साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

विश्‍वका व्यङ्ग्यस्रष्‍टाका सन्दर्भबाट हेर्ने हो भने भण्डारी कोमल व्यङ्ग्यका प्रवर्तक होरेसका शैलीमा व्यङ्ग्य सिर्जना गर्ने होरेसेली व्यङ्ग्यका कुशल स्रष्‍टा देखिन्छन्।

Nepal Telecom ad

प्रा.डा. भरतकुमार भट्टराई :

‘अर्को कर्नाली’ (२०८०) कवितासङ्ग्रह तनहुँमा जन्मी हाल क्यानाडाको टोरन्टोमा बसोबास गर्ने कवि तथा गजलकार युवराज भण्डारी (२०२९) को भर्खरै प्रकाशित कृति हो। नेपाली शरीर जहाँ पुगे पनि मन चाहिँ देशसँगै हुन्छ भन्‍ने तथ्यलाई भण्डारीको यस कृतिले पुष्‍टि गरेको छ। क्यानाडामा बसे पनि नेपाली माटाको बास्‍नालाई विस्तारित गर्ने कविको चाहनाले ‘अर्को कर्नाली’लाई जन्म दिएको हो। बाहिरी संसारको जतिसुकै सुखभोग गरे पनि जननी र जन्मभूमिभन्दा परम सुख प्रदान गर्ने तत्त्व अहिलेसम्म केही बनेको छैन। पराई धर्तीमा कर्म गरे पनि स्वधर्तीको सेवा गर्ने उत्कट अभिलाषाले भण्डारी कविताहरूको सिर्जना गर्छन्। कृतिभित्र जम्मा ५६ वटा गद्यकविताहरू अटाएका छन्।

देश, परिवेश, साथीसङ्गी, प्रेयसी, घरपरिवार, परमात्मा, ब्रह्‍म र ब्रह्‍माण्डप्रति कृतार्थ भाव प्रकट गर्ने भण्डारीको ‘नमन’ कविताले उदार एवम् गुनिलो उच्‍च आदर्शको हृदयस्पर्शी चेतलाई ध्वनित गरेको छ। यो मङ्गलाचरण गर्ने प्रारम्भिक कविता हो। साथै यसले कतिपय विसङ्गत पक्षहरूलाई व्यङ्ग्यमा उतारेको छ। आफ्नो स्वार्थ पूरा भएपछि बिर्सिदिने आफ्ना पूर्वप्रिय साथीहरूलाई नमन भन्दै बाङ्गो शैलीमा दनक दिन्छन्। त्यस्तै जति नै राम्रो गरे पनि सधैँ दुस्मनसरह व्यवहार गरेर आतङ्कित पार्न पल्केका शत्रुहरूलाई पनि ‘प्रिय दुस्मनहरू’ भनेर व्याजस्तुतिद्वारा व्यङ्ग्य प्रहार गर्छन्। यिनीहरू सतर्कताका लागि उपहार हुन् भनिदिन्छन्।

‘बिरामी, अस्पताल र सरकार’ मा सघन व्यङ्ग्य प्रस्तुत भएको छ। नेपालका अस्पतालहरूमा सर्वसाधारण दुःखीगरिबहरू पालो कुर्दाकुर्दै आफैँ सन्चो भइदिने वा उपचारै नपाई धर्ती नै छोड्ने स्थिति हुन्छ जो नेपाली समाजको मानवता ढलेको हृदयविदारक अवस्था हो। बिरामी भए पनि खर्च नभएर अस्पतालसम्म पुग्‍नै नसक्दा रोग दबाएरै बस्‍ने हतभागीहरू असङ्ख्य छन्। धेरै त्यस्ता बिरामीहरू पनि छन् जो महँगो उपचारबापत निजी अस्पतालहरूमा अकल्पित उपचारखर्च तिर्न विवश हुँदा मानसिक रोगी हुन पुगेकाहरू हुन्। तर, सरकारमा बसेकाहरूलाई छिमेकी देशका महङ्गा अस्पतालहरूमा सामान्य उपचारका लागि पनि भएभरको सुविधा उपलब्ध भएकै हुन्छ। यहाँ बिरामी सर्वसाधारण नेपालीहरूको प्रतीक, अस्पताल महाविकृतिको प्रतीक र सरकार राजनीतिक र सामाजिक अव्यवस्थाको प्रतीक बनेर उभिएका छन्। त्यसैले कविताले संवेदनशील भावप्रवाह गर्न सकेको छ। यस्तो स्वास्थ्यका क्षेत्रमा रहेका चरम विसङ्गतिहरूको धज्‍जी उडाउँदै कविले भनेका छन् –
अस्पताल पुग्‍न पालो कुर्ने बिरामीहरू
कति आफैँ सन्चो हुन्छन् कुर्दाकुर्दै
कति ढलिसक्छन् पालो नआउँदै
थुप्रै हुन्छन् – बिरामी भए पनि दबाएरै बस्‍ने
धेरै छन् – उपचारखर्च तिर्दा फेरि बिरामी पर्ने। (पृ. २४)

