सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्थापना दिवसमा मजगैयाँ र पौडेलसहित ४२ स्रष्टा सम्मानित

दाङका उत्तमकृष्ण मजगैयाँ र मोरङका अनिल पौडेलसहित मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूलाई यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ बैशाख १९ । सिस्नुपानी नेपाल मकवानपुरले ४२ स्रष्टाहरूलाई सम्मान गरेको छ ।

बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयाँ र मोरङ जिल्लाका अनिल पौडेलकीर्तेलाई हास्यव्यङ्ग्य लेखनका लागि सम्मान गरेको हो ।

मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा उहाँहरूलाई समेत स्थापना दिवसको अवसरमा संस्थाले सम्मान गरेको हो ।

हास्यव्यङ्ग्य क्षेत्रका सर्जकहरूलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा.गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको हास्यव्यङ्ग्य साहित्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई २५ हजार १ रुपैयाँ नगद राशिसहित र यसै वर्षदेखि दिइएको ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट पौडेललाई १५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

स्व. डा. गणेशकुमार पौडेलका परिवारजन र सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आरसी रिजालद्वारा स्थापित बेग्लाबेग्लै अक्षयकोषमार्फत् ती पुरस्कारहरू प्रदान भएका हुन् ।

२०७९ मा डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान रिजाललाई प्रदान गरिएको थियो । उहाँले आफूले प्राप्त रकममा थप गरी सिस्नुपानी मकवानपुरमा अक्षयकोष स्थापना गराउनु भएको हो ।

कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष तथा गायक सागर तिमल्सिना, सिस्नुपानी मकवानपुरकी सदस्य स्वस्तिका दाहालका साथै गायक अजर फुयाँल र गायक तथा वाद्यवादक प्रलय चौलागाईँले समेत प्यारोडी गायन गर्नुभयो ।

हास्यव्यङ्ग्य मुक्तक वाचनमा भवानी तिमल्सिना, ओमभक्त भण्डारी, देवराज तिवारी र सुबास सजल, कविता वाचनमा सबिता तिमल्सिना, गोविन्द पौडेल र पुरूषोत्तम आचार्य रहनु भयो भने किशन पौडेलले केही हाइकुहरू वाचन गर्नु भएको थियो । सम्मानित स्रष्टाद्वय मजगैयाँ र पौडेलले आ-आफ्ना हास्यव्यङ्ग्य सिर्जनाहरू सुनाउनुभयो ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे प्रमुख आतिथि, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने सभाध्यक्ष रहनु भएको कार्यक्रममा हास्यव्यङ्ग्य सर्जक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजाल विशिष्ठ अतिथि रहनु भयो ।

यस्तै कार्यक्रममा साहित्यसेवी मुक्तिगोविन्द वैद्य, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा अतिथि रहनु भएको हो ।

पूर्व अध्यक्ष स्व. डा. गणेशकुमार पौडेलको तस्बिरमा माल्यार्पण गरी सुरू भएको कार्यक्रममा प्रमुख अतिथि गाम्नागेले सिस्नुपानी मकवानपुरले स्थापना दिवस र अन्य कार्यक्रमहरूमार्फत् हास्यव्यङ्ग्य सिर्जनामार्फत् उल्लेख्य कार्यहरू गरेकोमा बधाई दिनुभयो ।

यस्तै अतिथि नवीन सिग्देलले साहित्यिक क्षेत्रमा आफूले प्रोत्साहन गरिरहेको स्मरण गराउँदै समयमैँ कार्यक्रमको तालिका बनाइ सोअनुसार योजनासहित बजेट माग गर्नका लागि आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष लामिछानेले मकवानपुरमा रहेका साहित्यिक संस्था, यससम्बद्ध तथा संस्थामा आबद्ध नभएका साहित्य सर्जकहरूको सहयोग, समर्थन र साथले नै सिस्नुपानी नेपाल मकवानपुरले आफ्नो कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्न समर्थ रहेको बताउँदै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

एनएस टेलिभिजनले छायाङ्कन गरी रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेल र सहसचिव संप्रस पौडेलले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad