गाेविन्द भट्टहास्यव्यङ्ग्य र विचारधाराको समस्या (२)
बाहिरबाट हेर्दा हास्यव्यङ्ग्यको विषय नै हाँसो-हँस्यौली, खेलठट्टा, मीठो घोचपेच र रसिलो-रमाइलो सवाल-जवाफहरूको खुला अभिव्यक्ति भए पनि वास्तविकतामा यो एक सामाजिक उत्तरदायित्वको अत्यन्त गम्भीर विषय हो।

गाेविन्द भट्ट :
हास्यव्यङ्ग्यसित सम्बन्धित शारीरिक अङ्ग प्रत्यङ्गहरूका क्रिया-प्रतिक्रिया र भावमुद्रा, विभिन्न प्रकारका ध्वनिहरूको तीव्रता वा मधुरताका साथ प्रकट हुने हास्यका विविधरूप, शब्दशक्तिकै एक विशिष्ट अभिव्यक्तिका रूपमा व्यङ्ग्यको व्याख्या र वर्गीकरण आदि कुराहरूको आफ्नै शास्त्रीय महत्त्व रहे पनि हास्यव्यङ्ग्यको सर्वाङ्गीण विवेचना गर्नमा ती अपर्याप्त रहेका छन्। त्यसै गरी हास्यव्यङ्ग्यका प्रयोजन र उद्देश्यको शास्त्रीय विवेचना पनि इतिहास-निरपेक्ष असामाजिक र अत्युक्तिसङ्गत देखिन्छ ।
हास्यव्यङ्ग्यका सामु असल मानिस र असल समाज बनाउने, व्यक्ति र समाजका दुर्बल पक्षहरूमा व्यङ्ग्य प्रहार गरेर सुधार ल्याउने, मानवता र मानवकल्याणको पक्षधर हुने जस्ता उच्च आदर्शहरू निर्धारित गरिएका छन्। यी अवश्य पनि प्रशसनीय धारणाहरू हुन् । तर गहिरिएर हेर्ने हो भने यहाँ मानवकल्याण र समाजसुधार जस्ता अमूर्त शब्दावलीहरूद्वारा, समाजविकासको एक खास अवधिताक, न्याय र अन्यायबीचको तत्कालीन सङ्घर्षमा, हास्यव्यङ्ग्यको ठोस सामाजिक भूमिकालाई ओझेलमा पारिदिदै, साहित्यको उही पुरानै भावनावादी परिभाषालाई पुनर्स्थापित गर्न खोजिएको देखिन्छ। यो पनि वैज्ञानिक समाजशास्त्रका विपरीत, अधिभौतिकवादी चिन्तनकै अर्को ज्वलन्त दृष्टान्त हो। सुरुमै भनिसकिए झै इतिहासका विभिन्न चरणहरूमा मानव-कल्याण र समाज सुधार पनि देशकालसापेक्ष हुन्छन् र हास्यव्यङ्ग्यको भूमिका पनि वर्गीय समस्याका कारण वर्गीय नै हुन्छ र तदनुसार नै पछि गएर त्यसको मूल्याङ्कन पनि गरिन्छ ।
८. हास्यव्यङ्ग्यका रचनाहरू कुनै स्वैरकल्पनाको अमूर्त विषय नभएर आजका समस्याहरूसित प्रत्यक्ष वा साङ्केतिक रूपमा संलग्न रहेका ज्यूदाजाग्दा विषय हुन् र आफ्नो त्यही संलग्नता वा पक्षधरताका कारण, साहित्यका अन्य विधाहरूभन्दा तिनको सामाजिक प्रभावकारिता पनि तत्कालिक र अझै जोडदार हुन पुगेको हो। यथार्थमा पत्रकारितापछि आफ्नो त्यस राजनीतिक, वैचारिक पक्षधरता र सामयिक सान्दर्भिकताका कारण यसरी प्रभावोत्पादक र विवादास्पद हुने गरेको अर्को क्षेत्र हास्यव्यङ्ग्य नै हो। त्यसको तीक्ष्ण प्रहार ठाडै हिजोआजका केही विशेष चरित्र वा सार्वजनिक विषयहरूमा पर्ने हुनाले त्यसले समाजमा वादविवाद वा हलचल उत्पन्न गरिदिन वा वातावरणको विद्यमान जडता तोडेर केही खलबल ल्याइदिन सक्दछ । कलात्मक उत्कृष्टता पनि भएको प्रगतिशील चरित्रको हास्यव्यङ्ग्य समाजिक वैचारिक रूपान्तरणका लागि एक सशक्त साधन हुन सक्दछ।