‘म को हुँ’ कवितामा आत्मव्यङ्ग्यको शैलीमा भएभरको आफ्नो भन्‍ने भ्रममा उन्मत्त मान्छेको बेहोराप्रति कटाक्ष गरिएको छ। सर्वेसर्वा मै हुँ र संसारका सम्पूर्ण सुखसुविधाहरूको भोग गर्ने एकलौटी अधिकार मसँग मात्रै छ भन्‍ने सर्वसत्तावादी मानवचरित्रमाथि तीव्र व्यङ्ग्य यसमा हानिएको छ। पराश्रयी, बारम्बार गल्ती दोहोर्‍याइरहने, भौतिक सुखसयलमै मग्‍न, अनुशासनहीन, ईर्ष्यालु, जागरूकताहीन, बेइमान, आदर्शबेचुवा, आफूलाई मात्र सर्वज्ञानी-सर्वश्रेष्‍ठ ठान्‍ने, हिंसावादी, मधुशालाबाज, धोकेबाज, परपीडक, अशान्त, चिन्ताग्रस्त, चिन्तनहीन, दानवीय, पाशविक र बर्बर भइरहने मानवीय कमजोरीहरूमाथि पनि कवि प्रखर उपहास प्रकट गर्छन्।

‘पीडागान’ मा मिठो हास्यव्यङ्ग्यका माध्यमले अत्याधुनिक प्रविधिका सामाजिक सञ्‍जालका दास बनेका र त्यसमा विवेकहीन बन्दै पागलपन देखाउन मरिहत्ते गर्ने मानिसहरूलाई मजाले छ्‍यास्छन् कवि यसरी –
कोही यहाँ आफ्नै शरीर काटीकाटी
टिकटकमा भाइरल हुन्थे होलान्
महँगो प्लास्टिक सर्जरीलाई खुच्‍चिङ भन्दै
लामो नाकको टुप्पो आफैँ खुर्केर
जे गर्दा राम्रो देखिन्छ, त्यही गरेर
फेसबुकमा हाल्थे होलान्। (पृ. ३१)

‘देश-परदेश’ मा देश छोडी विदेश पलायन हुने राष्‍ट्रिय महारोग र सामाजिक दलदलमा भासिने आमनेपालीको नियति तथा विडम्बनाप्रति गहिरो घोचपेच गरिएको छ। ‘मनस्‍नान’ मा मनमा दुर्गन्धित विचार बोकेर हिँड्‍ने अहिलेको मानिस, मेलभन्दा फुटमा दौडने विभाजनकारी मानसिकताको वर्तमान विश्‍व, सोचाइ र भोगाइबिच अनि सैद्धान्तिक आदर्श र व्यवहारबिच भिन्‍न स्वरूप देखाउने मानिसहरूको विसङ्गत आचरण, शिखरको मोहमा टेकेको सुन्दर धरातललाई भुल्ने प्रकृतिविरोधी मानवीय चाल, छिमेकीको बारीलाई बहार र आफ्नो बारीका फूललाई झार देख्‍ने नेपालीहरूको परावलम्बी दुर्बल दृष्‍टिमाथि व्यङ्ग्य हानिएको छ। हाम्रो मन नै विकृत भइसकेकाले अब सबै नेपालीहरूले सफा नेपाली मन बनाउन मनस्‍नान गर्नुपर्ने धारणा राख्‍ने कविको मन यथार्थवादी बन्दै समाजसुधार, मानसिक परिष्कार, सम्पूर्ण नेपाल र नेपालीको हितको कामना गर्छ।

‘तिम्रो बुख्याँचा’ मा सम्भ्रान्त बोलीवचन नभएको र सुखस्वर्ग बर्साउने धन नहुने प्रेमीलाई बेवास्ता गर्ने प्रेमिकालाई आफू बुख्याँचाजस्तो भएको निवेदन गर्दै आजभोलिको पैसामुखी प्रेमको विकृत स्वरूपमाथि गहिरो व्यङ्ग्यको झटारो हानिएको छ। यसै गरी ‘पागल हाँसो’ कवितामा पनि शीतल जूनजस्ती र मिठो धुनजस्ती प्रेमिका गुमाएर मद्यपानको सहारामा जिउन खोज्ने दिल टुटेका सारा आधुनिक प्रेमीका मर्मान्त पीडालाई व्यक्त गर्न व्यक्तिको सुखदुःखान्त स्थितिमाथि कटाक्ष गरिएको छ र दर्दनाक मनस्थितिको कारुणिक प्रस्तुति छ।

‘भावनाको नक्सा’ मा देशका युवाहरू विदेश पलायन हुन विवश छन् भन्‍ने हृदयविदारक दृश्य देखाउँदै तिनलाई मनमा देशदुनियाँप्रतिको भावनात्मक नक्सा बनाएर बाँच्‍न बाध्य पार्ने देशको सामाजिक-राजनीतिक परिवेशप्रति कोमल व्यङ्ग्य गरिएको छ।

