साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारलाई भो नरोकौं

त्यसले गर्दा भ्रष्टाचारको विश्वसनीयता बढेर भ्रष्टाचारको छवि पनि उज्ज्वल हुनेछ । होइन, भ्रष्टाचारलाई रोक्छु कि रोक्छु भन्ने हो भने, आजसम्म त खै भ्रष्टाचार रोक्ने उपाय कसैले पत्तो लगाउन सकेको थाहा पाइएको छैन ।

Nepal Telecom ad

भाउपन्थी :

भ्रष्टाचारलाई कसरी रोक्ने ? यस प्रश्नले मुलुकमा भ्रष्टाचार छ भन्ने पुष्टि गर्दछ । यो को त सबै दलका ठाउँ-ठाउँमा सम्पन्न भएका भेला र अधिवेशनहरूले शरम नमानी नमानी मानेकै छन् । ती भेला र अधिवेशनमा आएका कार्यकर्ताहरूले आआफ्ना कतिपय नेताहरूको मुखमा मोसो दल्न पछि परेका पनि थिएनन् तर ‘तर’ खानेहरूले खाइसके अब अगि राँड मानिन पछि राँड जानिन र बाघ लाग्यो घिच्च्याउन अनि राँड लागी चिच्च्याउन भनेझैं भयो यो । सबैले पहिले खानेहरूले खाएको हेरेर बसे, पछि, ‘खायो है खायो !’ भनेर कुर्लन लागे । त्यसरी खाने बानी परेकाहरू मान्छेको रगत चाखेको बाघ अरू जनावरको शिकार गर्न छोडेर मान्छेलाई नै ढुकेर बस्ने मानवभक्षी भइगए जस्तै खाने उपाय नै सोचेर वस्ने भइजान्छन् ।

त्यस्तै, एक पल्ट भ्रष्टाचारको स्वाद चाखिसकेकोले सजिलै खान छोड्‌ला भन्नु व्यर्थे छ र छोडाइछाड्‌छौँ भन्नेहरूले बरु आफ्नो ढिपीलाई सुधार्न यसो दायाँवायाँ काल र परिस्थिति हेर्दै संशोधनवादतिर लाग्दा हुन्छ अर्थात् भ्रष्टाचारविरोधी चिन्तनलाई भ्रष्टाचार समर्थनको नयाँ वैचारिक धरातलमा लैजान भ्रष्टाचार कसरी रोक्ने भन्नेतिर नलागेर, ‘भ्रष्टाचारलाई किन रोक्ने ?’ भनेर सोच्दा हुन्छ ।

‘भ्रष्टाचारलाई किन रोक्ने ?’ भन्ने प्रश्नमा धेरै हाँगावाल जवाफ निहित छ । यस प्रश्नमा, ‘भ्रष्टाचारलाई किन रोकिरहने र, भइराख्या छ त हुँदै रहोस् बरु यसको विकासे कलमी रूप अनुसन्धान गर्नतिर लागौँ,’ भन्ने प्रोत्साहन निहित छ । भ्रष्टाचार गर्न सक्नेलाई भ्रष्टाचार गर्न नदिने भन्नेतिर होइन कि बरु सीताको खोजमा हनुमान लङ्कापुरीतिर सहजै उडेर गएसरह सहजै भ्रष्टाचार कसरी गर्ने भन्नेतिर सर्वदलीय राष्ट्रिय सहमतिका साेच बढाउँदा हुन्छ ।

मेरो विचारमा त भ्रष्टाचार रोक्नु व्यर्थै छ। सबै दलका पुराना पाका नेताहरू धेर-थाेर दिन सत्तामा बसिसके, राजधानीमा भवन-जग्गा व्याङ्क ब्यालेन्स, रखौटी-प्रेमी आदि जोरिसके भनेपछि अब नयाँहरूलाई भ्रष्टाचार नगर्ने वाचामा सत्तामा पठाउनु न्यायसङ्गत मान्न सकिन्न । सबैले भ्रष्टाचार गर्ने समान अवसर पाउनुपर्दछ र यसमा कसैको हस्तक्षेप कदाचित् उचित मानिएला। गाँठी कुरो के पनि छ भने, पहिलेका पुरानाहरूले कुम्ल्याई राखेकोबाट अहिलेका नयाँहरूले भागवण्डा पाउने पनि होइन । ‘लाै त नयाँ छिमलका बाबु हो, हामीले खाएमध्येबाट भागसान्ती यति लिनुहोस्, तर अबउप्रान्त भ्रष्टाचार नगर्नुहोला’ भनेर आफ्नाहरूले उदारता देखाउने पनि होइन । किनभने भ्रष्टाचार भनेको त नितान्त व्यक्तिगत पुरुषार्थ गरेर धनसम्पत्ति आर्जन गरिने काम न हो । यसलाई परिवारको स्तरमा त गोप्य राखिन्छ भने अरूलाई बाँड्ने कुरो त सोच्नै मिल्दैन ।

फेरि नयाँहरूले सरकारमा मन्त्री भएर जाने अवसर पाएको यस समयमा अनुभवका लागि पनि भ्रष्टाचार कसरी गरिदो रहेछ त भनेर बाट भइहेर्नु पनि अति आवश्यक छ। जो जति ठूलो चोर उसको उति ठूलो सोर भनेर त्यसै भनिएको होइन । ठूला भ्रष्टाचारीले नै पार्टीमा र देशमा ठूलो डाँको गरेर इमान्दारीको हाँको हाल्ने गरेको पाइएको छ । त्यसैले वेला वेलामा हामी इमान्दार र अनुभवीहरूलाई मन्त्री पदबाट हटाइयो र भ्रष्टाचार गर्ने मौका गुमाइयो भनेर पार्टी फुटाल्न त पुराना नेताहरू तयार हुने गरेका छन् । यता एमालेका बूढापाका कमरेडहरूमा लेफ्टिस्टहरूले पनि राइटिस्टले नै भ्रष्टाचार गर्न सिके भनेर चिन्ता खाएर मोटाएका पुराना कमरेडहरुले भ्रष्टाचार गरेर कमाएको नमूना देखाउदै यो सम्पति त हाम्रो पुस्ताले आर्जन छाडेको सम्पति हो, भन्ने बयान दिएर अप्रत्यक्ष रूपमा भ्रष्टाचार हाम्रो पुस्तैनी धन्दा हो भनेर घोषणा पनि गरिसके।

त भ्रष्टाचारले कसैलाई पनि भेदभाउ गर्दैन। सबैलाइ समान रूपले हेर्दछ । राजेश्वर देवकोटा नामक राप्रपाका नेताले जनआन्दोलनकारीहरूको चरित्र पञ्चहरूभन्दा गए गुजेको रहेछ भनेर त्यसै त भनेनन् होला । भनाइमा पञ्चहरू पनि गएगुज्रृकै थिए भन्ने स्थापना त छ तर तिनीभन्दा बढी हाम्रा यताका जनआन्दोलनकारी नेताहरू गएगुज्रृका गनाउने भएका छन् भन्ने चुनौती पनि निहित छ । यसरी हेरिल्याउँदा हामी के देख्छौँ भने भ्रष्टाचारले के पञ्च के आन्दोलनकारी नेता, कुनै भेदभाव नगरी सबैको माथ दिएको छ। अर्थात् भ्रष्टाचार गर्न जो कोही पनि स्वतन्त्र छ मात्र पहिलेकालेभन्दा अपार भ्रष्टाचार गर्न सक्नुपर्यो ।

यसरी पुराना र बूढा नेता-कमरेडहरूले मौका वेमौका, बेला न कुवेला भ्रष्टाचार रोक्ने अभियान चलाउने हल्ला फैलाएर नयाँहरूलाई तर्साउनु ठीक होइन । फेरि मौकामा चौका हान्न जानेन भने पछि खाली हात र नाङ्गा खुट्टा लिएर जिल्लातिर फर्कदा जनताले के भन्ला ? स्यावास तर किन भन्ला जनताको त के छ र खाए पनि भ्रष्टाचार नखाए पनि भ्रष्टाचार। भन्ला, ‘उः हेरन कस्तो दयालाग्दो भएर जिल्ला आको छ । खाएको जति उतै काठमाण्डुमा लुकाएर आयो होला । यस्तो झुत्रकामे भएको देखेपछि जनताले दया मानेर खुरुक्कन भोट देना भनेको होला । गए बावै ती दिन। आफ्नो क्षेत्रको विकास गर्नु त कता हो कता, माथि पुगेर कमाउन पनि नजान्ने भएपछि कसको के लाग्छ भन्या । राजनीति गर्नेले भ्रष्टाचार गर्न त जान्नुपर्छ हौ। बेला बेला आइपुग्या चुनाव छ। जनताले काँबाट ल्याउने सधैभरि पैसा लौ। दशपन्ध्र लाख घटी त चुनाव लड्ने सपना नदेखे हुन्छ ।

जनताको त दुइधारे कुरा न हुन्छ। राजनीतिको मुखै रातो। खाए पनि नखाए पनि बाघको मुख रातै भनेझैं । बाघको मुखसँग दाँजिएकोमा राजनीतिले तै तै खुसी हुन पनि सक्छ । तर बाघ त भ्रष्ट राजनीतिसँग आफ्नो रातो मुखको तुलना गरिएकोमा कति मुर्मुरिदाे हो। अनि यस्तोमा किन भ्रष्टाचार रोक्ने नि ? अचेल नखाने को छ, ककसको मुखाँ बुजो हालिसाध्य ? कर्मचारी खाने, प्रशासक खाने, नेता खाने, मन्त्री-सचिव साहूमहाजन-व्यापारी-मन्त-महन्त वृद्धिजीवी- भलादमी सबैका सबै खाने । बल्लतल्ल गरेर सरकारमा भर्खर भर्खर जान पाएको नयाँले मात्र नखाने ? पुरानाले खाएको के हुने, नखाएकाले खाएको खायै गर्ने खाने पालो पाएका नयाँलाई, हामीले डाँडावारि खायौँ तैँले डाँडापारि खालास्’ भनेर भ्रष्टाचार नगर्ने बन्धनको पालना गर्नुपर्ने ? यो भएन।

हो, भ्रष्टाचार गर्दा गोपनीयता निर्वाह गरेर, नफस्ने भएर, नियम पुन्याएर गर्नु भन्नु ठीक हुन्छ। राम्ररी, हेरविचार गरेर र घुस दिने पात्र कस्तो हो र उसले दिएको घुस कामअनुसारको छ छैन, छैन भने त्यही कामको लागि ठूलो रकम दिन इच्छुक अर्को पार्टी खोजेर, पछि मैले घुस ख्वाएको थिएँ भन्ने हल्ला फिजाउने कुपात्र पो हो कि भन्ने छानेर र तलैवाट नियम पुन्याएको टिप्पणी उठाउन लगाएर घुस कमिसन लिंदामा राम्रो हुने आदि यावत् प्रक्रियाको दलगत प्रशिक्षण दिनु उचित हुन्छ। यसमा पनि कुनै काम आफूले रिस्क लिएर नगरेमा मोटो पाटीबाट ठूलो रकम नझर्ने पनि हुन्छ । त्यस्तोमा घुस दिनेको हैसियतलाई विचार गर्नु आवश्यक हुन्छ । पाइयो भनेर भसाभस खाँदा गनाइने डर हुन्छ। कम हैसियत भएकाहरू थोरै रकम खुवाएर बढी हल्ला गर्छन् र सानो रकमले ठूलो काम फुत्काउन खोज्छन् । व्यक्तिगत रिस्कमा काम गर्दा खाने र खुवाउने दुवैको मुख मृत्युपर्यन्त नउघ्रनुपर्ने हुनुपर्छ । यसरी व्यक्तिगत रिस्कमा गरिएको कामकुरा हुनाले जनता र पार्टीको सरोकारको विषय त भएन तर जे भए पनि भ्रष्टाचारका नम्सहरूको पालना गर्नु जरूरी जहिले पनि हुन्छ ।

भ्रष्टाचार नगर्ने हो भने मन्त्री भइसकेपछि खाएन भनेर पत्याउने कोही पनि हँदैन । भ्रष्टाचार गर्यो भने अदुनिआले अचेल भ्रष्टाचारका विरुद्ध उजुरै पर्न छाड्यो भन्दै छ । को जाओस् अदुनिआतिर निवेदन लेखेर लेखाएर । भएन नाम गोप्य राखेर हुलाकबाट रजिष्ट्री चिठी पठायो, नाम नखुलेको हुनाले रीत नपुगेको उजुरी भनेर कारबाही नगर्न पनि सक्छ । आ होस्, खायो त खायो । सबैले खान पाउने पनि होइन र खान सक्ने कुरो पनि होइन । त्यसमाथि अदुनिआले प्रमाण ल्याउनुस् भन्छ । प्रमाण दिन सक्ने भए आफै घुस लिन सकिन्नथ्यो ? ‘लौ मन्त्रीज्यु तपाईंले गरेको भ्रष्टाचारको यतियति प्रमाण मसँग छ त्यसको मोल यति पर्छ भनेर प्रमाण बेचेर कमाउन सकिन्थ्यो नि तर उताबाट जवाफ आउन सक्थ्यो-‘जाऊ मिस्टर, अदुनिआमा बसेकाहरूको पनि खाने मुख छ, लिने हात छ, भोको पेट छ, आजसम्म पैसाले कसैलाई टोकेको थाहा छैन ।’ उही त, खायो त खायो। दिनेले दियो, लिनेले लियो। तै चुप, मैं चुप् ।

खानेहरू मान्छे मात्र भए त तै-तै । मुलुकमा न पार्टीहरू नै खानतिर लहसिएका छन् । भन्नेले त भनिसक्या छ- ‘हाम्रो पार्टी भनेको धनी कार्यकर्ताहरूको गरीब पार्टी हो ।’ पार्टी त इमान्दार छ, कार्यकर्ता बेइमान भए पनि- यै कुरो भन्न खोज्या होइन त ? बेइमान कार्यकर्ताहरूले खाएको रकमको लेभी पार्टीमा नबुझाउनाले पार्टी गरीब छ-कार्यकर्ताहरू पदमा पुगेका वेलामा टन्न खाएर मोटाए पनि । अनि कार्यकर्ता धनी भएपछि केको गरीब पार्टी ‘गरीब त जनता छ ।

यता गरीब जनतालाई नठग्ने नेता-कमरेड आजसम्म यस देशको राजनीतिमा जन्मनै मानेको छैन । गरीबहरूको पक्षधर भन्दै हिँड्ने कमरेडहरूले त गरीबमारा र मुलुकमारा काम गरेका छन् भने ? यसो किन भनेको भने, उनीहरूले मार्क्सदेखि माओसम्मको किरिया खाँदै हामी सर्वहारा हौं भन्छन् अनि गरीब मार्दैनौ, मुलुक मार्दैनौं भनेर आफ्नो पार्टीलाई गरीबहरूको पार्टी पनि भन्छन् नि, त्यसैले । कमरेडहरूको पार्टी त गरीबहरूको धनी पार्टी हो। धनीहरूको गरीब पार्टी भन्नुमा र गरीबहरूको धनी पार्टी भन्नुमा कति नै फरक पो छ र ? एक थरीले खाएमध्येबाट पार्टीलाई बुझाउँदैनन् भने अर्का थरीले पार्टीको नाममा खाएर पार्टीलाई पनि मोटाउन हाल्छन्, आफू पनि मोटाउने गर्छन् ।

भ्रष्टाचार रोक्नेले मुलुकमा जनताको काम भ्रष्टाचारका आधारमा कति छिटोछरितो भइरहेछ भन्नेतिर पनि यसो गहिरिएर ध्यान दिनुपर्छ । कार्यालयहरूमा दिन नसक्नेको कामै हुँदैन, नियम टम्म पुगेर भयो वाबा भन्ने गरी कति नै छताछुल्लिएको माना काम किन नहोस् । अनि नियम मिलेको छ भन्दै त्यसरी नदिने हो भने कर्मचारीले यो महँगीमा जीवन कसरी धान्ने ? हाकिमसाहेबले म्योरज कसरी खेल्ने ? माथिकाले तलबाट ठूलो भाग नपठाउनेलाई राम्रो ठाउँमा सरुवा किन गर्ने ? एउटा भ्रष्टाचार मात्रै रोकिंदा कति आनका तान फरक पर्न जाँदो रहेछ, त्यो पनि विचारणीय छ । मुलुकको त के छ र, भ्रष्टाचार गरे पनि चलेकै छ नगरे पनि चलेकै छ। जनता पनि उस्तै हो। मुलुक पनि उही नै हो, जनता पनि उनै हुन्। गरीब हुनेले पुर्पुरो ठोक्दै भाग्यलाई सराप्दै झन्झन गरीबी भोगेकै छ । गरीबी पनि त भाग्यमै लिएर आउनुपर्दो रहेछ । त्यसै रहर गर्दैमा गरीबी पाइहालिने कुरो होइन रहेछ । यसो हुनाले गरीबी पनि राष्ट्रिय गौरवमध्येकै एउटा कुरो हो। अनि भएकाहरूको छँदै छ नवसम्पन्नहरू पनि समाजमा भ्रष्टाचारबाटै पैदा हुँदै नै छन् । भ्रष्टाचार पनि जारी नै छ ।

भ्रष्टाचारलाई रोक्नु पनि हुन्न। बरु खाएर काम नगरिदनेको सार्वजनिक रूपमा भर्त्सना हुनुपर्दछ । खाएर काम नगरिदिने बानीलाई परित्याग गर्नुपर्ने भएको छ । खाएपछि जसरी पनि काम पूरा गरिदिने परम्पराको विकास गर्नतिर लाग्नु जनहितमा हुनेछ । त्यसले गर्दा भ्रष्टाचारको विश्वसनीयता बढेर भ्रष्टाचारको छवि पनि उज्ज्वल हुनेछ । होइन, भ्रष्टाचारलाई रोक्छु कि रोक्छु भन्ने हो भने, आजसम्म त खै भ्रष्टाचार रोक्ने उपाय कसैले पत्तो लगाउन सकेको थाहा पाइएको छैन ।

०००
चोर चोर (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x