सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दैले ‘द’ को डुक्र्र्‍याइ

प्रतिनिधिसभाको समानुपातिक सूचीमा कुनचाहिँ दलले उसको नाम राखिदिने प्रस्ताव राखेछ । जम्मा जम्मी १५ करोड मात्र तिर्नु पर्ने । त्यो दिनको उसको अनुहार मलिन थियो । नाम सूचीमा राख्नलाई उसले त्यत्रो पैसा खर्च गर्नुपर्ने ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

परिर्वतनको हावा चलेपछि केही लाग्दैन । त्यो प्राकृतिक रीतिलाई छेक्ने आँट कसको ? हामी आलाकाँचा केटाकेटी हुँदा ‘क’ वर्णाेचारित शब्दको हावा बेतोडले चलेको थियो । कष्ठ, कष्ठाग्र, कनकपत्र, कष्ठी, कन्दनी, कौफिन, काँगियो प्राय क्षण क्षणमा उच्चारण हुन्थे र उमेर बढ्दै जाँदा खल, खलियो, खोला, खला, खकन, खमारी, खनखाँचो, खलपात्र जस्ता शब्द ज्यादा चल्तीमा आए । त्यसपछि ‘अ’ अक्षर उच्चरित शब्दहरूको हप्कीदब्की खेपेको याद छ । गफ, गनगन, गजक्क, गजघुम्म, गम्म आदि शब्दका प्रभाव दीर्घकालीनसम्म रह्यो । चाकडी, चाप्लुसी, चुक्ली, चमेना, चिया, चन्दा आदिको खेती पनि उर्वर नै थियो । तत्पश्चात नाता, नायक, नायिका, नाबालक, नामर्द आदिको चुरिफुरी ह्वात्तै बढ्यो । पञ्चामृत, पञ्चेवाजा, पञ्चोपचार, पढेपढे धेरैजसोका मुखमा झुण्डिएका हुन्थे ।

अहिले भने ‘द’ वर्णाेचरित शब्दहरू दलाली, दलाल, दादागिरी, दल, दलवदल, दारासिंह, दाहिने, दमाह, दर्शनको प्रभाव सघन छ । यसको पनि रङ खुइलिदैन भन्ने के ग्यारेन्टी ? आम्दानी ज्यास्ती भएर पनि दलाल र दलालीहरू यो शब्दप्रति त्यति सन्तुष्ट नभएको गुनासो छ । सरकार बदल्नेदेखि केटी खोजिदिनेसम्मका चतुराहरूलाई यो शब्दले अलिकति घोच्दो रहेछ होला । त्यसैले उच्चकोटिका दलालीका प्रतिनिधिहरू सम्मानित शब्दको आविष्कारमा घोत्लिएर लागे । कुनै चतुरको ओठबाट फुत्त निस्कियाे विचौलिया । अरवी भाषाको दल्लाल विचौलिया भएर प्रस्तुत भयो । दुवैतिर चोचोमोचो मिलाएर गोजी भर्नु ।

कहिले त तीनतर्फ, चारतर्फ कुरा मिलाउँदै ठूलो अंश आफ्ना खल्तीमा थुपुक्क विराजमान गराउन समर्थवान व्यक्ति वा संस्था अरुबाट पनि बक्सिस् पाएर मख्ख हुन पुग्छ । त्यो बेला ऊ यो भवसागरमा अत्युत्तम पात्र बुझ्दछ आफूलाई जे-होस् आजको दुनियाँलाई दलालको प्रभाव नपरेको शायदै हुन सक्ने देखिन्छ । दलालाबाट माथि उठेका व्यक्ति सर्वक्षेत्रमा सफल भएको देख्न पाउनु हुन्छ । राजनीति, साहित्य, धर्मिक क्षेत्र, खेल जगत, गृह प्रशासन, न्याय प्रशासन, सर्वक्षेत्रमा दलाली प्रवृत्तिको बढ्दो र उम्दो प्रभावलाई नजरअन्दाज गर्नु यो जमानामा आफैंलाई आर्यघाटतर्फ यात्रोन्मुख गराउनु हो ।

