ठूला मान्छे, भुइँ मान्छे र ताली
यहाँ मलाई नचिन्ने पुरस्कार गुठी एउटै छैनन् । मैले किताब लेख्दैछु के भन्नुपर्छ त्यसो भए उत्कृष्ट लेखन पुरस्कार हजुरको नाममा बुकिङ भयो भनिहाल्छन् । साहित्य महोत्सव होस कि अन्तर्राष्ट्रिय साहित्य सम्मेलन म विना केही हुँदैन ।
हरि खनाल :
निकै ठूला मानिसहरूको जमघट थियो । ती ठूला मानिसका आसेपासे भुइँ मान्छे पनि उल्लेख्य मात्रामा थिए । परिचय कार्यक्रम आरम्भ भयो । भुइँ मान्छेहरूको परिचयलाई ठूला मान्छेहरूले खासै ध्यान दिएर सुनेनन् । ठूला मान्छेहरू एकआपसमा गफिए ।
ठूला मानिसको परिचय आरम्भ भयो । भुइँ मान्छेहरू निकै सतर्क भए ।
ठूलो एकः ‘म जीवनमा सधैँ सफल मान्छे । स्कूलका परीक्षामा जहिलै प्रथम । खेलकूदमा जहिलै सफल । लोकसेवामा सधैँ अब्बल । मलाई मान्छेहरू भगवानको अवतारै मान्दछन् । कसैले उदाहरण दिनुपर्दा मान्छे होस् त विशालजस्तो भन्छन् । यो भन्दा थप परिचय तपाईँहरूलाई दिनुपर्ला र ? म जस्ताको यति कुरा सुन्न पाउनु पनि तपाईँहरूको अहोभाग्य हो ।’ भुइँ मान्छेहरूले बेसरी ताली बजाए । उनको जयगान नै घन्कियो ।
ठूलो दुईः ठूलो एकको परिचय सुन्दादेखि नै आफ्नो पुतले जुँगा मुसारिरहेका ठूलाको क्रम आयो । ‘मेरो परिचय तपाईंहरूलाई सुनाइरहनु पर्ने चाहिँ होइन किनभने तपाईंहरू अधिकांशले मलाई चिन्नुहुन्छ । मलाई नचिन्नु भनेको त लोकसेवामा अनुत्तीणर् हुने एउटा सङ्केत नै हो । सत्तरी देशमा त मेरो पाइला नै परिसकेको छ । नेपालका बुद्धिजीवि र व्यापारीहरू टेलेफोनमा मलाई आवाजले नै चिन्छन् । केही दिन अघि एउटा भ्रमणमा गएको थिएँ मानिसहरूले त मानिसहरूले त मेरो तस्विर र भोलेनाथको तस्विर त सँगै राखेर पो पूजाआजा गरिरहेका रहेछन् । मन्तरी र माननीयहरूले त दिन रातै मलाई फोन गर्छन् ।’ भुइँ मान्छेहरूले ताली बजाए ।
ठूला नं ३ः ठूला नं ३ चाहिँ अलि फरक थिइन् । अरुले परिचय दिइरहँदा उनको टाउको पानी नपार्ने बेला चम्किएको बिजुलीजस्तै गरिरहेको थियो । उनको कालो चस्मा कहिले टाउकोमा सर्थ्यो त कहिले चिउँडोतिर । दुई चारपटक त हातमा पनि पुगेको थियो । उनको हेराइ पनि निकै कलात्मक थियो । उनी कहिले चस्माको तलबाट भुइँ मान्छेतिर नजर लगाउँथिन् त कहिले चस्माको माथितिरबाट । चस्मा फुकालेका बेला उनका आँखाका नानीहरू योग गरिरहेका जस्तै देखिन्थे । देखे पनि भन्न त नहुने थियो पाठकहरूलाई खुसुक्क मात्र भनेको है उहाँका पोशाक पनि आँखा जस्तै चलायमान भइरहेका हुन्थे । उठ्ने बस्ने र कपाल मिलाउने यसलाई कपाल साँची भन्दिऊँ क्रिया बारबार भइरहेको हुन्थ्यो ।
उनको पालो आयो । उनी जुरुक्क उठिन् ।
‘मलाई नचिन्ने यहाँ कोही हुनुहुन्छ ? उनले भुइँमान्छेतिर हेर्दै सोधिन् । कसले पनि छु भनेनन् । देख्नुभयो मलाई चिनाउनु आवश्यक नै छैन । मलाई हेरेर गीतकार तथा कविहरूले गीत कविता लेख्नुहुन्छ । कलाकारले चित्र बनाउनुहुन्छ । दिदीबैनीहरूले जहाँ देख्यो उहीँ अँगालो हाल्नुहुन्छ र तस्विर खिच्न आउनुहुन्छ । टिकटक सट लिने त करोडौँ होलान् । म अक्सर सडकमा हिँड्दिन । किन थाहा छ युवा साथीहरू झ्यालबाट हामफाल्नुहोला भन्ने खुव पीर लाग्छ । चलचित्र निर्माता र डिरेक्टरहरु त मलाई देखेपछि कथा नै बिर्सन्छन् ।’ उनको कुरा पनि सकियो । भुइँ मान्छेहरूले यसपाली त तालीसँगै आइ लभ यू नै भन्न भ्याए ।
ठूला नं ४ः ठूला नं ४ हातमा पुस्तक खेलाइरहेका थिए । उनकै पालो आयो । उनले हातमा पुस्तक देखाउँदै भने ‘शायद मेरो परिचय यही पुस्तकले दिइरहेको छ । म महान् लेखक । बेलायतकासँग दाज्नुभयो भने सेक्सपियर । रुसकासँग दाज्नुभयो भने लियो टोल्सटोय वा एन्टेन चेखोब वा म्याक्सिम गोर्की । भारत आउनुभयो भने टैगोर वा प्रेमचन्द । चीन जानुभए लुशून । नेपालमा त मलाई कोसँग तुलना गर्नुहोला र ? यहाँ मलाई नचिन्ने पुरस्कार गुठी एउटै छैनन् । मैले किताब लेख्दैछु के भन्नुपर्छ त्यसो भए उत्कृष्ट लेखन पुरस्कार हजुरको नाममा बुकिङ भयो भनिहाल्छन् । साहित्य महोत्सव होस कि अन्तर्राष्ट्रिय साहित्य सम्मेलन म विना केही हुँदैन । हस् त जय होस् ।’ भुइँ मान्छेको ताली वर्षा ।
एकजना मानिसले प्लाष्टिकको बाल्टिनजस्तो भाँडोमा जुस लिएर आइरहेका थिए । ढोकाभित्र प्रवेश के गरेका थिए जुस छचल्किएर भुइँ मान्छे भएतिर पर्यो । सबैले कान ठाडो बनाए । जुस ल्याउनेतिर शब्दवाण पनि बर्सियो ।
‘हजुरहरू जस्तै ठूलो रहेछ यो जुसको भाँडो भनूँ कि जुस । हेर्नुस् न मैले वा हजुरहरूले चलाउनै नपाई आफैँ छचल्किएर बाहिर आयो ।’ के बुझे कुनि भुइँ मान्छेहरूले फेरि ताली बजाए ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest