गायत्री परिरोशनीजन्मदिनको शुभकामना छोरी !
साम, दाम, दण्ड र भेदका हतियार विश्व बौद्धिक जगतका मतियार सबै तिमीसँग आओस् । तिम्रा सफलता, प्रगति र उन्नतीले, बर्षौटे जूम्लयाहा सन्तती पाओस् ।

गायत्री परिराेशनी :
मलाई पटक्कै माया नलाग्ने,
मेरी प्यारी छोरी ।
संघर्षको मैदानमा परेड खेल्दै गरेका
तिम्रा हातखुट्टा,
नसा, शिरा र धमनीहरु
फलाम भन्दा दर्हो बनाउनु,
साथीहरुले फाल्न खोज्छन्,
आफ्नाहरुले तान्न खोज्छन्,
शत्रुहरुले हान्न खोज्छन् ।
हरेक दिन आफूलाई बलियो बनाउनु ॥
आफ्नै पहिचानमा,
आफैसँग मस्त रमाउनु ॥
अरुलाई खुशी पार्न
आफूलाई दुःखी नपार्नु ।
अरुका कामकुरामा न्यायाधीस बनेर
आफूले आफूलाई अन्याय नगर्नु ।
समय असल छ
समय आधुनिक छ ।
त्यही तालमा
आफू पनि असल बन्छु भन्दै
हो लाई होइन र
होइनलाई हो नभन्नु ।
दुनियाँलाई बचाउँछु भन्दै
हरेक दिन आफूले आफूलाई नमार्नु ॥
मलाई पटक्कै मन नपर्ने
मेरो आफ्नै मुटु भन्दा प्यारी छोरी,
पितृसत्ताले खोजेजस्तो संस्कारी बनेर
आफूलाई शिकार गर्न नदिनु
स्वार्थ र लोभका दानीहरुले
सित्तैमा दिएको प्रशंसा समेत
अँ हँ पटक्कै नलिनु,
ढोँगी समाजको नजरमा
असल र इमान्दार बन्छु भन्दै
आफ्नो लागि बेइमान र खराब नबन्नु ॥
त्यसैले मेरी माया,
दुनियाँले दुष्ट नै किन नभनोस् ?
एक अमल पनि चिन्ता नलिनु
आफू सधैँ आफ्नै लागि
अब्बल, स्मार्ट र योग्य बन्नु ।
आज मेरी छोरीको जन्मदिन
साम, दाम, दण्ड र भेदका हतियार
विश्व बौद्धिक जगतका मतियार
सबै तिमीसँग आओस् ।
तिम्रा सफलता, प्रगति र उन्नतीले,
बर्षौटे जूम्लयाहा सन्तती पाओस् ।
प्यारी माया,
सधैँभरि स्वस्थ्य, व्यस्त र मस्त रहनु
अर्थपूर्ण दिर्घजीवन बाँचेर
समताको सिङ्गो युग निर्माण गर्नु ।
मेरी प्यारी प्रिय
जन्मदिनको अशेष शुभकामना ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































