हरि खनालगीतको धीत
पुराना गीत जति सबै तोडमोड गरेर के भो त नयाँ होइन्छ भने केको प्रोब्लेम स्वर भएकाले मात्र गीत गाउने जमाना गयो अब। आउनुहोस्, यो रिमिक्सको दुनियाँमा छलाङ मार्दै अघि बढौँ।

हरि खनाल :
गीत गाएर प्रित लाउनेहरू धेरै छन् । भनिन्छ गीतमा रस हुन्छ, त्यो रसमा उठबस हुन्छ । उठवस भएपछि नहुने कुरा के पो छ र ? बोलेर मनका कुरा सुटुक्क भन्न नसक्ने कायर पनि सायर हुन्छन् रे । बानी-व्यहोरामा चकचके भए पनि र बोलीमा भकभके भए पनि गीत गाउन थालेपछि जिब्रोमा सुपरसोनिक विमान उड्छ रे। ‘कहाँ देख्ने कहाँ भेटूँ हुने, भेट्यो माया बोलचालै नहुने । बोलचाल नभए पनि गीतमा पिरती घोलघाल गरेर टाउको जोडेर गाउने जोडीहरूको शब्द हुनुपर्छ यो।
गीत र सङ्गीतको कलालाई पारखीको मधुर गलाले उच्चारण गरेपछि बहदै गरेको हावा रोकिन्छ रे । भोकले – आलसतालस परेर दूध चुस्दै गरेको छावा रोकिन्छ रे, चर्न हिँडेको पशु र मर्न हिंडेको मान्छे दुवै रोकिन्छन् रे ।’ यो भन्नेहरूले भनेको कुरा हो। कुरा आजको होइन, हिजोको पनि होइन, उहिलेको हो तर उहिलेको कुरो त खुइलिसक्यो । खुइलेकैले त होला, अचेल गीतमा अड्ग्रेजी शब्दको शीत परेको छ। वासनाको जित परेको छ । कस्ताकस्ता लायक ठानिएका पुराना गायकका गीतहरूमा अङ्ग्रेजीले अकुपञ्चर गरिसक्यो । नयाँ जमानाका नयाँ कुरा।
अचेल गीतको सुर, कुरमा पसेर बेसुर भए पनि, शब्दको कला र गायकको गला थला परे पनि झन्झन् सुपरहिट हुन थालेको छ। सुन्दरी मोडेलको पोटिला आङ्गिक कलाले दर्शकलाई बेसुर पारिदिएपछि गीतको गिन्ती सुपरहिटभित्र नभए के मा हुने त? त्यसैले त्यस्ता गायकको गायकीमा शङ्का गर्ने मानिस कि पत्रु हुन्छ कि शत्रु । मेरा यी कुरा पनि नयाँ हुन् । अभझै समसामयिक भाषामा भन्दा रिमिक्स टाइपका । पुराना नेताको नयाँ जामा, अभिनेताको नयाँ ड्रामा । हुन्छ भने मैले पनि मेरा बोलीमा पाइन हालेर नयाँ भन्न किन नपाउने मेरो बोलीमा पाइन हालिदिएर मेरा मित्र संविधान शर्माले ठूलो गुन लगाएका छन् ।
केही दिनअघि म मेरा मित्रको घरमा पुगेको थिए । उनको घरमा पाइलो हालेदेखि म थकित भए पनि चकित पर्न थालें । चिया लिएर आउने मित्रपत्नीको पहिरन पनि रिमिक्स प्रकारको थियो। दुई चुली बाटेकी, चौबन्दी चोलीसँग मिडी अनि आँखामा चस्मा, खुट्टीमा ओखरपाङ्ग्रे स्याण्डल । उनी मुसुक्क हासिन् र चिया टेबिलमा राब्दै बोलिन् ‘हाई फ्रेण्ड । प्लिज चिया ड्रिङ्क गरिबक्स्योस् ।’ छक्क पर्दै चिया पिउँदै के थिए, भित्र अर्कोको कोठाबाट ड्रमसेट र इलेक्ट्रिक गितारको झङ्कारले खेदो खन्यो। सङ्गीतसँगै हाहा हरुको आवाजले मेरो कानको कमजोर जालीमाथि धक्का दिन थाल्यो। मित्र। चिया पिउनुस् वा पिउँदै केटाहरूको चमत्कार हेर्नुस्’ उनले उठ्ने र उनीसँगै अर्को कोठामा जाने इसारा गरे । म लुरुलुरु पछि लागेँ। चार/पाँचजना बाबियो कपालवाला कुण्डलीहरू उत्पात मच्चाइरहेका थिए। ‘हेरी यो जुरोवाल युवक मेरो छोरा हो’, साथीले चिनाए । जुरेले देबेहात अघि बढायो। उसको मुखबाट ह्वास्स मदिराको बासना आयो। मेरो नाकमुख सिल्वरको दिप्ची कुच्चिएझै कुच्चियो ।
लौ माइकल ! अङ्कललाई एउटा रिमिक्सको कमाल देखाइदे । सविधानजी बोले । ठिटाहरूको गितार र ड्रमसेट फेरि रन्कियो। पाकेटबाट कपास झिकेर कानमा कोचेँ।
‘आउ, बसौं थकाई मारौं कदमको छायाँमा, मौरी घुम्यो रसैमा, मायालाई मै घुम्छु मायाजालैमा, गर्नुपर्छ ऐश, ओ डियर, लभ रियर सेक्सपियोर हाऊ, आउ बसौं धकाई मारौं…..।’
माइकल जुरेको फन्फनी बटारिएको जिब्राेले धुम मच्चायो ।
‘मित्र । मेरो माइकल अब सुपरहिट गायक बन्न लायक भइसक्यो । अब एल्बम निकाल्ने योजना छ । तिमीलाई कस्तो लाग्यो ?’
‘वेश लाग्यो । तपाईंको छोरो यो देशको झलमलाउने सितारा हो, याने कि भ्यालुयबल प्रपर्टी तर गीत यतिकै त हिट हुन्न नि’ मैले भनें ।
‘नो प्रोब्लेम हिट हुने काइदा छ, सुनी राख, सुन्दा फाइदा छ । उसको गीतमा नाच्ने मोडेल तयार भइसकेको छ । गीतले मागेको दृश्य धीत नमरुन्जेलसम्म दिनेछु भनेर हस्ताक्षरसमेत भइसकेको छ। भिजवलमा जलकीडा, स्थलकीडा मात्र होइन वायुक्रीडा समेत राख्ने सल्लाह भएको छ। लाै भन त गीत सुपरहिट हुन्छ कि हुँदैन।’ उनले कुममा धाप मार्दै भने- अनि मिडिया ?’ मैले सोधेँ ।
‘नो प्रोब्लेम फ्रेण्ड, एक लाखको पाटी इन स्टार होटल। अलिअलि दान दक्षिणाको मेसी पनि मिलाएकै छु। उनले थपे ।
‘एउटा गीतमा त म पनि अभिनय गर्दै छु नि ।’ मित्रपत्नी चौबन्दी र आधा बिते मिडीमा आँखामा गगल्स इत्काउँदै देखा परिन् ।
तपाईंहरू महान हुनुहुन्छ । नेपाल नयाँ कहिले हुन्छ थाहा छैन तर तपाईंहरू चाहि सोह्रै आना नयाँ भइसक्नुभएछ । तपाईंको र माइकलको गीत आएपछि धीत नमरुन्जेलसम्म हेरौँला, मैले भनेँ।
‘हाललाई नेताकै शैलीमा नयाँ तर एल्बम निकालेपछि साँच्चिकै नयाँ याने कि मोर्डन हैन त डारलिङ ?’ मित्रपत्नीले मित्र संविधानको चिउँडो समाउदै भनिन् । उनले टाउको हल्लाएर स्वीकारे ।
‘बराह आजबाट मत्लाई पक्का भयो आचार नयाँ, विचार नयाँ, अब नयाँ नेपाल पक्का।’ मैले भनें ।
‘यु आर द ग्रेट होइसिन्छ।’ मित्र पत्नीले झ्याम्मै अँगालो हालिन् र एक चुम्बन दिँदै भनिन्। रिलिज भएपछि हाम्राे एल्बम भिउ गरिबक्सेला, अहिलेलाई मेरो सि यु, स्वीकारी वक्स्याेस् ।
संविधानजीको घरबाट म पनि नयाँ भएको छ। उनको एल्बम पर्खेर गीतको धीत मार्ने भएको छु। मेरो साथीको योजना, योजना आयोगको जस्तो सधैं कागजमा मात्र हुने खालको छैन। म ढुक्क छु, मेरा साथीको एल्बम सुपरहिट हुनेछ । किनकि सुपरहिट हुन चाहिने तयारी सबै पूरा भएको छ। पुराना गीत जति सबै तोडमोड गरेर के भो त नयाँ होइन्छ भने केको प्रोब्लेम स्वर भएकाले मात्र गीत गाउने जमाना गयो अब। आउनुहोस्, यो रिमिक्सको दुनियाँमा छलाङ मार्दै अघि बढौँ। अब नयाँ बन्ने होडमा जोड लगाउँ।
०००
मधुपर्क (२०६४)
Subscribe
Login
0 Comments
Oldest








































