साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो अब लेख्दिन

ऐनाले भनेजस्तो लाग्योः 'तेरो कविता किन लेख्नु पर्यो मलाई हेरे पुगिहाल्छ नि ।' मलाई ऐनाको सल्लाह सोह्रैआना ठीक लाग्यो । कलमको बिर्को बन्द गरेँ कापी डस्टबिनमा फालिदिएँ र ऐनामा हेरेर भनेँ 'भो अब लेख्दिन ।'

Nepal Telecom ad

हरि खनाल :

साहित्य कार्यक्रम लेखेको ब्यानर देखेँ । ब्यानरका ठूला अक्षर हेरिएछ सानामा ध्यान दिइएनछ । कार्यक्रमस्थलमा पुग्दा थाहा भयो ‘फलाना जातिका लेखकहरूको जमघट ।’ फरक्क फर्किएँ ।

केहीदिनपछि एउटा पुस्तक प्रदर्शनीमा पुगेँ । कार्यक्रमस्थलनिर पुगेपछि थाहा पाएँ महिला लेखकहरूले लेखेका पुस्तकहरूको प्रदर्शनी रहेछ । आयोजकले भित्र जान मिल्छ भने पनि म फरक्क फर्किएँ । त्यसो हो भने पुरुष लेखकहरूको पनि अलग्गै प्रदर्शनी गरे भइहाल्यो नि । मनले सोचिरह्यो । मनको मैदान फराकिलै हुन्छ कुनै फाउण्डेसन वा कुनै सरकारले बनाइदिएको मैदान त होइन नि । विधाताको रचना र बाबुआमाको आविष्कार न हो । हो त्यही मनको मैदानमा विचारहरूले परेड खेल्न थाले । तसलिमा नसरिन र सलमान रुस्दी लेखेरै शरणार्थी भएका कुरा मनले सम्झियो ।

निहुँ नपाएका केही मान्छेले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाकै सुम्निमाका विषयमा पनि तुफान ल्याउन खोजेका थिए । २०० वर्ष अघि जन्मिएका कवि भानुभक्तलाई आधुनिक चस्माले बेलाबखत औँला ठड्याएको पनि सुनिएकै र पढिएकै छ । ‘अब साहित्य आफ्नै लिङ्गको मात्र लेख्नुपर्छ । विषयवस्तु नि ? पुरुषका जुँगा, कपाल, नाक, कान, आँखा, दाँत र आँत ।’ फेरि अर्को मनले नियमापत्ति गरिहाल्यो । ‘तेरो अनुहार ऐनामा हेर त । तेरा जुँगा कस्ता छन् ? तेरा नाक कस्ता छन् ? तेरा नाक लौका जस्ता होलान् अरू कसैको नाक करेला जस्तो । तेरा नाक घिरौँला जस्ता होलान् अरू कसैको नाक भेँडी जस्तो । तेरा दाँत मुसाका जस्ता होलान् कसैका दाँत टुसा जस्तो होला । तेरा आँखा बिरालाका जस्ता होलान् अरूका आँखा स्यालको जस्तो । तैले लेखेको साहित्य जल्छ हरे जल्छ ।’

यो पनि सही कुरा हो । लैङ्गिक आधारमा लेखेर पनि पार लाग्दैन । मनले निष्कर्ष निकाल्यो । कापी पल्टाएर बसेँ । लेखनमा विम्ब बनेर आमा, दिदी बैनी र आफ्नै पत्नीसमेत उभिए । ‘अघि भर्खर अर्को लिङ्गको लेख्न हुन्न भनेको होइन किन प्रतिगमन भयो तेरो सोचमा ?’ सचेत मनले खबरदारी गर्यो ‘फस्लास् है लेखेर । कुनै दिन तेरै घरमा तेरो बिरुद्ध नाराबाजी हुनसक्छ । पत्नीको आँखाको सौन्दर्य लेखिस् भने महिलालाई सौन्दर्यको वस्तु देखेको आरोप खेप्नुपर्ला । दिदीबैनीका आँसुका विषयमा लेखिस् भने महिलालाई कमजोर बनाएको आरोप खेप्नुपर्ला । कित्ताकाट गर बबुरो कित्ता काट ।’ सचेतनाले बिगुल बजाइदियो ।

‘यो जातीय क्षेत्रीय र लैङ्गिक युग हो हरे । क्षेत्राधिकार मिच्न पाइँदैन ।’ मनले खबरदारी गरिरह्यो । मैले मेरै जातलाई सेरोफेरो बनाएर साहित्यमा कलम चलाउन के होला भनेर मनको मैदानमा विचार राखेँ । अहँ इजाजत मिलेन । एउटा सशक्त मनले आपत्ति गर्दै भन्यो ‘तेरै जातका पनि कोही महलमा छन् कोही सडकमा । कोही झण्डा हल्लाउँछन् कोही डण्डा । अब शारीरिक बनोटका कुरा गरौँ कोही सगरमाथा कोही केचनाकलन, कोही हात्ती कोही मुसा, कोही नेप्टे कोहो चुच्चे ।

अब परम्पराका कुरा गरौँ । तेरै अनुहार परधर्मको प्रचारक तेरै अनुहार स्वधर्मको विचारक, तेरै अनुहारका मानिसको कुलदेवता र मूल देवतामा अन्तर । एकै आमाबाबुका छोरा त अलग बस्न मारामार गर्छन् तँ स्वजातीय साहित्य लेख्ने कल्पना गर्छस् ?’ दह्रो झापड हान्यो मनले । अब म स्वजातीय साहित्य मात्र होइन दाजुभाइ साहित्य पनि नलेख्ने निष्कर्षमा पुगेँ । अब मात्र एउटा विकल्प बाँकी रह्यो आफैँलाई विम्ब, प्रतीक बनाउने आफ्नै भोगाइ र गराइलाई लेखाइ गर्ने । सोच मात्र के आएथ्यो प्रतिपक्षी मन जुरुक्कै उठ्यो र खबरदारी गर्दै चिच्यायोः ‘तेरो गराइ र भोगाइ निरपेक्ष छ ? तेरो जीवनका आरोह अवरोहमा तँ मात्रै छस् ?’
ए बाबा ठाकुरे ! केही गर्दा सुख पाइएन ।

मैले सोचेँ अब म दिनहुँ ऐना हेर्छु र आफ्नै शरीरको वयान गरेर कविता मात्र लेख्छु । कथा उपन्यास नलेखेपछि अरू पात्रलाई भित्र ल्याउनु नपर्ला नि त ? जुरुक्क उठेर ऐना झुण्डिएको ठाउँमा गएँ र पुलुक्कथ हेरेँ । फुलेका दुम्सीकाँडे जुँगा खरायोको पिन्नाजस्ता देखिए । घामपानी बिना घुम ओढिरहेका आँखाहरू सुरुङभित्र टल्किए ।

ऐनाले भनेजस्तो लाग्योः ‘तेरो कविता किन लेख्नु पर्यो, मलाई हेरे पुगिहाल्छ नि ।’ मलाई ऐनाको सल्लाह सोह्रैआना ठीक लाग्यो । कलमको बिर्को बन्द गरेँ कापी डस्टबिनमा फालिदिएँ र ऐनामा हेरेर भनेँ ‘भो अब लेख्दिन ।’ म हाँसे कि ऐना थाहा छैन तर ऐनामा मुस्कान देखियो ।

०००
२०८१ चैत्र 
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x