छापा वा साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित हुने त्यस्ता हास्यव्यङ्ग्यहरूले दिनहुँ समाजमा केही गतिशीलता नै थपेका हुन्छन् र तिनका प्रति विभिन्न क्षेत्रहरूबाट आउने सकारात्मक वा नकारात्मक प्रतिक्रियाहरूबाट पनि तिनको त्यो प्रभावोत्पादक ऊर्जा सहजै बुझ्न सकिन्छ । तर उदेक लाग्ने कुरा के हो भने हाम्रा अधिकांश प्राध्यापक र विद्वान् समीक्षकहरू अझै पनि हास्यव्यङ्ग्यको व्याख्या विवेचना गर्ने क्रममा त्यसको यस अति महत्त्वपूर्ण सामाजिक विशिष्टताप्रति आँखा चिम्लंदै उही पुरानै रीतिवादी, ध्वनिवादी वा रसवादी सिद्धान्तका मापदण्ड वा भाषाशास्त्रीय चिरफारहरूमै समय र श्रम खर्चिरहेका छन् ।
हास्यव्यङ्ग्यको समीक्षाक्षेत्रमा ‘विशुद्ध मनोरञ्जन’ तथा ‘विशुद्ध हास्यव्यङ्ग्य’, ‘सबैको प्रेम र श्रद्धा पाउन समर्थ रहेको हास्यव्यङ्ग्य’, ‘सबै वादविवाद र प्रतिवादहरूबाट मुक्त रहेको हास्यव्यङ्ग्य’ जस्ता अवधारणाहरूको उल्लेख गरिएको पनि पाइन्छ। त्यसै गरी असामाजिक तत्त्वहरूप्रति असहिष्णु, शिष्ट समाजका मर्यादाहरूको रक्षक, नैतिकताको ठेकेदार, विद्रोहलाई वाणी दिने एक साहसी समाज-सुधारक आदि आदि विशेपणहरूसहित हास्यव्यङ्ग्यकारहरूको पनि चर्चा हुँदै आएको छ। यी सबै अवधारणाहरूबाट हास्यव्यङ्ग्यको क्षेत्र अझै पनि आदर्शवादी/भावनावादी चिन्तनहरूवाट नराम्ररी प्रभावित रहिरहेको कुरा सहजै देख्न सकिन्छ। यथार्थता त के हो भने शिष्टता र अशिष्टता, मर्यादा र दुराचार, नैतिकता र अनैतिकता, सत्य र असत्य, न्याय र अन्याय पनि देशकालनिरपेक्ष नरहेर युगसापेक्ष रहने कुरा हुन् र सामाजिक व्यवस्थाअनुसार नै तिनको परिभाषा, व्याख्या र मापदण्डहरूमा पनि परिवर्तन हुँदै आएको छ। मानव इतिहासमा सामन्ती युगको मूल्य-मान्यता र त्यसको मापदण्ड पछि गएर प्रजातान्त्रिक युगको मूल्य-मान्यताबाट विस्थापित गरिएको थियो र अहिलेसम्म पनि त्यसवारेको वैचारिक द्वन्द्व समाप्त भइसकेको छैन ।
स्वयं हाम्रा हास्यव्यङ्ग्यकार र समीक्षकहरूका बीच यस्ता प्रश्नहरूबारे मतमतान्तर रहिआएको छ । त्यसैले कुन ऐतिहासिक युग वा समाजव्यवस्थाका सन्दर्भमा सत्य, न्याय र मर्यादाको कुरा गरिरहेको हो, अनि न्याय-अन्याय, सदाचार-दुराचार आदिका विभिन्न मूल्य-सिद्धान्त र मापदण्डहरूमध्ये कुन मापदण्डलाई यहाँ स्वीकार गरिएको हो ? विद्रोहलाई वाणी दिने व्यङ्ग्यकारले कस्तो र कसका विरुद्ध त्यस्तो विद्रोह गर्ने हो अनि त्यस्तो विद्रोहपछि उसले कस्तो सामाजिक मर्यादा, शिष्टता र नैतिकता स्थापित गर्न खोजेको हो ? हाम्रा समीक्षकहरूले यस्ता अनेकौं सान्दर्भिक प्रश्नहरूको कुनै स्पष्ट उत्तर दिन सकेका छैनन् र उनीहरू केही अमूर्त आदर्शवादी व्याख्यान दिएर पन्छिएका छन् । सबै वादविवादबाट मुक्त रहेर निर्विवाद भएको विशुद्ध हास्यव्यङ्ग्य वर्गविभाजित समाजमा उपलब्ध हुन सक्दैन र त्यो एक कपोलकल्पित धारणा मात्र हो। यस्ता अस्पष्ट सोच र सिद्धान्तहरूबाट यथार्थवादी हास्यव्यङ्ग्यको विकासमा ठूलो अवरोध उत्पन्न हुने गरेको छ ।
