साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोली

उत्तर आधुनिकतावादीको च्याखुरे झम्टाले पनि बोलीको कान्छी रौं पनि हल्लिएको पाइएन । अब जति युग र जमानाको पत्र पल्टिए पनि बोलीको जेठी रौं त के काहिँली परेला पनि झर्ने वाला छैन ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

नबोल्ने रे ? नबोलेर तपाईंले के पाउनुभएको छ ? तपाईंको खल्ती, पोल्टो, गुथ्थिएर भरिएको छ र ? अझ अघि बढौँ तपाईंको एकमाने पुन्टो गज्किएर पुरिएको हो त ? त्यसैले समाधानको अस्त्रलाई लत्याएर जोरी खोज्ने तपाईं जस्तालाई खुर्सानीको धुप नहाले कसलाई सुहाउँछ त ? फेरि मैतर्फ फर्की डुक्रिन तपाईंलाई कसले अह्राउनुपर्छ र । त्यही मानवीय अस्त्र त हो नि बोली । यसलाई हियाए तपाईंको सासूबज्यैको मुखमा समेत माड पनि लाग्ने छैन । अरू त परै जाओस् ।

फेरि बोलीको दोहोलो काढेर तपाईं हामीलाई के फलिफाप छ र ? प्वाक्क बोल्नु पो गलत होला । ख्वाक्क खोकेर दाहिने देब्रे अवलोकनमा समय खर्चिँदै बोल्दा ताली कसले पो पाएन र ? ध्वाँसे वारकदेखि चुच्चे हिटलर र नेप्टे नेल्सनको उचाइ केले बनायो त ? नजाने नबोल्नुहोस् । अस्तित्व बचाउनु छ भने दस फेर कान समाई उठबस गरे पक्कै बचेखुचेको तपाईंको इज्जत थोरै जोगिन्थ्यो कि ? मानवीय सभ्यता र संस्कृतिको उच्चतम उपलब्धि बोली हो भन्दा तपाईंको साढुदाइको के बिग्रन्थ्यो ? यत्रा मानव सागरलाई नथ्याउने नोकडोरी भाषा वा बोली हो भन्न तपाईंको जेठानको के जान्थ्यो त ? सत्य र यथार्थको मार्ग पकडिंदा तपाईंको सालासालीको घर पक्कै बिग्रदैनथ्यो क्यारे बरु खुरुक्क मेरो अर्ती र उपदेशमा नत्थिनुहोस् । तपाईंलाई बेफाइदा भइहाले पनि मेरो नाकले लौकासँग सिँगौरी खेल्ने सामर्थ्य बटुल्थ्यो कि ?

अब निहुँ खोज्ने कर्फ्यु तोड्ने कि ? म तपाईंजस्तो गज्जबको कहाँ छु र ? बरु बाली नफुली बोली फुल्ने हाम्रो देशमा बोलीलाई गोर्खे लौरी लगाउन खोज्दा तपाईंजस्तो सर्वत्र पराजित हुने जन्तु म बन्न सक्दिनँ । बोल्नुहुन्न भने मन्त्रीको त के परिचरको नियुक्ति पाउन छब्बीसौं शताब्दी कुर्नुपर्ला नि । नत्र… ।

मेरा एक उटुङ्गे मित्रले ख्याकख्याक गर्दै ज्वारो चौतारीमा एउटा हाँसो उठ्दो र आँसु छुट्दो तर्क पेश गरेका थिए । उन्नाइसौं शताब्दी गोलीको बीसौं शताब्दी झोलीको र एक्काइसौं शताब्दी बोलीको हो रे !

बोल्न सक्नुभयो भने छेकिन र रोकिन कतै पर्दैन । जिरे कागजमा पोको पारी मुन्ट्याएको लेखले समेत पाठ्यक्रमको भर्याङ उक्लन पाउला । मलाई अहिले तँलाई पछि भनिदिँदा पनि पुरस्कारको भेल थेग्न बाउको मात्र होइन माउकै झ्याइ झ्याइँ हेर्न पनि विवश हुनुपर्ला नि ?

