साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

लेखकले हाम्रा सम्पूर्ण क्रियाकलापहरू भोलिवादी भएको जनाउँदै भोलिवाद हाम्रो संस्कृति, दर्शन, राजनीति, प्रशासन र सामाजिक व्यवहार नै बनिसकेको हुनाले हामी विश्वमा सबभन्दा बढी पिछडिएका हौँ भनेर हाम्रो दुर्बलता वा कमजोरीलाई उदाङ्गो पारेका छन् ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

१. सामान्य परिचय
नेपाली साहित्यको निबन्ध विधामा सशक्त हास्यव्यङ्ग्यको सिर्जनामा केन्द्रित रहेका विशिष्ट हास्यव्यङ्ग्यकार भैरव अर्याल (विस १९९३-२०३३) का मुख्यतः चार वटा हास्यव्यङ्ग्यात्मक निबन्धसङग्रहहरू प्रकाशित छन् : काउकुती (२०२१), जय भुँडी (२०२२), गलबन्दी (२०२८) र इतिश्री (२०३३) । उनको हास्यव्यङ्ग्यका बारेमा र अन्य विषयमा गरिएका समीक्षा र टिप्पणीले भरिएको निबन्धसङ्ग्रहका रूपमा दशऔतार (२०३३) पनि प्रकाशित छ । उनले कविता-काव्य, कथा, प्रबन्ध आदिमा पनि कलम चलाएका छन् तापनि उनी सर्वाधिक चर्चित र सफल हास्यव्यङ्ग्यका क्षेत्रमा नै रहेका छन् । उनी नेपाली साहित्यमा हास्यव्यङ्ग्यलाई लोकप्रिय बनाउने एक विशिष्ट प्रतिभा हुन् । उनका उच्चकोटिका लोकप्रिय हास्यव्यङ्ग्यहरूमध्येकै एक हो जय भोलि । निबन्ध । यसमा व्यक्त भएको व्यङ्ग्यको स्थितिलाई विश्लेषण गरेर देखाउनु प्रस्तुत लेखको उद्देश्य हो ।

२. हास्यव्यङ्ग्यको चिनारी
हास्यव्यङ्ग्यले समाज वा व्यक्तिका कमजोरी, दोष, मूर्खता, भूल, देखावटीपना, ढोङ आदिको हँसाउने र घोचपेच गर्ने भाषा र शैलीमा वर्णन गर्छ अनि समाज र व्यक्तिलाई सुधार्ने उद्देश्य राख्छ । यसले समाज वा व्यक्तिका चरित्र र व्यवहारमा पाइने असङ्गति, विरोधाभास वा आडम्बरलाई यथार्थ रूपमा खोतल्ने र न‌ङ्ग्याउने काम वरिपरिका मानिसहरूका जस्ता लाग्ने गतिविधि, क्रियाकलाप, बानीबेहोरा, गर्छ । त्यसैले यो रोचक र प्रेरक हुन्छ । यसमा हाम्रै समाज वा हाम्र बोलीचाली, चालढाल, रङ्गढङ्ग, लवाइखवाइ, चरित्र, व्यवहार आदिलाई देखाइन्छ । वास्तवमा हास्यव्यङग्य समाज वा व्यक्तिका आदर्श र यथार्थ सूक्ष्म रूपले केलाइन्छ र हामीलाई तिनमा नमिलेका पक्षहरू झलझली स्थितिबीच भेटिने विरोध वा विसङ्गतिलाई घुमाउरो किसिमले प्रस्तुत गरिएको मनोरञ्जनात्मक वा बौद्धिक (वैचारिक) अभिव्यक्ति हो ।

