साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तम व्यङ्ग्य एवं व्यङ्ग्यकारका लक्षण

हेरिने गरिएभन्दा भिन्नै कोणबाट स्थूलीकरण वा क्षुद्रीकरणका प्रातिभ सिसाबाट अनि उल्टो विलक्षण प्रक्षेपबाट ‘जे जस्तो छ’ लाई नवविलक्षण रूपमा प्रस्तुत गर्न सकियो र ‘जे जस्तो हुनुपर्ने हो’ को सूक्ष्म मिही ध्वनि वा व्यञ्जनाको परिष्कृत वासना मुग्धवेधक रूपमा मगमगाउन सक्यो भने मात्रै हास्यव्यङ्ग्यकारको कला मूर्त हुन जान्छ ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

व्यङ्ग्यले अँगाल्ने विषयवस्तुका आधारमा व्यङ्ग्यका विभिन्न प्रकारहरू देखिन्छन् तापनि व्यङ्ग्यलाई मूलतः दुई प्रकारमा बाँड्न सकिन्छ- (१) व्यक्तिगत व्यङ्ग्य(२) समष्टिगत व्यङ्ग्य । व्यक्तिगत व्यङ्ग्यमा आत्मव्यङ्ग्यसमेत पर्दछ र समष्टिगत व्यङ्ग्यमा धार्मिक, सामाजिक, साहित्यिक, राजनीतिक तथा मानवीय दुर्बलतासँग सम्बन्धित व्यङ्ग्य पर्दछन् । यिनका बारेमा तल संक्षेपमा चर्चा गरिन्छ ।

(क) व्यक्तिगत व्यङ्ग्य

व्यङ्ग्यकार कुनै व्यक्तिविशेषलाई आलम्बन बनाएर व्यङ्ग्य लेख्दछ भने त्यसलाई व्यक्तिगत व्यङ्ग्य भनिन्छ । व्यक्तिगत व्यङ्ग्यका औचित्य र अनौचित्यका बारेमा विद्वानहरूका बीच मतभेद रहेको पाइन्छ । व्यक्तिगत व्यङ्ग्यले कुनै व्यक्तिलाई प्रहार गर्दा सोझै गाली-गलौजको रूप लिएमा त्यस्ता व्यङ्ग्य साहित्यिक हुनबाट वञ्चित हुनाका साथै अनुचित ठहरिन्छन् । तर कुशल व्यङ्ग्यकारले व्यक्तिगत क्रोध वा घृणालाई पनि समाजका प्रचलित विसङ्गतिहरूप्रति तारो हान्ने उद्देश्यद्वारा प्रेरित भई आलम्बन बनाएमा त्यो उपयोगी नै हुन्छ । त्यसैले व्यक्तिगत व्यङ्ग्य लेख्दा व्यङ्ग्यकारले बडो होस पुर्‍याउनुपर्दछ । व्यक्तिगत व्यङ्ग्यलाई अनुत्कृष्ट र आक्षेपपूर्ण हुन जाने खतराबाट बचाई व्यक्तिलाई आलम्बन बनाएर पनि सामाजिक कुरीतिप्रति वाण हान्न सकेमा व्यङ्ग्य खिरिलो, तीखो एवं प्रभावकारी बन्न सक्छ तर यसमा तिक्तताको मात्रा भने कम हुनुपर्दछ । अङ्ग्रेजी साहित्यका प्रखर व्यङ्ग्यकार पोपचाहिँ व्यक्तिगत व्यङ्ग्य आफ्ना अनुभवमा समेत प्रभावकारी रहेको मान्दै समाजका निर्लज्ज पापी मनुष्यहरूलाई सामान्य व्यङ्ग्यले कुनै प्रभाव नपार्ने भएकाले व्यक्ति छानी छानी निसाना बनाएमा तिनीहरूको पाप नाश नभए पनि पापी कार्य गर्नबाट तिनलाई रोक्न सकिने बताउँछन् ।

वास्तवमा समाजका अटेरी फटाहाहरू वा सामाजिक विघटनकारी तत्त्वमाथि व्यक्तिगत व्यङ्ग्यको प्रहार नभएमा समाजमा सुधार हुन सक्दैन । सामाजिक खराबीको स्रोत बनेको व्यक्तिमाथि तीव्र व्यङ्ग्य गरिएमा अरु पनि त्यस्तो खराबी गर्नबाट सतर्क हुन चाहन्छन् किनभने समाजमा आफू हास्यास्पद बनी व्यङ्ग्यको कोर्रा खानु पर्दा आफ्नो प्रतिष्ठामा लाग्ने कलङ्कले ढोंगीहरू पनि चिन्तित बन्न पुग्छन् । यसरी व्यक्तिगत व्यङ्ग्य लेख्दा कहिलेकाहीँ व्यक्तिमा नराम्रो आघात परी मृत्युसमेत हुन जाने पनि हुन्छ । त्यसैले बडो कुशलतापूर्वक यसको प्रयोग गर्नु उचित हुन्छ ।

(ख) धार्मिक व्यङ्ग्य

धार्मिक व्यङ्ग्य समष्टिगत व्यङ्ग्यको एक प्रकार हो । धर्मका क्षेत्रमा हुने अनेक विसङ्गतिका कुनै पनि पक्षलाई आलम्बन बनाएर गरिने व्यङ्ग्यको प्रकारलाई धार्मिक व्यङ्ग्य भनिन्छ । धर्मसँग अनेक धर्माचार्य, विविध धर्म, धर्मावलम्वी, अनेक मत-मतान्तर, सम्प्रदाय तथा पूजा-पद्धति आदि सम्बन्धित हुन्छन् । धर्मले समाजलाई लाभ नगर्ने होइन तर धर्मका नाममा देशलाई टुक्रयाउने, समाजमा साम्प्रदायिकताको प्रचार गरी वैमनस्यको भावना बढाउने, धमर्माचार्यहरूद्वारा कुत्सित मनसायबाट पाखण्डी कार्यहरूको वृद्धि गर्ने, धार्मिक आडम्बरीको आवरण वा कवच लगाएर मिथ्याचारको वृद्धि गराउनेजस्ता विसङ्गतिहरूमाथि धार्मिक व्यङ्ग्यले प्रहारको निसाना लगाउँछ ।

(ग) सामाजिक व्यङ्ग्य

समाजमा व्याप्त अनेक विसङ्गतिहरूलाई आलम्बन बनाएर लेखिने व्यङ्ग्य सामाजिक व्यङ्ग्य हो । समाजमा कुरीति, कुपरम्परा, रूढिवादिता र अनेक असङ्गतिहरू फैलिएका हुन्छन् । यस्तो व्यङ्ग्य समाजमा फैलिएका खराब फेसन, विदेशी संस्कृतिको नक्कल, विदेशी हाउभाउ, चाल-चलन, आचार- विचार, खान-पान, बोली-चाली, भाषा आदिप्रतिको भक्ति र राष्ट्रिय वा स्वदेशी संस्कृति र आचार-विचारप्रतिको उदासीनताप्रति लक्षित हुन्छ । यसका अतिरिक्त समाजमा कुरीतिका रूपमा रहेका रूढि तथा अन्धविश्वास एवं बाल-विवाह, बहुविवाह, अनमेल विवाह, वणर्भेद, जातिभेद आदिप्रति गरिएका व्यङ्ग्यविद्रोह सामाजिक व्यङ्ग्यअन्तर्गत पर्दछन् ।

(घ) साहित्यिक व्यङ्ग्य

कुनै साहित्यकारको साहित्यिक क्रियाकलाप अथवा साहित्यका क्षेत्रमा पाइने विसङ्गतिहरूसँग सम्बन्धित व्यङ्ग्यलाई साहित्यिक व्यङ्ग्य भनिन्छ । यस प्रकारका व्यङ्ग्यमा साहित्यकारहरूबीचको गलत मतवैभिन्य, विशेष साहित्यिक प्रवृत्ति, भाषासम्बन्धी दुराग्रह, समालोचना र साहित्यिक चोरी आदिलाई विषयवस्तु बनाइएको हुन्छ र तिनीहरूमा सुधार गर्नलाई प्रेरित गर्ने उद्देश्य राखिएको हुन्छ ।

