साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग प्रत्यारोपणको भूकम्प

बरू सोही देशको फरक जात र वर्गको बुद्धि पनि हाल्न सकिन्छ । उनको नाक अलि बुच्चो थियो । चुच्चो नाक हालिमागे । आँखा, कान र नाकको बनोट एकदमै पृथक देखिन थाल्यो ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

मान्छे आफूलाई ईश्वरको योग्यता प्राप्त गरेको दोस्रो हकदार ठानेर पक्क फुल्यो । त्यो मतलाई हाम्रा शास्त्रहरूले पनि ताली पड्काए । जसरी पनि बूढीलाई गोसाइँथान भने झैँ मान्छेलाई चाहिएको थियो आखिर त्यही । ऊ अन्य जीवभन्दा उच्च हुन पाउँदा गर्वले मख्ख छ । आनन्दले तृप्त छ ।

हुन पनि ईश्वर पछिको दोस्रो स्थान पाएको कुरा उसले देखाएको व्यवहारबाट छर्लङ्ग भएको छ । मुटु नयाँ बनाउन असमर्थ भए पनि पुरानोलाई टालटुल पारेर काम चलाइसकेको छ । पेसमेकर राखी ब्याट्री चार्ज गर्न सक्ने ह्याउ बनायो पनि । अरु प्राणी यथास्थानमै छन् । अनि चुरिफुरी नबढोस् त विचराको ? सामर्थ्य आधारमा हेर्दा उसलाई दावी गर्ने अधिकार पनि दिऊँ न त । किन असभ्य बन्नू ।

ईश्वर पनि कति जान्दछन् । एउटै वस्तुको हजारौँ लाखौँ स्वरूप र तह जन्माउँछन् । उही र उस्तै लाग्ने, झुक्किने वस्तु बनाइ दिएर औरिजिनलमा पुग्नै दिँदैनन् । मान्छे टाउको टेकेर यी… औरिजिनल भेट्टाएँ भनेर अट्टाहास गर्दछ । विचरा ! अघिल्लो भन्दा केही थप गुण भएको एक तह माथिको मात्र हातलागी । अर्को त्यो भन्दा माथिको देखेपछि हिस्स । अनि सुर हुन्छ गाँड कोराकोर । ओरिजिनलचाहिँ भगवानकै हातमा सुरक्षित । रावणले बाघको छालाभित्रको पार्वती र डुब्लीकेट सीता पाएझैँ । ईश्वरलाई थाहै छ ओरिजिनल आफैँसँग । मेरो यो ओरिजिनल भन्ने अहङ्कारी मानवलाई धुलो चटाइ दिन्छन् । अब मान्छे जावो हेर्‍या हेर्‍यै । नभए खाँचो नै के छ र उनलाई । गाडँको अपरेसन, हड्डीको जोडजाड छालाको सर्जरी, आँखाको शल्यक्रियामा एकहदसम्म ऊ सफल नै देखियो । कुनै समय डाक्टरहरूले ठाउँ ठाउँमा शिविर राखेर विविध उपचारका वान्की खडा गरे अरे । अङ्ग प्रत्यारोपणको बाढी नै आयो ।

एक समयमा दक्षिण एसिया, अफ्रिका र अन्य महादेशका थोर वहुत साना राष्ट्रहरूमा अङ्ग साटफेर (प्रत्यारोपण)को हुण्डरी नै चल्यो अरे । आफ्ना शरिरका अमिल्दा अङ्ग र रोगी अङ्ग विस्थापित गरी नयाँ अङ्ग हाल्ने हुटहुटीले घरखेत नै बेचिन थालियो अरे । आफ्ना गहनागुरिया र छोराको विवाहको सिक्रीसमेत बेची तयार भएछन् कति त । युवायुवतीको जमात मात्र होइन वृद्धवृद्धाहरू पनि आफ्ना छोराबुहारीलाई पत्तो नदिई नाति नातिनीहरूलाई पानीपुरी र चटपटे खान दिई बैंकबाट पैसा झिक्न लगाई खुसुक्क हिडेर काठमाडौंका गहतप्रसादले त गैरीखेत बेचेर सुगाढुङ्गे नाकको सर्जरी गरी तीलको फूलजस्तो नाक राखीमागेछन् । सुगाढुङ्गे भनी बारम्बार अपमानित भएका उनी आलोचनारहित भई हिँड्न पाएछन् ।

त्यसको प्रभाव वरिपरिका व्यक्तिलाई परिहाल्यो । भेडीखर्कका गोठाला तुलारामले खर्क बेचेर टेढो आँखालाई सोझो बनाए । उनको मानभाउ नै अर्कै । निम्नवर्गीय किसान परिवारदेखि उच्च पदस्त कर्मचारीलाई समेत अङ्ग प्रत्यारोपणले च्याप्पै छोप्यो । पार्टिका चवन्नी सदस्यदेखि केन्द्रिय अध्यक्षसम्मका व्यक्तिहरू पनि आ-आफ्नो नसुहाउँदा अङ्ग फेर्न लालायित भए । कुनै देशको महारानीको चिउँडो अलि भुत्ते थियो । राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा सार्वजनिक हुन निकै असहज लाग्थ्यो । बाबुले विवाहमा दाइजो दिएको पुतली दरबार बेचेर सुलुत्त परेको कम घनत्वको चिउँडो पाए पछि त प्रायः दरबारबाट राजाभन्दा बढी निस्किन थालिन् अरे ।

डाँडाघरे रिमाल दाइकी फुपू ब्याजमा पैसा लगाइ रहन्थिन् रे । आफ्नै भाइको मुटुको अपरेसन गर्नुपर्दा राम्रो खेत नै बेच्नुपरेको थियो । त्यस्तो बेलासम्म पैसा नझिकेकी उनले आफ्नो गाँडको अपरेशन गरिछन् । गाउँलेहरूले त्यसपछि गाँडाबुढी भन्न नै पाएनन् । दन्त, नासिका, पयर, ललाट, नितम्ब फेर्नेहरुको लर्को नै लाग्न थाल्यो । सेता कपाल उखेलेर काला कपालको जरा धेरैले प्रत्यारोपण गरे । चर्मको प्रत्योरोपण त झनै मौलायो । दाँत पनि कसैलाई कोदालीपाते त कसैलाई दारिमबियाँयुक्त ।

कसैलाई चम्किलो इनामेल भएको त कसैलाई घिउ रङको । नाकको प्रत्यारोपणमा तीलको फूल र गोलकाँक्री आकारको माग अधिक हुन थाल्यो । केही सिप नचले कुभिण्डो (कुष्माण्ड) को आकारमा पनि चित्त बुझाएरछन् कतिले त । वगैँचा बगैँचा दगुरेर स्याम्पल बटुल्नेको भीड उदेकलाग्दो हुन थालेछ । नेपालका सवै गाउँ र सहरहरुमा अङग प्रत्यारोपणले खुब प्रभाव जमायो रे । नेपाल, भारत, सुडान, नाइजेरिया, कोलम्बिया, सेनेगल, जिबुटी आदि देशहरु प्रभावित भए । आफ्रिकातिर चर्म प्रत्यारोपण (सर्जरी) व्यापक भयो । विहान बेलुका छाक टार्न मुस्किल गोराहरू रातारात शहरमा घरघडेरी खरिद गर्न सफल भए । कति त सबै काम मान्छेले नै गर्दछ भगवान छैनन् भनी अनीश्वरवादी प्रवचन दिन गाउँ गाउँ हिड्न थाले । जिब्रोमा करेन्ट लागेका नेपालका प्रधानमन्त्रीले धनगढीको घर बेची भेडे जिब्रोलाई चिवे चराको जिब्रो हालेर कानै खाने गरि चिच्याउन थाले ।

अङ्गका कारण आलोचनामा परेका आफ्ना लोग्नेहरुको अङ्ग प्रत्यारोपणमा माइतीले दिएको पेवा पनि रित्याए कति गृहणीहरुले । मान्छेहरु स्वशैलीमा निमग्न हुन थाले । बानियाँलाई पुराना भाँडा वेची नयाँ भाडाँलिएको दिनको मनोविज्ञान छताछुल्ल भए जस्तै । होटल, पसल, उपवन सवैतिर नौला नौला गफका गोजीहरु भरिए । प्रायः सार्वजनिक स्थल र घरटोलमा गफका एजेण्डा नै त्यही हुन्थ्यो । फेरिदो चिन्तन र जीवनशैलीले विविधता उजागर गर्‍यो । गधा, भेडो, गोरुजस्ता प्रतिकात्मक अर्थ वहन गर्ने शब्दहरुको प्रयोग घरमा राखेको नोकरलाई समेत कम प्रयोग हुन थालेको थियो रे ।

अङ्ग प्रत्यारोपण टोली अनेक बने नेपाल र भारतमा । अङ्ग प्रत्यारोपण टोलीमा टेम्पन (अमेरिकी), पासुरी होकापाइ(जापानी)को नेतृत्व थियो । मुगु जिल्लाका एक व्यक्तिले अङ्ग प्रत्यारोपणका लागि पैसा जोहो गर्दागर्दे ढिला भयो । घर खेत बेचेर ८५ लाख नगद जम्मा गरे । तर त्यतिखेरसम्म त्यो टोली नेपाल र भारतबाट हिँडिसकेको रहेछ । टोली सिड्नी पुगेको खबर उनले पाए । कतार एयरवेजबाट त्यहाँ पुगे । डा.जेगोसले प्रश्न गरे, ‘कुन अङ्ग फेरौँ ?’ उनले भने, ‘शरीरका अङ्ग मात्र फेरेर कुनै परिवर्तन आएन, मलाई बुद्धि नै फेरिदिनुहोस् । त्यो पनि अमेरिकी, चाइनिज र जापानिजमध्ये एक होस् ।’ डा.जेगोसले भने – ‘हामी हत्तपत्त बुद्धि प्रत्यारोपण गर्दैनौँ । गर्नु परे त्यही देशको नागरिकको मात्र । सोही देशको एउटाको अर्कोलाई । त्यो पनि सोही पुस्ताको मात्र ।’

उनले कड्किएर भने – ‘तिमीहरुको फि तिरौँला ।’ उनीहरुले अस्वीकार गरे । दूरदर्शिता, पारदर्शिता, तत्परता, बफादारिता सबै हस्तान्तरण हुन्छन् । त्यो काम गर्न हामी कदापि सक्दैनौँ । फेरि बुद्धि प्रत्यारोपण गर्न बिरामी र डाक्टर दुवैको देशको संसदले पारित गर्नुपर्दछ । आफ्नो मुताविक नहुने भएपछि उनी झोक्किएर हिँडे । डा.होकापाइले उनलाई फर्काएर ल्याए । उनले भने – ‘तपाईंको देशको कुनै आफ्नै उमेर समूहको मान्छेको बुद्धि प्रत्यारोपण गर्ने हो भने हामी विद्आउट फि गरिदिउँला । बरू सोही देशको फरक जात र वर्गको बुद्धि पनि हाल्न सकिन्छ ।’ उनको नाक अलि बुच्चो थियो । चुच्चो नाक हालिमागे । आँखा, कान र नाकको बनोट एकदमै पृथक देखिन थाल्यो । त्यो दिनबाट उनको मनोवृत्तिको अनुमान कसैले लगाउन सकेनन् ।

०००
२०८०/०४/०८
काठमाडौं

कार्टुन श्राेत : barakhari.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x