हरि खनालसाँढेको मृत्यु
साँढेको मासु खान लालायित स्यालहरू जम्मा भइसकेका थिए । एउटा स्यालले साँढेको अघिल्तिर गएर भनिदियो 'अब तिमीलाई ब्वाँसोले काम पुर्यायो । तिमी मर्दैछौ ।'

हरि खनाल :
वनमा एउटा मोटोघाटो साँढे थियो । त्यो वनमा डुक्रिएपछि सबै जनावर काँप्थे । उसले धेरैपटक बाघ र सिंहलाई पनि हराइसकेकाले उसमाथि आक्रमण गर्ने हिम्मत कसैको थिएन । साँढेको मासु देखेर स्यालहरू लोभिएका थिए । एउटा स्यालले ब्वाँसोलाई भेट्यो र भन्यो ‘ब्वाँसा दाजु मख्ख पारेर सिध्याउने कलामा तिमी निपुण छौ त्यो मोटो साँढे मारेर खाने उपाय गरौँ न । हामी त्यसको मासु चाखौँला मात्र । धेरै दिनसम्म तिमी नै खाउला ।’
स्यालले प्रशंसा गरेपछि ब्वाँसो मख्ख पर्यो । उसले साँढेसँग मित्रताको प्रस्ताव गर्यो ।
‘तिमी ब्वाँसाहरूसँग के साथी बन्नु तिमीहरू त कन्याउँछौ कन्याउँछौ अनि उधिनेर खान्छौ रे ।’ साँढेले अविश्वास गर्यो ।
‘हैन हैन म त्यस्तो छैन । विश्वास लाग्दैन भने म जहिल्यै तपाईँको शरीरलाई अघिल्तिरबाट कन्याइदिने छु ।’ ब्वाँसोले प्रस्ताव गर्यो ।
‘हुन त हो । अघिल्तिर मात्र कन्याउन दिएँ भने यसको जोर चल्दैन । दायाँबायाँ गर्यो भने हानेर मिति पुर्याउँला ।’ साँढेले सोच्यो र ससर्त मित्रता स्वीकार गर्यो । ब्वाँसोले दिनमा एकपटक साँढेको अघिल्लो भाग कन्याउँदै मसाज गरिदिन्थ्यो । साँढेलाई खुब मजा आउँथ्यो ।
यसो गर्दागर्दै धेरै दिन बित्यो । साँढेले सोच्यो ‘यो बदमास छैन । यसलाई विश्वास गर्दा हुन्छ । आज माथि ढाड पनि कन्याउन लगाउँछु ।’ साँढेले ब्वाँसालाई ढाडसम्म जान दियो । अब ब्वाँसोले अगाडिदेखि ढाडसम्म कन्याउने काम पायो । एक दिन साँढेले सोच्यो ‘यो अति नै विश्वासिलो छ । आफ्नो पछिल्तिर झन चिलाएको छ । कन्याओस् ।’ साँढेले पछिल्तिर पनि जान दियो । केही दिनसम्म त्यो प्रक्रिया जारी भयो ।
एक दिन ब्वाँसोले पछिल्तिर बसेर किर्ना टिप्दै कन्याउँदै गर्दा साँढेलाई खुब आनन्द आयो । ऊ जमिनमा लम्पसार परेर मस्त सुत्यो । ब्वाँसोले खुबै कन्यायो र साँढेको मलद्वारभित्र नङ्ग्रा पुर्यायो । साँढेले हलचल नगरेपछि साँढेको ठूलो आन्द्रा नै बाहिर निकाल्यो ।
‘साथी ! के भयो मलाई दुख्दैछ त ?’ ब्वाँसोले सोध्यो ।
‘जुकाले टोकेको ठाउँमा पनि कन्याउन पुगेछु । केही छैन केहीबेरपछि ठीक हुन्छ ।’ ब्वाँसोले जबाफ दियो ।
‘हैन मलाई त अझै दुख्दैछ त ।’ साँढेले भन्यो ।
‘पर्खनुहोस् म जडिबूटी ल्याएर लगाइदिन्छु ।’ ब्वाँसोले भन्यो र झाडीमा गएर लुक्यो ।
साँढेको मासु खान लालायित स्यालहरू जम्मा भइसकेका थिए । एउटा स्यालले साँढेको अघिल्तिर गएर भनिदियो ‘अब तिमीलाई ब्वाँसोले काम पुर्यायो । तिमी मर्दैछौ ।’
साँढे उठन खोज्यो सकेन । उसले भन्यो ‘ब्वाँसोले त पक्कै केही गरेको हैन बरू तिमीहरूले केही गर्यौ कि क्या हो ।’
साँढेको सुन्दर दुर्भाग्य ब्वाँसोले मार्यो भन्ने पनि नजानी मर्यो ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