(ङ) राजनैतिक व्यङ्ग्य

राजनीतिका विभिन्न विसङ्गतिहरूलाई आलम्बन बनाई लेखिने व्यङ्ग्य राजनैतिक व्यङ्ग्य हो । राजनैतिक व्यङ्ग्यमा राजनीतिक क्षेत्रमा देखा परेका राष्ट्रिय वा अन्तर्राष्ट्रिय विकृतिहरूलाई प्रहार गरिन्छ । राजनैतिक व्यङ्ग्यमा राष्ट्रिय क्षति एवं भ्रष्टाचार, महङ्गी, अन्याय, अत्याचार, कालाबजारी, बेरोजगारी, आदिप्रति व्यङ्ग्य गरिनाका साथै अन्तर्राष्ट्रिय राजनैतिक जगतमा भएका नराम्रा घटनाहरू वा विकृतिहरूप्रति पनि व्यङ्ग्य गरिएको हुन्छ । आजभोलि राजनैतिक व्यङ्ग्य नै सबभन्दा लोकप्रिय पाइन्छ किनभने राजनीतिले जति विसङ्गति र बेमेल, विषमता र व्यभिचार अरु पक्षले स्थापित गरेको पाइँदैन । राजनैतिक व्यङ्ग्यमा देशको गिर्दो आर्थिक अवस्था तथा समाजमा व्याप्त आर्थिक विषमतालाई पक्रेर पनि प्रहार गरिएको हुन्छ । यस प्रकारका व्यङ्ग्यलेखकहरू राजनैतिक रूपमा प्रतिबद्ध भए तटस्थताको कमी रहने सम्भावना हुन्छ र व्यङ्ग्य निष्पक्ष र प्रभावकारी नबन्न सक्छ । अतः सक्रिय र प्रतिबद्ध राजनीतिज्ञ बा राजनैतिक कार्यकर्ताले लेखेकोभन्दा राजनैतिक रूपमा तटस्थ व्यक्तिद्वारा लेखिएको राजनैतिक व्यङ्ग्य नै बढ्ता प्रभावशाली र सहजतासाथ साधारणीकृत हुन सक्ने हुन्छ ।

(च) मानवीय दुर्बलतासँग सम्बन्धित व्यङ्ग्य
मानवीय दुर्बलताद्वारा उत्पन्न विकृति र विसङ्गति नै यस प्रकारका व्यङ्ग्यको आलम्बन बनेको हुन्छ । मानवीय दुर्बलताका रूपमा रहेका लोभ, लालच, कन्जुस्याइँ, यशलिप्सा, ढोँग, धोका, कृत्रिम आरोप, छल-कपट, फूटो प्रतिष्ठाप्राप्तिको इच्छा आदिमाथि लेखिएका व्यङ्ग्यहरू मानवीय दुर्बलतासँग सम्बन्धित व्यङ्ग्य हुन् ।

उत्तम व्यङ्ग्य एवं व्यङ्ग्यकारका लक्षण

व्यङ्ग्य साहित्यका गद्य र पद्य दुवै विधामा प्रयोग हुन्छ । चाहे गद्यमा होस् चाहे पद्यमा व्यङ्ग्यको प्रयोग प्रभावकारी, शिष्ट, शालीन, कलात्मक किंवा साहित्यिक हुनुपर्दछ । व्यङ्ग्यमा सोझोपन नभई व्यञ्जनाशक्तिले काम लिएको हुनुपर्दछ र त्यसका निमित्त हास्य, वाग्वैदग्ध्य एवं वक्रोक्तिको सार्थक र प्रासङ्गिक अनि आनुपातिक उपयोगको कुशलता व्यङ्ग्यकारले प्राप्त गर्नुपर्दछ । त्यसैले व्यङ्ग्य वाच्यार्थप्रधान नभएर व्यङ्ग्यार्थप्रधान हुन्छ ।

व्यङ्ग्यलाई सोझो भाषामा प्रकट गर्दा त्यो गाली-गलौज भएर देखा पर्दछ र ‘इन्वेक्टिभ’ र ‘ल्याम्पुन’ को श्रेणीमा झर्दछ । भाषाको घुमाउरोपन वा बाङ्गो रूपलाई यसले पालन गर्नुपर्दछ । अर्थात् व्यङ्ग्य सीधा गालीगलौजका रूपमा अभिव्यक्त नभई मधुवेष्टित (सुगरकोटेड) हुनुपर्दछ । त्यसैले व्यङ्ग्यकार अनुशासित हुनुपर्दछ, किनभने ऊ एक साहित्यसर्जक हो । साहित्यम्रष्टा व्यङ्ग्यकार अनुशासित हुनाका लागि उसले विषयवस्तुलाई कम तिक्ततासाथ प्रकट गर्ने रचनाकौशल प्राप्त गर्नुपर्छ र उसका व्यङ्ग्यरचनामा शिष्ट हास्यको समावेश हुनु आवश्यक छ । व्यङ्ग्यकार सचेत र कुशल शिल्पी पनि हो । त्यसैले उसले उच्छृंखल हास्य र तीतो व्यङ्ग्यले उत्पन्न हुने विकृति र गाली वा नाराबाट सदैव बच्ने प्रयास गर्नुपर्दछ ।

