साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवजुँगेहरुको नयाँ चाला

कताको गलैंचा कारखानाभित्र लगिएर चुटाइ खाने पो हुन् कि ? कारण के भने, जसले पैसा दिन्छ चन्दामा धेरैधेरै उसको मानसम्मान हुने र दिन नखोज्ने र नसक्नेले आँखा, ओठ सुन्नाएर इमर्जेन्सीमा उपचार गराउनुपर्ने पो हो कि ?

Nepal Telecom ad

भाउपन्थी :

यता नयाँ नेपालको हावा धेरै नै वेगले चल्न थालेको छ। नयाँ त नयाँ, कस्तो खालको नयाँ हो कुन्नि ? सबैको मनमा उत्सुकता छ। नयाँ घर बन्ने भयो भनेपछि सबै आ-आफ्नो कोठाको जोहोमा लागेका छन्। भागबण्डा नमिलेका मन्त्री पदहरूको खोसाखोस जस्तो पनि भइरहेछ । नयाँ नै हो, यसैले हेर्नेले पनि कसरी बन्दोरहेछ त भनेर हेरिरहेका छन् । अब यो दिनदिनैका बन्द, हडताल, चक्काजाम र अपहरण, आगजनी र कुटपिटले बन्ने हो कि अथवा शान्तिका साथ बन्ने हो ? त्यो यसै भन्न सकिन्न। तै एउटा कुरा अलि घतलाग्दो भइरहेछ त्यो हो जुँगा पाल्ने चलनको पुनरूत्थान । जुँगा पालेकाहरूले बोलेका कुरा सही नठहरिने चलन बढ्दै गइरहेको छ। यो पनि नयाँ चलन नै है। यो नै नयाँ नेपालकै एउटा गुण पो हुने हो कि ? पुरानो समयमा पनि जुँगा पाल्थे र जुँगाको एउटा राैँ उखेलेर धितो जमानी पनि राख्न पाइन्थ्यो रे ।

जुँगा कसले किन पाल्छ, त्यो चाहिँ व्यक्तिगत कुरा हुन्छ तर ‘जुँगा हल्लियो कुरा बुझियो’ भनेर जी-हजुरी बजाउने जमाना गइसक्यो। यस्तो बेलामा आएर भाइले जुँगा पाल्न थाले । भनिसकियो, जुँगा पाल्नु व्यक्तिगत कुरो हो तर भाइको जुँगा गाउँघरमा चर्चाको विषय बनेको छ । पहिलेपहिले भाइले गाउँलेहरूलाई तर्साउन भन्थे म दाइजस्तो होइन । भाइको कारोबार कसरी बिग्रियो भने उनी दाइ जत्तिको रहेनन् । अहिले आएर आफैँ तर्सिने भएका छन् तर उनका जुँगा ? भाइले जुँगा पाल्दा गाउँलेहरूले दाइलाई सम्झे । यसरी जुँगाले आफन्तलाई सम्झाउँदोरहेछ भन्ने सावित हुन्छ । त्यसकारण म यस्तो होइन, उस्तो होइन भन्नुभन्दा पहिले आफ्नो आङको भैंसी छाम्नतिर लाग्नुपर्दोरहेछ, अरुका आङको जुम्रा देखाएर गिज्याउनतिर होइन । प्रसङ्ग त्यस्तै परिदियो, नत्र जुँगाले यसरी लहरो तान्दा पहरो गर्जिन गराउने थिएन ।

विनाकारण जुँगा बीचमा छिर्न आएजस्तो लाग्न सक्छ यहाँ तर केही कुरा यस्ता हुन्छन् जसलाई जुँगाले अचेलका दिनहरूमा गम्भीरता दिँदै त्यसबारे पुनर्विचार गर्न बाध्य गराउँछ । जुगा पाल्नुअघि भाइ चाहिँले सोचे होलान् जुँगा पालेपछि मुखमण्डलमा अलि बढी आमा, अलि बढी विश्वसनीयता र गम्भीरता कसो नआउला। गाउँघरका कुरा, दाइको शेषपछि गाउँकाहरूले भाइका कुरा पत्याउन छोडिसकेका थिए। धेरै पटक गाउँले भाइबाट उत्पीडित भए। गाउँमा भाँडिम भयो ।

