हरि खनालपुरस्कारको शक्ति
अब यो पुरस्कार पाएपछि आस्थाका धरोहरमाथि दुई चार पत्थर मार्ने शक्ति त मिल्छ नै । किनभने यसको उद्देश्य नै पत्थर मार्ने हो । पत्थर मार्ने उद्देश्य नभएका पुरस्कार त ठीक ठाउँमा मात्र पुग्छ ।

हरि खनाल :
भूपीले लेखेछन् मेचमाथि बसेपछि दृष्टि गुम्छ भनेर । लौ मेचै खराब सही मानेकै हो । लोकले उखानै बनायो धनदेखेपछि महादेवको पनि तीन नेत्र । लौ तीनै नेत्र सही झन् राम्ररी देखिन्छ के भो त । अब पुरस्कारका कुरा गरूँ । पुरस्कार पाएपछि कमिलाको पनि हुङ्कार हुनेरहेछ । के भो त कमिलाले बोलेको सुनिँदैनथ्यो सुनिन्छ भन्न पनि मन लाग्छ । पुरस्कारले चुम्यो हावामा उड्यो । यो अरूको अनुभव किन भन्नु मेरै अनुभव हो हजुर । आज म कसैले छोइनसक्ने अग्राख काठको कोइलो जस्तो भएर रोइलो गर्दै हिँड्न थालेको छु । कारण थाहा पाइहाल्नुभयो पुरस्कार ।
अस्ति एउटा साहित्यिक पत्रिकाले मलाई एक बिटो पुरस्कार दियो । किन थाहा छ ? त्यस पत्रिका निशुल्क अनवरत लेखिरहेकोमा । आफ्नै कार्यालयमा बोलाएर उनले कोठालाई साँघुरो पारेर बसेका पुरानादेखि नयाँ अङ्कसम्मको बिटो बनाएका रहेछन् । मलाई फोन गरेर बोलाए र पुग्नासाथ हजुरलाई पुरस्कार भन्दै थमाए । म पनि मख्ख । प्रकाशन गृहलाई बिटो चढाएर उही प्रकाशन गृहले प्रकाशन गरिदिएको भनेर बाँड्दै हिँड्ने मजस्तो लेखकलाई त्यो सम्मानजनक पुरस्कार नै हो भन्ने मेरो ठहर भयो । कताकतै टेक्दै घरमा पुगेँ । एक बिटो पत्रिका लिएर गएपछि मलाई कसले छुने । पत्नी छोराछोरी सबैसँग ठ्याँठ्याँ ठुँठुँ गरेँ । उनीहरूलाई लाग्यो होला आज बुढोले टन्नै नोटको बिटो ल्यायो ।
झोला खोलेर हेरेपछि सबैजना मुख कुच्याउँदै भागे र अलिपर पुगेर जोडले हाँसे । मैले सोचेँ कमसे कम यो बिटोले हाँसो त ल्याएछ । यति हाँस्न बिहान बिहानै कट्टु खुस्किने गरी योगकेन्द्रमा गएर कराउनुपर्छ । म पनि खुसीले हाँसे । मेरो घर हास्यघर नै बन्यो एकदिनका लागि । वरपरकासँग खुब गफ लगाएँ मैले त आज पुरस्कार पाएँ नि । ए भनेर कतिले पत्याएको भाव दर्शाए कतिले नपत्याएको । मैले त हिजो खाना पनि धेरै खाएँ । परिवारका सबैलाई पकाएको म एक्लैले हाम गरेपछि बुढी रिसाएर डाडु नाच गरिरहेकी थिइन् । मलाई के मतलब पुरस्कार पाएको न परेँ ।
पुरस्कारको लहर नै मिल्न गएछ । हिजो त साधना पुरस्कारको नाममा नगदसहितको सम्मान पनि भेटाएँ । सुटुक्क भन्छु त्यो नगद चाहिँ समात्नको लागि मात्र थियो । भित्र गएर फर्काउने सर्तमा पाएको । तर झुण्ड्याउने प्रमाणपत्रचाहिँ आफ्नै पैसा परेकोले मैकहाँ रहने छ ।यो पुरस्कार पाउन मैले लेखनमा भन्दा ज्यादा साधना गर्नुपरेको थियो । पत्रिका बिटो पुरस्कार पाउँदा त कताकतै टेक्ने मैले साधना पुरस्कार पाएपछि कहाँ टेकेँ होला ? मैलाई थाहा छैन । मैले त रातभरि भाषण पो गरेछु । मैले गरेको भाषणको रेकर्ड बनाएको छ अरे छोरोले । कुनै दिन मेसो मिलेमा तपाईँहरूलाई सुनाउँला ।