‘जूनकिरीहरू’ मा अन्धकार वा विषाणु समयमा उज्यालो छरेर सबैलाई आशाको सञ्‍चार गर्दै जीवनको प्रकाश फिँजाउने परिचारिका वा नर्सहरूप्रति उच्‍च श्रद्धा प्रकट गर्दै तिनीहरू वा सुन्दर नारीहरूमाथि गिद्धे दृष्‍टि लगाउने कुरूप सामाजिक, राष्‍ट्रिय र विश्‍वपरिवेशमाथि व्यङ्ग्य गरिएको छ। सायद कोरोनाकालको भयावह स्थितिमा बिरामीहरूका सेवामा समर्पित सारा परिचारिकाहरूलाई जूनकिरीहरू मान्‍ने यस प्रतीकात्मक कविताले कालकूट फिँजाउने छेपारे प्रवृत्तिका घातक दुस्मनहरूलाई उपहास गर्दै यसरी आफ्नो व्यङ्ग्यात्मक भावलाई प्रवाहित गरेको छ –
समय विषाणुको घेराभित्र छ
संसार सङ्क्रमणको परिधिभित्र छ
जसरी बेलाबखत
हिंस्रक जत्थाहरूले
घातक अभीष्‍टका लागि
फूलमा आगो लगाउँछन्
पवनमा कालकूट फैलाउँछन्
त्यसरी नै अचेल
अदृश्य वैरी
मखमलीका मुटुमा पसेर
श्‍वासनली थुनिरहेका छन्
छेपारे प्रवृत्तिका अस्‍त्रले
लालीगुराँसका पत्र काटिरहेका छन्। (पृ. ४४)

‘नायग्रा’ मा दुनियाँले सुन्दरता मात्रै देखेका छन् तर कवि भण्डारी त्यसलाई प्रतीकात्मक अभिव्यक्तिमा बदल्छन्। उनी युद्धपीडकहरूको अत्याचारबाट अत्यधिक आँसु झार्ने युद्धपीडितहरूमा लक्षित गरेर नायग्रामा बग्‍ने निर्झरमा युद्धपीडितहरूका आँसुहरू एकत्रित छन् भनेर विश्‍वका शक्तिराष्‍ट्रहरूका अहङ्कारी र पीडक चरित्रमाथि कडा व्यङ्ग्य प्रहार गर्छन्।

‘सन्‍न्यास’ मा मन्दिरभन्दा भट्‍टी र ध्यानभन्दा जुवाघरलाई रोज्ने दुर्व्यसनीहरूलाई कटाक्ष गरिएको छ र जुवाले टाट पल्टेपछि सन्‍न्यास लिन पुगेको दृश्य देखाउँदै तिनका दुश्‍चरित्रमाथि हाँसो उडाइएको छ, मूर्खता र विवेकहीनतामाथि घतलाग्दो गरी उपहास गरिएको छ।

‘डराएका शान्तिदूतहरू’ मा केही हरफहरूले उत्कृष्‍ट व्यङ्ग्य प्रक्षेपण गरेका छन्। हाम्रो देशको आकाश वा गाउँसहर दूषित भएको, समय कुँजो बनाउने खालको बन्दै गएको, स्वतन्त्रताप्रिय पक्षीहरू आजकाल उन्मुक्त उड्न नपाउने, सुन्दरताका प्रतीक फूलहरू निस्फिक्री फुल्न नपाउने, फेरि अन्धकारको साम्राज्यले उज्यालालाई निल्ने अवस्था छ। सत्तामा बस्‍नेहरू क्रूर र हिंस्रक बनेका छन्, सहिदका सपनाहरूलाई आफ्नो प्रगतिका निम्ति दुरुपयोग गरेर झुटको खेती गर्ने नौटङ्की नेताहरूले राष्‍ट्रघात गरेका छन् भन्दै तिनीहरूका आततायी दुष्चक्रमाथि कविले यसरी व्यङ्ग्य गरेका छन् –
पन्छीहरू सधैँ उन्मुक्त उड्न पाउँदैनन् यहाँ…
फूलहरू निस्फिक्री फुल्न पाउँदैनन् यहाँ
कहिले पखेटा काट्नेहरू प्रभु बनेर आउँछन्
कहिले फूल निमोठ्नेहरू माली बनेर आउँछन्। (पृ. ५२)

माटोको निम्ति ज्यान दिने
केही सहिदहरूको सालिक बनेका छन्
झुटो सपनाको खेती गर्नेहरू
तिनका सपनाको मालिक बनेका छन्। (पृ. ५३)

‘संस्कृतिको बिउ’ मा प्रकृति र संस्कृतिका विरोधीहरूमाथि व्यङ्ग्यात्मक आलोचना गरिएको छ। आफ्नै अचेत आचरणको प्रभावले विस्तीर्ण वातावरणीय प्रभावप्रति अनुत्तरदायी मानिसलाई प्राकृतिक स्वच्छता, सन्तुलन र शुद्धताको मूल्य बुझाउन खोजिएको छ। असली संस्कृतिका फूलहरू गोडमेल गरी बनमारा झारहरूलाई उखेलेर धरतीमा मौलिक पहिचानको संस्कृति पुनर्स्थापित गरेर विश्‍वसमाजलाई सुन्दर बनाउने कामना व्यक्त गरिएको छ।

‘अर्को स्वर्ग’ मा धरतीरूपी स्वर्गमा बसेर अर्को स्वर्गको खोजी गर्ने अविवेकीहरूको बुद्धिप्रति मिठो व्यङ्ग्य गरिएको छ। स्वर्गमै बसेर अर्को स्वर्गको चाहना राख्‍नु अतीत वा भविष्यको भ्रमबाहेक केही होइन भनी खिल्ली उडाइएको छ। धरतीप्रेमको यो सुन्दर अभिव्यक्ति पनि हो।

‘घामको प्रेरणा’ मा घामलाई साक्षी राखेर समाजमा असमानता र विभेद निम्त्याउने बुद्धिभ्रष्‍ट र उज्यालाका विरोधी अन्धो मानसिकता भएकाहरूलाई व्यङ्ग्य गरिएको छ। घामको प्रकृतिबाट सत्प्रेरणा लिन सबैलाई सचेत पार्छन्। कवि सबैका आँखा खोल्दै प्राकृतिक समन्यायको भावलाई यसरी पोख्छन् –
महलको ढोकाबाट छिर्ने घाम
झुपडीको ढोकाबाट पनि पस्छ
घामका किरणहरू असमानता मान्दैनन्
विभेद मान्दैनन्
सबैलाई समान रूपले स्पर्श गर्छन्
सबैलाई उत्तिकै न्यानो दिन्छन्…
उज्यालो बाँड्दै ओर्लिन्छ घाम (पृ. ६३-६४)

‘राजनीतिको रङ’ मा राजनीतिक छेपारे प्रवृत्तिमाथि कडा व्यङ्ग्य गर्दै महाघातक कोरोनाजस्तै विनाशकारी र नरसंहारकारी बनेको नेपाली राजनीतिप्रति ढडनासो खुस्किन्जेल प्रहार गरिएको छ। नेपालको राजनीति त सिद्धान्तविहीन छ। यो विकराल विकृतिहरूको रङ हो। यो खुँखार नियन्त्रणकारी छ। यो चरम अशुद्धिले भरिएको छ। यो फोहोर बनेर पानीमा, पानी बनेर दुधमा र महँगी बनेर सिटामोलमा मिसिन्छ र जनताका आधारभूत वस्तुहरूमा घुसेर महामारीझैँ विषाक्त बन्छ। यो ज्यानमारा राजनीति कैँची बनेर बिजुलीका तार काट्छ, गरिबी बनेर दुःखीहरूका घरहरूमा शोषणद्वारा पस्छ, शिक्षाक्षेत्रलाई ध्वस्त पार्न हडताल बनेर विद्यालयहरूमा पस्छ र धार्मिक संस्कारका आडमा लुट मच्‍चाउन पुजारी बनेर मन्दिरहरूमा पस्छ। छेपारोजस्तो अनेक रङ बदलेर अनि कोरोना भाइरसजस्तो अदृश्य स्वरूपमा विध्वंस मच्‍चाउन हरदम तत्पर रहने घातक राजनीति घोर षड्‍यन्त्रकारी छ र जनविरोधी अस्‍त्र बनेको छ। नेपाली राजनीतिको यस्तो सूक्ष्म र गम्भीर विश्‍लेषण कविले गर्नु उनको बलशाली कवित्वको नमुना हो।

‘आश्‍वासन अनि अवसान’ मा पन्छीसरह भुर्र जहाजमा उडेर वैदेशिक रोजगारीमा गएका युवाको काठको बाकसमा फर्कने गरी अवसान र नेपाली भूमिमा पाँचबर्से चुनावमा अनेकौँ आश्‍वासनका पोकाहरूमध्ये युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउने आश्‍वासन दिने तर पूरा नगर्ने कुटिल नेताहरूको पुनः भोट माग्‍न गाउँमा ङिच्‍च गर्दै आउने राक्षसी अनुहारको तुलना गर्दै ती ठगहरूको सक्दो तिरस्कार गरिएको अभिव्यक्ति छ। यस्तो निर्लज्‍ज राजनीति र रोजगारी तथा युवापीडाको मार्मिक अभिव्यक्तिले हृदय कम्पन गराउँछ।
‘इतिहास अनुराग’ मा गर्नेको भन्दा नगर्नेको नाम लेख्‍ने इतिहास र असत्यलाई सत्य बनाएर झुटको माला गाँस्‍ने इतिहासकारलाई दुत्कारिएको छ र विदेशीको इसारामा दौडिने नेता र देशको नक्सा खुम्च्‍याएर हेप्‍ने छिमेकीप्रति मौन बस्‍ने अगुवाहरूको कालो इतिहास थाहा पाउँदा तिनप्रति घृणा उत्पन्‍न भएको विरोधको स्वर चर्काइएको छ।
‘युद्ध आतङ्क’ मा शान्तिका नाममा अशान्तिका अस्‍त्रहरूको व्यापार गर्ने बादसाहहरूका दोहोरा चरित्रमाथि र खोक्रो राष्‍ट्रवादको नाटक मञ्‍चन गर्नेहरूप्रति शालीन कटाक्ष छ। विश्‍वका ठुला शक्ति राष्‍ट्रहरूको हातहतियारको व्यापार र साना राष्‍ट्रहरूको देखावटी राष्‍ट्रवादको फोस्रो चीत्कार दुवै युद्ध आतङ्कका लागि जिम्मेवार रहेको विचार कविको छ।

