सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्मानको मखुन्डो

मापदण्ड केही चाहिएन । कसैलाई नेता बनाउन आवश्यक छैन । आ-आफ्नो बाटो लाग्दा हुन्छ । स्वाभिमान जोगाउनेले अरूको वरण्डामा किन बस्ने ? आफ्नै खेतबारी उर्वर बनाए भइगयो नि ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

अपमानचाहिँ राम्रो ? प्रश्न उठिहाल्छ आफैँतर्फ । उच्चकोटीको भाषिक प्रयोक्ताहरू पुरस्कार र दण्ड हाम्रो उत्कृष्ट आविष्कार हो भन्दै छाती फलाउँछन । के भने सम्मान र अपमानलाई ? हिजोका शासक, प्रशासक र दुनियाँदारपटि आँखा पन्छाइदिऊँ पनि भन्छन् । कति त आजका भोटका डङ्गुरबाट जुरुक्क उठेका आवधिक नेता नेतृज्यूहरू उन्नतिको अस्त्र हो भन्दै पुरस्कार र दण्डको व्याख्या गर्छन् । कोही दानवलाई मानव बनाउने हतियारको रूपमा लिन्छन । पुरस्कार संस्कृतिलाई मानवको उपल्लो आविष्कारभित्र गनिन पुग्यो भन्छन कत्तिले । अचेल दण्डलाई चाहिँ कुलत, कुविचार, कुरीतिको भङ्गालो सुकाउने हतियार बनायो मान्छेले भनेका छन् ।

सनातन होस् वा अन्य धर्म प्रारव्ध कर्मको खेल मान्छ उन्नति र अवनतिको उराठलाग्दो चक्रलाई । मानिस भने पुरस्कार र दण्डको आविष्कार गरेर भूखण्डको नाइके बनँ भन्दै अभिमानको लिङ्ङ्गेपिङ मच्चाइरहेको छ अहिले । शत-प्रतिशत विधाताको भागमा हाल्न ऊ तयार छैन ।

सम्मान, अपमानको विपरीतार्थी हो भन्ने तर्क छ केही फुइँदारहरूको । तुलोमा जोख्न लायक पात्रलाई गुथाउने भौतिक वा मानसिक पगरी । जीवनभरको सन्तोषको तस्वीर मान्छन् कोही । कर्म गर फलको आश नगर भन्ने गीतावाणी अझ जिउँदै छ । जेहोस, जस्तोहोस, जेसुकै नापियोस् पुरस्कार संस्कृति खुइलिहाल्ला जस्तो लागेन यो कलिमा । उहिले औँलामा गन्न सकिन्थ्यो । अहिले च्याउझैँ टुसुक्क टुसुक्क टाउको देखाएर हैरान पार्न थालिसक्यो पुरस्कार रासीले । त्यसो त अब पुरस्कार नपाउने र नलिने बबुराहरू बाखीको पाठो च्यापेर ककनीतिर उक्ले भयो । नभए सेतो दारी कन्याउँदे गोसाइँकुण्डको यात्रामा निस्किएको जाती पो हुने भयो । साहित्य, विज्ञान, गीतसङ्गीत, राजनीति, धार्मिकजगत्, पाकशास्त्र, बालीविज्ञान चिकित्सा । यी क्षेत्रमा पुरस्कारको बाढी कति छन् ? यी सबै क्षेत्र र विधामा जाँदा हिसाव किताब गरेर साध्य छैन । साहित्यको दैलो उघारेर निहाल्दा मात्रै तीनथुन्से नै पुग्ला :

क) दुग्धकुमारी भीमखोला आख्यान पुरस्कार (भीमखोलामा स्थायी बसोबास गर्ने खुलाल बस्न्यातका कथाकार ज्वाइँहरूमध्ये २ जनालाई)

ख) कृष्णलीला जस्केलो पुरस्कार (वैष्णवी साहित्यिकमध्येबाट ५ जनालाई)
ग) दन्त-कुमुदिनी नाट्यासम्मान (हाँडीखोला माइती हुने, निरौला भण्डारीका विवाहयोग्य छोरीहरूमध्ये दुईओटी नाट्यस्रष्टालाई ।
ङ) झस्कादत्त नाट्य पुष्टकारी पुरस्कार
च) गैह्र मार्क्सवादी लेखक बचाऊ पुरस्कार
छ) साम्यवादी सर्जक काकाकुल सम्मान पत्र

यस वर्ष प्रदान गरिएको झस्कादत्त नाट्य पुरस्कार वितरणमा गैरनाट्य स्रष्टाहरूसमेत नै चकित भए । पुरस्कार गुठीले पुरस्कारयोग्य व्यक्ति छनोटका लागि तीन सदस्यीय समिति गठन गयो । गठित समितिले गठन भएको ३५ मिनेटभित्र २ सर्जकको नाम छनोट गर्यो । छनोट प्रक्रियामा गुठीका सचिव असन्तुष्ट थिए । विवाद उत्कर्षमा पुगेपछि भीमसेनपाती टेलिभिजन च्यानल विवाद वार्ताका सञ्चालक गौरत्न तुलाचनले गुठीका अध्यक्ष पोषण घिमिरे र मूल्याङ्कन समितिका अध्यक्ष उदय कानढिकेसँग लिएको छोटो वार्तालाप :

प्रश्नः (अध्यक्षद्वयलाई नमस्कार) यस वर्षको पुरस्कार वितरणमा अनियमितताको आभास भयो भन्छन् नि पाठकहरू ? फेरि मूल्याङ्कन समिति गठनदेखि नै किन विवाद ?

