साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य र विचारधाराको समस्या (३)

हास्यव्यङ्ग्यका सम्बन्धमा पनि हामीले मनोगतवादी हुनुभन्दा वस्तुवादी हुनु श्रेयस्कर कुरा हो। नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा रहिरहेका विभिन्न भावनावादी सिद्धान्त र समीक्षापद्धतिहरू त्यागेर अब वैज्ञानिक चरित्रको समाजशास्त्रीय दृष्टिकोण लिनु आवश्यक भइसकेको छ।

Nepal Telecom ad

गाेविन्द भट्ट :

आजको हास्यव्यङ्ग्यका धेरैजसो रचनाहरूबाट त्यस्तो विरोधाभास वा द्विविधाका अनेकौं दृष्टान्तहरू प्रस्तुत गर्न सकिन्छ। आफ्ना राष्ट्रिय र सामाजिक समस्याहरूबारे स्पष्ट विचार बनाइ नसकेका, त्यस विषयमा गहिरो अध्ययन-अनुसन्धान नगरेका लेखकहरूमा नै त्यस्तो वैचारिक दोष रहेको हुन्छ । हास्यव्यङ्ग्यको तारो जसलाई बनाए पनि हुन्छ वा हांस्न-हँसाउन र छेडपेच गर्नका लागि जे लेखे पनि हुन्छ, जे बोले पनि हुन्छ भनी हिंड्ने केही स्वच्छन्दतावादी लेखकहरूले गर्दा नै आज सामान्य जनसमुदायमा हास्यव्यङ्ग्य जस्तो गम्भीर विषय पनि गाईजात्राको समानार्थक हुन पुगेको छ ।

हाम्रा निकै हास्यव्यङ्ग्यकारहरूमा बौद्धिक प्रखरता र निर्भीकताका साथै आफ्नो लेखन-व्यवसायप्रति विवेकशील रहने प्रवृत्ति देखिन्छ र ती साँचो अर्थमा आफ्ना रचनाद्वारा समाजमा सुधार वा परिवर्तन पनि ल्याउन चाहन्छन् । ती प्रतिभा सम्पन्न र मेधावी पनि छन्। तर यी सब सद्‌गुणहरू हुँदाहुँदै पनि राजनीतिक चेतनाको न्यूनता, समाजशास्त्रको अल्पज्ञान तथा विश्वदृ‌ष्टिप्रतिको अस्पष्टताले गर्दा उत्तीहरूको त्यो प्रतिभा र सदाशयता आज समाजपयोगी हुन नपाएर असान्दर्भिक कै बनिरहेको छ।

हास्यव्यङ्ग्यको विषय छनोट गर्दा त्यसका सम्पूर्ण आयामहरूलाई दृष्टिगत गर्नु, व्यक्तिमाभन्दा उसका नकारात्मक प्रवृत्तिहरूमा बढी जोड दिदै तिनलाई उदाद्वायाउनु, ससाना कामकुराहरूमा अल्झिनु र गौण महत्त्वका चरित्रहरूको खेदो खन्नुमन्दा सामाजिक-राजनीतिक विसङ्गतिहरूको प्रमुख प्रतिनिधि चरित्रमा नै आफ्नो व्यङ्ग्यवाण सोभ्याउनु बढी प्रभावकारी हुने गर्दछ ।

शिल्पपक्षमा पनि यता केही अपवादहरू बाहेक हास्यव्यङ्ग्यका अधिकाश रचनाहरूमा विषयवस्तु र शैलीको उही एउटै ढर्रा र ढांचा देखिने हुनाले तिनमा विविधता र सिर्जनात्मक प्रयोगको अभाव ख‌ट्किन थालेको छ। केही रचनाहरू ठाडो खस्रो भाषणबाजी र पट्टयारलाग्दो उपदेशबाजीका कारण हास्यव्यङ्ग्यभन्दा एक अनौठो वर्णसङ्कर जातका निबन्ध/प्रबन्ध जस्ता लाग्दछन् । खोक्रो आदर्शवादी गन्धन र पट्‌यार लाग्ने पाण्डित्याइँको प्रदर्शनमा गुजमुन्जिएका त्यस्ता कृक्तिहरू मनोरञ्जन प्रदान गर्नुको साटो उल्टै कपालदुखाइको कारण बनेका हुन्छन् । त्यसै गरी साहित्यिक कलाबाजीको मोहमा अनावश्यक अनुप्रास, शाब्दिक चमत्कार र असान्दर्भिक प्रसङ्गहरूलाई जोडजाड गरेर तयार पारिएका केही रचनाहरूमा सहजताको स्वादभन्दा वाक्पटुताको चटके खेल र कुनै अर्धशिक्षित गफाडीको योजनाविहीन यकवक नै बढी टडकारो हुन्छ। त्यस्ता लहडबाजीका लेख-रचनाहरू अन्तमा हातलागी शून्य मात्र हुन्छन् र तिनको अध्ययनमा खर्चेको परिश्रम निरर्थक मात्र हुन जान्छ। बाहिरका पात र हाँगा मात्र छुने तर रूखको फेदसम्म पुग्न नसक्ने त्यस्तो हास्यव्यङ्ग्यको प्रभाव दीर्घजीवी हुन सक्दैन । त्यस्ता कृक्तिहरू नै बाहिर वोक्रा र भित्र खोक्रा भन्ने उखानको सजीव दृष्टान्त हुन् ।