‘अजम्मरी’ मा सधैँभरि कुर्सीमै टाँसिएर बस्‍ने चरित्र भएको क्रूर नेताको ठगिखाने, लुटिखाने, धुतिखाने, इज्‍जत लुटाई खाइरहने अनि कहिल्यै मर्छु भन्‍ने नठानी समाजमा अन्धकार मात्रै बढाइरहने तुच्छ प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै अजम्‍मरी भनी हाँसो उडाइएको छ। यस्तै नेताहरूलाई बेहोरेर बाँच्न विवश नेपालीहरूको दुर्भाग्यपूर्ण स्थितिको चिरफार गरिएको छ।

‘एक वृक्षको अवलोकन’ मा होहल्लाका पछि दौडिएर कहिल्यै शान्तिपूर्वक बाँच्‍न नसक्‍ने बनेको होचा महत्त्वाकाङ्क्षी असन्तुष्‍ट मन भएकाहरूको पृथ्वीको वा धरातलको नियमविरोधी सङ्कीर्ण र सर्वसत्तावादी चुरीफुरीले भरिएको गजधम्मेपनप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको छ।

‘विचारको बाटो’ मा भ्रमित यात्रा गर्नेहरूको गन्तव्यहीन अलमलमाथि घोचपेच गरिएको छ। अस्थिर मान्छेको विचारहीन बाटोमाथि हँसी उडाइएको छ। विचार र यात्रा फरक लिने राजनीतिक दलहरूप्रतिको उपहासलाई पनि यसले समेटेको छ। समाजलाई दिग्भ्रमित पारेर मौकाको फाइदा उठाउने अवसरवादीहरूलाई पनि छेड हानिएको छ।

‘जगत्‌को ऐना’ मा कानुनलाई आफ्नो हातमा लिएर स्वार्थपूर्ति गर्न पल्केकाहरूप्रति खबरदारी गरिएको छ। सबैको रक्षकलाई सोहीअनुसार इज्‍जत र सम्मान दिनुपर्ने र कसैले स्वार्थानुरूप उसलाई गलत रूपमा प्रयोग गर्न नपाइनेतर्फ सजग गराइएको छ।

‘सानो सहरमा ठुलो मानिस’ मा अरूलाई धुलो र आफूलाई ठुलो सम्झी आफ्नो धरातललाई बिर्सेर, त्यसको गुनलाई भुलेर, त्यसैमाथि लात हान्‍ने अहङ्कारी चरित्रका नेतृत्वतहका मानिसहरूमाथि व्यङ्ग्यबाण साधिएको छ। मूर्खताले मानिसलाई सबैको हाँसोको पात्र मात्रै बनाउँछ भन्‍ने देखाइएको छ।

‘विवेकशील मानिस’ मा आफूलाई विवेकशील ठान्‍ने मानिस अनेकौँ मानवीय कमजोरीको घर बनेकोप्रति व्यङ्ग्यको घुयेँत्रो हानिएको छ। आफूलाई विवेकशील देखाइटोपल्ने मानिस आफूबाहेक अरूलाई बोल्नै दिँदैन, आफ्ना कुरा सुनाउनबाहेक अरूका कुरा सुन्दै सुन्दैन, आफ्नो प्रशंसाबाहेक अरू सुन्‍नै मान्दैन, आफूलाई जिताउनबाहेक अरू केही गर्दैन, झुट बोल्नु र अरूमाथि दोष थोपरेर आफूलाई पानीमाथिको ओभानो देखाउनुबाहेक केही मन पराउँदैन, आफ्नो जिम्मेवारी र अरूप्रति सम्मानभाव देखाउनै सक्दैन, आफू बाँचूँ र अरूलाई पनि बचाऊँ भन्‍नेबारे कहिल्यै सोच्दैन, अरूको दुःखमा हाँस्‍न आउँछ तर मलहम लगाउन आउँदैन, अरूको ईर्ष्या नगर्नु र भलो गर्नु भन्‍ने भनाइलाई मूर्खता ठान्‍नुबाहेक केही सम्झँदैन। यी सबै कमजोरीहरू पालेर पशुजस्तो व्यवहार गर्नेले नै ‘म विवेकशील मानिस हुँ’ भन्‍ने दाबी गरेको देखाएर कविले त्यस्ता महामूर्खलाई सक्दो उडाएका छन्, त्यस्ताको झाँको झारेका छन्। वस्तुतः यो कथन उक्तिवैचित्र्यका माध्यमबाट ‘म विवेकशील मानिस होइन’ भन्‍ने विपरीतार्थ प्रकाशन गर्नमा आएकाले कोमल व्यङ्ग्य बन्‍न पुगेको छ।

