साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य र विचारधाराको समस्या (१)

सबैका लागि लोकप्रिय हुन खोज्ने नीति लिंदै हाम्रा केही हास्यव्यङ्ग्यकारहरूले दुष्ट-दुर्जन र भद्र-भलादमी सबैलाई एकै ठाउँमा छ्यासमिस पारिदिएर आफ्नो हतियार चलाउन खोज्दा विचरा भद्र-भलादमीहरूलाई पनि अनाहकै चोट लागेको देखियो।

Nepal Telecom ad

गोविन्द भट्ट :

[१]

हास्यव्यङ्ग्य क्षेत्रका हाम्रा अधिकांश समीक्षकहरूले आज पनि त्यसको शिल्पविधान र विषयवस्तु, भेद-उपभेदको वर्गीकरण र मूल्याङ्कन आदि समग्र पक्षहरूमा प्राचीन आचार्यहरूकै उक्तिहरूको उद्धरण दिदै आत्मसन्तुष्टि लिइरहेको देखिन्छ। तर उनीहरूले सामाजिक-ऐतिहासिक विकासका परिप्रेक्ष्यमा र समाजशास्त्रीय दृष्टिकोणबाट नेपाली हास्यव्यङ्ग्य साहित्यको सर्वाङ्गीण लेखाजोखा गर्दै हाम्रो राष्ट्रिय सांस्कृतिक चेतनामा त्यसले पार्दै आएको सकारात्मक वा नकारात्मक प्रभाव, हास्यव्यङ्ग्य साहित्यभित्रै विभिन्न प्रवृत्तिहरूबीच चल्दै आएका अन्तर्द्वन्द्रहरू र हाम्रो हास्यव्यङ्ग्य लेखनमा रहेका सबल र दुर्बल पक्षहरूको विवेचन-विश्लेषण गरेको वा नेपाली मौलिकताले सम्पन्न हाम्रो आफ्नै हास्यव्यङ्ग्यको विकासका सम्भावनाहरूबारे चिन्तन-मनन गरेको भने बिरलै सुन्न पाइन्छ। यसरी त्यस्तो भाषिक एवं शैलीगत विधिविधानका बाह्य उपकरणहरूमा नै केन्द्रित रहेको यो मनोगतबादी एकपक्षीय यान्त्रिक समीक्षा पद्धति हाम्रा नयाँ पुस्ताका हास्यव्यङ्ग्यकारहरूको सिर्जनात्मक प्रतिभालाई उत्प्रेरित गर्न असक्षम प्रमाणित भइसकेको छ र आधुनिक युगका आग्रह एवं आवश्यकताहरूको सजीव अभिव्यक्तिका रूपमा हास्यव्यङ्ग्य साहित्यको विकास गर्नुपर्ने वर्तमान दायित्वबोधलाई पनि त्यसले कुण्ठित गरिदिएको छ।

यसरी हास्यव्यङ्ग्य साहित्यको भाषिक या शैलीगत वादविवादका गौण प्रश्नहरूमै अल्झी बसेर त्यसका उद्देश्य, प्रयोजन र विचारतत्त्वका मूल प्रश्नहरूप्रति घोर उपेक्षा माव रहिरहेको वर्तमान अवस्थामा, यो निवन्ध तिनै मूल प्रश्नहरूमा केन्द्रित भएको छ र यसले हाम्रा आधुनिक हास्यव्यङ्ग्यकार र समीक्षकहरूछेउ अब ती रूपपक्षीय विधि-विधानका जन्जालहरूमा मात्र नजेलिएर हास्यव्यङ्ग्यको सामाजिक स्रोत, समाज विकासमा त्यसको भूमिका र प्रभाव तथा त्यसको वस्तुनिष्ठ मूल्याङ्कनको समाजशास्त्रीय समीक्षा पद्धति जस्ता निर्णायक महत्त्वका विषयहरूतर्फ पनि अलिकति ध्यानाकर्षण गर्ने प्रयास गरेको छ।

