भाउपन्थीबाढी निरीक्षण
'हामीले के गर्नुपर्ला हजुर ?' 'भोट हामीलाई दिनुपर्छ,' हेलिकप्टरमा आएका मन्त्री समेत सत्तापक्ष र प्रतिपक्षका सांसदहरूका आँखाले गाउँलेलाई यही सम्झाइरहेका थिए ।

भाउपन्थी :
। अर्को दिन दीको बाढी पसेर गाउँ नै सखाप पार्ने प्रयास गरेछ । न रेडियोबाट समाचार फुकियो । सरकार राजनीतिक समाचार प्रधान रेडियो चलाउन नचाहिरहेको मौकामा त्यसरी नदीले उग्ररूप लिइदिनु मजाको विषय भएछ । नदी पसेको ठाउँकाले आफूहरू रेडियो नेपालमा एकमुष्ट प्रचारित हुनै मौका पाएकोमा ढुक्क भएका थिए । रेडियाले फुकेपछि सरकारले कसो सहयोग नगर्ला त भनेर सोच्दै थिए । त्यतिकैमा एउटा हेलिकप्टर गाउँको आकाशमा देखा पन्यो र गाउँतिर नदीको बाढीको पानी बाँधभन्दा माथि उर्लेर पसेको ठाउँनिर बस्यो ।
एकजना मन्त्री र अरू चार, छ जना सांसदहरू, एक जना नेता आफ्ना छोराछोरी नाति नातिना सहित ओर्ले। आफ्नै जिल्लामा बाढी आयो, हेलिकप्टरमा घर जान मौका पाइयो । कार्यकर्ताहरूमाथि धाक पनि जम्यो, विरोधीहरूलाई देखाउन पनि भयो, लौ हेर सत्तामा पुगेपछि के गर्न सकिन्न र भन्ने ? घरकाहरूले पनि हेलिकप्टर मौकामा चढिराख्नुपर्छ भन्ने ढिपी गरे । यस्तो बाढी त आउला तर हेलिकप्टर चढ्ने मौका फेरि आउला कि नआउला ? मन्त्री, सांसद र मेयरका छोरा नातिहरूले पीडित क्षेत्रमा जाने हेलिकप्टर नचढे कसले चढ्ने ?
गाउँलेहरू जम्मा भइसकेका सथए । हेलिकप्टरबाट मान्छेमात्र बाहिर ओइरिएको देखेर अलि निरास भए । सहायता सामग्री केही रहेनछ । स्पष्टीकरणमा एक जना सांसदले भने- ‘हामी बाढी निरीक्षण गर्न आएका हौं ।’ पीडितहरूले सांसदलाई चिने । आफ्नै क्षेत्रका रहेछन् । चुनावको लागि यो नदी कति पटक वारिपारि गरे, यसैमा डुबुल्की मार्दै नुहाए, हाम्रो छाप्रोमा पराल ओच्छाएर सुते, म तपाईहरूकै भाइछोरा हुँ भनेर हाम्रै खाए, विरोधीलाई गाली गरे, भाषण छाँटे अनि जितेर राजधानी गए । अहिले रित्तो हेलिकप्टर लिएर र त्यसमा आफ्ना परिवार भरेर रित्तो हात हामीलाई हेर्न आएका छन् । एक जना टाठो गाउँले अगि सरेर भन्यो- ‘हजुर हामीहरू नै हौ बाढीपीडितहरू र बाढी पसेको जग्गा पनि यही हो । हामीलाई निरीक्षण गरियोस् ।’
सांसद र मन्त्री अनि नेताले हेरे, जनता बाढीपीडित जस्ता लाग्छन् कि लाग्दैनन् ? वास्तवमा यसै जग्गामा बाढी पसेको हो कि होइन ? रेडियाले पूरै देशलाई जानकारी गराउदैमा हुँदैन । सरकार ढल्ने हल्लालाई, ग्यास नपाएको आक्रोसलाई, सेती बेचियो भन्ने बबण्डरलाई यो बाढीले एकै दिन भए पनि ढाकोस् भनेर पो मौका छोपेर त्यस समाचारलाई प्रधानता दिइएको हो। नदी भएपछि बाढी नआउने कतै हुन सक्ला र ?
‘यै हो त्यो नदी ?’ तिनमध्ये कसैले सोध्यो । सोच्यो, ‘धेरै भएजस्तो लाग्छ यता नआएको पनि । उता सरकार ढल्छ कि भन्ने समस्याले पिरोलेको हुन्छ यता यो जिल्लाकाहरू जसलाई माथि पठायो ऊ उतै हराउँछ भन्छन् । अब यो बाढीले पनि यसै बेला आउनु थियो । राजनीति सुगम तरीकाले गर्न नै नपाइने भो ।’
हजुर देशमा अरू नदीहरू पनि छन् । हाम्रो छोराको किताबमा त्यै लेखेको छ । धेरैलाई त राजनीति गर्नेहरूले कमिसन खाँदै बेच्दै गरेका छन् भन्छ । तर हाम्रो गाउँका छेउमा बग्न र सालसालै बाढी आउने नदी यै हो। हाम्रो घर ढल्यो, बाढीको पानी पसेर बबर्बादै पायो हजुर ।
‘घर ढल्यो ? हूँ, के भनेको ? के सरकार आजै बिहान ढल्यो ? घर र सरकार ? तर सरकार किन ढल्ने ? बाढी यहाँ यस गाउँमा छ, बाढी सालसालै आउने गर्छ, घर डुब्छन्, मान्छे मर्छन् । देशमा जनसख्या नबढाओ भन्दा यिनीहरू नै मान्दैनन्, होइन जापान कोरियामा सस्तो लेबरको खाँचो छ भन्छन् । तर वॉ राजधानीमा सरकार किन ढल्ने ?’ निरीक्षणमा आएका मन्त्री र उसको पक्षका सांसदहरूले सोचे ।
‘बाढी किन आउँछ ?’ यो सबलाई थाहा छ । सोध्नेले यसरी सोधेको छ, उसले पहिलोपल्ट नदीहरूमा बाढी आएको देख्दैछ, जीवनमा । टाठो गाउँले छक्क पन्यो, राजनीतिले आफ्नो को हो के हो भन्ने पनि बिसाईदिने रहेछ । उति त उति बाढी किन आउँछ भनेर पनि बिर्से, देशका प्रतिनिधिहरूले गर्दा । उसले तीतो गरी हाँस्दै भन्यो- ‘आउँछ, बाढी आउँछ तर किन आउँछ कसैलाई थाहा छैन हजुर । रातिराति आउँछ, अनि सबै बगाएर लैजान्छ । कुन्नि कसरी हो हजुर, कसैलाई थाहा छैन । मेरो छोराले भन्छ ।’
उसले भन्न चाहन्थ्यो, राजनीतिले देशै डुबाएर लगेजस्तै यसले पनि बर्सेनि बगाएर लेजान्छ हजुर । तर उसले यी कुरा उनीहरूका साथमा आएका प्रहरीहरूका कारणले मुख फोरेर भन्न सकेन ।
‘तपाईको छोरा के मा छ ?’ सोध्नेले जान्न चाहन्थ्यो, के उसको छोरा कुनै विरोधी पार्टीमा छ छैन ?
‘मेरा छोरा बेरोजगार छ हजुर । मन्त्रीज्यूलार्य यसो जागिरको लागि बिन्ती गरिहेर्नु नि भन्थ्यो टाठोले टाउको कन्याउन लाग्यो ।
हेलिकप्टरमा आएको एकजना बच्चाले पानी माग्यो ।
बाढी पीडित गाउँलेका बच्चाहरूले नाकमा सिँगान तुर्लुङ्ग पार्दै ती अचम्मका जन्तु जस्ता सुकिला भुराहरूलाई नियालिरहे ।
‘सरकारले केही गर्न खोजिराछ तर गर्न सकिरहेको छैन। सरकारले गर्न खोज्छ तर हुँदैन । सरकारले गर्छु भन्छ तर हुँदैन’, सत्तापक्षका सांसदले भने ।
प्रतिपक्षकाहरू हॉसिराखे । सदनमा भए एक छिन रमाइलै हुने थियो । तैपनि एकजनाले प्वाक्क भनिहाले, ‘यो सरकारले केही गर्दैन । हामीलाई सत्तामा पुग्न दिनोस् हामी गरेर देखाउँला ।’
‘तपाईहरू कहिले जाँदै हनुहुन्छ त सत्तामा ? त्यति बेलासम्म पर्खन पर्ने हो कि कसो ?’ उसको लागि जवाफ कतैबाट आएन । ‘त्यति बेला यो बाढी आउने हो कि होइन, यसै भन्न सकिन्न ।’
सरकारले के गर्न खोजेको हो त्यो गाउँलेहरूले बुझ्न सकेनन् । सरकारले गर्न खोजेको कुरा किन हुँदैन, त्यो पनि उनीहरूले बुझेनन् ।
सरकारले कुन कुन कुरा गर्छुभन्छ त्यो उनीहरू रेडियोबाट त सुन्छन् तर सरकारले रेडियोबाट भनेको कुरा धेरैजसो थाल्दै थाल्दैन । पूरा गर्नु त परै जाओस् । सरकार राजनीतिका कुरा बढी गर्छ, जनताका कामका कुरा केही गर्दैन । रेडियोबाट त सरकारले फलाक्ने नै भयो। सरकारको घरको रेडियो न भयो । सरकारले नदी नियन्त्रण गर्नेछ भन्यो, सरकारले एक परिवारको एक जनालाई काम दिनेछ पनि भन्यो, सरकारले गरीबी निवारण गर्नेछ पनि भन्यो । गाउँलेहरूको धारणामा काम गर्नेले बर्ता बोल्दैन र बर्ता बोल्नेले काम गर्दैन । भुक्ने कुकुरले टोक्तैन ।
‘सरकारले केही गर्ला त हजुर ?’
टाठो गाउँलेले देख्यो, अस्तिसम्म उनीहरूलाई अँगालो मार्न आउनेहरू अहिले हजुरमा परिणत भउका छन् । सरकारमा गएपछि मान्छे छुदैमा मैलो हुने खालको भइहाल्छ ।
‘सरकारले गर्ने होइन, तपाईहरूले नै केही गर्नुपर्छ ।’
‘हामीले के गर्नुपर्ला हजुर ?’
‘भोट हामीलाई दिनुपर्छ,’ हेलिकप्टरमा आएका मन्त्री समेत सत्तापक्ष र प्रतिपक्षका सांसदहरूका आँखाले गाउँलेलाई यही सम्झाइरहेका थिए ।
गाउँलेले चकित भएर हेर्याे, सबैको मुखमा ।
हेलिकप्टरले भुइँ छाड्यो। पीडितहरू मुखामुख गर्न थाले । तिनमध्येको एक जनाले आफैलाई भन्यो, ‘त्यै हेलिकप्टरमा आउँदा जाँदा लाग्ने खर्च हामीलाई सहयोगको लागि दिए पनि त कता कता हुने थियो बरिलै ।’
मिर्मिरे हास्यव्यङ्ग्य विशेषाड्क, (भाद्र, २०५४)
०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)
Subscribe
Login
0 Comments
Oldest






