‘बालविधवा’ मा नारीमाथि चरम अन्याय गर्ने पुरुषवादी समाजको अन्धविश्‍वास र कुसंस्कारप्रति तिखो व्यङ्ग्यले कायल बनाउन खोजिएको छ। सानैमा बिहे गरिदिएर बालविधवा हुन विवश पारिएकी नारीलाई समाजले उपेक्षा, तिरस्कार र बन्धनबाहेक केही दिँदैन त्यसैले यो समाज पितृसत्तात्मक र विभेदकारी छ। बालविधवाका सम्पूर्ण चाहनाहरूमाथि वज्रपात गराउँछ र नारीको जीवनलाई नारकीय बनाउँछ यस पुरातनवादी समाजले। समाजको यही विडम्बनाप्रति कविको तीव्र विरोध र छेडखान छ।

‘सभ्य सभा’ मा सुन्दर र शालीन सभा सकिएपछि भोजनकालमा मद्यपान र सुन्दरीप्रतिको अपमानजनक व्यवहारले महाअसभ्य सभामा परिणत हुँदाको घृणित चित्र उपस्थित गरेर कविले आधुनिक सभ्य भनाउँदो समाज सुरासुन्दरीका मामिलामा घोर उपहास्य बन्‍न पुगेको सङ्केत गरेका छन्। व्याजस्तुतिको प्रयोगले गर्दा सभ्य सभा नै असभ्य सभाको अर्थमा परिभाषित हुन पुगेको छ। सभ्यताका नाममा असभ्य र बर्बर जीवनचित्र देख्‍न पाइन्छ आजकाल भन्‍ने दृष्‍टान्त यसमा छ। यसले आजकाल जतासुकै देखिने असभ्य सभाको लज्‍जास्पद दृश्य प्रस्तुत गरेर पतनशील मानवताको उद्‍घाटन गरेको छ। उच्‍चतम आदर्शबाट तल खसेको मान्छेको मखुन्डोलाई देखाएको छ।

‘क्रिया-प्रतिक्रिया’ मा काम पर्दा मात्रै सम्झने स्वार्थी मानिसहरूको प्रवृत्तिमाथि पशुपक्षीहरूको निस्स्वार्थी चरित्रको तुलना गरेर व्यङ्ग्य गरिएको छ। त्यसै गरी जातलाई ठुलो मानेर प्रेमको तिलाञ्‍जली दिने स्वार्थी प्रेमको धज्‍जी उडाइएको छ। मानिस प्रकृतिकै अंश भएर पनि प्रकृतिविरोधी बनेको छ भन्‍ने मानवीय कमजोरीको सङ्केत कविले यसमा गरेका छन्।

‘दया लागेर आउँछ’ मा मानिसका मूर्खतापूर्ण व्यवहारप्रति ‘बिचरा’ वा दया लागेर आउँछ भन्दै व्यङ्ग्यको मुक्‍काले खुत्रुक्‍कै पार्ने गरी हानेका छन्। कवि त्यस्तो समाजसेवीको पाखण्डको उद्‍घाटन गर्छन् जो दिनभरि समाजसेवीको भेषमा र रातभरि काठतस्करीको भेषमा हिँड्छ र प्राकृतिक तथा वन्यजन्तुको महाविनाशमा लाग्छ। यस्ता छद्‍मभेषीले वातावरण विनाश गरेको चालै नपाई उल्टै उसैलाई सहअस्तित्व र पर्यावरण संरक्षणको महत्त्वमाथि प्रवचन गर्न लगाएर ढोँगी समाजले सम्मानित गर्छ अनि यस्ता हुस्सुहरूलाई देख्ता कविलाई दया लागेर आउँछ। यस्तै गरी सहरको अरबपतिले सम्पत्ति कमाउने धन्दामा पुराना बोतल र कागज बटुलेको देख्ता टिठ लाग्छ र गैरजिम्मेदारीसाथ फोहोरको डङ्गुर खोतल्दै वातावरण नै बिगारेको देख्ता पनि टिठ लाग्छ। बजारको भिखारीसामु आफूसित पैसै नभएको गुनासो गर्ने महाजनलाई देख्ता, भोकाहरूका सामु भोज र मोजको गफ चुटेर खुबै बडप्पनको ध्वाँस लगाउने बोर्डिङ स्कुलतिरकी मास्टर्नी नानीको सिँगारिएको सुगन्धित शरीर र झिँगाको जति मात्रै दुर्गन्धित बुद्धि-विचार देख्ता, सहरमा दसौँ घरका मालिक रहेका नवधनाढ्‍यले दलालीका सारा काम गर्दा पनि नपुगेर मानवतस्करी गर्ने अपराधीले समाजमा देखावटी रूपमा सेवा र सत्सङ्गको नाटक गरेको नबुझी उसैलाई ठुला उत्सवका आयोजक वा अगुवा बनाएर हिँड्ने बकम्फुस दहीचिउरे समाजलाई देख्ता कविलाई हुनसम्म कुरीकरी लाग्छ र त्यस्ता समाजभँडुवा गतिविधिहरूप्रति दया लागेर आउँछ, लाजले मुख छोप्‍ने अवस्था निम्त्याउँछ।