[२]

साहित्यका अन्य अङ्गहरू भै हास्यव्यङ्ग्य पनि आफ्नै सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिबाट उत्पन्न हुने एक विशिष्ट कलात्मक अभिव्यक्ति हो। त्यसैले आशा आदि विशेष प्रतीकात्मक रूपमा त्यसले व्यक्त गरिरहेको हुन्छ। हामी समाज विभिन्न वर्ग र तिनका विचारहरूमा विभाजित रहेको र हाम्रा हास्यव्यायकारह पनि त्यस्तो समाजभन्दा बाहिर बस्ने प्राणीहरू नभएर त्यही भित्रका सदस्य हुन्छन र सफलता-विफलता, आशा-निराशाबाट त्यसैले उनीहरू पनि त्यसका पटना-दुर्घटना, प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट प्रभावित नभई रहन सक्दैनन र ती सबै फराहरू उनका रचनाहरूमा प्रतिबिम्बित हुने गर्दछन । समाजमा सधै नै सत्य र असत्यका बीच न्याय र अन्यायका बीच इन्द चलिरहने हुनाले त्यो कहिल्यै स्थिर रहेको हुँदैन। त्यसैले भावनाबादी दार्शनिकहरूको मान्यताविपरीत विश्व साहित्यको इतिहासले के देखाएको छ भने यस जगत्‌का अन्य कुराहरू भै हास्यव्यङ्ग्यका विषयवस्तु, शैली र उद्देश्यमा पनि निरन्तर परिवर्तन हुँदै आएको छ।

प्रत्येक युगका आ-आफ्नै आवश्यकता र आग्रहअनुसार त्यो पनि नयाँ-नयां रूपमा व्यक्त हुने गरेको छ। केही शताब्दीअघिसम्म समाजका लागि हाँसो-ठट्टाको विषय बनेका कैयन् विषयहरू आज सर्वमान्य हुन पुगेश छन् र त्यसै गरी तिनताक सर्वस्वीकृत रहेका आचार-विचारहरू आज हाम्रो नजरमा हास्यास्पद हुन पुगेको देखिन्छ। एउटै देश र समाजमा पनि त्यसको भौतिक विकास र चेतनास्तरअनुसार हास्यव्यङ्ग्यका विभिन्न मापदण्ड चलन चल्तीमा रहेका हुन्छन् । समाजको शोषक वर्गले हास्यास्पद ठानेर व्यङ्ग्य गर्ने कुनै विषय त्यही समाजको शोषित वर्गका लागि गम्भीर विषय हुन पुग्दछ। शासक वर्ग र शासित जनसमुदायले हास्यव्यङ्ग्यका आआफ्नै शास्त्र र मापदण्ड बनाएर एकअर्काका विरुद्ध प्रयोग गरिरहेका हुन्छन् । शोषक वर्गले ठाडै आफूभन्दा तल परेकाहरूको हाँसो र निन्दा गर्दछ भने शोषित वर्गले पनि आफ्नै ढांचाबाट विभिन्न घुमाउरा तरिकाहरू अपनाई शोपकहरूलाई गिज्याउने, उडाउने काम गर्दछ। आफ्नै नेपालको उदाहरण लिएर हेरौं- राणाकाल, पञ्चायतकाल र प्रजातन्त्रकालीन समाजमा पाइने हास्यव्यङ्ग्यका विषय र शैलीहरू फरक-फरक रहेका देखिन्छन् । हाम्रा केही समीक्षकहरू हास्यव्यङ्ग्यको यस परिवर्तनशील वर्गीय रूपलाई देख्न नसकेकाले नै आजको हास्यव्यङ्ग्यलाई हिजोका मापदण्डहरूले नाप्न खोज्दै त्यसको निरन्तर गतिशील रहने विचारपक्षलाई भन्दा रूढिगत प्रकृक्तिको शिल्पपक्षलाई बढी महत्त्व दिने भूल गर्न पुग्दछन् ।

