डा. भरतकुमार भट्टराईजुम्राहरूप्रति
युद्धपिपासु ट्रुथ सोसलका आँखाले भुसुनासरिका आकृति ठान्ने यमलोकी महाभुँडीभित्र ठँसठँसी कोच्दै विश्वभरि ब्ल्याक आउटको महान्धकार रच्दै "गुट नाइट" को सन्देश प्रवाह गरेर "ट्रम्पिङ ह्विस्की" घुट्क्याउँदै जीवनकै अन्तिम डिनर हसुर्नु छ ।

डा.भरतकुमार भट्टराई :
जुम्राहरू सलबलाएपछि
मेरा टाउकामा खुजुली लाग्छ उत्पातसँग
हेर्दाहेर्दै दुनियाँमा
दुई थरी जुम्राहरू
थरीथरीका राज देखाउन थाल्छन्
अब सुन्नुस् !
एकातिर साना चम्कनाका कर्तुत
अर्कातिर अजङका ढाडीहरूका सनक
बुझ्नुस्
सोझासिधा मानवाकृतिलाई
उखानबखानका मिठा सेलरोटी बनाएर
चम्कनाहरू ढाडीका छहारीमुनि
ढोक्सा थापेर मत्स्यजनलाई कुम्लो पार्छन्
खुल्लमखुल्ला अचार बनाएर लाद्रो भर्छन्
र
भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्दै
आफैँलाई ऐनामा हेर्नु नपरोस् भनेर हो कि
विदेशी ब्याङ्कमा थुपारेको पैसाको
ढड्डामा अनुहार हेरेर स्वच्छताको ढोङ रच्छन्
बिचरा भुराहरू तिनकै मिठा परिकारमा
रूपान्तरित भइदिएर स्वत्वको बलि दिन्छन्
राष्ट्रसेवकहरू तिनकै चम्चाका पानीमा रङ्गिन्छन्
र डाडुपन्युमा टाँसिएका खाद्यमा झिँगो बनिदिन्छन्
अनि यता
चम्कनाको सत्ता रेमिटेन्समा रजगज गर्दै उग्राइरहन्छ
फेरि उता
लिखाझैँ झुन्डिएर पराइभूमिमा
श्रमको आँसु निल्दै
स्वदेश सम्झेर भक्कानिनेहरूको समृद्धिको सपना
चम्कनाको जन्मदिनको केकमा चटचट काटिइरहन्छ
ए चम्कनाहरू हो !
उग्राइरहू
किड्नीले काम गरुन्जेल !
केकझैँ काटिरहू र चाटिरहू
ल्यापल्यापे जिब्रो चलुन्जेल !
थुपारिरहू ऐश्वर्य लुटिएका बैंकका
धूर्त छली कुम हल्लिउन्जेल !
लु आउनुस् अर्कातिर
र हेर्नुस् तमासा अपूर्व
हेलो मिस्टर ढाडी !
गुगलले गुगलिसकेको मेक्सिको खाडीमाथि
विश्वसुन्दरीहरू नचाउँदै बल डान्स गर्नु छ
युरोपका सारा खनिज र खजानाको ढुकुटी बनाएर
आलिसान महाशक्तिको रक्सीमा चुस्की लिनु छ
अनि पेरेस्त्रोइकालाई थर्काउँदै तयार पारेको
युरोपेली जेलेन्स्कियाको भोड्कामा फिटेर
बिचौलिया मस्कले मस्काइदिएर टिलिक्क टल्काएका
“श्वेत प्रथम” का धारिला सेता दाँतहरूले
“रेड बुल” जस्ता बुलियन लालची एक्स जिब्राले
चट्ट सिप लिँदै स्वाट्ट पारेर
डेलिसस “ब्रेकफास्ट” गर्नु छ
अनेकौँ गेम खेल्दै
मध्यपूर्वको “भोटेकुकुर” द्वारा युगौँदेखि
लाखौंलाख प्यालेस्टिनीहरूको रगतबाट
तयार पारेको हटकेकसँग
प्यालेस्टिनीहरूकै आन्द्राभुँडीको भुटन
अनि मासु र हड्डीहरूलाई भकभकी उमालेर
तयार पारिएको “बेन्जामिन डिभाइन वाइन” सँग
गाजापट्टीको ग्र्यान्ड व्यापारिक कम्प्लेक्समा निर्मित
म्याजिकल पाँचतारे होटलमा अट्टहास भर्दै
“ब्राभो लन्च” गर्नु छ
जब विश्वको एकमात्र मसिहा बन्ने महत्त्वाकाङ्क्षा
प्रशान्त महासागरीय लालसामा फिँजारिन्छ
महिमाशाली ढाडीज्यूका दिवास्वप्नासरिका
पनामा, ग्रिनल्यान्ड, मेक्सिको
क्यानडा, भेनेजुयला, यमन
दक्षिण अफ्रिका, सोमालिया
उत्तर कोरिया, चीन आदिलाई
युद्धपिपासु ट्रुथ सोसलका आँखाले
भुसुनासरिका आकृति ठान्ने
यमलोकी महाभुँडीभित्र ठँसठँसी कोच्दै
विश्वभरि ब्ल्याक आउटको महान्धकार रच्दै
“गुट नाइट” को सन्देश प्रवाह गरेर
“ट्रम्पिङ ह्विस्की” घुट्क्याउँदै
जीवनकै अन्तिम डिनर हसुर्नु छ
र
संसारभरिका मानवसमूहहरूमाथि
विषाक्त आक्रमण गर्ने कुनियतले
महादुर्गन्धयुक्त डकार ड्याउ… गर्नु छ
हे ढाडीहरू हो !
मदान्धमै ढाडिइरहू
महाविनाशको सर्वसंहारी
डायनोसरी बोतल नरित्तिउन्जेल !
हेर्दै गर
समयको बलवान् चक्रवाती हुलले
ढाडीको ढाड भाँचेरै विश्राम लिनेछ
हेर्दै गर
भोकको घनघोर फैलावटको घोडमुखाले
चम्कनाको अचार साँधेर अन्तिम भोज गर्नेछ
०००
२०८१/१२/९
Subscribe
Login
0 Comments
Oldest







