‘आहत मुस्कान’ मा मिहिनेत र दुःख नै नगरी निःशुल्क पाएको कुराबाट खुसी भएर मुस्कुराउने सामाजिक अवस्थालाई देख्ता मुस्कान पनि आहत, दुःखी, बेखुस वा लज्‍जित हुन्छ भन्दै फोस्साको आम्दानी वा फाइदाका पछि कुद्‍ने सामाजिक विडम्बनाप्रति व्यङ्ग्यको गुलेली हानिएको छ र समाजलाई श्रमशीलता वा कर्मशीलताले प्राप्‍त हरेक वस्तुले दिने शुद्ध मुस्कानमा गर्व गर्नुमा सच्‍चा सुख लुकेको हुन्छ भनी सचेत पार्न खोजिएको छ।

‘गिज्याउँछ’ मा मान्छेको अगस्ति चाहना वा अति लोभलालचले उसलाई जे कुरा पनि बढी थुपारूँ भन्‍ने अतिसञ्‍चयकारी लालसाको सिकार बनाउँछ भनिएको छ। मिठामिठा खाद्यसामग्री, राम्राराम्रा लुगाकपडा, जुत्ताचप्‍पल, गहनागुरिया, भाँडाकुँडा, शृङ्गारप्रसाधन, सजावटका सामान, कसरतका महँगा सामग्रीहरू आदिले सिङ्गो घरका कोठाहरू भरिँदा अनावश्यकजस्तै बनेका ती सबै वस्तुहरूले त्यस्ता व्यक्तिका असीम भोग र लालसाका चाहप्रति गिज्याउँछन्। यही आधुनिक मान्छेका तीव्र भोगवादी विलासी मानसिकतामाथि यहाँ कविले हँसी उडाएका छन् र जीवनमा त्यस्तो कहिल्यै नमेटिने असन्तोषका पछि दौडनेहरूले कदापि जीवनसुख वा आत्मसन्तुष्‍टि प्राप्‍त गर्न सक्दैनन् भनेर गिज्याएका छन्। मान्छेको चरित्रदोष केलाउने यो कविता चेतनामूलक र सन्देशवाहक छ।

‘बेवारिसी नोट’ मा बाटामा झरेका हजारौँहजारका बेवारिसे नोटहरू निर्धक्‍क लिएर जाने बटुवाको प्रवृत्तिले मानिस अरूको सम्पत्तिमा मोज गर्न, चोरीचकारीबाट मस्ती गर्न, अरूको दुःख वा आपत्‌बाट फाइदा उठाउन कत्ति पनि लाज मान्दैन भनेर उसको चारित्रिक दुर्बलतामाथि कटाक्ष गरिएको छ। मानिस भनाइमा मात्रै बुद्धिमान् र विवेकशील हो गराइमा त अत्यन्तै नीच प्रवृत्तिको बन्दै गइरहेको तथ्यलाई यसमा उजागर गरिएको छ। नैतिक पतन हुँदै गएको मानवसमाजको मूल्यहीन, संस्कारहीन, विवेकहीन चित्र हो यो।

‘आँसुको कर्नाली’ मा देशमा विकृति, विसङ्गति, अन्याय, अत्याचार, दुराचार र कुशासन यति धेरै बढेको छ जसले सहिदगेटमा, सहरका चोकचोकमा रहेका सहिदका सालिकहरूले तपतप आँसु झारेर प्राकृतिक कर्नालीभन्दा भिन्‍नै दुःखैदुःखले भरिएको अर्को कर्नाली सिर्जना गरेका छन्। यस कर्नालीले सर्वसाधारण जनताहरूलाई मनभित्रैबाट निरन्तर भत्काउँदै लगेका छन्। अर्थात् आदर्शलाई भत्काएर तहसनहस पारिएको छ र देशमा बाँच्‍न नै नसक्‍ने दुःखरूपी कर्नाली तयार पारिएको छ अनि त्यसले सारा युवाहरूलाई देश छाडी विदेशतिर पलायन हुन विवश पारिरहेको छ, सबैलाई निरन्तर आशाका डिलहरू भत्काई निराशाका खाडलहरूमा जाकिरहेको छ। यहाँको राजनीतिक र सामाजिक अव्यवस्थाको चरम रूप यही हो। यसैलाई व्यङ्ग्यको सामग्री कविले बनाएका छन्।

