भाउपन्थीहास्ययुक्त हुनुमै व्यङ्ग्यको सरसता रहन्छ
नेपाली साहित्यका सन्दर्भमा हास्यरसको प्राथमिकताले हास्यलेखनलाई नै व्यङ्ग्यकाे प्रवेशमार्ग मानिएको छ । साथै व्यङ्ग्यको अलग पहिचानप्रति सचेतता कमै छ।

भाउपन्थी :
नेपाली साहित्यमा हास्य र व्यङ्ग्यको पुरानो र समृद्ध परम्परा छ तानि यसतिर गम्भीरताका साथ कलम चलाउनेहरूको सङ्ख्या आज पनि अन्य विधामाभन्दा कमै रहेको पाइन्छ। यस अवस्थामा र अन्य विधामा लेख्ने अभ्यास रहँदा रहँदै पनि हास्य-व्यङ्ग्यतिर मेरो रुचि जाग्नुमा हास्यभन्दा बढी व्यङ्ग्यकाे प्रखर हुँदै आइरहेको स्वभावको आकर्षणको भूमिका छ । यस आकर्षणलाई छिचोलेर मेरो मस्तिष्कमा एउटा प्रश्न बारम्बार सलबलाइरहने गर्छ र त्यो हो- आज हास्यभन्दा व्यङ्ग्य किन आकर्षक लाग्दो छ ?
आजको समयमा बढी प्रश्रय पाइरहेका समाजका, राजनीतिका, संस्कृतिका, व्यक्तिका विक्ति विसङ्गति आदि सच्याउन हटाउन अरू माध्यम पनि छन् । समाजको विक्ति र विसङ्गति समाजले, राजनीतिको विक्ति र विसङ्गति राजनीतिले, व्यक्तिको विक्तिर विसङ्गति व्यक्तिकै चेतनाको विकास र विवेक आदि गरी आआफ्ना विक्ति र विसङ्गति आआफैले हटाउने सच्याउने क्षमता तिनैतिनैमा निहित रहने गर्दछ । त्यस्तोमा व्यङ्ग्य जसलाई घोच-पेच, छेडछाड उपहासभन्दा माथिल्लो तहको साहित्यिक स्तरमा राखेर हेरिने गरिनाले के नै प्रभाव-कारी भूमिका निर्वाह गर्न सक्छ र ?
हरेक समाजको, राजनीतिको, व्यवस्थाको, व्यक्तिको, संस्कृतिको राम्रो पक्ष दबेर तिनको अन्त्य हुने आशङ्का भइराख्दा पनि तीभित्रका सत् जाग्दैन, समाजभित्रका क्षय-प्रतिरोधक जनचेतनादायी र परिवर्तनकारी शक्तिहरू सङ्गठित हुँदै जुर्मुराउँदैनन् तर हात बाँधेर उदासीन र निष्क्रिय बसिरहन्छन्, त्यस अवस्थामा साहित्यका अर्को कुनै भाषिक माध्यमलेभन्दा व्यङ्ग्यको बौद्धिक र तिक्त उपहासले तिनलाई क्रियाशील बनाउन सक्छ भन्ने स्थापना मेरो छ। यो स्थापना तैपनि साह्रै गरिष्ठ र अपाच्य पनि र असम्भव पनि हुन सक्छ। कारण अहिले हामी अर्थात् नेपाली जनताले नै देखिरहेका छौं र प्रत्यक्ष भोगिरहेका पनि छौं- जनआन्दोलनका प्रेरक परिवर्तनकारी नेतृत्व वर्गमध्ये अधिकांशतः विकृति-विसङ्गतिग्रस्त हुँदै असुरक्षा र त्रासदायी दुष्ट शक्तिमा परिणत भई जनता र देशको अस्मितालाई तर्साइरहेका छन् । त्यति मात्र होइन, जनआन्दोलनकारी शक्तिहरू राष्टि्य अस्मिताको विसर्जनको सीमान्तसम्म पुगिने दिशाहीन सत्तामदमा मातेर महा-भ्रष्टाचारको भासमा आमूल डुबेका छन् र त्यसैमा आनन्दमग्न सुतिरहेका पनि छन् ।
यस्तो अवस्थामा इमान्दार र असल नागरिक निरीह र वाक्हीन भएर यी सत्ता-व्यभिचारीहरूको निर्लज्ज र देशघाती नङ्गा नाच हेरिरहनु बाहेक अरू केही गर्न सके पनि तिनका मनमा त्यस्ता दुष्कृतिहरूप्रति व्यङ्ग्य वा विद्रोह सल्बलाइरहेको हुन्छ। यतैको अभिव्यक्तिको पहलमा व्यङ्ग्यलेखन अघि सर्ने गर्दछ । साहित्यका अन्य विधाले यस्ता विद्रोह, व्यङ्ग्य वा व्यथा-चेतनालाई अभिव्यक्त गर्दैनन् भन्ने हाेइन तर व्यङ्ग्यले सर्वप्रथम त्यस्ता दुष्कृति र दुष्प्रवृत्तिहरूको प्रतिनिधित्व गर्ने घटना, प्रवृति र खलनायकहरूलाई सामयिक सन्दर्भ दिएर व्यक्त वा व्यङ्य गर्ने सुविध पाएको हुन्छ ।
निर्भीक व्यड्ग्य त्यो असल र निरीह व्यक्तिको पक्षमा बोल्ने मात्र होइन स्वयं तिनको मनोभावलाई उद्वेलित गर्दै तिनका अनुभवप्रमाणित सत्यको कटुतालाई अध्यात्मक शब्दाभिव्यक्ति दिने भएर आएको हुन्छ । यस्तो विचार साहित्येतर र समसामयिक घटना विवेचन लाग्न सक्तछ तर व्यङ्गय मात्र होइन आजको साहित्यले पनि यसै चिन्तालाई अभिव्यक्त गर्ने दिशा समातिरहेको छ । समसामयिक विकृति-विसङ्गतिहरूको अभिव्यक्ति-सुविधाका कारण व्यङ्ग्यलेखन माथिमाथि सरल प्रतीत भए पनि यसको दीर्घगामी प्रभावपूर्ण कलात्मक निर्वाह भने कठिन छ। यस विधाको निर्वाह सतर्कतापूर्ण र कलात्मक भएन भने यो सामान्य र नीरस अनि गिल्ला-उपहास र हिलो छेपाइको गफमा परिणत पनि हुने गर्दछ ।
नेपाली साहित्यका सन्दर्भमा हास्यरसको प्राथमिकताले हास्यलेखनलाई नै व्यङ्ग्यकाे प्रवेशमार्ग मानिएको छ । साथै व्यङ्ग्यको अलग पहिचानप्रति सचेतता कमै छ। हास्ययुक्त हुनुमै व्यङ्ग्यको सरसता रहन्छ भन्ने मान्यताअन्तर्गत साहित्यमा व्यङ्ग्य र हास्यको सन्तुलित र संयुक्त निर्वाहको बढी आग्रह रहेको छ । त्यही संयुक्त सन्तुलनको प्राप्तिको प्रयासमा हाम्रो सम्पूर्ण हास्य व्यङ्ग्यलेखन सदा सचेष्ट र प्रवृत्त रहेको पाइन्छ ।
अझ थप बलशाली आग्रह के पनि पाइन्छ भने व्यङ्ग्य अन्तर्भाव भएर हरेक विधामा प्रकट हुन सक्तछ र त्यसैअनुसार व्यङ्ग्यको पहिचान पनि हुने गर्दछ । त्यसो भनिए तापनि व्यङ्ग्य-निबन्ध, व्यङ्ग्य-कथा, व्यङ्ग्य-कविता आदि भएर व्यङ्ग्य आउन त सक्तछ तर व्यङ्ग्य-निर्वाहको सम्पूर्णताप्रति शैली र शिल्पगत प्रतिबद्धताको तिनले आग्रह गरेका हुँदैनन् । व्यङ्ग्यात्मक भएर पनि निबन्धको श्रेणीमा दर्न सकियोस्, व्यङ्ग्यात्मक भएर पनि कविताको मान्यता पाओस् भन्ने आग्रह अघि लागेको पाइन्छ । यसमा विवाद छैन- व्यङ्ग्य साहित्यका सम्पूर्ण विधाहरूको अन्तर्भाव हो तर व्यङ्ग्यकाे सम्पूर्णता त्यतिले परिभाषित हुन सकिरहेको छैन- यसमा विवाद-बहस अवश्य आवश्यक छ ।
प्रथमतः के भन्न अहिले सकिने भएको छ भने, हास्यको आग्रहले व्यङ्ग्यकाे विकासलाई छेकेको छ वा छैन त्यो विवेचना पछि हुँदै रहला तर व्यङ्ग्यकाे प्रभावोत्पादकताका लागि व्यङ्ग्यात्मक शिल्प र शैलीको गठन र आश्रय लिएर व्यङ्ग्य-रचनाको निर्वाह भने यताको समयमा हुन लागेको छ । व्यङ्ग्य निबन्ध हनुपर्छ वा निबन्धमा निहित भएर आउन पर्छ अथवा व्यङ्ग्य कविता हुनु पर्छ अथवा व्यङ्ग्य कविताभित्र अन्तर्स्राव भएर आउनुपर्छ भन्ने आग्रहहरूका दशगजाहरूलाई व्यङ्ग्यलेखनले नाघेर व्यङ्ग्य व्यङ्य्य भएरै आएको हुनुपर्छ र व्यङ्ग्यले निबन्ध हुनुको, कथा हुनुको, उपन्यास हुनुको बाध्यतालाई पन्छाएर स्वतन्त्र व्यङ्ग्य-लेखनको रूपमा विचरण गर्न सक्नु पर्दछ भन्ने व्ययकारहरूभित्र चेतना पलाउन लागिसकेजस्तो लाग्दछ ।
अचेलको व्यङ्ग्यलेखनले व्यङ्ग्यद्वारा हँसाउदै मनोरञ्जन गराउने पूर्ववर्ती लेखनगत विशेषतालाई भत्काएर व्यङ्ग्यद्वारा समकालीन समाज, राजनीति, व्यक्ति, व्यवस्था र संस्कृतिमा व्याप्त विसङ्गति र विकृतितिर विचार पुऱ्याउन पाठकलाई उत्तेजित तुल्याउने गरेको पाइन्छ ।
हास्य र व्यङ्ग्य दुवैलाई अभिन्न वा भिन्न राखेरै पनि यी लेखन गर्नु सजिलो छैन । मेरो प्रयास हास्य व्यङ्ग्यलेखनद्वारा समकालीन जनजीवनलाई आक्रान्त गर्ने सामाजिक, राजनीति, अर्थिक नियामक तत्त्वहरूको निरङ्कुश हुन चाहने एकाधिकारवादी मनोवृत्ति, सत्तालिप्सा, मानवता विरोधी पाशविक क्रूरता र विकृतिलाई उदाङ्गयाउनु रहेको छ । हास्य र व्यङ्ग्यलेखनले लेखकको सामाजिक र मानवीय चेतनाको प्रखरता र प्रतिवद्धता दुवैलाई उद्घोषित गर्दछ । मेरो मान्यतामा हास्य र व्यङ्ग्यलेखनले राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र वैयक्तिक आदि पक्षका विकृति विसङ्गतिलाई उधिनेर तिनको विद्रूपता एवं हास्यास्पदतालाई दैनिक भाषामा तर त्यस भाषाको प्रभावपूर्ण कलात्मक व्यङ्ग्यात्मक प्रयोगका साथ पाठकका अगाडि राखिदिन सक्नुपर्दछ ।
परिष्कृत हास्य र व्यङ्ग्यचेत प्रखर भएको समाजको विचार वैज्ञानिक र सत्यदर्शी हुन्छ । तसर्थ हास्य र व्यङ्ग्यलेखनलाई पाठकको सामाजिक चेतनाको वृद्धि गर्दै उसको स्वतन्त्र निर्णय क्षमताको विकासमा प्रयोग गरिनु पनि पर्दछ । देश र समाजमा सांस्कृतिक पराजयवादी र पराधीनतावादी प्रवृत्तिको विकास, स्वतन्त्र वैचारिक क्षमताको विघटन, मूल्य-मान्यता र मानवमर्यादाको पतन, नैतिकताको विध्वस आदिलाई प्रवेश गराउने शक्तिहरूका प्रतिरोधमा नै सदा व्यङ्ग्य लागेको हुन्छ ।
हास्यले समाजको मनोकुण्ठाको उपचार गर्दछ र व्यङ्ग्यले समाज र व्यक्तिमा सत्यवादी दृष्टिको विकास । यी मेरा मान्यता हुन् । आजको नेपाली साहित्यमा हास्य र व्यङ्ग्यले, केही उदाहरणलाई छोडेर, अपेक्षित गति लिइरहेको छ। यसका नयाँ-पुराना दुवै पुस्ताका सर्जकहरू साधनारत छन् ।
०००
आधुनिक नेपाली हास्यव्यङ्ग्य (२०६०)
Subscribe
Login
0 Comments
Oldest






