लुट्नेहरू त्यागी ठहरिए, चोरले चौतारी र साधुले शूली पाउन थाले । कुरा बिग्रँदै गयो । भाइलाइ देवीदेउताले पनि पत्याउन छोडे । कति तीर्थ र कति पीठ धाए पनि केही लागेन । गाउँलेहरुको छिछी र दूरदूर असह्य भएपछि उनले गम्भीर हुन र विश्वसनीय हुन अर्को उपाय नदेखेर नै जुँगा पालेका हुन् । गाउँलेहरूमा यही विश्वास थियो ।

गाउँ हो, परम्परा पीडित पनि हुन्छ । जुँगा भनेपछि गाउँघरमा उसै पनि प्रभाव परिहाल्छ देवाधिदेव महादेवको तेस्रो नेत्रले नपुगेर उनलाई जुँगे पनि बनाइदिए। नपत्याए नेपालगन्जकाे बागेश्वरी मन्दिरका महादेवलाई हेरे पुग्छ। उसरी देवीदेवताहरू जुँगे नहुनु भन्ने के छ र ? गाउँका मान्छेहरूमा जुँगेप्रति विश्वास पनि बढी हुन्छ। सहजै जसको जुँगा बढी सघन र बाक्लो हुन्छ, नै बढी प्रतिष्ठालायकको हुन्छ तर जुँगेहरूका विरूद्ध गैरजुँगेहरू उठे र भने- चिल्लेहरूले पनि ठाउँ पाउनुपर्छ। यो झगडा बढिरहेछ ।

गाउँलेहरू भन्छन्- जसको जुँगा हुँदैन उसको के विश्वास ? देशका राजा रजौटाहरू उहिलेदेखि अधिकांश जुँगे नै थिए। एक किसिमले उनीहरूले पाल्ने गरेको जुँगाको बान्की हेरेर के पनि भन सकिन्छ भने उतिबेला हजाम कला त्यति विकसित भएको थिएन । कसले बनाइदिने दाह्री जुँगा ? दाह्री त तैते तर जुँगामा कसरी एउटा हजामको हात राख्न दिने ? त्यसैले समस्या पैदा हुन्थ्यो। यसै भएन, उसै भएन जुँगै पाल्ने। जुँगाले केही नभए पनि भव्य क्रूरता त झल्काइदिन्छ । प्रजाको मनमा भयको सञ्चार त गरिदिन्छ। त्यसैले तिनका विशाल जुँगा हुन्थे र ती हेर्दैमा निर‌ङ्कुशवादी र क्रूर लाग्थे । हुकुमी शासन गर्नका लागि क्रूरता जुँगाजत्तिकै नभई नहुने सहायक मानिन्थ्यो। शासन गर्न सिहासनमा बस्दा जुँगाको क्रूरताले जनता थरीकम्प र प्रशासन गरिमामय भइदिन्थ्यो ।

देशका महान् सपूतहरूका पनि जुँगा थिए तर तिनले देशको गौरव बढाउने काम गरेर जुँगा ठाडाे पारेका थिए। यसरी जुँगा-जुँगामा पनि अन्तर देखियो तर भाइले जुँगा पाले । गाउँकाहरूले अचम्म माने। दाइजस्तो हुन्न भन्ने भाइले फेरि दाइकै पदानुसरण गर्न थालेको देखेर गाउँलेहरू तीनछक्क परे । गाउँलेहरूका मनमा शङ्का उब्जियो कतै यो भाइले गाउँले भुलाउन दाइको आवरण ओढेको त होइन ? जे होस्, अहिले गाउँमा भाइका जुँगाको खुबै चर्चा छ।

यो त जुँगा पाल्नेहरूलाई थाहा भएकै कुरो हो- जुंगाको लडाइँ खतरनाक हुन्छ तर जसका जुँगा नै छैनन्, उनीहरूले पनि जुँगा लडाइरहेको देख्दा अलि आश्चर्य मान्नुपर्ने खण्ड पर्न आउँछ। जोजो जुगे छन्, उनीहरू जुगामा ताउ लाएर जुगा बटार्दै आ-आफ्नो सान देखाउँछन् । जुँगा नभएकाहरू वासी दाह्री कन्याउँदै अनिर्णयको बन्दी भएको भाव व्यक्त गर्छन् । हेर्दा जुँगेहरूलाई पुनः गाउँको मुखिया पदमा ल्याउनुपर्ने हो कि भन्ने पुनर्स्थापनावादी विचार कहिले कसैमा पलाएको पनि हुँदो हो तर यस्तो कुरामा जुँगेहरूका विरूद्ध सफाचट र पुतलीजुँगेहरू एकजुट भएर गाउँको अखडामा उत्रिहाल्छन् । गाउँलेहरूको समस्या भने अर्कै छ । जुँगा भएकाहरूले पनि सही कुरा बोल्दैनन्, जुँगाकै बेइज्जत भइरहेछ । जुँगाको मानप्रतिष्ठा खस्किने गरी गम्भीर कुराको वजनको वेवास्ता गर्दै खिल्लीमा खोलाले बगायो, आगोले खायो भनिदिन्छन् ।

अहिले गाउँ जुँगा उम्रिने खस्राहरू र जुँगा नउम्रिने चिल्लाहरूबीचको द्वन्द्वमा पनि फेसेको छ। कहिले यताकालाई उताकाले लघार्छन्, कहिले उताकाले यताकालाई लघार्छन् । पहिले थेप्चेर चुच्चेहरूको मतभेद थियो। अहिले थेप्चे, चुच्चे, जुँगे, चिल्ले, नेप्टे, काले, तागाधारी, गैरतागाधारी अनेक अनेकको बबन्डर चलिरहेछ। गाउँको कुन टोल कसको हो, त्यो कसैले पत्तो लगाउन सकेको छैन । कसैले यताको बाटो छेकेको छ त कसैले उताको । कसैले कसैको घरमा तालाबन्दी गरिदिएको छ, कसैले कसैको बाटो छेकिदिएको छ, कसैले स्कुलमा तालाबन्दी गरिदिएको छ, कसैले कसैको घरमा आगो झोसिदिएको छ । भन्नेहरू मने भन्छन्- नयाँ नेपालको लागि पुरानोलाई सखाप त पार्ने पर्यो नि । अराजकजस्तै भएको छ गाउँ। यति सानो गाउँमा यतिधेरै मतभेदहरू छापामार शैलीमा लुकेर बसेका छन् भन्ने कसैले कल्पनै गर्न सकेको थिएन ।

यस्तोमा भाइका मान्छेहरू पनि छेउ लागेर धमिलो पानीमा माछा मार्न चलखेल गर्दै छन् तर माछा नै नभएको पोखरीको पानी जति धमिल्याए पनि के नै पो हुँदोरहेछ र ? सबै पानीमाथि ओभानो भएर बस्ने मात्रै होइन, पानीमै आगो लगाएर माछा खाइसकेका छन् । त्यस्तो पोखरीको पानी धमिल्याए पनि के सङलै रहन दिए पनि के ? गाउँ त उजाडिन लागेकै छ । यस्तो हुनुमा कसको हात बढी छ ? जुँगेहरूतिर चिल्लेहरूले र चिल्लाहरूतिर जुँगेहरूले औंल्याएर हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

बीचमा भाइले जुँगा पालेको हल्लाले गाउँ अलि हाँस्यमा छ। अहिले आएर भाइले जुँगा पालेर के गर्ने ? पाल्ने बेलामा पालेनन् र दाइका जुँगा पनि खौरिने दाउमा लागे। दाइमन्दा बढी हल्ले-सुन्ने र बोल्ने भए। उतिबेला जुँगा भएको भए उनका कुरा कसैले पत्याइ पो हाल्दाे हो। नभए जुँगाको वजनले अलिकति सद्बुद्धि पलाउने मलजल दिने थियो कि ? वास्तवमा यसरी हेरित्याउँदा जुँगा एउटा बौद्धिक आयामको सूचक पनि हो जस्तो लाग्छ। जुँगाले ओठमाथि बसेर बोल्ने मुखलाई ‘जथाभावी धेरै नबाेल’ भनेर लगाम कस्छ कि ? तर त्यस्तो पनि देखिएन । भाइले जुँगा पालेपछि पनि गाउँभरिकाहरू तर्सिने गरी बोले । यसरी भाइ किन बोले ? गाउँभरिका चनाखा भए।

खाने मुखलाई जुँगाले छेक्तैन भन्छन् । जुँगा नभएकाहरूलाई त खान झन् सजिलो पर्छ । कममा पनि अभक्ष भक्षण गर्न लाग्दा जुँगाको सम्झना त आउँथ्यो होला तर जुँगे नभएपछि त जहिले पनि मुखले छेकबार नभएको बालीनाली विकासे साँढेले फाँडेकै खाऊँखाऊँ गरिरहन्छ ।

बोल्ने मुखलाई पनि जुँगाले छेक्तो रहेनछ । जुगे नभएपछि जे बोले पनि भयो। जेठमा गाउँ सुध्रिन्छ भने। जेठ आउनै लाग्दा होइन असारतिर सुध्रिएला भने । गाउँमा चोरीचकारी, हत्या र लुटपाट बढिरहेको छ। यो सब भइरहँदा लौ जेठसम्म लुटिँदै गर त्यसपछि साम्य हुन्छ भने, मारिनेलाई लौ जेठसम्म मारिंदै गर, त्यसपछि सबै शान्त हुनेछ भने । चोर्नेले जेठसम्म कुरिदिए त हुन्थ्यो । मार्नेले जेठसम्म ढुकिदिए त हुन्थ्यो । महँगीले जेठपछि दगुर्न थाले त हुन्थ्यो, गाउँ विरूपको भइसक्दा पनि, गाउँमा अव्यवस्था र अराजकताले हाहाकार मच्चिसक्ता पनि जेठ अझै आएको छैन, जेठ नआई कहीं कतैबाट समाधानको लक्षण देखापर्ने आश्वासन पाइँदैन ।

भाइले जुँगा पालेका हुनाले यतिका कुरा आए। उनले जुँगा नपाल्दा हुन् त सायद सबै कुरा मनैमा रहने थिए। जुगाझैं बाहिरिने थिएनन् । जो जस्तो छैन उसले त्यस्तो हुन खोज्ने हास्यास्पद हुन्छ। भाइ त्यस्तै भए। अब मरेपछि स्वर्ग देखेर के गर्नु ? स्वर्ग देख्न अनेक जुक्ति गरेर मर्नेहरूलाई फेरि के भन्ने ? जुँगा पालेर आवरण फेर्दैमा भित्रको खाका बदलिने गर्दैन । भाइले सोच्दा हुन्- मरेको बाघका जुँगा उखेल्नेहरू पनि अहिले जमजमाएका छन् । बाघ मान्छेको रगतले पल्कियो भने त्यसको उपचार रहँदैन। मानवभक्षी बाघलाई जङ्गलबाट लघारेर गाउँलेहरू ढुक्क भएर बस्लान् तर मान्छेको रगत चाखिसकेको बाघ शान्त भएर बस्दैन ।

जुँगा त जुँगा, जुँगा भएकाले ताउ लाए र नभएकाले जुँगेहरूलाई हिस्याउन जेठ गएर टाढाकाे जेठ पर्खनुपर्ने पो हो कि ? यसरी एक जेठपछि फेरि अर्को जेठ पर्खिनुपर्ने पो हो कि ? जेठ जेठ न अनन्तसम्म आइरहने हो तर कि अनन्तसम्म जेठ पर्खिरहनुपर्ने हो ? फिर्ता पाइन्छ भनेको सम्पत्ति आज पाइएला छैन, भोलि पाइएला छैन भनेझै जेठ आउनलाई पनि पर्खेको पर्ख्यै गर्नुपर्ने हो कि ? के भन्छन्, यो अचेल नयाँ नेपालको नारा लोभलाग्दो छ। नयाँ आउला त सबै काम चुस्त होला भनेर पर्खनेहरूले कताको गलैंचा कारखानाभित्र लगिएर चुटाइ खाने पो हुन् कि ? कारण के भने, जसले पैसा दिन्छ चन्दामा धेरैधेरै उसको मानसम्मान हुने र दिन नखोज्ने र नसक्नेले आँखा, ओठ सुन्नाएर इमर्जेन्सीमा उपचार गराउनुपर्ने पो हो कि ? “नौली बुहारीको नाै पुला घाँस, रहँदाबस्दा जगल्टाको नास” भनेझै नयाँ जुँगेहरूले वित्पात पार्ने पो हुन् कि ?

जे होस, जुँगा पालेकाहरूको सुमति देखाउँदै राम्रो काम गरून् र जुँगा नपाल्नेहरूलाई जुँगा पाल्ने प्रेरणा दिउन् । भन्दा चाहिँ दाइजस्तो होइन भन्ने तर काम गर्दा दाइभन्दा पनि अझ रद्दी काम गर्ने नवजुँगावादी नहोउन् ।

०००
२०६४, जेठ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x