हिजो पाएको पुरस्कारको मातले आज बिहान बबाल मच्चायो । चिया खान पसलमा गएको केही मानिसहरू देखेँ । मैले त पुरस्कारकै बखान छाँटे । चियापान गर्न आएकाले ताली बजाइदिएपछि झन् उल्किएछु । भनेछु ती लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र भानुभक्त केही हैनन् मेरो अघिल्तिर । तिनीहरू यथास्थितिवादी हुन् म क्रान्तिकारी हुँ । भानुभक्तले रामको भक्ति लेखे म रावणभक्ति लेख्नेछु । लक्ष्मीप्रसादले आखिर रहेछ श्रीकृष्ण एक लेखे म आखिर रहेछ कंस मामा एक लेख्नेछु । व्यासले महाभारतमा कृष्णलाई नायक बनाए र अर्जुनलाई सहनायकत्व दिए म दुर्योधनलाई नायक र कर्णलाई सहनायक बनाउँदैछु । यसो भन्दा पनि ताली बज्यो ।
अँ माधव घिमिरेको त नामै लिन बिर्सेछु । उनले नेपाली हामी रहौँला कहाँ नेपालै नरहे लेखेका थिए हैन ? मचाहिँ नेपाल कहाँ रहला यहाँ म आफैँ नभए भनेर …. यति के भनेको थिएँ नजिकै बसेका एकजनाले जोडले चिमोटे । मैले चिमोट्ने मानिसलाई हेरेँ । उनी त हिजो पुरस्कार दिने दाता पो रहेछन् । पुरस्कारको ऊर्जाले म कहाँ देख्दथेँ र ? तर दाताले नै चिमोटेपछि त सातै गयो नि । रातो भएर तातेको सिलभरको भाँडोमा चिसो पानी खन्याएजस्तो भएछ मेरो अनुहार । उनले भने ‘त्यो गीतको कुरा गर्छस् ? तैँले कसरी पुरस्कार पाएको होस् भेद खोल्दिउँ ?’ उनको वाणी सुनेपछि त झनै गरुडको सामुन्नेमा परेको सर्पजस्तो पो भएँ । सोधेँ ‘माधव घिमिरे हजुरको कोही पर्छ ?’ उनले हाँस्दै भने ‘उहाँ मेरो घुमाएर घुमाएर कुनै नाता लाग्छ ।’
‘मैले अरू बोलेको कुरा त ठीक छ नि ख्वामित ? कि बिग्रिएको छ ?’ मैले दातातिर फर्किएर हात जोड्दै सोधेँ । ‘अरू कुरामा मेरो सरोकार भएन । पुरस्कार पाएपछि यति मात त चढी नै हाल्छ । पुरस्कारमा त शक्ति हुन्छ भाइ । अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पाएका मान्छेले सोभियत संघलाई चट् पारे । अहिले बङ्लादेश हेर न । अब भेनेजुयलातिर पनि पुरस्कारले तहल्का पिट्ला जस्तो छ तर त्यो बम पुरस्कार हो । त्यसकारण त्यसको विश्वव्यापी प्रभाव पार्ने ऊर्जा हुन्छ । तिमीलाई दिएको पुरस्कार पत्थर पुरस्कार हो । पत्थर यस मानेमा कि यो बोल्दैन । मान्छेजस्तो गरी बोल्ने भएको भए तिमीलाई दिन खोज्दा यसले विद्रोह गर्थ्यो ।
अब यो पुरस्कार पाएपछि आस्थाका धरोहरमाथि दुई चार पत्थर मार्ने शक्ति त मिल्छ नै । किनभने यसको उद्देश्य नै पत्थर मार्ने हो । पत्थर मार्ने उद्देश्य नभएका पुरस्कार त ठीक ठाउँमा मात्र पुग्छ । तिमीमा चढेको मातलाई मैले स्वभाविक नै रूपमा लिएको छु तर पनि सिमानाभित्र बस भाइ ।’ उनले भने । हस् हजुर मैले हात रगड्दै भनेँ । उनको आदेश सुन्नासाथ मेरो उम्लिएको शक्ति स्वाठ्ठै घटेछ क्यारे सामान्य भएको छु । थाहा छैन घरमा पुगेर त्यो प्रमाणपत्रको मुनितिर बसेपछि कस्तो हुन्छु ?
अस्तु
०००
धादिङ









































हिजो त साधना पुरस्कारको नाममा नगदसहितको सम्मान पनि भेटाएँ । सुटुक्क भन्छु त्यो नगद चाहिँ समात्नको लागि मात्र थियो । भित्र गएर फर्काउने सर्तमा पाएको । तर झुण्ड्याउने प्रमाणपत्रचाहिँ आफ्नै पैसा परेकोले मैकहाँ रहने छ ।यो पुरस्कार पाउन मैले लेखनमा भन्दा ज्यादा साधना गर्नुपरेको थियो ।
माथीका यी हरफ सत्य हुन कि आरोपका लागि आरोप हुन्?