साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कारको शक्ति

अब यो पुरस्कार पाएपछि आस्थाका धरोहरमाथि दुई चार पत्थर मार्ने शक्ति त मिल्छ नै । किनभने यसको उद्देश्य नै पत्थर मार्ने हो । पत्थर मार्ने उद्देश्य नभएका पुरस्कार त ठीक ठाउँमा मात्र पुग्छ ।

Nepal Telecom ad

हरि खनाल :

भूपीले लेखेछन् मेचमाथि बसेपछि दृष्टि गुम्छ भनेर । लौ मेचै खराब सही मानेकै हो । लोकले उखानै बनायो धनदेखेपछि महादेवको पनि तीन नेत्र । लौ तीनै नेत्र सही झन् राम्ररी देखिन्छ के भो त । अब पुरस्कारका कुरा गरूँ । पुरस्कार पाएपछि कमिलाको पनि हुङ्कार हुनेरहेछ । के भो त कमिलाले बोलेको सुनिँदैनथ्यो सुनिन्छ भन्न पनि मन लाग्छ । पुरस्कारले चुम्यो हावामा उड्यो । यो अरूको अनुभव किन भन्नु मेरै अनुभव हो हजुर । आज म कसैले छोइनसक्ने अग्राख काठको कोइलो जस्तो भएर रोइलो गर्दै हिँड्न थालेको छु । कारण थाहा पाइहाल्नुभयो पुरस्कार ।

अस्ति एउटा साहित्यिक पत्रिकाले मलाई एक बिटो पुरस्कार दियो । किन थाहा छ ? त्यस पत्रिका निशुल्क अनवरत लेखिरहेकोमा । आफ्नै कार्यालयमा बोलाएर उनले कोठालाई साँघुरो पारेर बसेका पुरानादेखि नयाँ अङ्कसम्मको बिटो बनाएका रहेछन् । मलाई फोन गरेर बोलाए र पुग्नासाथ हजुरलाई पुरस्कार भन्दै थमाए । म पनि मख्ख । प्रकाशन गृहलाई बिटो चढाएर उही प्रकाशन गृहले प्रकाशन गरिदिएको भनेर बाँड्दै हिँड्ने मजस्तो लेखकलाई त्यो सम्मानजनक पुरस्कार नै हो भन्ने मेरो ठहर भयो । कताकतै टेक्दै घरमा पुगेँ । एक बिटो पत्रिका लिएर गएपछि मलाई कसले छुने । पत्नी छोराछोरी सबैसँग ठ्याँठ्याँ ठुँठुँ गरेँ । उनीहरूलाई लाग्यो होला आज बुढोले टन्नै नोटको बिटो ल्यायो ।

झोला खोलेर हेरेपछि सबैजना मुख कुच्याउँदै भागे र अलिपर पुगेर जोडले हाँसे । मैले सोचेँ कमसे कम यो बिटोले हाँसो त ल्याएछ । यति हाँस्न बिहान बिहानै कट्टु खुस्किने गरी योगकेन्द्रमा गएर कराउनुपर्छ । म पनि खुसीले हाँसे । मेरो घर हास्यघर नै बन्यो एकदिनका लागि । वरपरकासँग खुब गफ लगाएँ मैले त आज पुरस्कार पाएँ नि । ए भनेर कतिले पत्याएको भाव दर्शाए कतिले नपत्याएको । मैले त हिजो खाना पनि धेरै खाएँ । परिवारका सबैलाई पकाएको म एक्लैले हाम गरेपछि बुढी रिसाएर डाडु नाच गरिरहेकी थिइन् । मलाई के मतलब पुरस्कार पाएको न परेँ ।

पुरस्कारको लहर नै मिल्न गएछ । हिजो त साधना पुरस्कारको नाममा नगदसहितको सम्मान पनि भेटाएँ । सुटुक्क भन्छु त्यो नगद चाहिँ समात्नको लागि मात्र थियो । भित्र गएर फर्काउने सर्तमा पाएको । तर झुण्ड्याउने प्रमाणपत्रचाहिँ आफ्नै पैसा परेकोले मैकहाँ रहने छ ।यो पुरस्कार पाउन मैले लेखनमा भन्दा ज्यादा साधना गर्नुपरेको थियो । पत्रिका बिटो पुरस्कार पाउँदा त कताकतै टेक्ने मैले साधना पुरस्कार पाएपछि कहाँ टेकेँ होला ? मैलाई थाहा छैन । मैले त रातभरि भाषण पो गरेछु । मैले गरेको भाषणको रेकर्ड बनाएको छ अरे छोरोले । कुनै दिन मेसो मिलेमा तपाईँहरूलाई सुनाउँला ।

हिजो पाएको पुरस्कारको मातले आज बिहान बबाल मच्चायो । चिया खान पसलमा गएको केही मानिसहरू देखेँ । मैले त पुरस्कारकै बखान छाँटे । चियापान गर्न आएकाले ताली बजाइदिएपछि झन् उल्किएछु । भनेछु ती लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र भानुभक्त केही हैनन् मेरो अघिल्तिर । तिनीहरू यथास्थितिवादी हुन् म क्रान्तिकारी हुँ । भानुभक्तले रामको भक्ति लेखे म रावणभक्ति लेख्नेछु । लक्ष्मीप्रसादले आखिर रहेछ श्रीकृष्ण एक लेखे म आखिर रहेछ कंस मामा एक लेख्नेछु । व्यासले महाभारतमा कृष्णलाई नायक बनाए र अर्जुनलाई सहनायकत्व दिए म दुर्योधनलाई नायक र कर्णलाई सहनायक बनाउँदैछु । यसो भन्दा पनि ताली बज्यो ।

अँ माधव घिमिरेको त नामै लिन बिर्सेछु । उनले नेपाली हामी रहौँला कहाँ नेपालै नरहे लेखेका थिए हैन ? मचाहिँ नेपाल कहाँ रहला यहाँ म आफैँ नभए भनेर …. यति के भनेको थिएँ नजिकै बसेका एकजनाले जोडले चिमोटे । मैले चिमोट्ने मानिसलाई हेरेँ । उनी त हिजो पुरस्कार दिने दाता पो रहेछन् । पुरस्कारको ऊर्जाले म कहाँ देख्दथेँ र ? तर दाताले नै चिमोटेपछि त सातै गयो नि । रातो भएर तातेको सिलभरको भाँडोमा चिसो पानी खन्याएजस्तो भएछ मेरो अनुहार । उनले भने ‘त्यो गीतको कुरा गर्छस् ? तैँले कसरी पुरस्कार पाएको होस् भेद खोल्दिउँ ?’ उनको वाणी सुनेपछि त झनै गरुडको सामुन्नेमा परेको सर्पजस्तो पो भएँ । सोधेँ ‘माधव घिमिरे हजुरको कोही पर्छ ?’ उनले हाँस्दै भने ‘उहाँ मेरो घुमाएर घुमाएर कुनै नाता लाग्छ ।’

‘मैले अरू बोलेको कुरा त ठीक छ नि ख्वामित ? कि बिग्रिएको छ ?’ मैले दातातिर फर्किएर हात जोड्दै सोधेँ । ‘अरू कुरामा मेरो सरोकार भएन । पुरस्कार पाएपछि यति मात त चढी नै हाल्छ । पुरस्कारमा त शक्ति हुन्छ भाइ । अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पाएका मान्छेले सोभियत संघलाई चट् पारे । अहिले बङ्लादेश हेर न । अब भेनेजुयलातिर पनि पुरस्कारले तहल्का पिट्ला जस्तो छ तर त्यो बम पुरस्कार हो । त्यसकारण त्यसको विश्वव्यापी प्रभाव पार्ने ऊर्जा हुन्छ । तिमीलाई दिएको पुरस्कार पत्थर पुरस्कार हो । पत्थर यस मानेमा कि यो बोल्दैन । मान्छेजस्तो गरी बोल्ने भएको भए तिमीलाई दिन खोज्दा यसले विद्रोह गर्थ्यो ।

अब यो पुरस्कार पाएपछि आस्थाका धरोहरमाथि दुई चार पत्थर मार्ने शक्ति त मिल्छ नै । किनभने यसको उद्देश्य नै पत्थर मार्ने हो । पत्थर मार्ने उद्देश्य नभएका पुरस्कार त ठीक ठाउँमा मात्र पुग्छ । तिमीमा चढेको मातलाई मैले स्वभाविक नै रूपमा लिएको छु तर पनि सिमानाभित्र बस भाइ ।’ उनले भने । हस् हजुर मैले हात रगड्दै भनेँ । उनको आदेश सुन्नासाथ मेरो उम्लिएको शक्ति स्वाठ्ठै घटेछ क्यारे सामान्य भएको छु । थाहा छैन घरमा पुगेर त्यो प्रमाणपत्रको मुनितिर बसेपछि कस्तो हुन्छु ?
अस्तु

०००
धादिङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rajendra Karki
Rajendra Karki
3 months ago

हिजो त साधना पुरस्कारको नाममा नगदसहितको सम्मान पनि भेटाएँ । सुटुक्क भन्छु त्यो नगद चाहिँ समात्नको लागि मात्र थियो । भित्र गएर फर्काउने सर्तमा पाएको । तर झुण्ड्याउने प्रमाणपत्रचाहिँ आफ्नै पैसा परेकोले मैकहाँ रहने छ ।यो पुरस्कार पाउन मैले लेखनमा भन्दा ज्यादा साधना गर्नुपरेको थियो ।
माथीका यी हरफ सत्य हुन कि आरोपका लागि आरोप हुन्?

Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x