हास्यव्यङ्ग्यको विषयवस्तुमा व्यक्ति विशेषदेखि समाज, राष्ट्र र सम्पूर्ण विश्वकै कामकुराहरू समावेश भएका हुन्छन् र त्यसको व्यापकता र विविधता उल्लेखनीय रहेको छ। एउटै समाज वा राष्ट्रभित्रका वर्गीय अन्तरविरोधहरू अनि त्यसै गरी अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने विभिन्न राज्य-व्यवस्थाहरूमाझको प्रतिस्पर्धा त्यसमा प्रतिविम्बित हुन सक्दछन् भन्ने कुरा आफ्नै देश वा विदेशका पत्रपत्रिकाहरू पढेर सहजै बुझ्न सकिन्छ । ययार्थमा, साहित्यका अन्य अङ्गहरूभन्दा हास्यव्यङ्ग्य नै सामाजिक तथा अन्तर्राष्ट्रिय गतिशीलतालाई प्रकट गर्ने र जनमानसलाई तत्कालै प्रभावित गर्न एक सशक्त माध्यम बनेको छ। ससाना व्यङ्ग्यचित्र, हाँसो ठट्टा र चुट्किलाहरूले घोरैमा धेरै कुरा गर्न र मानिसको मन फेरिदिन सक्दछन् । त्यसैले होला, राज्यसत्ता र प्रतिपक्ष, दुवै नै आआफ्नो पक्षबाट यसको प्रयोग गरेर एकअर्काको मनोबल घटाउन र जनमत आफ्नो पक्षमा तान्न सक्रिय रहेका हुन्छन् ।

विगतको अनुभवले बताउँछ निरङ्कुश राज्यसस्थाहरू हास्यव्यङ्ग्य रचनाप्रति विशेष सतर्क रहन्छन् र त्यसको नियन्त्रण गर्न चाहन्छन् । एकतन्त्री सरकार भएको समाजमा ती प्रतिरोध वा छद्म राजनीतिका साधन बन्छन् भने प्रजातान्त्रिक व्यवस्थामा तिनले सही आलोचनात्मक टिप्पणीहरूद्वारा सार्वजनिक महत्त्वका विषयहरूप्रति ध्यानाकर्षण गरेर सरकारलाई सुधने मौका दिएको पाइन्छ । अलोकप्रिय सरकारहरूका नीति-नियमको मर्मभेदी आलोचना र भण्डाफोर गर्नका लागि पनि हास्यव्यङ्ग्यले रामवाणको काम गरेको हुन्छ । अधिनायकवादीहरूले कठोर नियन्त्रण गरेका बेला व्यङ्ग्यलेखनमा कुनै पौराणिक वा ऐतिहासिक घटना र चरित्रको पनि उपयोग हुने गरेको छ। बेलायत, अमेरिका, फ्रान्स जस्ता औद्योगिक रूपमा विकसित प्रजातान्त्रिक राष्ट्रहरूमा त्यहाँका राजनेताहरूबारे ख्याल ठट्टा गर्नु सञ्चार माध्यमहरूको सहज दिनचर्या नै हुन्छ, तर हाम्रो जस्तो अविकसित समाजमा भने अझै त्यस्तो प्रजातान्त्रिक संस्कार विकसित भइसकेको पाइन्न। यसरी निरङ्कुश एकतन्त्री राज्यव्यवस्था र प्रजातान्त्रिक समाजमा हास्यव्यङ्ग्यका विषयवस्तु, प्रयोजन र भूमिका फरक-फरक रहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा, शीतयुद्धताक पूँजीवादी राज्यव्यवस्था र समाजवादी राज्यव्यवस्थामा विभाजित रहेका मुलुकहरूले एकअर्काका विरुद्ध सशक्त प्रचार गर्दै विश्वजनमत आकर्षित गर्ने क्रममा हास्यव्यङ्ग्यका विभिन्न विपय र प्रविधिहरू अंगालेका थिए र त्यसमा साहित्य, सङ्गीत, कला, चित्र र फिल्म जस्ता सबै विधाहरूको विशेष रूपमा विकास गरिएको थियो। त्यसै गरी द्वितीय विश्वयुद्धताका पनि हिटलर र मुसोलिनीले कब्जा जमाएका मुलुकहरूभित्र, प्रतिरोध आन्दोलनमा संलग्न भएका हास्यव्यङ्ग्य लेखक र कलाकर्मीहरूले ती घृणित खलनायकहरूका कुटिल चरित्रको भण्डाफोर गर्दै र तिनलाई हास्यव्यङ्ग्यका पात्रसरह अघि सार्दै फासिष्ट विरोधी युद्धको महासमरमा ऐतिहासिक योगदानहरू गरेका थिए र उनका ती रचनाहरू अहिलेसम्म पनि प्रेरणादायी रहिरहेका छन् ।

त्यसै गरी तत्कालीन पूर्वी जर्मनी, हङ्गेरी, पोल्यान्ड, बुल्लोरिया, रोमानिया आदि मुलुकहरूमा त्यहांको कम्प्युनिष्ट हाकिमतन्त्रको गिल्ला गर्दै रचिएका हास्यव्यङ्ग्यहरू पनि अध्ययनका लागि रोचक सामग्री हुन पुगेका छन् । अझ पोल्यान्ड र हङ्गेरीका प्रतिभा त शताब्दियौं अघिदेखि नै आफ्ना शासकहरूको खिसीट्युरी गर्ने र स्वयं आफैलाई समेत हास्यव्यङ्ग्यको तारो बनाउने कलामा विश्वविख्यात भइसकेका छन्। यिनै कारणहरूले गर्दा हास्यव्यङ्ग्यलाई विद्वान्हरूले ‘सूक्ष्म कान्ति’, ‘राजनीतिको विकल्प’ वा ‘मीठो प्रतिशोध’ जस्ता विशेषणहरूबाट व्याख्या गर्दै आएका हुन् । भिन्नाभिन्नै ऐतिहासिक पृष्ठभूमि र सांस्कृक्तिक विकासका चरणहरूमा रहेका राष्ट्रहरूमा हास्यव्यङ्ग्यका विषय र शैलीहरूमा पनि भिन्नता रहेको पाइन्छ र तिनका आफ्नै विशिष्टता र मौलिकता पनि रहेका हुन्छन् । त्यसलाई जस्ताको त्यस्तै अन्य भाषाहरूमा अनुवाद गर्नु साहै गाह्रो काम मानिन्छ ।

[३]

नेपाली साहित्यका विद्वान्हरूका अनुसार हासो हास्यव्यङ्ग्य पनि प्रारम्भिक, माध्यमिक र आधुनिक गरी तीन वटा कालहरू पार गरेर विकसित हुँदै आएको छ र आफ्नो शताब्दियों पुरानो इतिहासका विभिन्न चरणहरूमा यो कहिले उठ्ने र कहिले दबेर बस्ने गरी यहाँसम्म आइपुगेको हो। सुरुमा वीर रस र शृङ्गार रसका आडमा हुर्के-बढे पनि यो आफ्नो देश-कालका राजनीतिक-सामाजिक चेतनाबाट पनि क्रमशः प्रभावित हुदै थियो भन्ने कुरा वि.सं. १९७७ सालको मकै पर्वले नै प्रमाणित गरिदिएको छ। २००७ सालपछि बुला भए पनि २०१७ देखि २०४६ सालसम्मको निरङ्कुश पञ्चायती शासनकालताक नै यो अझै तिखारिएको र फैलिएको थियो र यता त्यसमा हास्यको भन्दा व्यङ्ग्यको मात्रा नै ज्यादा पाइन्छ। एक अर्थमा यसलाई नेपाली हास्यव्यङ्ग्य साहित्यको सामाजिक सचेतता र बौद्धिक प्रौढता नै भन्न सकिन्छ ।