यसमा हामीलाई हाँस्न क्तक्ती जगाउने र छेड हान्न सघाउने शब्द, पदावली, वाक्य, उखानटुक्का, प्रसङग सन्दर्भ, घटना, चरित्र वा पात्र, वेशभूषा वा पहिरन, हाउभाउ वा अङ्ग सञ्चालन, बोलीचालीमा देखिने भकभकेपन, तोत्याङ्ग्रे वा गोज्याङ्ग्रेपन, अनौठा अनौठा थेगो, हाँसो आदिलाई अस्वाभाविक पाराले समावेश गरिएको हुन्छ । त्यसैले हास्यव्यङग्यको सिर्जनामा साहित्यकारहरूले मौलिकतासहितको विसङ्गत वा विकृत प्रकृतिका विशिष्ट भाव (विषय वा घटना, दृश्य), चरित्र वा पात्र, भाषा तथा शैलीको छनोट गर्छन् । ती कुराहरू पढ्दा, सुन्दा वा हेर्दा हामी साँच्चै आनन्ददायक र प्रभावकारी अनुभूति तथा महत्त्वपूर्ण सन्देश प्राप्त गर्न सक्छौ ।

३. निबन्धको विश्लेषण
जय भोलि ! हास्य कम र व्यङ्ग्य ज्यादा भएको रचना हो । यसमा नेपाली समाजमा उहिल्यैदेखि चलिआएको भोलिवादी प्रवृत्तिको चोटिलो वर्णन छ । मानिसका कुप्रवृत्ति र सामाजिक कुरीतिहरूको पोल खोल्दै वर्तमान अव्यवस्थित समाजभित्र बढेका विकृतिमा अति स्वार्थी र विवेकहीन बन्दै गएको मान्छेको नीचतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबाट गहन रूपले समेटी शिष्ट भाषा र मिष्ट शैलीमा मर्मस्पर्शी बनाएर तीव्र व्यङ्ग्य प्रकट गर्न सक्ने अपूर्व विशेषता भैरव अर्यालमा पाइन्छ । यस्तै विशेषतामा आधारित प्रस्तुत निबन्धमा हास्यव्यङ्ग्यकार भैरव अर्यालले नेपाली समाजका विविध क्षेत्रमा देखिएका विसङ्गतिको उद्घाटन गरेका छन् ।

आजभन्दा भोलि ज्यादै जनप्रिय छ भन्दै सुरूमै अर्यालले हाम्रो भोलिप्रति रहेको अति आकर्षणमाथि कटाक्ष गरेका छन् । मानिस भोलिको भक्त भएको हनाले हामी नेपालीका मुखमा रामनामझै भोलि शब्द सधै झुन्डिरहेको हुन्छ । त्यसैले हामी नेपालीका लागि आजको काम भोलिलाई थाती राख्नु कहिल्यै छोड्न नसकिने संस्कृतिजस्तै बनेको ।

हामी नेपालीलाई भोलिका पछि लाग्न बाध्य पार्ने हाम्रै पूर्वीय संस्कृति वा दर्शन हो भन्ने मर्मलाई अर्यालले स्पष्टसित उल्लेख पनि गरेका छन् : पूर्वीय दर्शनको सबैभन्दा ठूलो विशेषता हो भोलिवाद ।” हाम्रो दर्शनले भोलिको निम्ति आजै काम गर भने पनि हामीले बढी जान्ने भएर भोलिको काम आज किन गर्नुप-यो भनी भोलिभोलि भनेर आजको काम पछि सार्ने आधुनिक भोलिवादको जन्म दिएर हामी त्यसैका अनुयायी बनेका छौँ ।

यसरी हामी आफ्नै संस्कृतिले सिकाएको कुराहरू पालन गर्नमा पनि बेइमानी गरिरहने विवेकहीन ठहरिएका छौं भन्ने स‌ङ्केत गरेर अर्यालले हाम्रो खराब बानीमाथि व्यङ्ग्य प्रहार गरेका छन् किनकि हामी आफ्नै संस्कृतिको उल्टो हिँडेर कुसंस्कारको विकासमा लागिरहेका छौ। यो हाम्रो भूल वा मूर्खताप्रदर्शन मात्र हो जसले हामीलाई अल्छी वा कामचोरसिवाय बनाएको छैन । यसमा हाम्रो सुसंस्कृतिलाई भुलेर कुसंस्कृति भित्र्याउने खराब मनोवृत्ति वा स्वभावप्रति उपहास गर्दै व्यङ्ग्य प्रस्तुत गरिएको छ । हामी ज्यादा बाठो हुन खोज्दा झन् मूर्ख हुनपुगेका छौ भन्दै हाम्रो हाँसो उडाएका हुन् लेखकले ।

हामी नेपालीहरूको इतिहासका केही पात्रहरूले नै हामीलाई भोलिवादी बनाएका हुन् भन्ने ठहर अर्यालको छ । नेपालको इतिहासमा आदिकवि भानुभक्तले भोलि भोलि’ भन्ने कविता लेखेर राणाशासकहरूलाई तिखो छेड हानेको समयभन्दा पहिलेदेखि नै नेपालमा भोलिवादले आसन जमाइ सकेको थियो । भोलिवादी सिद्धान्त जन्माउनेहरूमा निसाफको ठूलो घरमा बसेर बेहिसाब गर्न खोज्ने उहिलेका जरसाहेब, काजीसाहेब, हजुरियासाहेब जस्तै कुनै फर्सीटाउके साहेबसाहेबनीहरू’ र ‘सरस्वतीको तानाबाना बोकेर दक्षिणा फकाउँदै दुनियाँ छकाउने गुरूजी, पण्डितजी, वैद्यजी इत्यादि जीहरूमध्ये नै कुनै थिए भन्ने लाग्छ लेखकलाई ।

यसबाट लेखक नेपालमा र नेपालीका मस्तिष्कमा भोलिवादको विषालु प्रवृत्ति घुसाउनेहरू शासन र प्रशासनमा बसेर जनतामाथि हुकुम चलाउनेहरू अनि पढेलेखेका टाठाबाठाहरूकै छलकपटपूर्ण चालबाजीहरू नै हुन् भन्ने पोल खोल्छन् । यसै क्रममा लेखकले राणाकाल- को आगलागीको एउटा प्रसङ्गलाई अघि सारेर तत्कालीन राणाशासक र तिनका प्रशासकहरू कति नीच, विवेकहीन, पाखण्डी, गैरजिम्मेवार, संवेदनाहीन, भ्रष्ट, स्त्रीलम्पट र मोजमस्तीमा डुब्ने खालका थिए अनि कसरी तत्काल गर्नपर्ने कामलाई भोलिभोलि भनेर टार्न र जनताका कामलाई मतलब नै नगरी तिनलाई सङ्कटमा पार्न आनन्द मान्थे भन्ने कुरा देखाएका छन् । यस हास्यजनक शैलीमा प्रस्तुत मार्मिक राणाकालीन सन्दर्भले एकातिर तत्कालीन शासन र प्रशासनका अव्यवस्था, बेथिति, त्रास, चाकरीतन्त्र, ढिलासुस्ती, स्वेच्छाचारिता, भोलिवादी प्रवृत्ति, तानाशाहीपना, अनैतिक, अमानवीय र अन्यायपूर्ण व्यवहार, निरीह र निर्बल तथा हकअधिकारविहीन नेपाली जनताको दयनीय अवस्थाको तस्बिर हाम्रा सामु उपस्थित गरेको छ । यहाँ प्रशासनिक र राजनीतिक क्षेत्रका विसङ्गति र विकृतिप्रतिको व्यङ्ग्य प्रकट भएको छ ।

खासमा राणाकालीन पुरानो समयमा मात्र होइन प्रजातन्त्र आइसकेको र टेलिफोन आदि प्रविधिको विकास भइसकेको आधुनिक नेपालमा पनि उस्तै बेथिति, विकृति र लथालिङ्गेपन छँदै छ । यसलाई प्रस्तुत गर्न लेखकले दुई ओटा प्रसङ्ग अघि सारेका छन् । पहिलो हो, लेखककी नातेदार महिलालाई हिक्का छुट्‌ने व्यथाले अँठ्याउनु र अस्पतालमा बुझ्न टेलिफोनको प्रयोग गर्न खोज्नु । यसले नेपालको सञ्चार क्षेत्र कति भद्रगोल स्थितिमा छ भन्ने खुल्छ भने त्यस संस्थासँग सम्बद्ध कर्मचारीहरू कति लाचार, अनुत्तरदायी र भोलिवादी छन् भन्ने प्रस्ट हुन्छ । आपत्‌कालीन अवस्थामा नभई नहुने वस्तुहरूबाट समेत वञ्चित हुनुपर्ने हामी नेपाली जनताको दुर्भाग्यपूर्ण स्थितिको घतलाग्दो चित्रण पनि हो यो व्य‌ङ्ग्यात्मक करूणाले भरिएको वर्णन ।

क्षणक्षणमा चाहिने टेलिफोन बिग्रेको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि नबन्नु र नबनाउनु कति लाजमर्दो र विडम्बनापूर्ण रहेको छ भनी लेखकले हाम्रो दुर्दशापूर्ण स्थितिमाथि कठोर हाँसो र तिखो व्यङ्ग्य प्रहार गरेका छन् । दोस्रो हो, अस्पतालमा पुगेर एउटी नर्ससँग गरेको कुराकानी र अस्पतालको अवस्थाको बेलीविस्तार । त्यहाँ अस्पतालमा विरामीका लागि सिट नै खाली नहुनु, औषधीउपचार गर्ने प्रमुख नै बाहिर जानु र विरामी बोक्ने एम्बुलेन्सको ब्रेक बिग्रेको हुनुले हाम्रा अस्पताल, त्यहाँका नर्स र चिकित्सकहरू, एम्बुलेन्सहरू कति गएगुजेको, लापर्बाह, असहयोगी, मानवताशून्य, लथालिङ्ग अनि कर्तव्यच्युत स्थितिमा रहेका छन् भन्ने छर्लङग हुन्छ ।

यो हाम्रो स्वास्थ्य क्षेत्रको विसङ्गतिलाई धज्जी उडाउँदै धिक्कार्ने घटनाको वर्णन हो । जनताका सेवामा चौबीसै घण्टा जुट्नुपर्ने हाम्रा सङ्घसंस्थाहरूको असंवेदनशील र सेवाशून्य वातावरण तथा त्यहाँका भोलिवादी, मानवताहीन, कर्तव्यविमुख, निर्दयी, भ्रष्ट, चरित्रहीन र विवेकशून्य कर्मचारीहरूको वास्तविक अनुहारको पर्दाफास गरेर तिनको घिनलाग्दो व्यवहारको सग्लो चित्र यहाँ खिचिएको छ। यो हाम्रा कुप्रवृत्तिमाथि व्यक्त गरिएको तीव्र उपहास वा व्यङ्ग्य हो। यो लेखकले हाम्रो समाजको बारेमा उतारेको शाश्वत यथार्थ हो किनकि यस्तो प्रवृत्ति अहिले पनि हाम्रो नेपाली परिवेशमा छँदै छ, कुनै परिवर्तन भएको छैन यसमा ।

एक्काइसौं शताब्दीको विश्वमा ठूलो परिवर्तन आइसक्यो तर हामीले भने दिनप्रतिदिन राणाकालकै जस्तो स्थिति भोगिरहेकै छौं । त्यसैले लेखकलाई निकै झोक चल्छ । उनी नेपालको हरेक क्षेत्रमा विद्यमान प्रशासनिक ढिलासुस्ती वा भोलिवादी र गतिछाडा प्रवृत्तिका विरूद्धमा तिखो आक्रोश पोख्तै आफ्ना शब्दका बन्दुकमा यसरी पड्कन्छन्, “मैले हाम्रो सिंहदरबारलाई ‘भोलि दरबार’ भन्ने नाम राखेको छु, किनभने त्यहाँका एकएक तला, एकएक कोठा, एकएक कुना, एकएक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाई छाड्नुहुन्न । सिंहदरबार होस् कि स्यालदरबार, भोलिवादलाई शिरोधार्य नगर्ने अड्‌डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनु जस्तो गाह्रो भइसक्यो अब ।” हामी अहिले यस्तो हालतमा बाँचेका छौ जहाँ शुद्धता, स्वच्छता, इमानदारी, सदाचार, न्याय, निस्स्वार्थ सेवा भेट्न मुस्किल पर्छ ।

