चिरञ्जीवी दाहालकोइलीको होइन कौवाको पूजा हुन्छ
हेर्दै जाउ, जब देशमा जब कुनैदिन पार्टी पद्धति सुरु हुन्छ सरकारमा, टोल गाउँ र शहर जताततै, कटु र कर्कस स्वरवालाहरूको बोलबाला हुन्छ । नेतृत्व तहमा त्यस्तै व्यक्तिहरू पुग्छन् ।

चिरञ्जीवी दाहाल :
मेरो बोली जिन्दगीभरि सुमधुर बन्न सकेन । कसैले श्राप दिएर हो अथवा कसैले वरदान दिएर हो, यो भने आजसम्म पनि बुझ्न सकिन । मैले बोली सुधार्न पटक पटक प्रयत्न गरिहेरेँ तर आजसम्म पनि सफलता हात पार्न सकेको छैन ।
मान्छेहरू भन्छन् “रुखो र कटु बोलीले दिएको चोट, बाण प्रहार गरेर दिएको चोटभन्दा घातक र खतरनाक हुन्छ । बरु गोली लागेको चोट छिट्टै निको होला तर वचन बाँडले बनाएको घाउ जीवनभरी निको हुँदैन ।” यसबाट म अनभिज्ञ छु भनिहाल्न मिल्दैन किनकि यो कुरो मैले पनि धेरै पहिलेदेखि सुन्दै आएको हो । तर पनि जति प्रयास गरे पनि मेरो बोली फिटिक्कै सुध्रिएन । मेरो वचनले घाइते भएका मान्छेहरूको संख्या हरेक दिन बढ्ने क्रम जारी छ ।
खै के बानी बस्यो बस्यो ! कसैलाई मौसम र परिस्थिति मिल्दो उखान टुक्काले ढालेको छु । कसैलाई तल्लोस्तरको व्यङ्ग्य प्रहार गरेर सुन जसरी गालेको छु । कसैलाई बोलीकै भरमा कान्लाबाट तल्लो गह्रामा झारेको छु । मलाई यसैमा आनन्द आउँछ, दुर्व्यसनीले नसा लिँदा जस्तो आनन्द । यसरी अर्कालाई खसालेर बोल्दा मलाई त्यस्तै आनन्द आउँछ । कसैलाई वचन बाँडको तीर हान्ने काम कम्ति मजाको हुँदैन ।
मान्छेको असलियत उसले बोल्ने शब्दबाट थाहा हुन्छ भन्छन् । त्यसैले मलाई लाग्छ मेरो वास्तविक असलियत धेरैलाई थाहा भइसकेको हुनुपर्छ । म जस्तै स्वभावका मान्छेहरू कम भने छैनन्, यस्तो स्वभावका मान्छेहरू अचेल छ्यासछ्यास्ती देख्न पाइन्छ । मानौण यो युग भनेकै एकले अर्कोलाई वचन बाँडले तीर हान्ने युग हो ।
आखिर म कहिले र कहाँनिर चुकेँ ? मैले कहिलेदेखि रुखो र वचन बाँड सहितको बोली बोल्न थालेँ म सोच्दैछु । जहाँसम्म सम्झना छ, उहिले मेरो एकजना मामा पर्ने आफन्त थिए, निकै विद्वान् र सात गाउँ परसम्म नाम चलेका । यिनको बोली यति कटु थियो कि सामान्य मुटु भएको मान्छे तिनका वरिपरि पर्न पनि डराउँथे । उनले सामुन्ने परेको मान्छेलाई अवस्था बुझेर एकथोक न एकथोक भनि हाल्थे । उनको गाउँमा चलेको ख्यातिका कारण उनले जे भने पनि जसरी भने पनि मान्छेहरू प्रतिउत्तर दिन सक्दैन थिए । उनले भनेपछि खेल खत्तम ! उनको रुखो र कटु वचनका कारण उनका सामु पर्न सबै डराए पनि म भने उनीसँग रत्तिभर डराउँदिन थिएँ । फेरि गफ दियो भन्नु होला ! यसको पनि एउटा गजबको कारण छ ।
उनलाई घण्टा घण्टामा हुक्का नारेर तमाखु तान्नु पर्थ्यो । जब उनी हाम्रा घरमा आइपुग्थे उनको तमाखु तान्ने काममा मैले सम्पूर्ण व्यवस्था मिलाउने गरेको थिएँ । उनलाई तमाखु जुटाउने र उनको हुक्काको लागि चिलिममा आगो भर्ने काम मेरो नै हुन्थ्यो । त्यसैले उनीसँग म निकै नजिक बनेको थिएँ ।
एकदिन प्रसङ्गवस मैले उनलाइ प्रश्न राखेँ “होइन हो मामा तपाइँ किन त्यति विघ्न रुखो र कटु वचन बोल्नु हुन्छ हँ ? मान्छेलाई वचन बाँड हान्दा उसलाई मर्का पर्छ भन्ने पनि ख्याल गर्नु हुन्न हगी ! मान्छेहरूले सामुन्ने पो भन्न सक्दैनन् त ! तर तपाइँको पछाडि त यस्तो बोल्ने शैलीका विषयमा व्यापक गुनासो पो गर्ने गरेका छन् ! ”
