सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कन्जुस्याइँ

अब कन्जुस राम्रो गुणको पारख गर्न पनि कन्जुस नै हुन्छ । आहार व्यवहारमा पनि त्यस्तै । आफूलाई कसले नराम्रो, असभ्य कमजोर ठान्छ र हुँदाहुँदै भन्न जसलाई पनि पाइने हुँदा म पनि कन्जुस नभए पनि कन्जुसकै आफन्त नै पर्न के बेर ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

आवश्यकता भन्दा कम गर्ने मनोवृतिलाई कन्जुस्याइँ भन्नेहरू छन् । भौतिक सामग्रीको छुच्याइँ हो र मानवोचित व्यवहारमा समेत उनीहरू चुक्छन् भन्ने राय धेरैले दिएका छन् । केलाउँदै जाँदा कन्जुस्याइँका विविधता पनि भेट्न सकिएला । व्यवहारमा कुन्जुस्याइँ, आभारमा कन्जुस्याइँ, बोलीवचनमा कन्जुस्याइँ यस्ता अनेक कन्जुस्याइँका उदाहरण भेटिन सक्छ ।

भौतिक वस्तुको मात्र कुरा गरेर कन्जुसलाई हाम्रा वरिपरी ढिम्किनै नदिने मनोवृत्ति तपाईं हामीमा छ । तर जति नै बल लगाए पनि हाम्रै अगाडि उसको आगमन गराउने पात्र दशमा एक पक्कै छ । कन्जुसलाई भरथेरा पुग्ने गरी केही दयालु अनुहारले मीतव्ययीको संज्ञा दिएका पनि छन् । ती कन्जुसका ज्वाइँ भाञ्जाभाज्जी, सालासाली वा कतै न कतै छोइने नातो हुन सक्छ । होला भन्न सकिन्छ । हुन त हामी प्याच्च बोलेर ठूलो मान्छे बन्न खोज्छैँ । कुरै नबुझी कुरा नबुझ्दा भीमसेनले पनि कुवेरलाई कन्जुस भनेका अरे । तर उनी कन्जुस नभएर धनार्जनको शास्त्रीय मूल्य पढाउने वैदिककालीन उद्भट अर्थशास्त्री हुन् । आफ्नो पेशामा एकाग्र भई लाग्न दिएको त्यो आदर्श सन्देश हो । कुबेर विचरा सानो आर्थिक समस्या लिएर आउने व्यक्तिलाई समेत रितो हात फर्काउदैनथे अरे । तर उदेश्य चाहिँ पवित्र हुनै पर्थ्यो । कुरा नबुझी कुबेरलाई कन्जुसको उपमा भिराउनेलाई महाकन्जुस भन्न मन लाग्छ ।

कन्जुसलाई प्रयोग गरिने केही प्रतीकात्मक शब्द सुन्नुहोस न त । मख्खीचुस, चुइयाँ, चिम्टा आदि । कन्जुसलाई कलाकार बनाउनु पर्दछ भनी कोही त तम्सिएका पनि भेटिन्छन् । कोही धनी बन्ने सुत्रको मुख्य सर्जक लोभी हुन् हो भनेर कन्जुस्याइँप्रति न्याय पनि गर्न खोज्दछन् ।

मेरो दावी कन्जुस हुँदै हुदैनन् भन्ने होइन । आफू बाहेक अरुलाई केही न केही उपमा दिने हाम्रो त्यो प्रवृत्तिप्रति असन्तोषको जाहेरी भएको हो । उदार छन् भने अनुदार पनि छन् नै । निर्लोभी चिनाउन अनुहार, कन्जुस ,लोभी भन्दै विपरितार्थी शब्द राखेर वाक्य बनाउन सिकाउँदा जियामीही दिये सिक्न सक्छन्। अर्थवोध पनि तत्कालै हात लागिहाल्छ ।

धनी, गरिब, दानी, खुनी, निर्लोभी, कन्जुस आदि विपरितार्थी शब्द हाम्रा व्यवहारमा बारम्बार प्रकट हुन्छ । अ‍ैँचो पैँचो, लेनदेन हुन आतिथ्य ग्रहण आदिमा कन्जुस्याइँ थोरतिनो सार्वजनिक हुन्छ नै । मेरा एक जना छिमेकीका पत्नी यति कन्जुस थिइन् कि लोग्नेले थाल राम्रोसँग चाटेर नखाएकोले आगो हुन्थिन् । भाँडा माझ्न बढी समय लाग्ने र पानीको पनि बढी खर्च हुन्छ भन्दै गनगन गरी रहन्थिन् । छोराछोरीलाई माइती मावलीतिर छोटो भइसकेको कपडा लगाइदिन्थिन् । जुत्ताले कुर्कुच्चाको पछाडि वा औँलामा घाउ बनाइदिएको हुन्थ्यो । टिसर्टहरू नि भ्याङलाङ्ग परेका हुन्थ्यो कि नाइटो देखिन्थ्यो । खाटमा ओच्छ्याइएका तन्दा सिरानतिर तान्दा पुछारमा खाली, । पुछारतिर तान्दा सिरानमा खानी हुन्थ्यो । सिरानीका खोल दस ठाउँमा आखीँझ्याल भइ सकेका हुन्ये । बच्चालाई किताब शैक्षिक सत्रको अन्तिमतिर ल्याइ दिएकी हुन्थिन् । ठूलो परीक्षाले पास फेल हुने हो जाबो साना परीक्षालाई किन चाहियो किताब भन्दथिन्, जहिल्यै नि । “शिक्षकले लेखाइदिको पढ्न भइहाल्यो नि” । जहिले नि । फेरि कन्जुसको त्यो प्रवृत्ति भनेको आफ्नो दिनुपर्दा मात्र हो । अर्काको पाँउदा कुनै भोजभतेरमा गइएको छ भने तीन दिनलाई पुर गरी बोक्छन् । कन्जुसको लिङ्ग भेद हुँदैछ । पुरुष कन्जुस भए बढी चुप लाग्छ र महिला भई भने बढी गनगन गर्ने हुन्छन् । यो हाम्रो व्यवहारिक दर्शनको भनाइ हो ।

कन्जुस खनखाँचो टार्न परे बरू ननिदाउने । कुनै भोजभतेर, वनभोज प्रायः भान्छामा नै बढी खटिएको देखिन्छ । हाम्रा एक जना कन्जुस मास्टर थिए । विद्यार्थीका परीक्षामा कापीको नलेखिएको पाना च्यातेर छोराछोरीलाई कापी बनाई दिन्थे । ससुराली – मावलीमा जतिसुकै सानो कार्जेमा बोलाउन् वा नबोलाउन् उपस्थित भइरहन्थे । बाहिरी आवरणमा उनी मावली वा ससुराली भन्नु भएको देखिए पनि घरको अन्न नखोट्याउने उनको मनसाय लुकेको हुन्थ्यो । केही मानिस त कन्जुसलाई अर्थमन्त्री बनाइदिए देशको अर्थतन्त्र उभो लाग्दथ्यो कि भन्ने तर्क गर्दछन् । तर त्यो एउटा कन्पना मात्र हो । मैले कुनै बेला एउटा कन्जुस कर्म चारी भेटेको थिएँ। ऊ होटलमा प्रायः हाफ प्लेट खाना माग्थ्यो । दाललाई प्लेटको गणनामा नहालिने हुँदा ऊ प्रायः दाल बढी पिउँथ्यो । पलङमा सुत्दा पैसा बढी लाग्दछ भनेर ऊ भूइँमा नै पर्लक्क पल्टिन्थो । प्रायः होटलको वरन्डामा गुन्द्रीमा स्पि तङ व्याग भित्र सुत्थ्यो । त्यस्तो कन्जुसले स्पिूलङ व्याग किनेछ भन्ने तपाईलाई लाग्ला । एक जना सरुवा भएको हाकिमको भारी बसपार्कसम्म पुर्‍याउने क्रममा खुसुक्क स्ल्पिङ व्याग फिर्ता ल्याएको हुँदा त्यसैलाई उपयोग गरेको रहेछ ।

हामीकहाँ भ्रष्टाचारको बाली बेपत्तैले मौलाएको छ । कन्जुस आफ्नो दिनुमा भन्दा लिनुमा बढी मजा मान्ने मनोरोगले ग्रसित हुन्छ । त्यही प्रकृति मौलाउँदै जाँदा अरुका धन वा राज्यका प्वालहरू खोज्दैँ हिँड्छ । ए ! अरु यसरी पो सम्पन्न भएको रहेछन् भन्दै हौसिन्छ । अनि भ्रष्टचारको लागि उचित राजमार्ग खोज्दै जाँदा आफूलाई पनि त्यसको पथिक बनाउन पुग्छ । अब भन्न करै लाग्छ कि कन्जुसको जनसङ्ख्या वृद्धिले भ्रष्टचारलाई नै मलजल गरेको भान हुन्छ । भ्रष्टचारी र कन्जुसको नातो सात पुस्ता त के हजार पुस्तासम्म पनि नहराएको नदेखिनुमा पक्कै कन्जुसको हात पो छ कि ?

सधैँ नजिक रहेर सङ्गत गर्नेले मात्र कन्जुस चिनिन्छ भन्ने कुरा पनि मिथ्यासावित नै भयो । लामो समय पछि भेटिने व्यक्ति पनि एकै बसाइँमा कतिको कन्जुस रहेछ भनी चिन्न धेर समय खर्चनु पर्दैन । एउटी मेरी आफन्त बहिनी थिइन् । म २/४ वर्षमा उनीकोमा पुग्थेँ । ऊ आफ्ना छोराछोरीलाई चोक्टा छिरेको तरकारी भन्दै ज्वानको झोल पकाएर खुवाउँथी । बच्चाले दूध, दही, घ्यु मागेमा गाई भैँसीको कल्चौडामा कीरा परेछ भन्दै त्यही ज्वानुको झोलमा सँग खुवाउँथी । बच्चा साना थिए । आमालले भनेको नपत्याउने कुरै थिएन । एक दिन म उनको घरमा पाउना लाग्न पुगेछु । खाना खान आरम्भ गरेको दुई मिनेट भएको छैन । खाना थपौँ दाइ ! भनी सोधी । थालमा भात हुँदाहुदै थाप्ने कुरा भएन । पर्दैन भनिदिएँ । त्यति जवाफ चाहिएको हो उनीलाई दोहोर्‍याएर थपौँ भनिनन् ।

मेरा अर्का आफन्त थिए शहरका । उनी छोरादोरीलाई जाडोमा स्वीटरसमेत किनिदिँदैनथे । काठमाडौंको पुष माघको जाडोमा एकसरो सर्ट लगाएर ती बच्चा स्कूल जान्थे । हेर्दै मरन्च्यासे जस्तै लागेर आउँथ्यो । ‘बरू स्कुल नै नपाउँ, लोभको पनि हद हुन्छ नि ? पैसा नै नभए महङ्गो बोर्डिङमा किन पढाउँछौँ ? लगाउन खान दियौ भने स्वस्थ हुन्छन् । शरीर स्वस्थ भएमा “स्मरणशक्ति र सिर्जनाभक्ति बलियो हुन्छ”- म भन्थेँ । मेरो कुरा सुनेर उनी भन्थे, “भोलि दाइका छोराछोरी पढेर विदेश जान्छन् । मेरा छोराछोरी यहाँ बसेर कसरी धनी हुन सक्छन् ?” दाइले त खान लगाउन प्रशस्त दिएर राम्रो स्कुलमा पनि पढाएका छन् । तिमीले त शरीरलाई मारेर पढाउने नाटक मात्र गरेका हौँ”- म भन्थेँ । उनी मेरा कुरा किन सुन्थे । चार कक्षा पढिरहेको छोराको कुपोषणले ज्यान लियो । छोरीचाहिँलाई रतन्धो रोगले गाँजेको थियो । अब यस्ता पात्रलाई कन्जुसेको उपमा दिनु पनि कन्जुस शब्दकै बेइज्जत पो हुन्छ कि ?

मेरी अर्का आफन्त अलि टाढा नै बस्थे । घरका कोही बिरामी भए हस्पिटल लैजान भनेपछि उनलाई टाउको दुख्थ्यो । हस्पिटलको औषधिले साइड इफेक्ट हुन्छ बरु तातो पानी खाइरहे ठिक हुन्छ भनिरहन्ये । ज्वरो आउँदा, खोकी लाग्दा जेसुकै हुँदा होस उनी तातो पानी खानुपर्दछ मात्र भन्थे । उनको छिमेकीले बुहारीलाई सुत्केरी व्यथा लाग्दा पनि तातो पानी खा भन्छ यो भनेर गिज्याउँथिन् । घर वरिपरि नै ओखति छ नि भन्दै कहिले तितेपाती चुँड्न जान्थे त कहिले कुमारक (सिप्लीकान) अनि त कहिले निर्गुण्डी (सिमाली) । प्रायः फुर्सदको समयमा असुरो, दतिवन वजदन्ती, खोजिहिंड्थे। सकेसम्म अस्तपतालको ओखती खान हुदैन अनेक अभक्ष मिसाइको हुन्छ भन्थे । जेठी वुहारीलाई घरमै सुत्केरी गराउन खोज्दा उनको ज्यान गयो । यस्तो व्यक्तिलाई कन्जुस मात्र भनेर नपुग्ला कि ?

मेरा एक लेखक मित्र थिए । होटल पसलमा अरुको खान्थे आफू पैसा पटक्कै निकाल्दैनथे । भोकचाहिँ लागिरहन्थ्यो । उनको प्रायः खाजा खुवाउने व्यक्तिकै खोजी बढी हुन्थ्यो । कुनै कार्यक्रममा गए भने एकै ठाँउमा स्थिर भएर बस्दैनथे । बारम्बार कुर्सी फेरिरहने, ट्वाइलेट गइरहने, अनि नयाँ नयाँ व्यक्तिसँग बोलिरहेका हुन्थे । गाडी भाडा आफैँले तिरेको कहिल्यै थाहा भएन । बेलुकी तरकारी किनेर ल्याउन पनि साथीसँग नै हात पसार्थे । कहिलेकाहीँ सापटी भनेर माग्छन् फिर्ता गर्ने कहिल्यै होइन । एउटा कार्यक्रममा हामीसँगै थियौँ । त्यो दिन उनीसँग नफर्किने योजना बनाएँ मैले । आफू फुत्त निस्किएँ अर्जेन्ट फोन आएको बाहना गरी । उनी त मेरो पछि पछि कुद्दै पो रहेछन् । फुत्त बसमा चढेँ । उनले बेलुकी घरमा तरकारी लैजानु छ पाँचसय सापटी देऊ न भन्दै हात पसारिहाले । बसभाडा बाहेक आफूसँग कौडी नभएको बताएँ । उनी कालो अनुहार लगाएर ओर्लिएका थिए । एकजना साहित्यिक पत्रकार फेला पारेछन् । अर्को कार्यक्रममा ती साहित्यिक पत्रकारले उनको बारेमा सोध्दै थिए, आज चाहिँ उनी आएनन् ? मैले कुरा नबुझी सोधे, किन र ? सापटी भनेर मागेका थिए । दश पटक फोन गरेँ । फोन नै उठ्दैन । बरू तपाईं मलाई दिनुहोस् । उनी तपाईंकै नजिक बस्छन् होला । माग्नुहोस् न है ? हुन त हुन्थ्यो के गर्नु मसँग भएन भनेर टारिदिएँ । ती पत्रकार निन्याउरो अनुहार लगाएर साथीहरूसँग बोलिरहेका थिए ।

त्यस्तै अर्का लेखक एवम् समालोचकको पनि चर्चा गरौँ । उमेरले ४५ नकाटेका भए पनि साठी नाघेका जस्ता देखिन्थे । अधिकांश पुस्तक विमोचन कार्यक्रम छुटाउँदैनथे । अधिकांश नवोदित लेखकको पुस्तकमा उनको भूमिका हुन्थ्यो । पार्टीका कार्यक्रम पनि छुटाउँदैनथे । कलेजका प्रोफेसर विवाह व्रतवन्धमा पनि वारम्बार भेटिन्थे । जताततै कसरी भ्याउन सक्नुहुन्छ ? भनी खुसुक्क सोधेको थिएँ उनीलाई । उनी दिनमा (३-४) घण्टा मात्र सुत्दा रहेछन् । निः शुल्क विदेश भ्रमण जाने, स्कुल कलेजमा आफूले लेखेको पाठ्यपुस्तक राख्न लगाउने काममा उनको दौडधुप हुँदोरहेछ । स्कुल कलेजका प्रधानाध्यापक प्रिन्सीपल, विद्यालय निरीक्षक, स्रोत व्यक्ति (आरपी), नगर- प्रमुख, गाउँपालिका अध्यक्ष आदिका छोराछोरीको पास्नीमा धरी पुगेकै हुँदारहेछन् । प्राय :  खाम कि रित्ता हुन्थे कि त १०/१५ रुपैँयामा हालेर दिन्थे । खाम १० रुपैयाको हुन्थ्यो भित्र भने ५ रुपैयाको नोट । काठमाडौंमा ४/५ ओटा कलेजमा शेयर, १०० भन्दा बढी गाडी भाडामा लगाएका रहेछन् । खाजा र खाना कतिखेर खान्थे पत्तो नै हुन्नथ्यो । दिनमा १०/१५ ओटा त्यस्ता कार्यक्रममा सहभागी हुने हुँदा एक दुई ठाउँमा खाए पुगिहाल्थ्यो । एउटा प्रकाशन गृह चलाउँथे । एक जना धनी व्यक्तिको किताब आफैँले लेखिदिए बापत पाएका रहेछन् । दुई तीन ठाउँको घर पनि त्यसरी नै जोडेका रहेछन् । एक दिन उनी नभएको बेला उनको घरमा पुगेको थिए । सोफाको खोल च्यातिएको थियो । ट्वाइलेटमा पानी राख्ने भाँडो समेत थिएन । हात धुने साबुन त परै जाओस् ।

एक मेरा छिमेकी पुरोहित थिए । उनका ओढ्ने ओच्छ्याउने, परिकारले लगाउने कपडा पनि दानपात्र नै हुन्थ्यो । छोराछोरीको स्कुल ड्रेस पनि हत्तपत्त किन्दैनथे । बच्चाहरू जहिल्यै आउट ड्रेसमा आएको देखेर प्रिन्सीपल आजित भई उनलाई बोलाएछन् । कपडा जाबो म कहिल्यै किन्दिनँ भने उनले । जति सम्झाए पनि हुँदैन । त्यही बेला प्रिन्सीपलको आँखा उनको हातमा बाधेको ब्रासलेटमा परेछ । त्यो ब्रासलेट महँगो थियो । एक जना माडबारीले केबाट बनेको नभनी दान गरेको रहेछ । पुरोहितले कुनै कमसल धातु होला भन्ने ठानेको थियो । यो के को ब्रासलेट हो बाजे भनेर सोधे । दान पाएको हँ, के बाट बनेको थाहा भएन भने । प्रिन्सीपल गहनाका पारखी पनि थिए । “म तपाईंको बच्चालाई कपडा हालिदिन्छु सित्तैमा । तपाईं पनि केही दिन सक्नु हुन्छ”- प्रिन्सीपलले भने । उनको पालो २ तोलाको सुनको ब्रासलेट फुकालेर दिएछन् ।

अब कन्जुस राम्रो गुणको पारख गर्न पनि कन्जुस नै हुन्छ । आहार व्यवहारमा पनि त्यस्तै । आफूलाई कसले नराम्रो, असभ्य कमजोर ठान्छ र हुँदाहुँदै भन्न जसलाई पनि पाइने हुँदा म पनि कन्जुस नभए पनि कन्जुसकै आफन्त नै पर्न के बेर ।

०००
जोरपाटी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
दैले ‘द’ को डुक्र्र्‍याइ

दैले ‘द’ को डुक्र्र्‍याइ

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं
बोली

बोली

देवीप्रसाद चापागाईं
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे