
हजुरबाको हाँसो
अहिले गठबन्धन भएपछि सुविधा यो छ, प्रतिपक्ष दल सरकारबाट हट्नु परेकाले गठबन्धन तोडेर आफू सत्तामा आउने ताकमा उसले यस्तो गरेको छ । सत्तामा बस्न नपाएर प्रतिपक्ष छटपटिएको छ ।

भाउपन्थी :
उहाँ भन्नुहुन्थ्यो, ‘तिमीहरू उँभो लाग्दैनौ ।’ उहाँ परिवारवालाहरूको हजुरबा हुनुहुन्थ्यो । असी नाघेका । हजुरबाको भनाइ नेताहरूले सुन्ने कुरो भएन । उहाँ घरभित्र बसेर यस्तो फलाक्नुहुन्थ्यो— ‘तिमीहरू उँभो लाग्दैनौ ।’ उहाँको यस्तो भनाइ सुन्न पाए नेताहरू रिसाउने थिए । भन्न सक्थे— ‘हामी उँभो लाग्न सक्दैनौँ भने लौ तिमी नै आएर मुलुक चलाउन त बूढा !’ उहाँ मतलब हजुरबा फिस्स हाँसिदिन सक्नुहुन्थ्यो, त्यस्तो भन्न सक्छन् भन्ने सोचेर । ‘ए त्यसो भए साँच्चै नै तिमीहरू कुर्सी छाड्छौ त ?’ यो प्रश्न पनि गरिहाल्नुहुन्थ्यो कि ? उहाँ असी वर्षको हुनुभो । अलि होसमा रहनुहुन्न । बेलाबेला कताकति खुस्किहाल्नुहुन्छ । र भन्ने गर्नुहुन्छ— ‘तिमीहरू उँभो लाग्दैनौ ।’ र कहिलेकाहीँ मात्र थप्नुहुन्छ— मुलुकलाई पनि उँभो लाग्न दिँदैनौ ।’ उहाँको विचारमा तिमीहरू उँभो लाग्दैनौ भन्नु नै पर्याप्त छ । अस्ति भर्खर मुलुक हाँक्ने सरकारप्रमुखले भनेका छन्— ‘यो मुलुकमा केही हुन सक्तैन भन्ने धेरै नकारात्मक सोच नबनाऔँ ।’
हजुरबा बूढाका घरकाहरू अत्तालिए । उनीहरूले भने— ‘हजुरबालाई जथाभावी बोल्न नदिऊँ । उहाँ असी वर्षको हुनुभो, जीवन भोग्नुभो । तर सरकार मूर्ख छ । सही भए पनि यस्तो नकारात्मक सोच राख्ने भनेर चौरासी पूजा गर्न नपाउँदै लगेर थुन्ने पो हो कि ? जेलभित्र चौरासी गर्न पाइन्छ कि पाइन्न ?’ हजुरबाको चौरासी पूजा गर्न उनीहरूले अहिलेदेखि तयारी गर्दै थिए । उनीहरूलाई सरकारले लगेर थुनिहाल्छ कि भन्ने आशङ्का यस कारण थियो, उहाँ भनिरहनुहुन्थ्यो हाँस्दै— ‘तिमीहरू उँभो लाग्दैनौ ।’ फेरि हाँस्नुहुन्थ्यो । कहिले भन्नुभन्दा पहिले पनि हाँस्नुहुन्थ्यो र कहिले भनिसकेपछि पनि । हजुरबा बूढाको यो भनाइ सुराकी लागेकाले सरकारको कानसम्म पुर्यायो कि ? सरकारसँग कान मात्र छन् आँखा छैनन् । सरकार प्रमुखले यस कारण भनिरहेछन्— ‘धेरै नकारात्मक नसोचौँ ।’ घरकाहरूको विश्लेषणमा यो थियो— ‘तिमीहरू उँभोे लाग्दैनौ’ भन्नुमा केही पनि नकारात्मकता थिएन । असी वर्षका बुढाले आफ्नो जीवनको अनुभवले यो भन्नु— ‘तिमीहरू उँभो लाग्दैनौ जायजै हो ।’