अँ, मुख खोलेरै बोल्नुपर्दा लाभहानीकै कोणबाट हेर्दा दलाली प्रवृत्तिलाई ठग प्रवृत्तिको सम्बोधन गर्ने कि कला । उम्दो जनसङ्ख्या वृद्धि उनीहरूकै छ । यस पेशा अङ्गीकार गरेका व्यक्ति महोदयहरूको हाउभाउ, आर्थिक उन्नति देख्दा यसलाई आत्माले अस्वीकार गरेर पनि कला नमानी सुखै छैन । मेरा एउटा मित्र कक्षा ५ का सहपाठी थिए । त्यसपछि शायद उक्लेनन् होला । मैले प्रवेशिका उत्तीर्ण गर्दा नगर्दै राजधानीमा घडेरी जोडिसकेका थिए । आइ ए नसक्दा ८/१० रोपनी जग्गाका मालिक बन्न भ्याइसकेका छन् ।

आफ्नै पैसाभन्दा पनि मालपोतका हाकिमका यावत सुख भित्र्यादिने पात्र भए वापत बक्सिस पाएका थिए । पोखरा, विराटनगर, चितवन, वीरगञ्जतिर विघाका विघा जग्गा भ्याइसकेका थिए । गाउँमा एक हल गोरु लाग्ने बारी भएका मेरा ती मित्रको दैनिक पूर्व-पश्चिम चल्ने लामो दुरीका बस् १००० भन्दा अधिक छ । चार पाँच ओटा मेडिकल कलेज, १०/१२ ओटा हाइड्रो पावरमा शेयर, ४ /५ वटा सिनोमा हलमा लगानी, आफ्नै निजी जग्गामा पार्टी प्यालेस र फुटसलहरू सञ्चालन भइरहेका छन् । हामी बालसखा बारम्बार भेट नहुने कुरै भएन, त्यहि माथि छिमेकी पनि । आत्मियता थियो नै । म एउट निजी कलेजको पार्टटाइमर विज्ञान शिक्षक थिए । जेनतेन बिहान-बेलुकाको हातमुख जोर्ने र बालबच्चा पढाउन समेत भ्याउँथे । साथी बेलाबेलामा गाडी लिएर भेट्न आउँथ्यो । चिया, कफी, खाजाका पैसा उसैले तिर्दथ्यो । तिम्रो जति पढाइ भएको भए म देश घुमाइदिन्थेँ उसका यस्ता वाक्यहरू बारम्बार सुन्नु पर्दथ्यो मैले । म हाँसेर उसका कुरालाई टारिदिन्थेँ ।

अँ, एक दिन त्यो साथी निन्याउरो अनुहार लगाएर भेट्न आयो मलाई । प्रतिनिधिसभाको समानुपातिक सूचीमा कुनचाहिँ दलले उसको नाम राखिदिने प्रस्ताव राखेछ । जम्मा जम्मी १५ करोड मात्र तिर्नु पर्ने । त्यो दिनको उसको अनुहार मलिन थियो । नाम सूचीमा राख्नलाई उसले त्यत्रो पैसा खर्च गर्नुपर्ने । त्यो पनि कुनै ग्यारेन्टी छैन । प्रत्यक्षतर्फ उठ्ने उम्मेदवारको चुनाव खर्च व्यहोर्नु पर्ने रे । साथी दिक्दारी पोख्दै थियो । मैले भने प्रत्यक्षमा नै उठ न । आफ्नो पैसाले अरुलाई जिताउनु भन्दा आफै तयार हुने नि । उसको अनुहार फुरुङ्ग उड्यो । तिम्रो जस्तै पढाइ भएको भएको भए म उठ्थे तर के गर्नु मञ्चमा उभिएर बोल्न ठ्याम्मै आउन्न । मैले थपेँ । समानुपातिक सांसदले बोल्नु नपर्ने हो र ? संसद भवनमा के गर्छौ त ? त्यहाँ पनि विचौलियाकै काम गर्दछौँ ? मेरो प्रश्नमा उसले गर्वसाथ भन्यो मैले चुनावमा जसलाई पैसा दिएँ उही बोल्छ नि । त्यो कुरा हाम्रो भइसकेको छ । आवश्यक परे मन्त्री पनि होइन्छ साथी । ऊ भविष्यको आशा पनि व्यक्त गर्दै थियो ।

म बि.ए पढ्दा सुनसरीतिर घर भएका एक साथी थिए । आफूलाई पढाउने गुरुलाई पनि उल्लीविल्ली पार्थ्याे । बोर्ड एक्जाममा कुन्नि कसलाई परीक्षा दिन लगाउँथ्यो । रिजल्ट हाम्रो भन्दा राम्रो । प्रिन्सिपल, एकाउन्टेन्टसँग सधैँ चिया नास्ता खाइरहेको देखिन्थ्यो । दुवै हातका सबै औँलामा लहरै औँठी हुन्थे सुनका । अगाडिको दाँत सुनको, हातमा ५/५ तोलाका जिर्के वाला, घाँटीमा तीन तोलाको सिक्री । हामीहरू ४/५ सयको जुत्ता लगाउन सक्दैनथ्याैं । ऊ त्यसबेला नै २/३ हजारको जुत्ता पहिरिन्थ्यो । एक दिन चिया नास्ताको समय लुसुक्क सोधेँ- ‘जागिर बन्द व्यापार केही छैन । घर परिवार मध्यम वर्गकै हो भन्छस् । कसरी यत्रो रवाफ ।’ उसको काम ठेक्का पट्टा मिलाइदिने, आवश्यक पर्दा हाकिमदेखि उच्च पदस्त कर्मचारी, ठेकेदार, साहूमहाजनलाई भेटी र केटी जोह गरिदिने मामुली धन्दा पो रहेछ । कहिले त अदालतमा मुद्दा द्वय न्यायाधीशको बेञ्चमा पुर्‍याउने । इजलासमा कुन न्यायाधीश राख्ने भन्नेसम्मको सत्कर्ममा उसको हात रहेको बताउँदा आफू विचौलिया हुन योग्य नरहेकोमा आफैँलाई धारे हात लगाएँ ।

दलालीबाट केहीका अर्थोन्नति पत्याउनै नसकिने गरी भएको यो फुस्रा आँखाले कति पटक देख्ने अवसर पाएको छ । ‘द’ वर्णाेचारित अर्को शब्दको पनि हाली मुहाली कम छैन । दादागिरीको भाउ निकै माथि पुगेको दृष्टान्त धेरै छन् । मास्टरी पेशाबाट बिहान बेलुकाको खाँचो टरेन । यसो बन्द व्यपारको बाटो खोलौँ कि भन्ने सोच मनमा एक दिन फ्याट्ट आयो मेरा खोपडीमा । व्यापारको लागि खुद चाहियो अनुभव । केको पसल राख्ने र कहाँ राख्दा बेश हुन्छ सल्लाह गर्न मेरा एक पुरानो मित्र भेट्न गएँ । उनले सटर हत्तपत्त नपाइने गुनासो पोखे । १० वर्षदेखि हाडीगाउँको कुइनेटामा पसल थाप्नु पर्दा व्यापार नभएको गुनासो पोखे उनले । बरू जागिर नै ठिक हुन्छ । उनको त्यो तर्कले मलाई गलत निणर्य लिए झैँ लाग्यो । पसल राख्नलाई ४/५ कुराको चाँजोपाँचो मिल्नुपर्ने उनको सुझाव थियो । स्थानविशेषको आधारमा कस्तो पसल राख्दा उचित हुन्छ उचित छनोट, सटर व्यपार हुने चोक वा आवातजावत् बढी हुने स्थानमा ।

निरन्तर समयदिन सक्ने अवस्था नभई पसल राख्न आँट नगर्न उनको सल्लाह थियो । उनको बाट एक कप कालो चियो पिएर म फर्कदै थिएँ । चावहिल गणेश स्थानमा अर्को मित्र टुप्लुक्क फेला परे । एकछिनमा हामी होटलभित्र छिर्‍यौँ दूध कफी आयो हाम्रा सामु । कफीको चुस्की लिँदै गफियौँ हामी । कुरैकुरामा आफ्नो योजना खुस्काएँ उसलाई । सटर जहाँ पनि पाइने कुरा बतायो उसले । झण्डै ३०० ओटा सटर खोजेको ठाउँमा मिलाइदिएको गफ लगायो उसले । पहिला पसल राख्ने ठाउँ हेर्न । अनि त्यो पसलेलाई श्रीमती वा छोराछोरी अपहरण गरि लैजाने धम्की दिने । उसले कि पसल छोड्छ कि हामीलाई नै किन्न आग्रह गर्दछ । उसले नमाने साहूलाई धम्क्याउने । अनि भएन मालामाल ? ल सोच तिमी कहाँ रोजेछौ ? मेरा कञ्चटमा चिटचिट् पसिनाका विविराहरु कनिका भन्दा पनि बढी हाजिर भयो । दादागिरीको जमाना हो । सन्देशजी । ऊ मलाई सम्बोधन गर्दै कफीको चुस्कीसँगै धाराप्रवाह दादागिरीको धक्कूपुराण पस्किँदै थियो । आफूलाई आवश्यक नपरे मात्र नभए कमौँ ठेक्कापट्टा आफूलाई भेटी चढाउनेलाई दिलाउको कुरा गर्दै थियो ।

चुनावमा कम्तिमा १५ जना सांसद आफ्नो कारणले जितोको कुरा कफीको अन्तिम सुर्को नतान्दै भन्न भ्याइसकेको थियो । अँ, दल र बदल पनि अर्थोनतिको उर्वरभूमि रहेको कुरा मेरा अन्य साथीहरूले पनि गरे । मन्त्री र प्रधानमन्त्रीमा पुग्ने भर्‍याङ हो दल र दलबदल प्रक्रिया । मसँगै कलेज पढाउने एक जना सहकर्मी थिए । वर्षमा झण्डै २/३ वटा पाटी फेरिसकेका हुन्थे । एउटाले जिल्ला कमिटीमा राखिदिन्थ्यो । केही महिनापछि त्यो पोष्ट अर्को पाटीसँग बार्गेनिङ्ग गर्ने अमोध अस्त्र बन्थ्यो । पूर्वपदभन्दा एक स्टेप माथिको पोष्ट पाउनासाथ खुट्टो उचालिहाल्थे । त्यसै गरि स्थायी कमिटीमा पुगेका थिए उनी । दल र दलबदल प्रक्रियाले उनलाई खुबै फाइदा भएको थियो । एक त अरुलाई किताब लेख्न लगाएर लेखक नै भइसकेछन् । एक कार्यकालको प्राज्ञ भइसकेछन् । अब कूलपति नदिए पनि उपसम्मभने पनि पाउने आशा बोकेका रहेछन् उनले । दुई चार ओटा राष्ट्रिय स्तरका पुरस्कार पनि हात लगाइसकेका रहेछन् । दल बदल गर्ने रुमानी शैलीले उनको नाम नलिई सुखै थिएन अरुको ।

अँ, अब बिस्तारै ‘द’ वर्णाेचारित शब्दका रङहरू खुइलिन सक्ला । अन्य वर्णाेचारित वर्णहरूको आयु सकिए झैँ यसको पनि सकिदैन भन्ने के ग्यारेन्टी ? अब अवसर र पालो ‘न’ वर्णकाे  हुँदैन भन्ने के ग्यारेन्टी ? नम्रता, नवीनता, नालीवेली, निखरता, निरन्तरता, नवजीवन, नमुना, नियन्त्रण आदि जस्ता शब्दहरुको पालो आउन धेरै समय पर्खनु नपर्ने अवस्था परम्पराले देखाइसक्यो । ‘प’ वर्गका प बाहेकका फ, ब, भ, म उच्चारित वर्णहरू सोझै बाँकी छन् । अब लिनका पालामा के कस्ता मनोवृत्तिको उदय होला । अहिलेलाई ‘द’ वर्णाेचारित शब्दहरुको मूलाबारी फस्टाओस् । ताली जय ‘द’वर्णलाई ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्जुस्याइँ

कन्जुस्याइँ

देवीप्रसाद चापागाईं
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं
बोली

बोली

देवीप्रसाद चापागाईं
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे