साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूतका भिनाजु र भयानक वामपन्थी

आज एक छिन राम्ररी भेटेर कुरा गर्न पाएकोमा ज्यादै खुशी लाग्यो । अब फेरिफेरि पनि भेटिरहनुपर्दछ ।

Nepal Telecom ad

गोविन्द भट्ट :

विद्यार्थीकालताकै एक दिन हाम्रो गृहनगरको शारदा पुस्तकालयमा रहेका नेपाली पुस्तकहरू पल्टाउँदै जाँदा एउटा किताबको पहिलो पृष्ठमै भूतको भिनाजु भन्ने लेखकको नाउँ पढेर म झसङ्ङ भएको थिएँ । लेखक र कविहरूले व्यक्तिगत रुचि वा स्वभावअनुसार कुनै राम्रो शब्द छानेर आफ्नो उपनाम राख्ने चलन त थाहा थियो तर पहिलोपल्ट सुन्दा वा पढ्दा नैं दिउसै जीउ सिरिङ्ङ हुने नाउँ पनि राखिँदो रहेछ भन्ने कुरा मैले कहिल्यै सोचेको थिइनँ । त्यस दिन धेरै बेरसम्म कस्तो होला त्यो प्राणी भूतको पनि भिनाजु, त्यो जीव अवश्य पनि भूतभन्दा बाठो र बलियो वा त्यसो नभए कम्तीमा भूतजत्तिकै औतारी पुरुष त हुनै पर्दछ, त्यो कहाँ बस्छ होला, त्यो भूतकै अदृश्य त पक्कै छैन, कुनै दिन त्यससित भेट भयो भने सातो जाने त होइन, भनेजस्ता थरिथरिका कुराहरू मेरा मनमा खेलेका थिए ।

संयोगकै कुरा भन्नुपर्दछ, त्यसरी पहिलोपटक ’भूतको भिनाजु’ भन्ने नाउँ सुन्दा म अचम्म मानेर झस्केझैं, त्यस घटनाको दशकौंपछि एउटा साहित्यिक समारोहमा पहिलोपटक मलाई देख्दा श्री वासुदेव शर्मा लुइँटेलले पनि निकै खुलदुलीसाथ त्यो भयापुल्ले दाह्रीवाल जीवधारीको परेछ भनेर मेरा पुराना मित्र तथा ‘अभिव्यक्ति’ दुई महिनेका सम्पादक श्री नगेन्द्रराज शर्मासित सोधपूछ गर्नुभएको रहेछ । त्यसको केही समयपछि ’अभिव्यक्ति’ को नयाँ अंक पढेर मलाई त्यो कुरा थाहा भएको थियो । तर त्यस दिन हूलमूलमा हाम्रो देखादेख मात्र भयो, परिचय हुन पाएको थिएन ।

काठमाडौंमा स्थायी रूपबाट बस्न थालेपछि मैले श्री लुइँटेललाई नजिकैबाट चिन्ने-जान्ने श्री श्यामप्रसाद शर्मा, श्री जनकप्रसाद हुमागाईं, श्री कुलमानसिंह भण्डारी, श्री रोचक घिमिरे, श्री कृष्णप्रसाद पराजुली र श्री शंकरविक्रम शाहजस्ता लेखक-कविहरू, वहाँका पुराना विद्यार्थी र सहकर्मीहरूबाट वहाँको सरलता र सज्जनता, स्वाभिमानी चरित्र र सङ्घर्षशील जीवन, नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटको चौतर्फी विकासका लागि वहाँले गर्नुभएको सिर्जनात्मक र आर्थिक योगदानबारे निकै बयान- बखान सुनाइसकेका हुनाले वहाँलाई भेट्ने पुरानो इच्छा अब दबाउन नसकेर पहिलो फोनबाटै समय निर्धारित एक दिन म वहाँको घर खोज्दै नैकाप, ढुङ्गाअड्डा पुगेको थिए ।

वहाँलाई भेटेको केही छिनपछि नै मलाई अनुभव हुन थाल्यो, बाहिरबाट झट्ट हेर्दा कुनै खास विशेषता नभएका, बाटामा हिँड्ने अन्य सामान्य नेपालीहरूजस्तो श्री लुइँटेल वृद्धावस्थामा पनि मानसिक र शारीरिक रूपबाट नयाँ पुस्ताका युवाहरूभन्दा कम तेजिला, स्फूर्तिला र रसिला हुनुहुन्नथ्यो । त्यसै गरी मैले अरूहरूबाट सुनेजस्तै वहाँ निश्छल, शान्त, सहज र सहृदय प्रकृतिका अनि आफ्नो राष्ट्र र समाजबारे चिन्तनशील रहने एक प्रबुद्ध व्यक्तित्व पनि हुनुहँदो रहेछ ।

