साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुइँटेलको हास्य-व्यङ्ग्य यात्रा र ‘चम्चा चिन्तन’को व्यङ्ग्य चिन्तन

निबन्धहरूमा विसङ्गतिको मूल कारक मान्छे र उसका दुस्प्रवृत्तिलाई मानिएको छ । वाैद्धिक र तार्किक हास्य व्यङ्ग्यका स्रष्टा लुइँटेलले यहाँ  भाषाशैलीमा पनि बलियो पकड लिएका छन् ।

Nepal Telecom ad

भीम दाहाल :

१.१ प्रारम्भ

नरनाथ लुइटेलको जन्म वि.सं. २०१६ पुस ८ गते भोजपुरमा भएको हो । पिता तारानाथ लइँटेल र माता पवित्रादेवी लुइँटेलका दोस्रो सन्तानका रूपमा रहेका यिनी झापा, धादिङ हुँदै हाल काठमाडौंको कलङ्कीमा स्थायी बसोबास गर्दछन् । सेवा नै धर्म हो (२०३३) निबन्धबाट आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेका लुइँटेलका छेपन (२०५१), सिङ न पुच्छर (२०५३), चम्चा चिन्तन (२०५५) र बाँदरका हातमा नरिवल (२०६०) हास्य व्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् ।

चम्चा चिन्तन नरनाथ लुइँटेल
चम्चा चिन्तन नरनाथ लुइँटेल

प्रगतिवादी साहित्यिक मूल्यमान्यता र नेपाली समाजको विकृतिमय अवस्थाबाट प्रभावित लुइँटेलले नाटक, गीतिकाव्य, शोककाव्य, समालोचनाका पुस्तकका साथै फुटकर कविताहरू पनि प्रकाशित गरेका छन् । पुस्तक र पत्रपत्रिकाको सम्पादन, साहित्यिक पत्रकारिता, रेडियोकर्मी तथा प्राध्यापन कार्यले उनको व्यक्तित्वलाई बहुआयामिक बनाएको देखिन्छ । आफूले भोगेका र देखेका विषयवस्तुलाई अत्यन्त सूक्ष्म तरिकाले हाँसोको जलप लगाएर प्रस्तुत गर्न रुचाउने लुइँटेलको साहित्यिक व्यक्तित्व हास्यव्यङ्ग्य लेखन र यसको सैद्धान्तिक र ऐतिहासिक लेखनतर्फ बढी केन्द्रित भएको छ । हँसाउन र व्यङ्ग्य गर्नमा मात्र उनका हास्य व्यङ्ग्यात्मक रचनाहरू केन्द्रित नभई वि‌कृति र विसङ्गतिको विषमतालाई सुधार्नका निम्ति गतिलो चास्नी समेत बनेका छन् ।

१.२ लुइँटेलको हास्य-व्यङ्ग्यात्मक यात्रा
नरनाथ लुइँटेलले २०३३ सालबाट साहित्य लेखन प्रारम्भ गरे पनि उनको पहिलो हास्य-व्यङ्ग्यात्मक रचना ‘निर्दलीय प्रभुका २३ अवतार’ (२०३५) हो । तसर्थ २०३५ सालदेखि हालसम्मको यिनको हास्य व्यङ्ग्यात्मक यात्रालाई विभिन्न तीन चरणमा राखी अध्ययन गर्न सकिन्छ ।

१.२.१ प्रथम चरण (वि.सं. २०३५ देखि वि.सं. २०४५ सम्म)

दश वर्षसम्मको यस कालखण्डमा लुइँटेलले हास्य-व्यङ्ग्य प्रस्तुतिलाई कविता विधामार्फत व्यक्त गरेका छन् । ‘म नेता हुन्छु’, ‘घ्याम्पे भुँडी’, ‘निर्दलीय प्नभुका २३ अवतार’, ‘आजको आह्वान’ जस्ता कवितामा उनको हास्य- व्यङ्ग्यात्मक चेत व्यक्त भएको देखिन्छ । यस चरणका उनका रचनाहरू अप्रकाशित अवस्थामा रहेकाले यसलाई आभ्यासिक चरण पनि भन्न सकिन्छ ।

तत्कालीन पञ्चायती शासकका दुश्चरित्रको पर्दाफास गरिएका उनका यस कालका कवितामा हाँसोभन्दा व्यङ्ग्य बढी पाइन्छ । नेपाली जनताका जटिलता र समस्पालाई अंशतः समाउन सकेका उनका गद्य कविताहरू प्रकाशित नहुनु, गम्भीर विषयवस्तुको प्रस्तुति नपाइनु, भाषिक कसरमसर देखा पर्नु जस्ता याे चरण लेखनगत अभ्यासका रूपमा चिनिन्छ । हास्य-व्यङ्ग्य लेखन तर्फकाे चासाे, आनुप्रासिक शब्दयोजना तथा सूक्ष्म हाँसोको स्वल्प प्रयोग जस्ता पक्षले यो चरण निर्धारित बनेको देखिन्छ । पछिल्ला चरणको क्रमबद्ध विकासका निम्ति यो चरण प्रभावकारी पृष्ठभूमि बनेको छ ।

१.२.२ दोस्रो चरण (वि.सं. २०४६ देखि वि.सं. २०५४ सम्म)
विभिन्न पत्रपत्रिकाको सम्पादन कार्य सम्हालेका लुइँटेलले यस चरणमा छेपन (२०५१) र सिङ न पुच्छर (२०५३) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित गरेका छन् । जुँगे काजी उपनामबाट प्रसिद्धि कमाएका उनले यसै चरणको प्रारम्भबाट हास्य-व्यङ्ग्यात्मक निबन्ध लेखनको थालनी गरेका हुन् । निबन्धात्मक रचनातर्फ आकर्पण, हास्यव्यङ्ग्य सङ्ग्रहको प्रकाशन, पत्रपत्रिकातर्फको संलग्नता, वौद्धिकता र तार्किकताप्रतिको अभिरूचि, आत्मपरकता, वर्णनात्मकता र विवरणात्मकता जस्ता प्रवृत्तिले दोस्रो चरणको निर्धारणमा भूमिका खेलेको पाइन्छ । वहुदलीय व्यवस्थाको दुरूपयोग, अनुशासनहीन राजनीतिक अवस्था, सत्तालोलुप कांग्रेसी खेल, सामाजिक संरचनाका वेथिति, सोर्सबुक लेखेर चाप्लुसी गर्ने व्यक्तिको उपहास जस्ता प्रवृत्ति यस चरणमा पाउन सकिन्छ । उनले यस चरणमा सोद्देश्य हास्य र व्यङ्ग्यको पर्रा, पाठकप्रति सम्बोधन, सूक्ष्म कुराको उद्घाटन, सारगर्भित अनुभूतिको संस्थापन तथा व्यक्तिका उभिन्डा चरित्रलाई राजनीतिक केन्द्रीयतामा प्रकटीकरण गरेका छन् । भनाइलाई रोचक र घोचक बनाउन विभिन्न सन्दर्भ जोडिए पनि अभिव्यक्तिमा केही ठाडोपन पाइने उनका यस समयका रचनाहरू सरल, स्वाभाविक तथा उखानटुक्कायुक्त भाषाशैलीको प्रयोगले सहज लाग्दछन् ।

१.२.३ तेस्रो चरण (वि.सं. २०५५ देखि वि.सं. वर्तमानसम्म)

हास्य-व्यङ्ग्यको सैद्धान्तिक लेखनतर्फ सक्रिय रहेका लुइँटेलका यस चरणका रचनामा यसको प्रत्यक्ष प्रभाव पाइन्छ । उनले यस समयमा चम्चाचिन्तन (२०५५) र बाँदरका हातमा नरिवल (२०६०) हास्य-व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित गरेका छन् । यस चरणमा उनी विषयवस्तुको गम्भीरतातर्फ सचेत भएर लागेका छन् । उनले यस चरणका रचनामा तार्किकता, बौद्धिकता, सैद्धान्तिक पालना, आयामगत समानता, समसामयिकता जस्ता पक्षलाई सक्रिय रूपमा प्रस्तुत गरेका छन् । प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (२०६५) सम्पादन समेत गरेका लुइँटेलले यस समयमा वैयक्तिक विद्रूपतालाई व्यङ्ग्यात्मक रूपमा प्रकटीकरण गरेका छन् । छेपारो वृत्ति भएका र चाकरीमा ढाेल पिट्‌ने मान्छेका अनैतिक र पाशविक व्यवहारलाई उनले यस समयमा व्यक्त गरेका छन् ।

वर्तमान समयका मान्छेका आर्थिक प्रलोभन, आर्थिक – अनियमितताले पीडित जनताका समस्या, प्रशासनिक अनाचार, कम्युनिस्टहरूको गिर्दो आचरण र शैक्षिक, साहित्यिक तथा साञ्चारिक विषयका दुर्वृत्तिलाई पनि उनले यस समयका रचनामा प्रकट गरेका छन् । लच्छेदार शब्दानु‌प्रासको वाक्चातुर्य, वक्रोक्तिमय लेखन, व्याजस्तुति अर्थापत्ति र रूपकात्मक वाक्यको प्रयोग पाइने उनका निबन्धको भाषा परिष्कृत र चित्ताकर्षक रहेको पाइन्छ । उनका पछिल्ला फुटकर रचनाहरूमा लोकतन्त्रप्रतिको आस्था, साम्यवादी चिन्तनको प्रयोग, विपन्नवर्गप्रति सद्भाव जस्ता प्रवृत्ति मुख्य रूपमा पाइन्छन् ।

१.३ ‘चम्चाचिन्तन’को विश्लेषण
१.३.१ परिचय
नरनाथ लुइँटेलको हास्यव्यङ्ग्य यात्राको तेस्रो चरणमा प्रकाशित चम्चा चिन्तन (२०५५) हास्य व्यङ्ग्य निबन्ध सङ्ग्रहको प्रकाशन जुँगा प्रकाशन काठमाडौबाट भएको हो । जम्मा १८ वटा समान आयामका निबन्धहरू रहेको यस सङ्ग्रहको आवरण पृष्ठमा चाप्लुसीमा नतमस्तक बनेको एक चाकरी र कुर्सीमा विराजित एक हाकिम रहेका छन् । यस सङ्ग्रहका प्रत्येक निबन्धको शीर्ष भागमा विपयअनु‌रूपको चित्र र कथ्यको मूल अंश प्रस्तुत गरिएको छ । यसमा ‘मधुपर्क’, ‘प्राची’, ‘जनघोषणा’, ‘बुधवार’, ‘केन्द्रविन्दु’ आदि पत्रपत्रिकामा प्रकाशित निबन्धहरू समाविष्ट छन् ।

१.३.२ विषयवस्तु
चम्चाचिन्तन सङ्ग्रहभित्र विभिन्न विषय र क्षेत्रका निबन्धहरू रहेका छन् । राजनीतिक, मानवीय वैयक्तिक, प्रशासनिक, साञ्चारिक, सामाजिक र आर्थिक विसङ्गतिका पक्षहरू समेट्दै ती क्षेत्रका अडबाङ्गा गतिविधिलाई सोभ्याउने प्रयास यस सङ्ग्रहका निबन्धले गरेका छन् । यस सङ्ग्रहमा आएका विभिन्न विषयका विसङ्गतिलाई सक्षेपमा तल चर्चा गरिन्छ ।

क) राजनीतिक विसङ्गति: नेपाली राजनीतिमा व्याप्त राजीनामाको भयानक खेललाई व्यक्त गर्दै ‘राजनीतिको उत्पात’ निवन्धमा नाक जोगाउन, धाक देखाउन, अपराध छोप्न र भाडभैलो मच्चाउन नेताले दिने राजीनामका आत्मश्लाघायुक्त क्रियाकलापको लेथ्नु काडिएको छ । ‘गाईजात्राको जात्रा’ रचनामा जम्बो मन्त्रीमण्डल बनाउने, जनताको राहत बेपत्ता बनाउने, महङ्गी र प्र‌दूषणमा ध्यान केन्द्रित नगर्ने मन्त्रीका कारण वेकम्मा बनेको राजनीतिप्रति छेडपेच गरिएको छ । जनताले जीवनजल नपाएको अवस्थामा नेताहरू सामान्य विरामी पर्दा पनि विदेश उड्ने तथा जनताका मतको कदर नगरी विक्रीका वस्तु बनेका नेताका कृत्सित चरित्रलाई ‘राजनैतिक ‘सभक्तीकरण’ मा प्रस्तुत गरिएको छ ।

‘छेपारो रङ २’ मा लुइँटेलले सैद्धान्तिक प्रतिबद्धता गुमाउने, चाकडी गर्ने तथा पाउ मोल्नेलाई मात्र जनता गन्ने नेताका निन्दनीय चरित्रलाई अनावृत गरेका छन् । यसमा अर्थलुब्ध चिरत्र देखाएर छेपाराे झैँ रङ बदल्न सिपालु नेताका दुर्भेद्य राजनीतिक कवजलाई थिथिलो पारिएको छ । आफू सत्तामा हुँदा मात्र प्रजातन्त्र जोगिन्छ भन्ने ठान्ने कांग्रेसी सत्तालोलुप घृणित खेललाई ‘क माने कुर्सी कि कांग्रेस’ निबन्धमा व्यक्त गरिएको छ । राजनीतिक मान्यतालाई र वी.पी.का राष्ट्रवादी विचारलाई सत्ताको सौदामा रुपान्तरित गरी कांग्रेसले प्रजातन्त्रलाई धराशायी बनाएको विकृति यसमा प्रकटीकृत भएको छ । यसै गरी लुइँटेलले ‘वार्ता प्रकरण’ निबन्धमा उच्च राजनीतिक संयन्त्र वार्ताको छल र नाटक गरेर स्वार्थमा मडारिएको एवम् जनताका आँखामा छारो हाल्ने प्रवृत्तिको उपहास गरेका छन् ।

ख) मानवीय/वैयक्तिक विसङ्गति : आफ्नो भलाइका लागि मुलुकमा आतङ्क मच्चाएर स्वार्थपूर्ति गर्ने प्रहरी र प्रशासनिक कर्मचारीका वैयक्तिक अनाचारलाई ‘आतङ्क अध्याय’मा झटारो हानिएको छ । भारतीय प्रहरीले नेपाली मानव अधिकारकर्मीलाई गरेको दुर्व्यवहारलाई मौन स्वीकार गर्ने नेपालका तत्कालीन प्रशासकका निजी कमजोरीलाई पनि लुइँटेलले यहाँ व्यक्त गरेका छन् । ‘छेपारो रङ-१’ मा बारम्वार रङ बदलेर नयाँ आवरणमा प्रकट हुने, अरूको पाउ मोलेर आफ्नो दुनो सोभ्याउने, मौसमी राजनीतिमा निर्लज्ज अस्तित्व बेच्ने मान्छेका कलुषित वृत्तिलाई लुइँटेलले कोर्रा हानेका छन् । यसै गरी ‘चम्चाचिन्तन’ निबन्धमार्फत उनले विवेकलाई ध्वस्त पारेर शक्तिसम्पन्नको चाप्लुसी गर्ने, व्यक्तित्वभन्दा आर्थिक उन्नतिमा रमाउने आजका चाकडीवाजलाई नाङ्गेझार बनाएका छन् । मान्छेका सोचाइ र काम गराइमा देखिने विषमतालाई ‘मनोमिटर’ निबन्धमा व्यक्त गरिएको छ । घुसमा रमाउने कर्मचारी, चेलीवेटी बेचविखनमा लागेका अपराधी तथा चिटका भरमा परीक्षा उत्तीर्ण गर्न खोज्ने विद्यार्थीका विकृतिमय व्यवहारलाई समेत यसमा प्रस्तुत गरिएको छ ।

ग) साञ्चारिक विसङ्गति : मादक पदार्थको विज्ञापनलाई खुल्ला रूपमा प्रस्तुत गर्ने, रक्सीकाे उन्माद भिजुअललाई प्रसारण गर्ने सरकारी रेडियो र टीभी का विसङ्गतिलाई ‘जाँडभिजन’ मा छर्लङ्ग पारिएको छ । सञ्चार क्षेत्रबाट भएका यस्ता कमजोरी र वेवास्ताका कारण नेपाली समाजको गिर्दो छविलाई पनि उनले यहाँ विषय बनाएका छन् । यसरी नै चाकडीका भरमा मिडिया क्षेत्र प्रयोग गरी प्रख्यात बन्न खोज्ने तर विवेकमा ह्रासताको अैंजेरू पलाउँदै गएका मानिसका साञ्चारिक भ्रष्ट आकर्षणलाई ‘भेडिम्यान’ रचनामा मुक्का हानिएको छ । अर्कातिर भेडा चरित्रका व्यक्तिलाई रुपियाँका भरमा चाकडी गर्ने मानिसका कारण सञ्चार क्षेत्रमा मौलाउँदै गएको विकृतिलाई पनि उनले यहाँ प्रहार गरेका छन् ।

घ) आर्थिक विसङ्गति : ‘जुत्ता दर्शन’ निबन्धमा लुइँटेलले पद, मान र धनको आडम्बरले बलियो बन्दै गएका व्यक्तिले समाजका निर्धालाई तथा उनीहरूका विचारलाई हेप्ने एवम् लत्याउने शोषण प्रत्तिको विरोध गरेका छन् सर्वसाधारणका कमाइमा रजाई गर्ने सामन्ती र युगानुकूल परिवर्तनलाई स्वीकार गर्न नसक्ने बौद्धिक भनौदाहरूलाई पनि यहाँ झ्याइँकुटी खेलाइएको छ । आफ्नो विवेकको ख्यालै नगरी आर्थिक प्रलोभनमा अस्तित्व बच्न लागिपर्ने मानिस एवम् राजनीतिमा आफूलाई बेचेर पैसा कमाउन थालेका नेतालाई बोकाको संज्ञा दिँदै उनीहरूका आर्थिक प्रलोभनलाई ‘बोका बिक्रीमा छ’ निबन्धले उछितो काडेको छ । यसमा आजका मान्छेमा देखा परेको आर्थिक लाेलुपता र उनीहरूका अर्थमुखी विसङ्गत क्रियाकलापलाई सुधारात्मक प्रहार गरिएको छ।

ङ) सामाजिक विसङ्गति : मान्छेको विवेकलाई थिचेर नकारात्मक र भ्रमपूर्ण करालाई सही सावित गर्न वाध्य गराउने समाजका कलङ्कित आचरणप्रति ‘चस्मा चमत्कार’ निबन्धमा तीव्र प्रहार गरिएको छ । शक्ति सम्पन्न राष्ट्रको हाली मुहालीका कारण देखासिकीमा रमाएर नेपाली समाजको अधोगति भइरहेको अवस्थालाई यहाँ व्यक्त गरिएको छ । यसमा सक्कली आँखाले समाजको परिस्थितिलाई ग्रहण गर्नु पर्ने सन्देश पनि प्रवाहित भएको छ ।

च) प्रशासनिक विसङ्गति  : ‘वन्दुकाय नमः’ निबन्धमा लुइँटेलले बन्दुकका भरमा शान्ति स्थापना गर्न चाहने उच्च प्रशासनिक सयन्त्रलाई छेडपेच गरेका छन् । उनले यहाँ मुलुकको प्रशासन बन्दुकका भरमा टिकेको छ भन्दै ठूलाठूला आन्दोलन दबाउन र सफल पार्न तथा सर्वसाधारणको सर्वनाश गर्न प्रशासनिक क्षेत्रबाट बन्दुककै सहायता लिने कार्यको विरोध गरेका छन् । देशमा प्रशासन सुरक्षा प्रदान गर्न भन्दा पनि आफै हतियारका आडमा टिकेको प्रशासनिक क्षेत्रको तिक्त यथार्थलाई समेत यस रचनामा अभिव्यक्त गरिएको छ ।

यसरी विषयगत वैविध्यका विसङ्गतिलाई पारदर्शी रूपमा प्रकट गरिएका यस सङ्ग्रहका हास्यव्यङ्ग्यात्मक निबन्धहरू प्रभावपूर्ण र चोटिला छन् । विकृतिको उ‌द्घाटीकरण र बेमेलको संस्थापन मात्र नभएर लुइँटेलले यस सङ्ग्रहमा ततद् क्षेत्रका जिम्मेवार पक्षलाई सुधारका निम्ति आग्रह समेत गरेका छन् । उनले हरेक क्षेत्रका बाङ्गा गतिविधिमा मान्छेको संलग्नतालाई – मुख्य रूपमा स्विकार्दै प्रथमतः मान्छेमा र उसका गतिविधिमा सुधार आउनु पर्ने तर्क प्रस्तुत गरेका छन् । तसर्थ सुधारात्मक सन्देशका दृष्टिल उनका निबन्धहरू उद्देश्यमूलक र प्रभावयुक्त रहेका छन् ।

१.३.३ हास्यव्यङ्ग्यात्मक प्रयोग

हास्यव्यङ्ग्य यथार्थमा प्रस्तुतिको एक शैली हो । शैलीकै रूपमा पनि रचनामा यसको प्रयोग पक्षलाई खोज्न सकिन्छ । यस दृष्टिले चम्चा चिन्तन सङ्ग्रहमा  विषयको प्रस्तुत्तिमा व्यङ्ग्यलाई बढी प्राथमिकता दिएको देखिन्छ । साक्ष्यका तुलनामा व्यङ्ग्य बढी प्रभावकारी भएर आउनुले पनि यसको पुष्टि सङ्ग्रहमा हुन्छ । हाँसो पनि यस सङ्ग्रहका रचनामा प्रयोग भएकै पाइन्छ । मूलतः यहाँ स्मित हास्यलाई पाउन सकिन्छ । ‘छेपारो रङ-१’ मा मान्छे र छेपाराको तुलना ‘राजीनामाको उत्पात’ मा भाँडभैलो राजनीतिको वर्णन, ‘चस्मा चमत्कार’ मा चस्मा प्रयोगबाट देखिने ससारको वर्णन तथा ‘वार्ता प्रकरण’ मा पाठकलाई वार्ताको परिणाम उल्लेख गर्ने सन्दर्भमा हाँसो प्रकटित हुन्छ । यस्तो स्थिति अन्यत्र पनि देखा पर्छ । विषयको सारगर्भित उठान र वर्णनमा ध्यान केन्द्रित रहे पनि लुइँटेल हाँसोको जलप लगाएर आफ्ना तिखा अभिव्यक्तिलाई कमलो पारामा व्यक्त गर्दछन् ।

१.३.४ भाषाशैलीय विन्यास
चिम्चा चिन्तनमा प्रयुक्त भाषा सरल र स्वाभाविक प्रकारको पाइन्छ । यसमा प्रायः तीनै स्रोतका शब्दको प्रयोग रहेको देखिन्छ । तुलनात्मक रूपमा तत्सम र तद्भव शब्दहरूको प्रयोग बढी पाइए पनि त्यो भद्दा नभई सुहाउँदिलो र विषयवस्तु अनुसार मिल्दो देखा पर्छ । यसमा रहेका वाक्यहरू पनि अधिकाशतः सरल छन् । “आँखाले म भूगोललाई भद्रगोल देख्छु, नक्खुलाई वक्खु देख्छु” । (पृ. ४०) जस्ता शब्दानुप्रासको प्रयोगले शैलीगत माधुर्य बढेको पाइन्छ । यसैगरी व्याजस्तुति वाक्य “घोडा चढ्ने मनुवा लड्न सक्छ तर छेपाराको रड र सोही अनुरूपको ढङ्गसँगै चल्ने मान्छे कहिल्यै लड्नु पर्दैन ।” (पृ. ७), रूपकात्मक वाक्य “राजनीतिमा होस्र या व्युरोक्रेसीमा, दुवै जातका छेपाराहरू मुलुकलाई खलो बनाएर र प्रजातन्त्रलाई मियो बनाएर मस्तसँग दाईं गरिरहेका छन्” जस्ता वाक्यहरूले शैलीमा अझ रोचकता थपेका छन् । उपमामूलक, तुलनात्मक तथा तार्किक वाक्यहरू पनि ठाउँठाउँमा पाइने यस सङ्ग्रहका निबन्धहरू भापाशैलीगत आधारमा पनि वौद्धिक बनेका छन् ।

१.४ निष्कर्ष

वि.सं. २०३५ देखि हास्यव्यङ्ग्य लेखनमा लागेका नरनाथ लुइँटेलका हास्यव्यङ्ग्यात्मक रचनाहरू २०४५ सालपछि प्रकाशित भएका देखिन्छन । उनको हास्यव्यङ्ग्य लेखन वर्तमानसम्म निरन्तर रूपमा चलिरहेको छ। उनले हालसम्म छेपन, सिङ न पुच्छर, चम्चाचिन्तन र बाँदरका हातमा नरिवल गरी चार वटा हास्यव्यङ्ग्य सङ्ग्रहहरू प्रकाशित गरिसकेका छन् । चम्चाचिन्तन उनकाे तेस्रो चरणमा प्रकाशित हास्यव्यङ्ग्य सङ्ग्रह हो । १८ वटा निबन्धहरू संकलित यस सङ्ग्रहमा विषयवस्तुका समकालीनतालाई प्रस्तुत गर्दै सूक्ष्म र बौद्धिक तरिकाले विकृतिप्रति प्रहार गरिएको छ ।

विविध विसङ्गतिको प्रस्तुति पाइने यी निबन्धहरूमा विसङ्गतिको मूल कारक मान्छे र उसका दुस्प्रवृत्तिलाई मानिएको छ । यौद्धिक र तार्किक हास्य व्यङ्ग्यका स्रष्टा लुइँटेलले यहाँ  भाषाशैलीमा पनि बलियो पकड लिएका छन् । मिठो र प्रभावकारी भाषाको प्रयोग पाइने उनका निबन्धहरूमा पाठकप्रति सम्वोधनका साथै व्यङ्ग्यका तुलनामा  हास्यकाे  कम प्रयोग पाइन्छ । नेपाली हास्यव्यङ्ग्य इतिहासको २०४६ सालपछिको समयमा लुइँटेलको योगदान सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा उल्लेखनीय रहेको देखिन्छ ।

सदर्भग्रन्थ सूची
घिमिरे, कुलप्रसाद, “हास्य व्यङ्ग्यकार नरनाथ लुइँटेल : जीवनी, व्यक्तित्व र कृतित्व” अप्रकाशित स्नातकोत्तर शोधपत्र, रत्नराज्य लक्ष्मी क्याम्पस, २०६६ ।
दहाल, भीम, “नरनाथ लुइँटेलको हास्य व्यङ्ग्यकारिता” अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर, २०६७ ।
दुवाल, मोहन (प्र.सं.) “जनमत” (वर्ष २८, अङ्क १, २०६७, माघ, पृ. २५-६२ ।
लुइँटेल, नरनाथ, चम्चाचिन्तन, काठमाडौ जुँगा प्रकाशन, २०५५ ।
लुइँटेल, नरनाथ,  नेपाली हास्यव्यङ्ग्य, काठमाडौं : सिस्नुपानी नेपाल, २०५८ ।
सुवेदी, राजेन्द्र, स्रष्टा  सृष्टि: द्रष्टा दृष्टि, ते.सं., ललितपुर : साझा प्रकाशन, २०५८ ।

०००

सतासी -७, झापा
सुसेली अङ्क ११, झापा (२०७१)  

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x