[४]
प्राचीनकालदेखि नै नेपाली जनजीवन र संस्कृतिमा हास्यव्यङ्ग्यको महत्त्वपूर्ण स्थान रहँदै आएको छ र सामान्य नेपाली नरनारीहरू देशबाहिर हंसिला-रसिला चरित्रका रूपमा चिनिएका छन् । उनीहरूले सधैं अभाव र दरिद्रताका कारण कष्टपूर्ण रहिआएको जीवनका क्रममा आफ्नै किसिमका हाँसो ठट्टा, उखान टुक्का, नाचगान, चाडपर्व र रमिता-जात्राहरूका माध्यमबाट देशका अमानवीय शासक-प्रशासकहरूप्रति आफ्नो रोप-असन्तोष पोख्ने, समाजमा रहेका भेदभाव र थिचोमिचोप्रति कटाक्ष गर्ने, पिर-सुर्ता परेका वेला हाँसो ठट्टा गरेर मन हलुको पार्ने, आफ्ना वरिपरिका विब्ल्याँटार बेथितिहरूको कुरा झिकेर हांस्ते-हँसाउने गर्दै आएका छन्। हो, कहिलेकाहीं अशिक्षा र अज्ञानताले गर्दा उनीहरूका अभिव्यक्तिहरूमा अपरिष्कृत भाषा र अतर्कसङ्गत विचारहरू पनि भेटिन्छ तर समग्रतामा हेर्दा हास्यव्यङ्ग्यका आफ्नै मौलिक शैली र संस्कृतिहरूको रचना गर्नमा उनीहरूको योगदान उल्लेखनीय रहेको छ। अघि-अघि मुख्यतः संस्कृत साहित्यको अनुकरण गरेर रचिएको र यता विदेशी संस्कृतिबाट प्रभावित हुँदै गएको हास्यव्यङ्ग्यमन्दा, केही दोष र खोटहरू हुँदाहुँदै पनि हाम्रो आफ्नै सिर्जनात्मक सम्पत्ति भन्न सुहाउने एक मात्र हास्यव्यङ्ग्य, त्यही नेपाली लोकसाहित्यको मूलस्रोतबाट जन्मेको हास्यव्यङ्ग्य हो ।
नेपाली हास्यव्यङ्ग्य आफ्नो विकासका विभिन्न चरणहरू पार गर्दै आजको अवस्थामा आइपुगेको हो। यस क्षेत्रमा निकै सशक्त प्रतिभाहरू देखा परेका छन् र तिनका नयाँ-नयाँ कृतिहरूले त्यसलाई निरन्तर समृद्ध र सम्पन्न बनाइरहेका छन् । यता विशेष गरी २०४६ सालपछि हास्यव्यङ्ग्यसम्वन्धी पुस्तक र पत्रपत्रिकाहरूको प्रकाशन, सङ्घ-सङ्गठनहरूको स्थापना र विस्तार तथा सभा-गोष्ठी, सम्मेलन आदिका साथै रेडियो र टेलिभिजनबाट हुने नियमित कार्यक्रमहरूमार्फत् अब हास्यव्यङ्ग्य पनि दिनहुँ सहरबजार मात्र हैन ग्रामीण क्षेत्रका घरघरसम्म पुगिसकेको छ। यो एक स्वागतयोग्य र सकारात्मक उपलब्धि हो। तर अर्कोतिर त्यहां यी राम्रा उपलब्धिहरूका साथै केही अवाञ्छनीय र अस्वस्थकर प्रवृत्तिहरू पनि बढ्न थालेका देखिन्छन् ।