त्यस दिन म त्यहाँ झण्डै चार घण्टा बसेर ती गृहस्थ-ज्ञानीबाट प्रशस्त ज्ञानगुनका कुराहरू लिँदै आत्मसन्तुष्टिका साथ आफ्नो डेरामा फर्केको थिएँ । त्यस घरमा पहिलोपल्ट पुगेको मजस्तो अपरिचित व्यक्तिलाई त्यहाँको आत्मीयतापूणर् व्यवहारका कारण म पनि श्री लुइँटेल परिवारकै एक सदस्यजस्तो भइसकेको अनुभूति गर्न धेरै बेर लागेको थिएन । यथार्थमा एक सच्चा साहित्यकार र तिनका परिवारमा हुनुपर्ने र तिनबाट हामीले अपेक्षा गर्ने आचार-विचार पनि त्यही नै हो जस्तो लाग्छ। यस अर्थमा पनि त्यो परिवार अपेक्षाकृत बढी परिस्कृत र अग्रणी रहेको देखेर म निकै प्रभावित भएको थिएँ । यस विषयबारे शुरूदेखि नै श्री लुईटेलले आफ्ना सन्तानलाई विशेष रूपबाट नैतिक आदर्श र आचरणको शिक्षा-दीक्षा दिदै आउनुभएको रहेछ भन्ने कुरा वहाँकी सुपुत्री डा. सुषमा आचार्यका रचनाबाट पनि थाहा पाउन सकिन्छ ।

यस्ता साना-ठूला अनेकौं प्रसंगबाहेक वहाँसित गाँसिएको एउटा अर्को महत्वपूणर् घटना पनि रोचकताका दृष्टिबाट विशेष उल्लेखनीय रहेको छ ।

यो २०४१ सालको कुरा हो। नेपाली वाङ्मयका सुप्रसिद्ध निबन्धकार अन्वेषक एवं भाषासेवी श्री कमल दीक्षित तिनताका आफ्नो नयाँ अनुसन्धानात्मक कृति ’चन्द्रज्योति’ को प्रकाशन गर्ने तरखरमा जुट्नु भएको थियो र वहाँले मलाई यस पुस्तकको भूमिका लेखिदिन आग्रह गर्नुभएकाले वहाँको आग्रह टार्न नसकी मलाई पनि केही समय त्यसमा व्यस्त हुनुपरेको थियो । त्यसै सिलसिलामा एक दिन बिहानै श्री दीक्षितले फोनबाट दुई घण्टापछि मलाई भेट्न आउने पूर्व सूचना दिनुभएकाले म वहाँको प्रतीक्षामा थिएँ, वहाँ भनेको टाइममै आइपुग्नुभयो । वहाँका साथमा नेपाली साहित्यका वरिष्ठ हास्यव्यङ्ग्यकार श्री वासुदेव शर्मा लुइँटेल पनि आउनुभएको रहेछ ।

मलाई श्री दीक्षित आउने सूचना त पहिले नै मिलेको थियो तर वहाँका सँगसँगै श्री लुइँटेल पनि आउनुहोला भनेर मैले एकरत्ती अनुमान गर्न सकेको थिइनँ । त्यसैले पनि त्यो अवसर मेरा लागि भाग्योदय चिट्ठा परेको जस्तो भएको थियो । श्री दीक्षितसित त्यसअघि पनि फोनमा संक्षिप्त कुराकानी, सामान्य भेटघाट वा परिचय भइसकेको थियो तर श्री लुइँटेलसित भने कहिल्यै त्यस्तो साइत जुर्न पाएको थिएन । त्यसरी अप्रत्यक्ष रूपमा पहिलोपटक वहाँलाई मेरै घरमा ल्याएर चिनापर्ची गराइदिनुभएकामा मैले श्री दीक्षितलाई धन्यवाद पनि दिएको थिएँ। विहानका बेला एकैपटक दुई प्रसिद्ध साहित्यसेवीहरूलाई त्यसरी स्वागत गर्ने सौभाग्य सबैले कहाँ पाउँछन् र !

त्यस दिन मकहाँ एक-डेढ घण्टाजति बस्दा हाम्राबीच विशेषतः श्री दीक्षितको प्रकाशोन्मुख कृतिका ऐतिहासिक पक्षहरूबारे चर्चा हुनुका साथै नेपाली साहित्यमा देखा परेका तत्कालीन प्रवृत्ति, भाषा व्याकरणका समस्या, पुराना र नयाँ पुस्ताका लेखहरूबीचको सम्बन्धजस्ता अन्य विषयहरूमा पनि सामान्य कुराहरू भएका थिए। त्यस भेटवार्ताताका ती दुई प्रतिष्ठित स्रष्टाहरूको विद्वत्ता र विनम्रता, तथा मप्रतिको स्नेहालु व्यवहारले मेरा मनमा गहिरो छाप परेको थियो । त्यस बैठकमा धेरैजसो मौन बसेर हाम्रा कुराहरू सुनिरहनुभएका श्री लुइँटेलले बीचबीचमा संक्षिप्त टिप्पणीहरू गर्दै मसितको त्यो पहिलो औपचारिक भेट भएको कारण मेरो पुख्यौली थलो, घरपरिवार, शिक्षादीक्षा, साहित्यिक र अन्य अभिरुचिहरूबारे नै बढी जिज्ञासाहरू राखिरहनुभयो र अनुकूल समय हेरेर अलि लामै समयसम्म बस्ने गरी आफ्नो घरमा आउने निमन्त्रणा पनि दिनुभएको थियो ।

अन्त्यमा कोठाबाट निस्कँदा निस्कदै आफ्नो विनोदप्रेमी स्वभावका लागि चर्चित श्री लुइँटेलले एउटा मजेदार टिप्पणी गर्नुभयो । जसबाट त्यो भेटघाट अझै रमाइलो र स्वादिलो हुन पुगेको थियो । त्यस बेला वहाँका ती वाक्यहरूलाई रेकर्ड गरेर राख्न नपाइएकाले यहाँ जस्ताको तस्तै उद्धृत गर्न नसके पनि त्यसको भावार्थ भने म अहिलेसम्म पनि सम्झिरहेको छु । वहाँले मतिर फर्केर ठट्यौली पारामा विस्तारै भन्नुभयो- बाहिरतिर तपाईं भयानक वामपन्थी (कम्युनिष्ट) हो भन्ने निकै हल्ला छ नि ! त्यस्ता भयंकर मानिससित एक्लै भेट्दा असुरक्षा हुन सक्दछ । त्यसैले आज हामी दुई जना यहां एकसाथ आएका हौं। तर त्यो हल्ला मात्र रहेछ…. यो नेपाल देश यस्तै छ … तपाईंलाई थाहै छ … । वहाँको यो चुटकिला सुनेर मैले पनि ख्यालठट्टाकै पारामा भनेको थिएँ- यहाँले मलाई एक छिन राम्ररी हेरेर भन्नुपर्यो, के म साँच्चि नै ज्यानमारा र डरलाग्दो जन्तु जस्तो छु ? मसित डराइरहनुपर्दैन म पनि यहाँहरूजस्तै मानव हुँ । मकहाँ जहिले आउनुभए पनि स्वागत छ । यहाँबाट सुरक्षित घर फर्किने ग्यारेण्टीको सहीछाप गर्न म तयार छु । हामीभन्दा अघि हिँडिरहनुभएका श्री दीक्षितले हामी दुईबीच भएको ठट्टा सुनेर एक छिन रोकिएर भन्नुभयो- तपाई त हामी दुवैले सोचेभन्दा पनि बढी सज्जन र सुशील मान्छे हुनुहुँदो रहेछ । आज एक छिन राम्ररी भेटेर कुरा गर्न पाएकोमा ज्यादै खुशी लाग्यो । अब फेरिफेरि पनि भेटिरहनुपर्दछ । श्री लुइँटेलले मुसुक्क हाँसेर त्यसमा सही थाप्दै विस्तारै मुण्टो हल्लाइरहनु भएको थियो ।

हुन पनि, भर्खरै माओवादी सांस्कृतिक क्रान्तिताकाको चीनमा केही वर्ष नेपाली भाषा पढाएर फर्केको मजस्तो युवालेखक हल्लै हल्लाको राजधानी काठमाडौ र त्यसका गफाडीहरूको बाङ्गो नजरमा भयङ्कर वामपन्थी देखिनु कुनै अनौठो कुरो पनि थिएन र त्यसैको लहैलहैमा लागेर भारतको एक सुप्रसिद्ध पत्रिका (दिनमान) ले त म चीनमा गुरिल्ला तालीम लिन गएको भन्ने खबरसम्म छापेको रहेछ । त्यस्तो हल्ला र हावादारी कुरातर्फ संकेत गरेर नै श्री लुइटेलले यस्तो ख्यालठट्टा गर्नुभएको होला !

यसरी त्यो दिन आखिरसम्म हाँस्दै रमाइलो गर्दै फेरि भेट्ने वाचा गरेर हामी छुट्टिएका थियौँ । यसपछि पनि निरन्तर श्री भूतका भिनाजुबाट यस भयानक वामपन्थीले सद्भाव र शुभेच्छाहरू पाई नै रह्यो ।

०००
वासुदेव लुइँटेल स्मृतिग्रन्थ, २०६८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x