हाम्रा केही हास्यव्यङ्ग्यहरूमा आलोचना तथा प्रहारको मात्रा ज्यादा र त्यसको अनुपातमा हास्यको मात्रा कम रहेको छ र त्यसै गरी ती सुधारात्मक भन्दा बढी नकारात्मक भएको आभास पनि मिल्दछ । यो असन्तुलन एक सफल हास्यव्यङ्ग्यका लागि प्रत्युत्पादक हुन जान्छ। तर अर्कोतिर सुधारात्मक वा सकारात्मक हुनु भनेको भाषण वा उपदेशको शैली पनि होइन। यसका साथै हाम्रा केही हास्यव्यङ्ग्यहरूमा प्रतिबिम्बित हुने आधुनिकतावाद र परम्परावादका अधकल्चा प्रयोगहरूले पनि अर्को अस्पष्टता थपिदिने गरेका छन् ।

नेपाली हास्यव्यङ्ग्यमा रहिरहेका यी केही शैलीगत र विचारधारात्मक समस्याहरूका साथै त्यसमा पाइने विश्लेषणात्मक समीक्षाको न्यूनता पनि त्यसको एक अर्को गम्भीर समस्या हो। यता हालसालै त्यस क्षेत्रमा केही शोध-अनुसन्धानहरू थालिएका र केही पुस्तकहरू पनि प्रकाशित भएका छन् तर पनि ऐतिहासिक परिप्रेक्ष्य सामाजिक सन्दर्भमा, प्रगतिशील दृष्टिबाट त्यसको सर्वाङ्गीण लेखजोखा गर्ने दिशामा अझै गम्भीरतासाथ लाग्नुपर्ने आवश्यकता महसुस भइरहेकै छ । हास्यव्यङ्ग्य साहित्यको समीक्षात्मक अध्ययन प्रस्तुत गर्नेतर्फ केही अभिरुचि देखाउँदै सुप्रसिद्ध हास्यव्यङ्ग्यकार श्री भैरव अर्यालले आफ्नो दस औतार (२०३३) भन्ने कृतिमा हाम्रा केही हास्यव्यङ्ग्यकारहरूबारे समालोचनात्मक टिप्पणीहरू लेखेर त्यो अभाव हटाउने प्रयास गर्नुभएको हो। त्यसपछि हास्यव्यङ्ग्य समालोचनाका रूपमा केही लेख-रचना, पत्रिका-विशेषाङ्क र दुई-चार पुस्तकहरू पनि देखा परेका हुन् तर ती पनि प्रायशः प्राध्यापकीय परम्पराको निर्वाह गर्ने एक निर्दिष्ट पद्धतिअनुरूप वा पत्रपत्रिकाहरूमा पाइने सामान्य पुस्तक समीक्षा वा विवरणात्मक लेख-निबन्धका रूपमै लेखिएका रचना हुन् ।

नेपाली हास्यव्यङ्ग्यका सवल र निर्बल पक्षहरू र त्यसको विचारधारात्मक स्वरूपजस्ता महत्त्वपूर्ण विषयहरूबारे केही उल्लेख गरे पनि, समग्रमा ती कृतिहरू शास्त्रीय चिन्तन र समीक्षा पद्धतिबाटै प्रभावित रहेका छन् । त्यस विषयमा यता हालै आफ्ना समीक्षात्मक निबन्ध सङ्ग्रहहरूका साथ त्यही क्षेत्रका एक अर्का लेखक तथा प्रगतिवादी समीक्षक श्री विष्णु प्रभात (अर्ज्याल) ज्यूले एघारौं अवतार (वि.स. २०५८) नामक कृतिमार्फत् हास्यव्यङ्ग्य साहित्यमा प्रगतिशील समीक्षापद्धतिको प्रयोगतर्फ केही गम्भीर प्रयास गर्नुभएको छ। नेपाली हास्यव्यङ्ग्यका केही सैद्धान्तिक तथा व्यावहारिक समीक्षाहरू प्रस्तुत गर्दै, उहाँले ‘स्वयं स्रष्टाहरूको सामाजिक दृष्टिकोणमा सुधारप्रति सही सोच नहुनुलाई हालको एक मूल कमजोरी मान्दै हास्यव्यङ्ग्य साहित्यको सर्वाङ्गीण मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभएको छ। यो सामयिक महत्त्वको एक युक्तिसङ्गत विचार पनि हो।

