नन्दलाल आचार्यस्वजातीय प्रेम
आफ्नो असन्तोष पुनरावृति गर्न सबैजना प्रबन्धक कक्षमा पुगे । उता क्यान्टिनबाट खानेकुराको मगमग बासना आइरहेको थियो । यता सभाकक्ष सजिएर बेहुली भएको थियो ।

नन्दलाल आचार्य :
“आफ्नै पेटमा लात मार्ने मन भए आवाज ठुलो बनाउनू !” प्रबन्धकको बोली सुनेर गाइँगुइँ कुरा गर्दै गरेका श्रमिकहरूको मुखमा ताला झुन्डियो । प्रबन्धक आफ्ना कार्यकक्षतिर लागे ।
नजिकैको सडकबाट आवाज आउँदै थियो– ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ । अन्तर्राष्ट्रिय श्रमिक दिवस दिवस–२०८१– सफल पारौँ ।
सरकारी कारखाना बन्द थियो । आफ्नो निजी कारखाना मात्रै खुलेकोमा श्रमिक मुर्मरिएका थिए । नगरी नहुने कामको त्यत्रो कामको चाप पनि थिएन ।
“आजको दिन छुट्टी दिएको भए मेनेजरको जहाज त डुब्दैनथ्यो होला नि !” बिर्खेको मन विस्फोट भयो ।
“संसारभरका श्रमजीविहरूले आआफ्ना हकहितका मुद्दा अघि सारिरहेका छन् । हामी भने फलामका मुड्चल अघि ठेलिरहेछौँँ ।” मरिचेले मनको गुनासो बगायो ।
“काम गरेजस्तो गर्ने; मज्जाले थकाइ मार्ने !” दानेले कपटी पारा देखायो ।
“बरु असन्तोष मन मेनेजरकहाँ खन्याउनुपर्छ । आलस्य गरेर बद्नाम कमाउनुहुन्न ।” बिर्खेले सामयिक कुरा झिक्यो ।
आफ्नो असन्तोष पुनरावृति गर्न सबैजना प्रबन्धक कक्षमा पुगे । उता क्यान्टिनबाट खानेकुराको मगमग बासना आइरहेको थियो । यता सभाकक्ष सजिएर बेहुली भएको थियो ।
आफ्ना सामु श्रमिकको जमात देखेर प्रबन्धकले भने; “म तपाईंहरूलाई डाक्नेवाला थिएँ । जाऔँ सभाकक्षतिर ।”
आफ्नो मन खोल्न नपाएकोमा मुर्मरिँदै उनीहरू प्रबन्धकको पछि लागे । सभाकक्षमा भव्य र सभ्य कार्यक्रम भयो । वैयक्तिक मार्का गोजीमै राखेर सामुहिक समस्या ओकले । समस्या सामाधानको बाटो सुझाए । शुभकामना आदानप्रदान भयो; साथसाथै खानपिन भयो । मनको ग्लानि स्वतः बिलायो । हर्षको वर्षा मात्र भयो ।
“साब, यत्रो खुशी दिनुरै’छ । अघि हामीलाई किन तर्साएको ?”
बिर्खेको मुखारविन्दबाट निस्केको सवालको जवाफमा प्रबन्धकले भने; “एक श्रमिक हुनुको नाताले म स्वजातिहरूको मन राम्ररी पढ्न सक्छु ।”
०००
२०८१ वैशाख १९, मे १, २०२४ एनेलकुटी, सिरहा
Subscribe
Login
0 Comments
Oldest









































