु, कम्प, हर्ष, चपलता, निर्लज्जता आदि हुन् (विश्वनाथ ३:२५२) ।

हास्यरसका अविरोधी र विरोधी रसहरू हुन्छन्, जसमा शृङ्गार र अद्भुत अविरोधी अनि भयानक, करूण, रौद्र र वीर विरोधी रस मानिन्छन् । संस्कृतमा हास्यका भेदहरूको पनि चर्चा गरिएको पाइन्छ । भरतदेखि विश्वनाथ, अभिनवगुप्त आदिसम्मले देखाएका हास्यका प्रमुख भेद मुख्यतः ६ ओटा छन् स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित । यिनैलाई प्रकृतिका आधारमा ३ किसिममा बाँडिएको छ: उत्तम, मध्यम र अधम । स्मित र हसित उत्तम, विहसित र उपहसित मध्यम, अपहसित र अतिहसित अघम मानिन्छन् (विस्तृत चर्चा हेर्नू : भट्टराई २०५७:६) ।

हास्यलाई यसरी मानवको प्रकृतिसँग जोडेर हेर्ने प्रवृत्ति पूर्वमा मात्र होइन पश्चिमी संसारमा पनि पाइन्छ । पश्चिमी जगत्मा हास्य भनेको त्यस्तो प्राचीन सिद्धान्त हो जसमा मानिएका चार हास्यहरूको मिश्रणबाट मानिसका फरक-फरक प्रकारका व्यक्तित्वहरूको निर्धारण गरिन्छ (अब्राम्स इ १९९३:२२०) । यसैलाई मध्यकाल तथा पुनर्जागरणकालका पश्चिमी साहित्यले तत्कालीन उपचारविधिमा अँगालिने विश्वासका रूपमा ग्रहण गरेर मानिसको चरित्र पहिचान गर्ने आधार बनाएको पाइन्छ । यस धारणाअनुसार मानिसमा प्रकृतिका चार तत्त्वहरूसित समानता राख्ने चार प्रकारका हास्य हुन्छन् ।

प्रकृतिका चार मूल तत्त्वहरू हुन् पृथ्वी वा माटो (earth), वायु (air), अग्नि (fire) र पानी वा जल (water) । यिनको मात्रा वा मिश्रण व्यक्तिमा जेजति हुन्छ त्यसै प्रकारको व्यक्तित्त्व उसको बन्ने विश्वास गरिन्छ । जुन मानिसमा रगत (blood) को मात्रा बढी हुन्छ त्यो पृथ्वी वा माटोसित, जो हावासित समानता राख्छ त्यसमा कफ (phlegm) ज्यादा रहन्छ, जसमा पित्त (choler) बढी रहन्छ त्यो अग्निसँग मिल्छ र जो पानीसित समता राख्छ त्यो पित्त वा पित्तदोष (bile) ज्यादा भएको मानिन्छ । मानिसमा यी सबै प्राकृतिक तत्त्वचको सन्तुलन भएको पाउन मुस्किल छ । पश्चिमाहरूका विश्वासमा तिनका प्रभु जिसस क्राइस्टमा मात्र सबै तत्त्वको सन्तुलन रहेको ठानिन्छ ।

यीबाहेक जो पृथ्वीसित मिल्ने रगत ज्यादा भएको व्यक्ति हुन्छ त्यो आशावादी, उत्साही, प्रसन्नचित्त हुन्छ । जो वायुसित मिल्ने कफ वा श्लेष्मा बढी भएको हुन्छ त्यो ज्यादा निरुत्साह, भावशून्य, शान्त र स्थिरबुद्धिको हुन्छ । जो अग्निसित मिल्दो पित्त बढी भएको हुन्छ त्यो क्रोधी वा रिसाहा हुन्छ । जो पानीसित मिल्दो पित्तदोष वा पित्त बढी भएको मानिस हुन्छ त्यो एकदमै विषादग्रस्त, उदास, दुःखी, निराश वा चिन्ताग्रस्त रहने मनोवृत्तिको हुने विश्वास गरिन्छ (कुइन इ. १९९९ र २०००:१५४) । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने जहाँ बेमेल, विकृति वा असन्तुलन हुन्छ त्यहाँ नै हास्य जन्मने गर्छ । हुनुपर्ने एकथोक तर भइदिन्छ अर्को थोक भने त्यो नै हास्यको मूल कारण बन्दछ ।

हास्यलाई आत्मस्थ र परस्थ भनेर पनि वर्गीकरण गरिएको छ। भरत र अभिनवगुप्तका अनुसार विदूषक वा पात्र आफै हाँस्नु अर्थात् स्वगत हास्य आत्मस्थ र अर्कालाई हँसाउनु वा अर्को हाँसेको देखेर हाँस्नुलाई परस्थ भन्ने गरिन्छ । खासमा आत्मस्थ आश्रय र आलम्बन एकै हुँदा आश्रयको असङ्गति विभाव भएर जन्मने हास्य हो भने परस्थ अन्य व्यक्तिको विकृति विभाव बनेर आउने हास्य हो । क्रमश:

०००
हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x