हरि खनालभो अब लेख्दिन
ऐनाले भनेजस्तो लाग्योः 'तेरो कविता किन लेख्नु पर्यो मलाई हेरे पुगिहाल्छ नि ।' मलाई ऐनाको सल्लाह सोह्रैआना ठीक लाग्यो । कलमको बिर्को बन्द गरेँ कापी डस्टबिनमा फालिदिएँ र ऐनामा हेरेर भनेँ 'भो अब लेख्दिन ।'

हरि खनाल :
साहित्य कार्यक्रम लेखेको ब्यानर देखेँ । ब्यानरका ठूला अक्षर हेरिएछ सानामा ध्यान दिइएनछ । कार्यक्रमस्थलमा पुग्दा थाहा भयो ‘फलाना जातिका लेखकहरूको जमघट ।’ फरक्क फर्किएँ ।
केहीदिनपछि एउटा पुस्तक प्रदर्शनीमा पुगेँ । कार्यक्रमस्थलनिर पुगेपछि थाहा पाएँ महिला लेखकहरूले लेखेका पुस्तकहरूको प्रदर्शनी रहेछ । आयोजकले भित्र जान मिल्छ भने पनि म फरक्क फर्किएँ । त्यसो हो भने पुरुष लेखकहरूको पनि अलग्गै प्रदर्शनी गरे भइहाल्यो नि । मनले सोचिरह्यो । मनको मैदान फराकिलै हुन्छ कुनै फाउण्डेसन वा कुनै सरकारले बनाइदिएको मैदान त होइन नि । विधाताको रचना र बाबुआमाको आविष्कार न हो । हो त्यही मनको मैदानमा विचारहरूले परेड खेल्न थाले । तसलिमा नसरिन र सलमान रुस्दी लेखेरै शरणार्थी भएका कुरा मनले सम्झियो ।
निहुँ नपाएका केही मान्छेले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाकै सुम्निमाका विषयमा पनि तुफान ल्याउन खोजेका थिए । २०० वर्ष अघि जन्मिएका कवि भानुभक्तलाई आधुनिक चस्माले बेलाबखत औँला ठड्याएको पनि सुनिएकै र पढिएकै छ । ‘अब साहित्य आफ्नै लिङ्गको मात्र लेख्नुपर्छ । विषयवस्तु नि ? पुरुषका जुँगा, कपाल, नाक, कान, आँखा, दाँत र आँत ।’ फेरि अर्को मनले नियमापत्ति गरिहाल्यो । ‘तेरो अनुहार ऐनामा हेर त । तेरा जुँगा कस्ता छन् ? तेरा नाक कस्ता छन् ? तेरा नाक लौका जस्ता होलान् अरू कसैको नाक करेला जस्तो । तेरा नाक घिरौँला जस्ता होलान् अरू कसैको नाक भेँडी जस्तो । तेरा दाँत मुसाका जस्ता होलान् कसैका दाँत टुसा जस्तो होला । तेरा आँखा बिरालाका जस्ता होलान् अरूका आँखा स्यालको जस्तो । तैले लेखेको साहित्य जल्छ हरे जल्छ ।’
यो पनि सही कुरा हो । लैङ्गिक आधारमा लेखेर पनि पार लाग्दैन । मनले निष्कर्ष निकाल्यो । कापी पल्टाएर बसेँ । लेखनमा विम्ब बनेर आमा, दिदी बैनी र आफ्नै पत्नीसमेत उभिए । ‘अघि भर्खर अर्को लिङ्गको लेख्न हुन्न भनेको होइन किन प्रतिगमन भयो तेरो सोचमा ?’ सचेत मनले खबरदारी गर्यो ‘फस्लास् है लेखेर । कुनै दिन तेरै घरमा तेरो बिरुद्ध नाराबाजी हुनसक्छ । पत्नीको आँखाको सौन्दर्य लेखिस् भने महिलालाई सौन्दर्यको वस्तु देखेको आरोप खेप्नुपर्ला । दिदीबैनीका आँसुका विषयमा लेखिस् भने महिलालाई कमजोर बनाएको आरोप खेप्नुपर्ला । कित्ताकाट गर बबुरो कित्ता काट ।’ सचेतनाले बिगुल बजाइदियो ।
‘यो जातीय क्षेत्रीय र लैङ्गिक युग हो हरे । क्षेत्राधिकार मिच्न पाइँदैन ।’ मनले खबरदारी गरिरह्यो । मैले मेरै जातलाई सेरोफेरो बनाएर साहित्यमा कलम चलाउन के होला भनेर मनको मैदानमा विचार राखेँ । अहँ इजाजत मिलेन । एउटा सशक्त मनले आपत्ति गर्दै भन्यो ‘तेरै जातका पनि कोही महलमा छन् कोही सडकमा । कोही झण्डा हल्लाउँछन् कोही डण्डा । अब शारीरिक बनोटका कुरा गरौँ कोही सगरमाथा कोही केचनाकलन, कोही हात्ती कोही मुसा, कोही नेप्टे कोहो चुच्चे ।
अब परम्पराका कुरा गरौँ । तेरै अनुहार परधर्मको प्रचारक तेरै अनुहार स्वधर्मको विचारक, तेरै अनुहारका मानिसको कुलदेवता र मूल देवतामा अन्तर । एकै आमाबाबुका छोरा त अलग बस्न मारामार गर्छन् तँ स्वजातीय साहित्य लेख्ने कल्पना गर्छस् ?’ दह्रो झापड हान्यो मनले । अब म स्वजातीय साहित्य मात्र होइन दाजुभाइ साहित्य पनि नलेख्ने निष्कर्षमा पुगेँ । अब मात्र एउटा विकल्प बाँकी रह्यो आफैँलाई विम्ब, प्रतीक बनाउने आफ्नै भोगाइ र गराइलाई लेखाइ गर्ने । सोच मात्र के आएथ्यो प्रतिपक्षी मन जुरुक्कै उठ्यो र खबरदारी गर्दै चिच्यायोः ‘तेरो गराइ र भोगाइ निरपेक्ष छ ? तेरो जीवनका आरोह अवरोहमा तँ मात्रै छस् ?’
ए बाबा ठाकुरे ! केही गर्दा सुख पाइएन ।
मैले सोचेँ अब म दिनहुँ ऐना हेर्छु र आफ्नै शरीरको वयान गरेर कविता मात्र लेख्छु । कथा उपन्यास नलेखेपछि अरू पात्रलाई भित्र ल्याउनु नपर्ला नि त ? जुरुक्क उठेर ऐना झुण्डिएको ठाउँमा गएँ र पुलुक्कथ हेरेँ । फुलेका दुम्सीकाँडे जुँगा खरायोको पिन्नाजस्ता देखिए । घामपानी बिना घुम ओढिरहेका आँखाहरू सुरुङभित्र टल्किए ।
ऐनाले भनेजस्तो लाग्योः ‘तेरो कविता किन लेख्नु पर्यो, मलाई हेरे पुगिहाल्छ नि ।’ मलाई ऐनाको सल्लाह सोह्रैआना ठीक लाग्यो । कलमको बिर्को बन्द गरेँ कापी डस्टबिनमा फालिदिएँ र ऐनामा हेरेर भनेँ ‘भो अब लेख्दिन ।’ म हाँसे कि ऐना थाहा छैन तर ऐनामा मुस्कान देखियो ।
०००
२०८१ चैत्र
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