कसोकसो परिवारकालाई पनि लाग्न थालेको थियो वास्तवमै उँभो लाग्न सकिँदैन । त्यसैले जतिसक्यो चाँडो विदेश पलायनमै दूरदर्शिता छ । सबैका हातहातमा पासपोर्ट थिए, जाने उपायको खोजीमा थिए । मात्र कति भने हजुरबाको चौरासीको प्रतीक्षामा थिए सबै । नत्र कसै गरी सबै उहिल्यै उडिसक्ने थिए । परिवारमा यो एउटा निहुँ मात्र हो भन्ने थाहा थियो । निहुँ अरुअरु पनि थिए तर तिनको खोलुवा गर्दा लामै हुने डर थियो । परिवारकाहरू ढुक्क थिए, भएको सबै बेचविखन गर्दा विदेश जाने खर्च पुग्थ्यो । कोही अध्ययन भिसामा जाने थिए भने कोही भिजिट भिसामा गएर उतै गायब हुने तारतम्य मिलाउँदै थिए । कोही यहीँ बसेर उताबाट बोलावट आउने प्रतीक्षामा बस्ने उपायमा थिए । कोही डिभी खुलेपछि नाम आयो कि आएन भनेर पत्तो लाउने पषमा थिए । सबैका बीच एउटा सहमति बनिसकेको थियो— ‘विदेशै हानिने । यहाँ बसेर भविष्य छैन ।’
भविष्य छैन भनेर सबैलाई विश्वास भइसकेको थियो । भविष्य अँध्यारोमा बिलाएको थियो र त्यसमाथि असीपार हुनुभएका हजुरबाले जो चौरासीतिर जाँदै हुनुहन्थ्यो भनिदिनुहुन्थ्यो— ‘तिमीहरू उँभो लाग्दैनौ ।’ उहाँ त्यसो भनेर हाँस्नुहुन्थ्यो । उहाँका बत्तिसै वटा दाँत अभैm पनि सग्लै थिए । असी नाघेका वृद्ध त्यसमाथि बत्तिस दन्तले परिपूणर्ले भनेको पुग्छ भनेर परिवारका पुरोहितले भनेका थिए । पुरोहित ज्योतिष विज्ञानमा पनि पोख्त थिए । राजनीतिक वृत्तमा प्रसिद्ध पनि थिए । नेताहरू उनलाई घरै बोलाउँथे । कालो सिसाको पजेरोमा राखेर घरभित्र सुटुक्क हुल्थे । मिडियाले थाहा पायो भने हल्ला मच्चिन सक्थ्यो— ‘फलानो नेताले साइत हेरायो प्रधानमन्त्री हुने’ भनेर । मुख बन्द गर्नलाई पुरोहितलाई पर्याप्त दक्षिणा दिन्थे । त्यस्ता पुरोतिहले हजुरबाको मुखभित्रका दाँतहरूको निरीक्षण गरेर भनेका थिए— ‘यी सिद्ध पुरुष हुन् ।’
‘सिद्ध पुरुष नभए पनि,’ पुरोहितले भने, ‘हजुरबालाई सुरक्षित राख्नाेस् । उहाँलाई अपहरण गरेर लगिन सक्छ ।’ तर अपहरण कसले गर्छ भन्ने पुरोहितले भनेनन् । परिवारले जोड दिँदा पनि भनेनन् । ‘समय आएपछि भनौँला । अहिले समय भएको छैन,’ भने । तर उहाँको चौरासी गर्न चाहने हो भने यही असी वर्ष पूरा गरेको अवसरमा पनि गर्न सकिन्छ भनेर सुझाए । कारण के थियो भने, उहाँको चौरासी भन्नु नै असीपछिको जुन वर्ष पनि हो । पुरोहितको भनाइमा यो थियो । परिवारमा एउटा भित्री कुरा यो पनि चल्यो, पुरोहितले असीपछि हजुरबाको निधन भयो भने चौरासी गराउँदा टिकाटालो आदिबाट पाइने नगद दक्षिणा र दानमा पाइने