पोषणः धन्यवाद, खासै चर्काइहाल्नुपर्ने विषयवस्तु केही थिएन । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार वितरणको पद्धति एउटै हो । मूल्याङ्कन समितिको निणर्यलाई हामीले अनुमोदन गरेको न हो ।

उदयः हो, पोषण सरको बोलीमा सत्यता नै छ । मेरो अध्यक्षतामा मूल्याङ्कन समिति गठन भएको नै हो । म पृथक् विधाको सर्जक । मेरो अस्वीकृक्तिमा रहँदैरहँदै पनि चासो दिइएन । तर पनि जिम्मेवारी वहनमा दत्तचित्त भएर लागेँ ।

प्रश्नः यहाँको अध्यक्षतामा गठित समितिको माइन्युटमा मू… समिति लेखिएको भन्ने सुनियो । यो हतारमा हो या नियत ?

उदयः यसमा सचिवको नियत खराब देख्दछु । हतारमा लेखे भनौँ भने मू… पछाडि डटडट लेखिएकै छ । भोलिपल्ट माइनयुटमा लेखिएको विषयलाई लिएर सचिवसँग झगडा पनि गरेँ । अध्यक्षज्यूले भूलवश भएको हुन सक्दछ, छाडिदिऊँ उदयजी भन्नुभयो । त्यसोभए उनीलाई आफ्नै हातले सच्याउन लगाउनुहोस् भनेको छु । गरेनन् भने बाटाहरू धेरै छन्

प्रश्नः मू… समिति भन्नासाथ पाठकलाई अनेक अर्थ लगाउने छुट छ । मुद्रण समिति, मुलाहिजा समिति, मुटुधन समिति, मुकुरमाकुर समिति आदि । समिति गठनसँगै किन विवाद ? फेरि यहाँहरूले समिति गठन भएको ३५ मिनेटभित्र निणर्य लिनुभएछ । कतै सचिवलाई प्रायोजित त लागेको होइन ?

उदयः हैन गौचनजी, यो गुठी स्थापनामा मेरा बाले ५ रोपनी जग्गा दान दिनुभएको छ । त्यो हाम्रो पुख्यौली सम्पति हो । उहाँले आजीवन समिति नछाड्नु भन्नु भएको छ । त्यो सचिव मुलाको कौडी परेको छैन । ऊ जागिरे मात्र हो । त्यसको त्यत्रो हिम्मत ? हामीतर्फ फर्किएर म्याऊ गर्ने ?

प्रश्नः यहाँलाई गतसाल पुरस्कृत गर्ने दाता नै पुरस्कृत भएको देखिन्छ । अघिल्लो वर्षको झटपटरत्न पुरस्कार यहाँले नै प्राप्त गर्नु भएको रहेछ । फेरि तपाईंको अध्यक्षतामा गठित समितिले झटपटरत्न पुरस्कार मूल्याङ्कन समितिका अध्यक्ष कानेखुसी मैहुँलाई प्रदान गरिँदा आशङ्का गर्ने बाटो त रह्यो नि ?

उदयः म यस कुराको बिलकुल विरोधी हुँ । त्यो सचिव मूलाले जहान बच्चा कसरी पाल्दो रहेछ हेरौँ । छोराछोरी पाल्न नसक्दा जागिर खाओस् भनेर मेले नै बोलाएर नियुक्ति दिएको हुँ । गुठीका अध्यक्षले स्वीकृति दिएका थिएनन् । त्यसका प्वाँख उम्रिएका !

प्रश्नः यहाँहरूले पुरस्कृत गर्ने मापदण्ड बनाउनु भएको थिएन ?
उदयः मापदण्ड केही चाहिएन । कसैलाई नेता बनाउन आवश्यक छैन । आ-आफ्नो बाटो लाग्दा हुन्छ । स्वाभिमान जोगाउनेले अरूको वरण्डामा किन बस्ने ? आफ्नै खेतबारी उर्वर बनाए भइगयो नि ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्जुस्याइँ

कन्जुस्याइँ

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
दैले ‘द’ को डुक्र्र्‍याइ

दैले ‘द’ को डुक्र्र्‍याइ

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं
बोली

बोली

देवीप्रसाद चापागाईं