साच्चि नै नेपाली हास्यव्यङ्ग्यलाई सामाजिक विकासका लागि एक सशक्त र सक्रिय साधन बनाउने हो भने सर्वप्रथम हामीले यस क्षेत्रमा रहिरहेका सैद्धान्तिक अन्यौल र वैचारिक अस्पष्टताहरूको खण्डन गर्ने पर्दछ। हाम्रा हास्यव्यङ्ग्यकारहरू माझ सौन्दर्यशास्त्रीय मान्यताहरूमा मात्र हैन राजनीतिक तथा सामाजिक दृष्टिहरूबारे पनि मतभिन्नता रहेको छ। तीमध्येका केहीमा स्वच्छन्दतावाद, प्रयोगवाद, फ्रायडवाद, आदर्शवाद वा भावनावादको प्रभाव परेको छ भने केहीचाहिं यथार्थवादी र प्रगतिवादी दर्शनका अनुयायी रहेका छन् । त्यसै गरी अल्पसङ्ख्यामा केहीलाई यथास्थितिवादी वा परम्परावादी पनि भन्न सकिन्छ।

हास्य र व्यङ्ग्य दुवै नै हाम्रो जीवनका अभिन्न अङ्ग हुन् र झट्ट हेर्दा ती व्यक्तिविशेषको नैसर्गिक स्वभाव वा व्यवहारसित सम्बन्धित रहने गरेको देखिए पनि तिनको उद्गम तथा प्रयोजनको आधारभूमि, हाम्रो सामाजिक अस्तित्व नै हो। मानव समाजको उदयकालदेखि नै साहित्य र कलाका अन्य अङ्गहरू झै हास्यव्यङ्ग्य पनि हाम्रा सामाजिक-आर्थिक सङ्घर्षहरूकै बीचबाट जन्मने र विकसित हुने गरेको पाइन्छ । मनुष्य एक सामाजिक प्राणी भएकाले उसका हास्यव्यङ्ग्य लगायत सम्पूर्ण भौतिक मानसिक क्रियाकलापहरू पनि स्वतः नै सामाजिक रूप ग्रहण गर्दछन् र तिनलाई सामाजिक परिप्रेक्ष्य वा दैनिक जीवनका यथार्थ अनुभवहरूबाट अलग्याएर कहिल्यै बुझ्न सकिन्न ।

यिनै कारणहरूले गर्दा व्यष्टिभन्दा समष्टिलाई, भावनावादी चिन्तनभन्दा यथार्थवादी दर्शनलाई महत्त्व दिने विचारधारा नै मानवजातिका लागि बढी रुचिकर, उपयोगी र दीर्घजीवी पनि हुने गरेको छ । हास्यव्यङ्ग्यका सम्बन्धमा पनि हामीले मनोगतवादी हुनुभन्दा वस्तुवादी हुनु श्रेयस्कर कुरा हो। नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा रहिरहेका विभिन्न भावनावादी सिद्धान्त र समीक्षापद्धतिहरू त्यागेर अब वैज्ञानिक चरित्रको समाजशास्त्रीय दृष्टिकोण लिनु आवश्यक भइसकेको छ।

अघि नै भनिसकिए झै नेपाली हास्यव्यङ्ग्य शताब्दियौंदेखि मूलतः यथार्थवादी र जीवनवादी रहिआएको छ। त्यसको विशिष्टता र मौलिकता पनि त्यही नै हो। त्यसमा विभिन्न कारणवश यदाकदा आइलागेका विकृति र विचलनहरूलाई सच्याउँदै यस उज्ज्वल जीवनवादी परम्परालाई परिष्कृत र सुसमृद्ध बनाउँदै जाने अभिभारा आजको युवा पुस्ताका हास्यव्यङ्ग्यकार र समीक्षकहरूले बहन गर्नुपरेको छ।

०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x