“धेरै नबोल जैरे, नाथे गुनासोसँग को डराउँछ ? मैले मर्का पार्नकै लागि त्यसरी भन्ने गरेको हुँ । जान्ने र बुझ्ने हो भने सबै मान्छेले सुमधुर वचन बोल्ने नै होइन । मधुर वचन बोल्ने मान्छे त तिमीहरू जस्ता कमजोर र हुतिहाराहरूले हो बुझ्यौ ! बहादुर र हिम्मतवाला मान्छेले यसरी बोल्नुपर्छ कि, कमसेकम एउटा मात्र वाक्य प्रहार गर्दा पनि ऊ ठहरै ढलोस् न ! जसरी मैले बोल्ने गरेको छु । तिमी पाजीहरूले यस्ता कुरा सजिलै बुझ्दैनौ, ध्यान दिएर सुन । म तिमीलाइ सजिलै बुझिने एउटा उदाहरण दिन्छु ।
चराहरूमा सबैभन्दा सुमधुर स्वर भएको चरो कुन हो ? “मैले एकैछिन सोचेर उत्तर दिएँ “कोइली चरो ।” हो त्यति त जानेको रहेछौ । संसारमा कसैले कोइली चराको पूजा गरेको थाहा पाएको छौ ?” मैले छैन भन्दै मुन्टो हल्लाएँ ।
“उसोभए सबैभन्दा नमिठो र कर्कस स्वर भएको चरो कुन हो ?” मैले कौवाको नाम लिएँ । “कौवाको पूजा गरेको त थाहा होला नि ? उनै मामाले मेरो अनुहार तिर हेर्दै भने “थाहा पाएको मात्र होइन, यमपञ्चकको काग तिहारका दिन मैले पनि कागको पूजा गरेको छु मामा ! मैले भने ।
“तिहारमा मात्र होइन, सोह्र श्राद्धको समयमा कौवालाई पितृको रुप मानेर त्यसलाई डाकी डाकी मिठो मसिनो खुवाउने चलन छ । अझै आँगनका डिलमा बसेर कौवा करायो भने घरमा अतिथिको आगमन हुने भयो भन्दै अतिथि बोलाइदिएकोमा कौवालाई धन्यवाद समेत दिने प्रचलन छ । मिठो र सुमधुर स्वर भएर पनि के नाप्न सक्यो, त्यो छुसी कोइलीले ? कस्ले सम्मान दियो त्यसलाई !”
हेर बाबु, रुखो र कटु बोली भएको कौवालाई मिठो मसिनो ख्वाउँदा र पूजा गर्दा मिठो र सुमधुर आवाजमा गुनगुनाउने कोइली चरोलाई कसैले सम्झन्छन् ? पूजा गर्ने त कुरै छोड्देउ !”
ती आफन्ती मामाको कुराले म तीन छक्क परेँ । वास्तवमा मामाको कुरो सोह्रै आना ठिक थियो । उनले थप पुष्ट्याइँ दिँदै भने “मान्छेले सुमधुर बोली भएको कोइलीलाई पुजा गर्न त परै जाओस् वास्तासम्म पनि गर्दैनन् । त्यसै गरि मलाई हेर, मेरो यही रुखो र कटु स्वरका कारण दुनियाले मलाई मान्ने गरेको छ । मेरो आदर सत्कार गर्ने गरेको छ । मेरो छायाँ देखे पनि मान्छेहरू तर्सने गरेका छन् । एक किसिमले भन्ने हो भने यो मलाई गरिएको यो पूजा होइन ?
तिमी मिठो र मधुर बोल्छौ, तिमीलाई कसैले टेरपुच्छर लगाउँछ ? यहाँ जसले रुखो र कटु बोल्न सक्छ । त्यसैको फलिफाप हुन्छ, त्यसैले इज्जत पाउँछ, उसैसँग मान्छेहरू डराउँछन् । हेर्दै जाउ, जब देशमा जब कुनैदिन पार्टी पद्धति सुरु हुन्छ सरकारमा, टोल गाउँ र शहर जताततै, कटु र कर्कस स्वरवालाहरूको बोलबाला हुन्छ । नेतृत्व तहमा त्यस्तै व्यक्तिहरू पुग्छन् । धुमधामले तिनकै पूजा हुन थाल्छ । यिनले कसैलाई पनि टेर्नु पर्दैन । नियम कानुन यिनलाई होइन, मधुर बोल्ने र लुतेलाङ्रेहरूलाइ मात्र लाग्छ ।
मामाले उहिले भनेका कुरा म अचेल बल्ल बुझ्दै छु । ती मामा भविष्यद्रष्टा रहेछन् । उनले भनेका सबै कुरा हुबहु मिलेपछि म आश्चर्यचकित भएको छु । मामाले भने जस्तै अचेल म जता हेर्छु त्यस्तै दृश्य देख्न थालेको छु । जब ती मामाले यस कुराको रहस्य बताए सायद त्यसै दिनदेखि मैले पनि आफ्नो बोलीमा व्यापक परिवर्तन गरेको थिएँ । मैले उनको जस्तै रुखो र कटु बोलीको शैली टपक्कै टिपेँ । तर दुखको कुरा, उनको जस्तै मान मनितोको त कुरै छोडौं कतिले त मलाई मेरो बोलीकै कारण मान्छे स्वीकार गर्न पनि गाह्रो मान्छन् ।
सायद उच्च ओहोदामा र ठूलो पदमा नपुगि रुखो र कटु बोली बोल्ने मान्छे अलोकप्रिय हुन्छ र उसको पतन सुरु हुन्छ । मलाई लाग्छ, यसरी रुखो र कटु वचन बोल्ने भनेको उच्च पदमा पुगेपछि मात्र रहेछ । धन कमाएपछि रहेछ । अरु कटु वचन बोल्नेले कस्तो सम्झन्छन् खै कुन्नि !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