यसरी कवि युवराज भण्डारी माथि वर्णन भएका कविताहरूमार्फत कोमल व्यङ्ग्यका स्रष्‍टा बनेका छन्। उनका यी व्यङ्ग्यहरू भीमनिधि तिवारीका जस्ता नरम भाषामा व्यक्त हुन पुगेका छन्। विश्‍वका व्यङ्ग्यस्रष्‍टाका सन्दर्भबाट हेर्ने हो भने भण्डारी कोमल व्यङ्ग्यका प्रवर्तक होरेसका शैलीमा व्यङ्ग्य सिर्जना गर्ने होरेसेली व्यङ्ग्यका कुशल स्रष्‍टा देखिन्छन्। यसैले उनका व्यङ्ग्य कविताहरू नरम बान्कीका छन्, कडा र आक्रामक बान्कीका व्यङ्ग्य लेख्‍ने जुभेनलका जस्ता कठोर बान्कीका छैनन्। समाजको आलोचना गर्नमा आक्रामक नलाग्‍ने बरु रमाइलो पाराले छ्‍यास्‍ने र मनमा सुधारका भावहरू, चेतहरू घोलिदिने व्यङ्ग्यकार भण्डारी नेपाली कवितामा व्यङ्ग्यलेखनका एक स्तरीय स्रष्‍टा देखिएका छन्। उनका अब आउने रचनाहरूले यस धर्मलाई निर्वाह गरिरहून् भन्‍ने कामना यस लेखले गरेको छ।

व्यङ्ग्यबाहेकका अन्य प्रकारका भावहरूमा पनि कविले कलम चलाएका छन्। ‘पदचापहरू’ प्रेमिल वियोगको मर्मान्त अभिव्यक्ति हो। यस्तै मायाप्रेमका कविताहरू कविका छन्। प्रकृतिप्रेमका कविताहरू पनि त्यतिकै कोमल छन्। ‘तिहार’ संस्कृतिप्रेम र मानवप्रेमको सुन्दर, हार्दिक र निश्‍छल अभिव्यक्ति बनेको छ। ‘मोन्ट्रियल’ मा पनि प्राकृतिक सौन्दर्यकै मिठो वर्णन छ र खेल तथा अन्य सभ्यता-संस्कृतिको मोहक पक्षको उद्‍घाटन छ। ‘पानी’ प्राकृतिक स्वच्छ गुणको लोरी हो। ‘मेरो गाउँ डुम्रिबेँसी’ कविको नोस्टाल्जियाको जीवन्त भाव बनेर बहेको छ जो प्रकृति र संस्कृतिप्रेमको मिठासमा रूपान्तरित भएको छ। ‘मुस्कान र उदासी’ मा मानवमनोविज्ञान केलाइएको छ र परस्पर विपरीत भङ्गिमाले त्यसलाई सङ्केत गर्ने बताइएको छ। ‘आगो र पानी’ मा परस्पर विरोधीका बिचको तानातानले उत्पन्‍न गर्ने क्षतिको बोध गराइएको छ। ‘मेरा बा’ मा आदर्श बाको मार्मिक चित्र कोरिएको छ।

‘जबाफको गर्भपतन’ मा अवसर गुमाउनेको सपना कहिल्यै पूरा हुन सक्दैन भन्‍ने चैतन्य दिन खोजिएको छ। ‘रेक्स’ मा अल्पायुमा बितेका प्रियजनका पीडादायी शुभ सम्झनाहरूको अश्रुधारा बहेको छ। ‘लहरो र रुख’ मा प्राकृतिक धर्मको वा संस्कारको स्वरूपलाई तुलनाका माध्यमले चिनाइएको छ र रुखलाई स्वाभिमान र स्वतन्त्रताको प्रतीक अनि लहरोलाई परमुखापेक्षी भएरै पनि आकाश छुने क्षमता प्रदर्शन गर्ने चरित्रको प्रतिनिधि बनाइएको छ। समाजका मानिसका यी दुई प्रस्ट देखिने भिन्‍नभिन्‍न प्रवृत्ति हुन्। ‘जसरी भए पनि आउनू’ आफ्नी हृदयकी प्रियालाई समर्पित गर्दै लेखिएको प्रेमिल भावुकताले भिजेको उच्‍चस्तरीय कविता हो। ‘माली’ मा कविले व्यञ्‍जनात्मक अर्थमा माली भनेर एक अटल प्रेमी, एक असल बाआमा वा अभिभावक, एक निस्‍स्वार्थ धरती, एक बगैँचाको मालीलाई सङ्केत गरेका छन् र प्रेमको दिव्य भावना अभिव्यञ्‍जित गरेका छन्। यसमा प्रकट अभिव्यक्तिको मृदुता हृदयहारी छ –
तिमीलाई नयनमा होइन मैले
यो मुटुको गहिराइमा
सुकोमल माटोको बगैँचामा रोपेको छु। (पृ. १४१)

समग्रमा कविको व्यङ्ग्यकविताको लेखन निरन्तर अगि बढिरहोस् !!

०००
कीर्तिपुर   
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x