हास्यव्यङ्ग्यका धेरैजसो रचनाहरूको गुणस्तर अझै सन्तोषजनक नरहेका कारण तिनले सामान्य पाठक, दर्शक र श्रोताहरूलाई जीवन र जगत्का गम्भीर विषयहरूबाट मोडिदिएर हलुका हाँसखेलहरूमा रत्याइराख्ने अनि सबै विषयहरूलाई हाँसो-ठट्टामा उडाइदिएर जीवनप्रति सनकी, लहडी र लापरवाही बनाइदिने, नकारात्मक प्रवृत्तिहरूमा बल पुऱ्याइरहेको गुनासो पनि केही व्यक्तिहरू गरिरहेका छन् । बाहिरबाट हेर्दा हास्यव्यङ्ग्यको विषय नै हाँसो-हँस्यौली, खेलठट्टा, मीठो घोचपेच र रसिलो-रमाइलो सवाल-जवाफहरूको खुला अभिव्यक्ति भए पनि वास्तविकतामा यो एक सामाजिक उत्तरदायित्वको अत्यन्त गम्भीर विषय हो। साहित्यका अन्य अङ्गहरू हेरी जनमानसमा तत्कालै र प्रत्यक्ष प्रभाव पार्ने मनोरञ्जनको एक लोकप्रिय साधन भएकाले विशेषतः बालबालिका र युवायुवतीहरूसित सम्वन्धित हास्यव्यङ्ग्यका रचनाहरूको विचारपक्षमा निरन्तर ध्यान दिनु एक अत्यन्त जरुरी जाम हुन गएको छ। समाजमा मनोरञ्जनको अति आकर्षक माध्यम भएका कारण यसले सामाजिक उत्तरदायित्वका अभावमा हाम्रा सर्वसाधारण नागरिकहरूलाई सहजै बरालिदिन सक्ने र हाम्रा युवा पुस्ताका हास्यव्यङ्ग्यकारहरू पनि सस्तो लोकप्रियता र आयआर्जनका लागि छाडा बजारिया कार्यक्रमहरूतिर आकर्षित हुन सक्ने सम्भावनालाई पनि हामीले दृष्टिगत गर्ने पर्दछ ।
हाम्रो नेपाली हास्यव्यङ्ग्यमा स्पष्ट विचार र विश्वष्टिको अभाव रहेको कुरा त्यसका रचनाहरूमा पाइने दिशाहीनता र विरोधाभासहरूले पनि देखाएका छन् । यो स्थिति समष्टिगतभन्दा व्यक्तिगत सोच, खण्डित दृष्टि र सैद्धान्तिक अडानवारेको अनिश्चितताकै परिणाम हो। अतः त्यस्तो अन्योलको मनस्थितिमा रहेका लेखकहरूका रचनाहरूमा धर्म, नैतिकता, राजनीति, समाज-सुधार र अन्य महत्त्वपूर्ण राष्ट्रिय तथा सामाजिक समस्याहरूबारे विरोधाभास र ढुलमुलपना देखापर्नु स्वाभाविक कुरा नै हो। जस्तै, उदाहरणका लागि २०४६ सालपछि नेपाली राजनीतिमा पैदा भएका विसङ्गति, भ्रष्टाचार, कमिसनतन्त्र, सत्तामोह, पदलोलुपता तथा अख्तियार दुरुपयोगका प्रवृत्तिहरू र त्यसमा सलग्न हुन पुगेका कतिपय सांसद उच्च पदस्थ कर्मचारी र नेताहरूलाई हास्यव्यङ्ग्यको विषय बनाउनु र तीमध्येका प्रमुख दोषीहरूलाई उदङ्ग्याउनु-उडाउनु एकदमै उचित कुरो थियो तर त्यसलाइ कारण बनाउँदै सम्पूर्ण प्रजातान्त्रिक व्यवस्थालाई नै त्यसैमा मुछी हाँसो ठट्टाको पात्र बनाइदिनु, आफ्ना श्रोता र पाठकहरूका मनमा प्रजातन्त्रप्रति नै वितृष्णा जगाउने खालका रचनाहरू लेख्नु कतिसम्म युक्तिसङ्गत होला। यो त औंलाको एउटा सानो घाउका लागि सम्पूर्ण हातै काटिदिने भूल जस्तो भएन र ? एकातिर प्रजातन्त्रमा त्यत्रो प्रतिबद्धता देखाउनु तर अर्कोतिर त्यही रचनामा त्यसको अवमूल्यन र गिल्ला गर्नु कति ठिक होला ?
त्यसै गरी कतिपय रचनाकारहरूमा प्रचण्ड क्रान्तिकारी स्वरको आह्वान र अराजकतावादी रुझान एकै साथ पाइन्छ। यो उनको राजनीतिक चिन्तनमा रहेको अस्पष्टता र विरोधाभास हो । महिलामुक्तिका कतिपय पक्षधर लेखकहरू आफ्ना केही रचनाहरूमा उनीहरूप्रति नै कटाक्ष वा हाँसो गरिरहेका हुन्छन् ।
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest






