व्यङ्ग्यकार हास्यको उपयोग गर्ने मात्र होइन वाग्वैदग्ध्यको प्रयोग गरी काम फत्ते गर्ने कुशल उपदेष्टा र समाजसुधारक पनि हो । व्यङ्ग्यकार सत्यलाई अँगालेर सामाजिक कुरीतिको घैटो फोर्ने कुशल कालिगढ हो र यस क्रममा उसको दायित्व सामाजिक न्यायदाताको जस्तै रहन्छ । त्यसैले उसका सामाजिक मर्यादालाई कायम राख्दै मान्छेका नैतिक- बौद्धिक आदि कुरालाई सामाजिक न्यायका कसीमा राखेर हेर्ने अन्तरदृष्टि पनि हुनुपर्दछ ।

व्यङ्ग्यले गर्हणायुक्त विषयलाई कुशलतापूर्वक विशिष्ट ढङ्गमा अभिव्यक्त गर्ने भएकाले व्यङ्ग्य-साहित्यमा अभिव्यक्ति-कौशलको विशिष्ट भूमिका रहन्छ र व्यङ्ग्यकारले यस कौशललाई प्राप्त गर्न साधना, संयम र आराधना गर्नुपर्दछ । व्यङ्ग्यलाई ओजनदार, मिठासपूर्ण र मर्मभेदी कसरी बनाउन सकिन्छ भन्ने कुरामा व्यङ्ग्यकारले सदैव ध्यान पुऱ्याउनुपर्ने हुन्छ । यस प्रकारको गुणको विकास गर्नु व्यङ्ग्यकारको प्रथम आवश्यकता हो ।

अङ्ग्रेजीका मूर्धन्य व्यङ्ग्यकार ड्राइडनले श्रेष्ठ व्यङ्ग्यमा हुनुपर्ने गुणलाई औँल्याउँदै भनेका पनि छन्- कुनै व्यक्तिलाई निर्ममतापूर्वक क्षतविक्षत पार्नुमा र शिरच्छेदन गर्ने ढङ्गले जाइलाग्नुमा अन्तर छ । एक सफल व्यङ्ग्यकार अप्रस्तुत एवं परोक्षविधानका शैलीमा आफ्ना भावहरू व्यक्त गरिदिन्छ । ऊ आफ्नो क्रोधको अभिव्यक्ति ज्ञानङ्ङ्कारिक एवं साङ्केतिक भाषामा प्रकट गरेर पाठकले आफ्नो स्वतन्त्र निष्कर्ष निकालोस् भन्ने अपेक्षा गर्दछ । व्यङ्ग्य कल्पनाका सहाराले कला एवं साहित्यका क्षेत्रमा स्वतन्त्रतापूर्वक प्रवेश गर्न सकोस् भनी व्यङ्ग्यकारले आफ्नो व्यक्तित्वलाई व्यङ्ग्यबाट अलग राखिदिन्छ ।

यस प्रकार व्यङ्ग्यले कलात्मक सौष्ठव प्राप्त गर्नुपर्दछ । यसका लागि संयमित ललित भाषा, विम्बविधान, प्रतीक योजना एवं सइक्षिप्तता व्यङ्ग्यमा हुनुपर्छ । आलम्बनको चित्रणमा कुशलता हुनुपर्दछ । आलम्बनको विकृतिलाई चित्रण गर्दा व्यञ्जनाको प्रयोग अधिक र लक्षणा अनि अभिधाको प्रयोग कमभन्दा क्रम गर्नु वाञ्छनीय हुन्छ । व्यङ्ग्य सङ्क्षिप्त हुनुपर्छ भन्दै प्रो. गुडम्यानले भनेका छन्- प्रभावकारी व्यङ्ग्य तीरसमान हुनुपर्छ, जसले थोरैभन्दा धोरै समयमा लक्ष्यलाई भेदन गर्न सकोस् । थोरैमा धेरै भन्न सक्नु नै व्यङ्ग्यको गुण हो । विस्तारले यसको प्रभावलाई नष्ट गरिदिन्छ । (प्रो. गुडम्यान, क्युलेस अफ लिटरेरी एस्सेज, पृ. ७२)

उत्तम व्यङ्ग्य अन्योक्तिमूलक, प्रतीकात्मक, उक्ति-वैचित्र्यपूर्ण, व्यञ्जनामय हुन्छ । यसका लागि व्यङ्ग्यकारले वक्रोक्ति, सन्दर्भ-विपर्यय, वाग्वैदग्ध्य आदिको प्रयोग भएको र प्रसादगुणयुक्त, संयत-शालीन, प्रभावकारी र सङ्क्षिप्त भाषामा विसङ्गतिलाई अभिव्यक्त गरेको हुनुपर्दछ। श्रेष्ठ व्यङ्ग्य र व्यङ्ग्यकारमा हुनुपर्ने विशिष्टतालाई समालोचक वासुदेव त्रिपाठीको निम्नलिखित भनाइले अझ स्पष्ट पारेको छ-

“आदर्श र यथार्थको अन्तरविरोधको चेतनाबाटै हास्यव्यङ्ग्यको बिरुवा अङ्कुरित हुने भए पनि आदर्श वा सत्यको सस्तो सीधा फलाक्याइँले कार्य चौपट्ट गरिदिन्छ (हास्यव्यङ्ग्यकारको) अनि यथार्थको कोरा फोटोग्राफी वा ‘तस्बिर उतारी’ बाट पनि हास्यव्यङ्ग्यकार करुणा-वीभत्ससँग एकोहोरो मितेरी लाउन पुग्छ । हेरिने गरिएभन्दा भिन्नै कोणबाट स्थूलीकरण वा क्षुद्रीकरणका प्रातिभ सिसाबाट अनि उल्टो विलक्षण प्रक्षेपबाट ‘जे जस्तो छ’ लाई नवविलक्षण रूपमा प्रस्तुत गर्न सकियो र ‘जे जस्तो हुनुपर्ने हो’ को सूक्ष्म मिही ध्वनि वा व्यञ्जनाको परिष्कृत वासना मुग्धवेधक रूपमा मगमगाउन सक्यो भने मात्रै हास्यव्यङ्ग्यकारको कला मूर्त हुन जान्छ ।

यसका निम्ति समाजगठनमा विविध पाटाको सूक्ष्म पर्यवेक्षणशक्ति, मानवीय संस्कारका बहुमुखी छायाछवि (मानसिक र बौद्धिक लोकको अन्तर्ज्ञान), भाषाका सम्भावना सामर्थ्यका गम्भीर अवगाहन अनि शिल्पप्रविधिका विशिष्ट विलक्षण बान्कीको स्फुरणसाधना हास्यव्यङ्ग्यकारका अपरिहार्य सामग्री, प्रतिभा र आराधना ठहरिन्छन् । मान्छे र समाजको इयत्ताको बाँध बाँध्न नसकिए पनि आफैँले भोगेका जानेका र पढेगुनेका संस्कारबाटै मान्छे र समाज चिन्दै अनि आफू र आफ्ना अपरिष्कृत रागको ऋणीकरण गर्दै
साधारणीकरण, सार्वभौमीकरण वा शाश्वतीकरण गर्न सक्ने स्थालीपुलाकन्यायको आचार्य हुन्छ हास्यव्यङ्ग्यकार । बाहिरी ओठ मात्र होइन, मनका सूक्ष्म ओठसम्म स्वतः चलमलाउने गरी हास्यरसको सृष्टि गर्नु र मान्छे समाज वि+अङ्ग रहेछ भन्ने व्यङ्ग्य मन माझ्ने, बुद्धि सपार्ने र समाज सुधार्ने अप्रत्यक्ष बोध वा व्यञ्जनाका साथ प्रस्तुत गरेरै हास्यव्यङ्ग्यकार कृतार्थ हुन जान्छ ।” (अर्यालको इतिश्रीका सम्बन्धमा’, इतिश्री, पृ.ग-ङ) ।

०००
ललितपुर
हास्यव्यङ्ग्य सिद्धान्त (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x