बोलीको कैँडा लागेको हेर्न तपाईंले होस् वा मैले शब्द प्रयोगमा भने ख्याल पुऱ्याउनै पर्दो रहेछ । हामीले, हाम्रो, हामीजस्ता साझा अभिव्यक्तिमा रत्तिनुभयो भने त्यो बोलीले दुहुनु गाई भेट्टाउनु हुन्न । म मैले मेरो जस्ता निजत्व पोख्दा भने यसले पत्याइदिन सक्छ । प्रचण्ड दाजुदेखि, गिरीजाबाबुसम्म र ज्ञानेन्द्र साहेबदेखि ओली महोदयको निजत्वको प्राइभेट डिग्रीले मूलाबारी फस्टाएको यहाँको फुस्रा आँखाले अनुभूतिको पोको पारेकै होला ।

अब म कति तपाईंमाथि झम्टौ ? यसो आफ्नो हविगत थोरै छर्दा एकचोटिको ढ्वाइँयै र ढ्याउ खुस्किए जतिको हलुङ्गो वातावरण निम्तिन्थ्यो कि ? गोलीको भन्दा बोलीको प्रभाव एक इन्च भने पनि गहिरो नै होला । बोलीको पक्षमा पोखिएको हनुमाने समर्थनले पक्कै सुल्टो बाटो खनेको हुनुपर्दछ । प्रगतिकामी र पश्चगामीको जग बोली नै हो भन्नेको जेठी सासू पनि हँसिली र जाती नै छिन् । पराजित हुनु, सिध्याउनु, थचारिनु बोलीमा निख्रिएको पाइन हो भन्नेको सोल्टासोल्टिनीको फापर बारी पनि हारालुछ भई खरिद भएकै छ ।

अब नबोलौँ गज्किएको, फुलेको, गुथ्थिएको, पुगिसरि आएको जस्ता शब्दवाणले आहत हुन पुगिन्छ । थोरै बोल्दा कपटी, अबोलाको संज्ञा भेट्टाउन माघे सङ्क्रान्तिको खिचडी पर्खनु परे जति कष्ट पनि नआउला । धेरै बोले बतुरो, बकबके, बकवासे, नभन्लान् भन्न सकिन्न । परिवेशको ख्याल नगरी बोलौँ हुस्सु, होस्ल्याङे, बकम्फुसेको उपाधि ग्रहणमा साइत जुराइरहन पर्दैन । रोएको बालक, आत्तिएको रोगी, निमोठिएको नेता, बाउँठिएको ज्वाइँ, गज्किएको फुपूसासू बोलीकै अडेसोमा चिनिने हो । परोपकारी, आशावादी, निराशावादी, दूराचारी, अत्याचारीको कुहिरो पनि बोलीकै सहारामा परिचय दिन समर्थवान् रहलान् । सिंहावलोकन, संश्लेषण, विश्लेषण, मृदुवाणी, प्रीतवाणीको बालसखा पनि बोली नै हो । समर्थन, बल मिच्याइँ, धूर्त्याइँ, पुस्ट्याइँको दौँतरी पनि यही बोली हो । भाले बासेको, मयुर नाचेको, घोडा हिनहिनाएको, मौरी भुन्भुनाएको, खोलो सुसाएको, कुलो कुल्कुलिएको र खरायो चुल्बुलिएको वास्तविकताको जग पनि त्यही । बोली परा, पश्यन्ती, वैखरीको भञ्ज्याङ उक्लिएर झुल्कन्छ भन्नेको वाणी पनि यसकै समर्थनमा जनता बटुल्ने काइदा नै हो । उत्तर आधुनिकतावादीको च्याखुरे झम्टाले पनि बोलीको कान्छी रौं पनि हल्लिएको पाइएन । अब जति युग र जमानाको पत्र पल्टिए पनि बोलीको जेठी रौं त के काहिँली परेला पनि झर्ने वाला छैन ।

एक उपशङ्काले यहाँलाई केही क्षण सताउन पनि सक्ला । कतै यसले बोलीको धज्जी उडाउन नसके पनि छारो उडाउन खोजेको हो कि ? बरु नैवेद्य भेटी जे टक्र्याउन पर्दछ त्यही अर्पण गर्न म तत्पर छु । बोकिएको र बिग्रिएको बोलीले पारिवारिक विचलन निम्त्याउन सक्दछ। आदत, इच्छा, आकाङ्क्षाको योग्यता र बाध्यताको मूलकसी, मूलथाम, मूलढोका बोली नै भएकोले मूलओछ्यान नछोडौं । बरु शैली र भैलीमा हेरफेर ल्याउने कि ?

०००
उपरखुट्टी (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x