हाम्रा हास्यव्यङ्ग्यकारहरूले विगतको लामो समयदेखि नै सामान्यतः हाम्रा सामाजिक, प्रशासनिक, राजनीतिक, आर्थिक, सास्कृतिक आदि विभिन्न क्षेत्रका विसङ्गतिहरूलाई उदङ्ग्याउँदै उडाउँदै एक समाजसुधारक र समीक्षकको प्रभावकारी भूमिका खेल्दै आएका छन्। नेपाली साहित्यलाई भावनावादी, परलोकवादी मार्गबाट तानेर यथार्थवादी र आलोचनात्मक यथार्थवादी दिशातिर डोऱ्याउनेतर्फ उनीहरूले थालेका प्रारम्भिक प्रयासहरूको आफ्नै ऐतिहासिक महत्त्व रहेको छ। आज पनि हाम्रा अधिकांश पाठक, श्रोता र दर्शकहरूको हाम्रा हास्यव्यङ्ग्यकारहरूप्रति के अपेक्षा रहेको छ भने उनीहरूले अझै वैचारिक स्पष्टता र प्रखरताका साथ हाम्रो समाजलाई प्रदूषित, हाम्रो जीवनलाई कलङ्ङ्कित र हाम्रो राष्ट्रलाई दुःखी, पीडित तुल्याउने सबै प्रकारका कुतत्त्व र कुरीतिहरूको निर्मम चिरफार गरून्, उनीहरूले हाम्रो मातृभूमिप्रति हेपाहा र मिचाहा व्यवहार गर्ने शक्तिहरूलाई नङ्ग्याइदिऊन्, उनीहरूले हाम्रो सामाजिक प्रगतिमा बाधा भएर उभिएका यथास्थितिवादी र प्रतिगामीहरूलाई अनि सबै प्रकारका अवसरवादी, भ्रष्टाचारी र पाखण्डीहरूलाई उदा‌ङ्गो पारिदिऊन्, उनीहरूले आफ्नै देशवासीहरूको ढिलासुस्ती, अन्धविश्वास, सामाजिक आचार-व्यवहार र अस्वस्थ आनीबानीहरूलाई पनि आफ्नो आलोचनाको निशाना बनाऊन्, उनीहरूले मुलुकका शिक्षा, उद्योग, स्वास्थ्य, वातावरण, अर्थतन्त्र आदि सार्वजनिक क्षेत्रमा पाइने अख्तियार दुरुपयोगका प्रवृत्ति र उच्च प्रशासनिक ओहदामा बसेकाहरूबाट हुने गैर जिम्मेवार काम-कुराहरूलाई उदाङ्ग्‌याउन् अनि सामान्य जनताका पीरमर्का र अन्य समस्याहरू झल्काउने हास्यव्यङ्ग्यका रचना प्रस्तुत गरेर शासकहरूलाई खबर्दारी गरून् । वास्तवमा यी सबै कुराहरू गर्नु एक सच्चा हास्यव्यङ्ग्यकारको नैतिक कर्तव्य पनि हो। भनिएको पनि छ- शासक प्रशासकहरूको त के कुरा स्वयं सर्वशक्तिमान ईश्वर पनि त्यस्ता हास्यव्यङ्ग्यकारहरूको मारबाट जोगिएर बस्न चाहन्छन्।

यता हाम्रो हास्यव्यङ्ग्यका क्षेत्रमा निकै सुधार आए पनि त्यसभित्र केही मूलभूत समस्या र नकारात्मक प्रवृत्तिहरू रहनुको कारक समस्या यथावत् कायम रहिरहेकै देखिन्छ र ती प्रमुख समस्याहरू भनेको विश्वदृष्टिकोणको समस्या नै हो। त्यसैले, सर्वप्रथम हामीले प्राथमिकताका आधारमा त्यसको समाधान गर्नेतर्फ नै तत्परता देखाउनु परेको छ। हाम्रा हास्यव्यङ्ग्यकारहरूबीच त्यसबारे स्पष्टता र दृढता आउनासाथ अन्य समस्याहरू स्वतः गौण बनेर जानेछन् र तिनको प्रहारक शक्ति पनि प्रखर हुन पुग्नेछ। तर आफ्नै विश्वदृष्टिकोणबारे अस्पष्टता वा शिथिलता रहिरहेसम्म जतिसुकै प्रतिभाशाली र कलापूर्ण भए पनि विगतका अनेकौं हास्यव्यङ्ग्यकारहरू आफ्नो व्यावसायिक उद्देश्यमा असफल नै रहेको पाइन्छ। यस सन्दर्भमा विश्वदृष्टिकोणको समस्या समाधान गर्नु भनेको निम्नलिखित तथ्यहरूलाई दृष्टिगत गरेर चल्नु हो।

१. सर्वप्रथम उनीहरूले हाल कामनलाग्ने भइसकेको पुरानो चश्माका ठाउँमा नयाँ चश्मा फेरै मैं यस ससारलाई हेर्ने आफ्नो पुरानो रूढिवादी दर्शनको चश्मा पनि फेर्ने पर्दछ। योत्रो चश्माले यथार्थ जगत्‌लाई विकृत बनाएर प्रस्तुत गरे झै सामन्ती दर्शनको चश्माले पनि संसारलाई बाङ्गोटिङ्गशे मात्र देखाउँछ। परम्परावादी, परलोकवादी विचारको चश्माबाट यस लोकलाई वा आधुनिक नेपाललाई कदापि चिन्न वा बुझ्न सकिन्न भन्ने ज्ञान नै आधारभूत महत्त्वको ज्ञान हो। ससारलाई जे-जस्तो छ त्यही रूपमा देखाइ बुझाइदिने र त्यहाँ व्यवहार गर्न सिकाउने विद्या, वैज्ञानिक समाजशास्त्रबाट मात्र मिल्न सक्दछ र त्यसअनुसार चलेर मात्र उनीहरू समाजले अपेक्षा गरेअनुसार एक सच्चा न्यायाधीश, एक सच्चा समाजसुधारक वा एक सच्चा समीक्षक हुन सक्नेछन् ।

२. एक प्रबुद्ध हास्यव्यङ्ग्यकारले समाजको एक जिम्मेवार नागरिक (बुद्धिजीवी) का रूपमा आफ्नो युगका मूल प्रवृत्तिहरू, आफ्नो मुलुकको राजनैतिक-आर्थिक सरचना र अन्य क्षेत्रका समस्याहरू, सामान्य देशवासीहरूका माग र चाहनाहरूबारे अवगत रहनै पर्दछ ।
३. उनीहरूले आफ्नो समाजका प्रगतिशील पक्ष र प्रतिगामी पक्षहरूबीच चल्ने द्वन्द्वमा जनपक्षीय शक्तिलाई नै सघाउनु उचित हुन्छ ।

४. दीर्घकालदेखि जमेर बसेको रूढिवादी सस्कृतिका दुष्प्रभावहरूले गर्दा हाम्रो समाजका महिलागण, गाउँघरका लाटासुधा किसान, सहरका ज्यामी-कामदार, पिछडिएका समुदाय, विभिन्न प्रजातिहरू शताब्दियौंदेखि सहर-बजारका अभिजात वर्ग र टाठा-वाठा बुद्धिजीवीहरूका लागि हास्यव्यङ्ग्यका पात्र हुँदै आएका छन् र हाम्रो साहित्यका विभिन्न विधाहरूमा त्यो प्रतिविम्बित पनि हुने गरेको छ। त्यसै गरी पाश्चात्य पूंजीवादी सस्कृतिबाट प्रभावित नवधनाढ्यवर्ग र आधुनिक शिक्षाप्राप्त नवपण्डितहरूले पनि आफूभन्दा बाहिरका वा तलकालाई असभ्य, असंस्कृत ठानेर हाँसो ठट्टा गर्ने र जिस्क्याउने गरेको पाइन्छ। यी सबैको केही न केही प्रभाव हाम्रा हास्यव्यङ्ग्यकारहरूमा पनि पर्न गएको छ र त्यो कतै कतै उनका रचनाहरूभित्र जानी नजानी घुसेको छ।

५. आफ्ना रचनाको लागि विषयको चयन र प्रस्तुतीकरणमा वा समाजका विभिन्न कार्यहरूबारे टीका-टिप्पणी गर्दा हाम्रा हास्यव्यङ्ग्यकारहरूले अत्यन्त होसियार हुनु आवश्यक छ। त्यसो गर्न नसकेमा स्वयं उनीहरूकै लापरबाहीले गर्दा अपराधी उम्कने र निदर्दोषले सजाय पाउने ठूलो गल्ती हुन जानेछ। उनीहरूले शोषक वर्गका अमानवीय प्रवृत्ति र दुष्कर्महरूलाई आफ्नो प्रहारको तारो बनाउनु सामजिक न्याय, मानवकल्याण र समाज-सुधारको लक्ष्यका लागि पनि अनुकूल कुरा हुन जानेछ । यसै सन्दर्भमा अर्कोतर्फ उनीहरूले हाम्रो मुलुकको अविकसित भेकहरूवाट आएका अशिक्षित नरनारीहरू लामो सामन्ती शोषण र दमनले गर्दा नै त्यस्ता ‘पाखे’ ‘कांठे’ र ‘पछौटे’ हुन पुगेका हुन् भन्ने यथार्थलाई बुझ्दै उनीहरूप्रति सहानुभूति प्रकट गर्नुपर्दछ। हो, हाम्रा ती अविकसित र अशिक्षित नरनारीहरूमा पनि प्रशस्त दोष र दुर्गुणहरू, अशुद्ध भाषा र अड्वाङ्गे आनीबानीहरू पाइन्छन् र झट्ट हेर्दा वा सुन्दा ती हास्यास्पद पनि लाग्छन्, तर हामीले कठोर व्यङ्ग्य वा अपमानजनक हाँसो ठट्टा नगरेर शिक्षाजनक हास्यरचनाहरूद्वारा सरल, सुबोध शैलीमा र भाषामा उनीहरूका बीच सुधारको चेतना फिंजाउनु युक्तिसङ्गत कुरा हुनेछ ।

६. हास्यव्यङ्ग्यकारको मुख्य कर्तव्य हाँस्नु, हँसाउनु र छेडपेचमात्र गर्नु होइन र उसको त्यस व्यवसायसित सामाजिक जीवनका अरू कैयन् महत्त्वपूर्ण पाटाहरू पनि गाँसिएर रहेका छन् । हाम्रो समाजभित्र र बाहिर सत्य र असत्य, न्याय र अन्यायका बीच रातदिन चलिरहने द्वन्दमा ती दुई वटाको भेद-विभेद गर्न नसकी सबैलाई हँसाउने रिझाउने र सबैका लागि लोकप्रिय हुन खोज्ने नीति लिंदै हाम्रा केही हास्यव्यङ्ग्यकारहरूले दुष्ट-दुर्जन र भद्र-भलादमी सबैलाई एकै ठाउँमा छ्यासमिस पारिदिएर आफ्नो हतियार चलाउन खोज्दा विचरा भद्र-भलादमीहरूलाई पनि अनाहकै चोट लागेको देखियो। यसरी सोझा निमुखा नरनारीहरू पनि गहुँसँगै घुनसरि पिसिन पुगेका छन् र त्यसबाट भारी अन्याय हुन गएको छ। आफ्नो हास्यव्यङ्ग्य निष्पक्ष छ, त्यो सबैको मनोरन्जन र शिक्षाका लागि हो भन्ने हास्यव्यङ्ग्यकारहरू कि त पाखण्डी हुन् कि अज्ञानी। दुष्ट-दुर्जन र साधु-सज्जन यी दुई फ्याकहरूमा बाँडिएको यस संसारमा त्यस्तो ‘निष्पक्ष’ वा ‘तटस्थ’ हास्यव्यङ्ग्य आफैमा एक विरोधाभास मात्र हो र त्यो समाजको वास्तविकतासित मिल्न नसक्ने कुरा पनि हो।