वस्तुगत धनधान्यादिको हानि हुने हुनाले त्यसो भनेको हुनुपर्छ । साथै हालसम्म चौरासीका लागि आर्थिक पक्षको बन्दोबस्त पूरा भइसकेको थिएन । त्यो व्यवस्था परिपूर्ण भएपछि चौरासी गर्न सुगम हुने निर्क्याैल थियो परिवारको । त्यसैले असी नाघेपछि जुनै वर्षमा चौरासी गर्न बाधा पर्दैन भन्ने पुरोहितको सुझाउ कार्यान्वयनमा ढिलो गरियो ।
परिवारमा खलबली थियो त अर्को— ‘यो तिमीहरू भनेका कोको हुन् ?’ हजुरबाले बरोबर भन्ने गर्नुहुन्थ्यो— ‘तिमीहरू उँभो लाग्दैनौ ।’ त्यति भनेपछि पनि उहाँ गम्भीर बनेर मौन बस्नुहुन्नथ्यो, खितित्त हाँस्नुहुन्थ्यो । बूढाको कहिले जुङादारीले गालामुख ढाकिएका हुन्थे भने कहिले परिवार मिलेर जुङादारी खौरिदिएपछि सफाचट हुने गर्थ्याे । दुवै अवस्थामा उहाँ हाँस्न छाड्नुहुन्नथ्यो र दुवै अवस्थामा उहाँको हँसाइ अलि अनौठैको हुने गथ्र्यो । मानौँ आजै केही अनिष्ट भइहाल्ने हो । तर आजसम्म केही भएको थिएन । भएको थिएन भने पनि केही भएकोमा यो थियो— रूसको सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मुलुकका बेरोजगार युवाहरू मारिएका थिए । दैनिक हजारौँ युवाहरू रोजगारीका लागि खाडी मुलुकतिर गइरहेका थिए । राजनीतिक नियुक्तिहरू भइरहेका थिए, न्यायलयमा पनि र विश्वविद्यालयहरूमा पनि । मुलुकमा स्थिर सरकार थिएन । हरेक दिनजसो एएटा घोटाला वा प्रकरण उकुचिरहेको थियो । गठबन्धनका लागि दलहरूबीच आपसी अविश्वास कायमै थियो । अरू काम छाडेर सरकारी गाडी र इन्धनको खर्चमा सरकार तोड्ने जोड्ने काममा नेताहरू जनताको पिरमर्का बिर्सेर लागिरहेका थिए । गठबन्धनमा वर्षदिनजति पनि सरकार चल्दैनथ्यो । नकारात्मक सोच नलिएर पनि सकारात्मक केही भइरहेको थिएन ।
हजुरबा ‘तिमीहरू उँभो लाग्दैनौ’ भनेर किन हाँसिरहनुहुन्छ ? यो प्रश्न कायमै थियो र यसो विचार गरेर परिवारले उहाँको भनाइमा सत्यता भएको ठहर गर्यो तर राति निद्रामा पनि उहाँ त्यही भनेर बर्बराइरहुन्छ र हाँस्नुहुन्छ, यसमा दिक्दारी थियो । राति हजुरबा त्यसरी बर्बराएको सुनेर बुहारीहरू केही अनिष्ट पो हुने हो कि भनेर डराउँथे । राति उहाँको पटकपटक त्यस्तो भनाइ सुनेपछि उनीहरू झन् डराउँथे । उहाँको हाँसो पनि रातको सन्नाटामा झन् तर्साउने खालको हुन्थ्यो । उहाँलाई कसैले यो सोध्न सकेको होइन, यसमा हाँस्ने कुरो के छ ? परिवारकाहरू अथ्र्याउँथे— ‘तिमीहरू उँभो लाग्न सक्दैनौ’ भनेपछि हाँस्नुको कारण व्यङ्ग्यार्थमा हाँस्नु पो हो कि ?
तर खतरा यो थियो, सरकारमा बसेकाहरूको भनाइ थियो, ‘हामी केही गर्दै छौँ । हामी चुप बसेका छैनौँ ।’ उनीहरू त्यति भनेर हाँस्दैनथे । तर कतै हजुरबाको यो ‘तिमीहरू उँभो लाग्दैनौ’ भन्ने सुनेर ‘यो बूढो साँच्चै बुढै भएछ । सरकारले यत्रो गरिरहेछ र पनि तिमीहरू उँभो लाग्दैनौ भनेर भनिरहेछ । त्यतिले नपुगेर अझ माथिबाट हाँस्छ पनि । हाँसेर हामीलाई गिज्याएको त होला ।’ भन्दै थुनामा लैजाने डर थियो । सरकार गठबन्धनको छ । गठबन्धनका दलहरूले भन्न सक्छन्— ‘यो प्रतिपक्षको गठबन्धन तोड्ने षड्यन्त्र हो । आफूहरूले रमिता हेर्न यो बूढोलाई खटाएका छन् । बूढोलाई पनि आफू प्रयोग भएको थाहा छैन, जुन दलले जे भन्यो त्यही पत्याएर सरकारको खोइरो खनिरहेछ । यसका परिवारवाला पनि यसको षड्यन्त्रमा सामेल छन् । यस्तो मालुम हुन्छ ।’
सरकारका मन्त्रीहरूको छोटो बुद्धिको चर्चा मिडियाले खोइरो खनेरै गर्ने गरेको छ । त्यताको रिस पोख्न यस्तो बेला सरकारले हजुरबाको परिवारको पासपोर्ट जफत गरिदिन पनि सक्छ, नजरबन्दमा राख्न पनि सक्छ । विदेशीको हात पनि छ भन्ने चर्चा सरकारका मन्त्रीहरूको इन्टरभ्युमा आइरहेको छ । विदेशीको हात ? त्यो हात कसको हो खुलासा गरिएको छैन । मन्त्रीहरू यति मात्र भनेर चुप लाग्छन्— विदेशीको हात । हातको धनीको खुलासा गर्न तिनलाई पसिना छुट्छ । विदेशीको हात भन्ने एउटा सरकारी थेगो नै हो कि ? तर अहिले गठबन्धन भएपछि सुविधा यो छ, प्रतिपक्ष दल सरकारबाट हट्नु परेकाले गठबन्धन तोडेर आफू सत्तामा आउने ताकमा उसले यस्तो गरेको छ । सत्तामा बस्न नपाएर प्रतिपक्ष छटपटिएको छ ।
तर हजुरबाले बाहिर जेजस्तो भनाभन र हल्ला चले पनि यो भन्न छाड्नुभएको छैन— ‘तिमीहरू उँभो लाग्ने हैनौ ।’ त्यति भनेर चुप लागिदिए त हुन्थ्यो भन्ने परिवारकाहरूको मान्यता छ । तर उहाँ त्यति भनेर चुप लाग्नुहुन्न मानौँ भविष्य जुन अँध्यारो छ (अँध्यारो नै होला) देखेझैँ हाँस्नुहुन्छ । किनभने यिनको हातबाट उँभो लाग्ने काम हुन सक्दैन भन्ने उहाँको दीर्घ जीवनको लामो अनुभव छ । परिवारकाहरू उहाँको चाँडै चौरासी गरेर विदेशतिर लाग्न पाए यो ‘तिनीहरू उँभो लाग्दैनौ’ भन्ने आक्षेप र भयबाट मुक्त भइन्थ्यो भन्ने थियो र साथै त्यो भनाइ लगत्तैपछि आउने व्यङ्ग्यार्थ हाँसोबाट पनि उन्मुक्ति पाइने थियो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest