भाउपन्थीहात्ती हिँडिसकेको थियो
‘तपाईं हो कहाँ ? यस्तो गठबन्धन फेरिने मौसममा पनि हात्ती चढेर सयर गर्न जिल्लामा पुग्नुभा’ छ । हात्तीबाट ओर्लेर तुरुन्त यहाँ आइहाल्नुस् । तपाईंको नाम बिना विभागीय मन्त्रीमा छ अहिलेलाई ।’

भाउपन्थी
हात्ती थियो र त्यसमाथि माहुते बसेको थियो । सत्तासीन थिएन नेता, सत्ताबाट खुस्किसकेको थियो । उदास थियो । ऊ पनि हात्तीमा बसेको थियो । हात्तीमा बस्न मन गरिरहेको थिएन तर जङ्गल रिसोर्टको मालिक उसको मिल्ने साथी थियो । त्यसैले ऊ फ्रीमा जङ्गल सफारीमा थियो हात्तीमाथि । रोचक केही भइहाल्छ कि भनेर ऊ हात्तीमाथि बसेको थियो । जङ्गलमा बाघ गैँडा जनावर देखिने थिए । हुनु के थियो र ? हात्ती पनि थियो तर हिँडिरहेको थिएन । किन हो ? त्यस्तो खासै कारण देखिएन । सत्तामा नभएको नेता उसमाथि बसेको चाल पाएको थियो कि र त छटपटी भइरहेको थियो ?
माहुतेले फलामको अङ्कुशेले कत्ति घोच्दा पनि हात्ती हिँड्न मानिरहेको थिएन । माहुते पनि दिक्दार थियो । आज हात्तीलाई के भइरहेछ । हात्ती सधैँ रमाएर जङ्गलभित्र पस्थ्यो सफारीका लागि । आज टसको मस भइरहेको थिएन । यता नेता पनि छक्क परिरहेको थियो । धन्न उसका परिवार साथमा थिएनन् नत्र केही भन्ने थिए जसले नेताको निरीहतालाई देखाउने थियो । रिसोर्टको मालिक पनि परेसान थियो । हात्ती हिँड्नु थियो तर किन हिँडेन ? हिँड्नु त थियो नहिँडेर बेइज्जत गरिरहेको थियो । रिसोर्टका लागि वनक्षेत्रको थप जग्गा उपलब्ध गराइदिन नेतासाथीलाई भनेको थियो ।
नेताले स्वीकृति पनि दिइसकेको थियो । तर हात्ती हिँडिरहेको थिएन । नेता सत्ताबाहिर थियो । तर नेता सत्ता बाहिर भए पनि सत्ताको पेँच घुमाउन जान्दथ्यो । राजधानी उक्लेपछि दुईचार दिनमै काम हुन्छ भनिरहेको थियो । हिजै राति रिसोर्टमा आएको थियो । आएको के थियो मालिक नै गएर सेवाका लागि कारमा राखेर ल्याएको थियो । हात्ती चढ्ने प्रोग्राम थिएन तर राति ह्विस्कीको रमरम चढेपछि बिहानका लागि हात्ती चढेर सफारीमा जाने भन्यो रिसोर्ट मालिकले । नेतालाई के थियो र ? सत्ताबाहिर छँदै थियो । फुर्सतमा थियो । हात्ती चढ्न पाएपछि खुसी हुनु थियो । भन्यो— ‘हात्ती चढेर पनि के गर्ने ? सत्ताबाहिर छौँ मेरो पार्टी र म । परिवार पनि साथमा ल्याइन् । अलि खल्लो होला बिनासत्ता हात्तीमा चढ्दा । परिवारलाई बोलाउन पाए पनि हुन्थ्यो ।’
रिसोर्ट मालिकले भन्यो— ‘सत्ता त त्यस्तै हो । हात्ती त चढिराख्नु पर्छ । हात्ती चढेपछि सत्तामा पनि चढ्न पनि पो पाइन्छ कि ? परिवार त के छ र ? बिहानै बिझाइदिन्छु म ।’ बिहानै परिवार झिकाइदिन्छु भन्दा चुड्की बजायो लज मालिकले ।
रिसोर्ट मालिकले थप भन्यो, ‘सत्ताको चिन्ता त मलाई पनि छ । तपाईं सत्तामा भए मेरो काम सजिलै हुने थियो । परिवार ल्याइएन । मेरो परिवार पनि उतै घरमा छ । भन्नुहुन्छ भने बिहान परिवार पुर्याइदेऊ भनेर काठमाडौंको अफिसलाई खबर गर्छु ।’ यस पल्ट लज मालिकले चुड्की बजाएर । तर नेतालाई राम्रै लाग्यो । सेवाका लागि तत्परता देखाएकोमा । सत्ताबाहिर भए पनि सेवा पुर्याइरहेको थियो रिसोर्ट मालिकले । साथी पनि थियो । तर त्यसो भए पनि हात्ती हिँडिरहेको थिएन । पशुको दिमागमा एउटा चिज घुसेपछि घुस्यो घुस्यो । के घुसेछ त्यो थाहा भएन । राति उसलाई राम्ररी खाना खान दिइएन कि ? खाने त घाँसै हो तर केही सेवासत्कार पनि हात्तीहरूले खोज्छन रे । त्यो नपुगेकाले हात्तीले चित्त बुझाइरहेको थिएन कि ?
नेता खुसी थियो परिवार झिकाइदिन्छु भनेकोमा । तर दुख नगरूँ भनेर भन्यो । हात्ती चढिएको छ । परिवारलाई के झमेला दिनु । सत्तामा जाने चान्स थियो । गठबन्धनको सरकार हो । दलहरूको मेलमिलाप फेरिन सक्छ । आजको गठबन्धनको दल भोलि नहुन पनि सक्छ । सरकार प्रमुखले यो पनि भनेको छ— म रहुन्जेल उथलपुथल भइरहन्छ । उथलपुथल माने गठबन्धन फेरिइरहन सक्छ । यस दाबीले नेताभित्रको उदासीनता कहिले पातलिन्थ्यो त कहिले फेरि अकारण बाक्लिएर आउँथ्यो । सोच्यो, परिवार मगाइदेऊ भनेको भए हुने । तर दुख नगरौँ भनिसकिएको छ । आजको आजै परिवार मगाएर हात्तीको सयर गराउनु परिहाल्ने के त्यस्तो इमर्जेन्सी छ र ? उतै महँगा कारमा हिँडडुल गरिरहेकै छन् । यो जङ्गलमा हात्ती चढेर जिउ दुखाउनुको मतलब के ?
हात्ती नेताले पहिले पनि चढिसेको छ । जङ्गल लजमा साथीले ल्याउने गर्छ । केही गम्भीर चिन्तन गर्नुपर्यो भने यही जङ्गलमा लजमा आउँछ नेता । एकदुई रात गम्भीर चिन्तन गरेपछि ऊ फर्किहाल्थ्यो । यस पल्ट सत्तामा छैन र चिन्तन पनि आइरहेको छैन । गम्भीर चिन्तन । सत्ताको भारले चिन्तनलाई गम्भीर पनि बनाउँथ्यो । सत्ताबाहिर हलुङ्गोहलुङ्गो पेपरवेटले नथिचेको कागज उड्नउड्न खोजेझैं मन भइरहेथ्यो । झलझली आँखामा र चेतनामा सत्तासुखका क्षण आइरहेछन् । कसरी हिँडिन्थ्यो झन्डा फहराएर सरकारी चिल्लो गाडीमा र कसरी पसिन्थ्यो मन्त्रालयमा, कर्मचारीहरूको नमस्कारमाथि नमस्कार खाँदै । कसरी मन्त्री क्वार्टरमा सुखले निदाइन्थ्यो । मानिसहरूको ओइरो लागिरहन्थ्यो क्वार्टरमा पनि र मन्त्रालयमा पनि ।
अहिले यो हात्ती हिँड्न मानिरहेको छैन । पशु हो । अड्डी लिएपछि लियोलियो । प्रतिपक्षले संसद चल्न नदिएर अवरुद्ध गरेझैँ गरिरहेछ । हात्तीको माहुतेको पनि केही सिप चलेको होइन । अङकुशले कति घोच्नु ? कतिकति बेला फकाएर आफ्नो भाषामा हात्तीसित बात पनि मारिटोपल्थ्यो । हात्तीले नाङ्लाजत्रा कान हल्लाएर सुँड उचालेर के सङ्केत गर्थ्याे कुन्नि ? माहुते झन् निरीह हुन्थ्यो । अर्को हात्तीको सवार गर्नोस् नेताजी भन्नलाई पनि बिहानै आन्तरिक पर्यटक र विदेशी पर्यटक लिएर लजका सबै हात्ती निस्किसके । कुनै हात्ती बाँकी छैन हात्तीसारमा ।
तर यो हात्ती लजको मालिकले भनेको सोझो र भरपर्दो जे भन्यो त्यही मान्ने हात्ती हो, यसैमा बसेर सयर गर्नु ठीक हुन्छ भनेरको त हो तर हात्ती छ कि हिँड्नै मानिरहेको छैन । सोझो र जे भन्यो त्यही मान्छ भन्नुको के अर्थ ? बाटाको लागि खाजा पनि बाँधिएको थियो, माहुतेले राखेको थियो । ‘दिउँस अबेरसम्म घुमाएर ले धित मर्ने गरी’ भनेर मालिकले माहुतेलाई निर्देशन दिएको थियो । पिउनका लागि जङ्गलमा शुद्ध पानी पाइँदेन भनेर चारछ बोतल पानी पनि राखिएको थियो फ्रिजबाट झिकेर । तर खानु र पिउनु एकातिर हात्ती नै हिँड्न मानिरहेको छैन । खाजा, पानी सबै बेकार हुने भए । बेकार त नेताजी नै हुने भए । हात्ती नै नहिँडिदिने भएपछि । खै के गर्ने ?
लजको मालिक चुरोट तानेर घोइरिरहेछ । अर्को लजबाट सापट सफारीका लागि हात्ती मगाउने हो कि भनेर । नेताजीको प्रतिष्ठामा धक्का पुग्ने त थियो नै, हात्तीमाथि नेता बसेपछि हात्ती हिँड्नै मानेन भनेर खबर छापिन सक्थ्यो । साथै उसको पनि इज्जतमा बट्टा लाग्ने सम्भावना थियो । नेतालाई डुलाएर फाइदा उठाउँछु भन्थ्यो, हात्तीले नै मानिदिएन । बल्ल खा ! लजको मालिकले दुइटा चुरोट लगातार फुक्यो । हात्तीबाट नेतालाई कसरी झार्ने ? ‘नेताजी हात्तीबाट ओर्लनोस् । यसले मानेन, अर्को बन्दोबस्त गर्छु’ भनेर भन्नलाई उसको मुख खुलिरहेको थिएन । हात्तीसँग रिसाउनु पनि कसरी ? त्यत्रो एमानको हात्तीसँग रिसाउने उपाय नै थिएन । एक हान्यो सुँडले भने सोत्तर परिन्थ्यो । माहुतेसँग रिसाउन सकिन्थ्यो तर उसले पनि सकेको गरिरहेछ हात्ती हिँडाउन । विवेक गुमाएर गाली गर्नु पनि भएन । लजको सबभन्दा पुरानो माहुते हो ।
अब भएन केही त गर्नुपर्यो भनेर लजको मालिकले एस्ट्रेमा ठुटो चुरोट ठोसेर निभायो । उता नेतालाई पनि कसरी हात्तीबाट ओर्लूँ भन्ने भइरहेको थियो । ठाउँ छाड्नै अप्ठ्यारो लागिरहेको थियो । एक्लै सिङ्गै हात्तीमा सयर गर्नु निकै प्रतिष्ठाको विषय थियो । अब प्रतिष्ठाच्युत भएर ओर्लनु पर्यो । हात्ती हिँड्नै मानिरहेको छैन । बसिराखे पनि ऊ हिँड्ने हैन । सुँड र कान हल्लाएर टोकुवा झिङ्गा धपाइरहेछ । ‘मरिराख्’ भनेर मन मार्दै ओर्लने उपक्रममा नेता लागेको थियो पकेटभित्रको मोबाइल बज्यो । कान लगाएर सुन्यो नेताले । को हो यस्तो आपतविपतकाे बेलामा पनि फोन गर्ने भनेर मनमनै जङ्गिन खोजेको थियो, उताबाट माथिल्लो तहका नेताको आवाज आयो— ‘तपाईं हो कहाँ ? यस्तो गठबन्धन फेरिने मौसममा पनि हात्ती चढेर सयर गर्न जिल्लामा पुग्नुभा’ छ । हात्तीबाट ओर्लेर तुरुन्त यहाँ आइहाल्नुस् । तपाईंको नाम बिना विभागीय मन्त्रीमा छ अहिलेलाई ।’ माथिको नेताले लजमालिकबाट थाहा पाएको हुनुपर्छ । हात्ती चढेको छ भन्ने । कसो लज मालिकले हात्ती हिँडिरहेको छैन भनेनछ । मजाक बन्ने थियो पार्टीमा ।
नेता खुसी भयो । भन्यो— ‘अब हात्तीबाट ओर्लँदा प्रतिष्ठाको विषय बन्दैन ।’ तर हात्ती लसकलसक हिँडिसकेको थियो ।
०००
फित्काैली, पूर्णाङ्क ४१ बाट
Subscribe
Login
0 Comments
Oldest







