केही हास्यव्यङ्ग्य स्वस्थकर हुन्छन् भने केही अस्वस्थकर हुन्छन् । पहिलोबाट समाजको हितकल्याण र दोस्रोबाट कुभलो बाहेक अरू केही हुन सक्दैन। दिनहुँ हामीले देखिरहेको एक सामान्य सत्य पनि हो भने दुष्टदुर्जनहरूप्रति व्यङ्ग्य गर्ने रचना सुनेर सज्जनहरू रमाउँछन् भने सज्जनहरूलाई उल्तु बनाएर लेखिएका निबन्धहरू दुर्जनहरूलाई सारै स्वादिलो लाग्दछ। त्यसैले, उसले कसलाई हँसाउन खोजेको हो ? कसलाई व्यङ्ग्यको पात्र बनाइएको हो ? किन उसले अरू विषय वा पात्रहरू नरोजेर त्यही विषय वा पात्र रोज्यो ? यस्तो छनोटमा उसले कहीं भूल त गरिरहेको छैन? उसले नजानेर त्यस्तो पात्र छानेको हो वा जानीजानी नै त्यस्तो गरेको हो ? के उसका पात्र र विषयहरू सामाजिक यथार्थसित मेल खान्छन् ? आदि-आदि प्रश्नहरू वर्तमान सामाजिक सरचना, न्याय-अन्याय र सत्य-असत्यसम्बन्धी नैतिक एवं ज्ञानमीमासीय धारणा तथा हामीले बदल्न वा बनाउन खोजेको नयाँ संसारको परिकल्पना जस्ता विषयहरूसित सोझै जोडिएका प्रश्न हुन् र ती हाम्रो विश्वदृष्टिकोणका अभिव्यक्ति पनि हुन् । यदाकदा के देखिएको छ भने अज्ञानतावश वा अपर्याप्त अध्ययन-अनुसन्धानका कारण कतिपय हास्यव्यङ्ग्यकारहरूले यस्तो विषय चयन गर्ने कुरामा भयङ्कर भूल गरेका छन् र त्यसबाट समाजलाई त हानि भएकै छ अझ उनीहरू स्वयंलाई पनि ठूलो आघात पुगेको छ। लहड र सनकका भरमा कसैलाई आफ्नो प्रहारको तारो बनाउन पाइन्न।

७. नेपाली हास्यव्यङ्ग्य साहित्यझै त्यसको समीक्षाको क्षेत्र पनि अनेकौं वैचारिक अस्पष्टताहरूमा अलमलिइरहेको देखिन्छ । हाम्रा विश्वविद्यालयका प्राध्यापक र अन्य विद्वान्हरूको अभिरुचि हास्यव्यङ्ग्यका वैचारिक सारतत्त्व र सामाजिक चरित्र जस्ता आधारभूत विषयहरूमाभन्दा त्यसका रूपविधान, भाषाशैली र शब्दार्थहरूको भेदाभेदका रौचिरा विवरणहरूमा नै केन्द्रित हुने गरेको छ। त्यसै गरी हास्यव्यङ्ग्यलाई शारीरिक तथा मनोवैज्ञानिक प्रक्रियाहरूमा मात्र सीमित राखेर व्याख्या गर्ने चिन्तनप्रणाली पनि आजको समाजविज्ञानबाट अस्वीकृत भइसकेको छ ।

क्रमश:

०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x