भाका राखेर भोलिभोलि भन्दै काम टार्ने रोग सरकारी क्षेत्रमा मात्र होइन गैरसरकारी क्षेत्रमा पनि त्यतिकै फैलिएको छ, प्रत्येक मान्छेको मानसिकतामा नै यसले आक्रमण गरेको छ । त्यसैले पैचो लिनेले, उधारो लिनेले, मालिकबाट तलब लिने नोकरले, ऋण दिने साहुले, लेख दिने लेखकले, तारिख दिने बहिदारले, तलब दिने तहबिलदारले, लुगा सिउने सूचीकारले, चोक बढार्ने कुचीकारले र एकअर्कालाई पर्खाउने बानी परेका लोग्ने र स्वास्नीले समेत भोलिको भाका राखेर कैयौ दिन कुराउँछन् । यस्ता नमुना दिँदै लेखक हाम्रो सम्पूर्ण सामाजिक वातावरण नै भोलिवादी भइसकेको सङ्केत गर्छन् अनि हाम्रो जे कुरामा पनि नीच मारेर बस्ने निष्क्रिय जीवनशैली र आलस्यपूर्ण मनोविज्ञानप्रति यसरी व्यङ्ग्य गर्छन, “भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ ।”

अरू सबै कुरामा भोलिको भाका राख्ने मान्छे खानमा चाहिँ अपवाद देखिने वास्तविकतालाई लेखकले एक जना राणा जरसाहेबले बफे डिनरमा भोज हसुरेको प्रसङ्ग ल्याएर प्रशंसा गरेजस्तो गरी तिनको तिखो निन्दा गरेका छन्, जो व्यङ्ग्य गर्ने एक विशिष्ट शैली हो र यसलाई व्याजनिन्दा भनिन्छ । लेखकले व्याजनिन्दाका शैलीमा व्यक्त गरेको मान्छेको दुर्गुणमाथिको व्यङ्ग्य यस्तो रहेको छ, “मान्छे सबै कुरामा भोलिवादको अनुसरण गरे पनि खना भने भोलिलाई पर्खदैन, यो उसको ठूलो गुण हो ।”

अन्तमा,
लेखकले हाम्रा सम्पूर्ण क्रियाकलापहरू भोलिवादी भएको जनाउँदै भोलिवाद हाम्रो संस्कृति, दर्शन, राजनीति, प्रशासन र सामाजिक व्यवहार नै बनिसकेको हुनाले हामी विश्वमा सबभन्दा बढी पिछडिएका हौँ भनेर हाम्रो दुर्बलता वा कमजोरीलाई उदाङ्गो पारेका छन् । लेखकले निचोडमा के भनेका छन् भने हामीले मानिसबाट राम्रा गुणहरू सिक्न नसके पनि प्रकृतिबाट त सिक्न सक्छौं । हामीलाई सतर्क र सचेत हुन आग्रह गर्दै लेखकले प्रकृतिले जसरी आफ्ना सारा कार्यहरू नियमित रूपमा गरिरहेको हुन्छ त्यसरी नै आफ्ना सामाजिक र व्यक्तिगत कर्तव्यहरू यथासमय पूरा गरौँ भन्छन् । उनको आशय के छ भने हामीले जस्तै प्रकृतिले उसका विश्वसञ्चालनका कामहरू भोलि गर्ने भनेर एकछिन मात्र रोकिदिएमा संसारमा कस्तो भयावह उथलपुथल आउँदो हो ।

त्यसैले हामी पनि भोलिवादी मानसिकतालाई त्यागेर इमानदार, कर्तव्यनिष्ठ, सच्चरित्र, सदाचारी, विकासप्रेमी, नियमित, अनुशासित, मानवतावादी, समाजसेवी, जागरूक र सचेत हनुपर्छ भन्ने सन्देश यस हास्यव्यङग्यात्मक निबन्धका माध्यमबाट लेखकले दिएका छन् ।

०००
हास्यव्यङ्ग्यमाथिका समालोचना (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x