साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोइलीको होइन कौवाको पूजा हुन्छ

हेर्दै जाउ, जब देशमा जब कुनैदिन पार्टी पद्धति सुरु हुन्छ सरकारमा, टोल गाउँ र शहर जताततै, कटु र कर्कस स्वरवालाहरूको बोलबाला हुन्छ । नेतृत्व तहमा त्यस्तै व्यक्तिहरू पुग्छन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

मेरो बोली जिन्दगीभरि सुमधुर बन्न सकेन । कसैले श्राप दिएर हो अथवा कसैले वरदान दिएर हो, यो भने आजसम्म पनि बुझ्न सकिन । मैले बोली सुधार्न पटक पटक प्रयत्न गरिहेरेँ तर आजसम्म पनि सफलता हात पार्न सकेको छैन ।

मान्छेहरू भन्छन् “रुखो र कटु बोलीले दिएको चोट, बाण प्रहार गरेर दिएको चोटभन्दा घातक र खतरनाक हुन्छ । बरु गोली लागेको चोट छिट्टै निको होला तर वचन बाँडले बनाएको घाउ जीवनभरी निको हुँदैन ।” यसबाट म अनभिज्ञ छु भनिहाल्न मिल्दैन किनकि यो कुरो मैले पनि धेरै पहिलेदेखि सुन्दै आएको हो । तर पनि जति प्रयास गरे पनि मेरो बोली फिटिक्कै सुध्रिएन । मेरो वचनले घाइते भएका मान्छेहरूको संख्या हरेक दिन बढ्ने क्रम जारी छ ।

खै के बानी बस्यो बस्यो ! कसैलाई मौसम र परिस्थिति मिल्दो उखान टुक्काले ढालेको छु । कसैलाई तल्लोस्तरको व्यङ्ग्य प्रहार गरेर सुन जसरी गालेको छु । कसैलाई बोलीकै भरमा कान्लाबाट तल्लो गह्रामा झारेको छु । मलाई यसैमा आनन्द आउँछ, दुर्व्यसनीले नसा लिँदा जस्तो आनन्द । यसरी अर्कालाई खसालेर बोल्दा मलाई त्यस्तै आनन्द आउँछ । कसैलाई वचन बाँडको तीर हान्ने काम कम्ति मजाको हुँदैन ।

मान्छेको असलियत उसले बोल्ने शब्दबाट थाहा हुन्छ भन्छन् । त्यसैले मलाई लाग्छ मेरो वास्तविक असलियत धेरैलाई थाहा भइसकेको हुनुपर्छ । म जस्तै स्वभावका मान्छेहरू कम भने छैनन्, यस्तो स्वभावका मान्छेहरू अचेल छ्यासछ्यास्ती देख्न पाइन्छ । मानौण यो युग भनेकै एकले अर्कोलाई वचन बाँडले तीर हान्ने युग हो ।

आखिर म कहिले र कहाँनिर चुकेँ ? मैले कहिलेदेखि रुखो र वचन बाँड सहितको बोली बोल्न थालेँ म सोच्दैछु । जहाँसम्म सम्झना छ, उहिले मेरो एकजना मामा पर्ने आफन्त थिए, निकै विद्वान् र सात गाउँ परसम्म नाम चलेका । यिनको बोली यति कटु थियो कि सामान्य मुटु भएको मान्छे तिनका वरिपरि पर्न पनि डराउँथे । उनले सामुन्ने परेको मान्छेलाई अवस्था बुझेर एकथोक न एकथोक भनि हाल्थे । उनको गाउँमा चलेको ख्यातिका कारण उनले जे भने पनि जसरी भने पनि मान्छेहरू प्रतिउत्तर दिन सक्दैन थिए । उनले भनेपछि खेल खत्तम ! उनको रुखो र कटु वचनका कारण उनका सामु पर्न सबै डराए पनि म भने उनीसँग रत्तिभर डराउँदिन थिएँ । फेरि गफ दियो भन्नु होला ! यसको पनि एउटा गजबको कारण छ ।

उनलाई घण्टा घण्टामा हुक्का नारेर तमाखु तान्नु पर्थ्यो । जब उनी हाम्रा घरमा आइपुग्थे उनको तमाखु तान्ने काममा मैले सम्पूर्ण व्यवस्था मिलाउने गरेको थिएँ । उनलाई तमाखु जुटाउने र उनको हुक्काको लागि चिलिममा आगो भर्ने काम मेरो नै हुन्थ्यो । त्यसैले उनीसँग म निकै नजिक बनेको थिएँ ।

एकदिन प्रसङ्गवस मैले उनलाइ प्रश्न राखेँ “होइन हो मामा तपाइँ किन त्यति विघ्न रुखो र कटु वचन बोल्नु हुन्छ हँ ? मान्छेलाई वचन बाँड हान्दा उसलाई मर्का पर्छ भन्ने पनि ख्याल गर्नु हुन्न हगी ! मान्छेहरूले सामुन्ने पो भन्न सक्दैनन् त ! तर तपाइँको पछाडि त यस्तो बोल्ने शैलीका विषयमा व्यापक गुनासो पो गर्ने गरेका छन् ! ”
“धेरै नबोल जैरे, नाथे गुनासोसँग को डराउँछ ? मैले मर्का पार्नकै लागि त्यसरी भन्ने गरेको हुँ । जान्ने र बुझ्ने हो भने सबै मान्छेले सुमधुर वचन बोल्ने नै होइन । मधुर वचन बोल्ने मान्छे त तिमीहरू जस्ता कमजोर र हुतिहाराहरूले हो बुझ्यौ ! बहादुर र हिम्मतवाला मान्छेले यसरी बोल्नुपर्छ कि, कमसेकम एउटा मात्र वाक्य प्रहार गर्दा पनि ऊ ठहरै ढलोस् न ! जसरी मैले बोल्ने गरेको छु । तिमी पाजीहरूले यस्ता कुरा सजिलै बुझ्दैनौ, ध्यान दिएर सुन । म तिमीलाइ सजिलै बुझिने एउटा उदाहरण दिन्छु ।

चराहरूमा सबैभन्दा सुमधुर स्वर भएको चरो कुन हो ? “मैले एकैछिन सोचेर उत्तर दिएँ “कोइली चरो ।” हो त्यति त जानेको रहेछौ । संसारमा कसैले कोइली चराको पूजा गरेको थाहा पाएको छौ ?” मैले छैन भन्दै मुन्टो हल्लाएँ ।
“उसोभए सबैभन्दा नमिठो र कर्कस स्वर भएको चरो कुन हो ?” मैले कौवाको नाम लिएँ । “कौवाको पूजा गरेको त थाहा होला नि ? उनै मामाले मेरो अनुहार तिर हेर्दै भने “थाहा पाएको मात्र होइन, यमपञ्चकको काग तिहारका दिन मैले पनि कागको पूजा गरेको छु मामा ! मैले भने ।

“तिहारमा मात्र होइन, सोह्र श्राद्धको समयमा कौवालाई पितृको रुप मानेर त्यसलाई डाकी डाकी मिठो मसिनो खुवाउने चलन छ । अझै आँगनका डिलमा बसेर कौवा करायो भने घरमा अतिथिको आगमन हुने भयो भन्दै अतिथि बोलाइदिएकोमा कौवालाई धन्यवाद समेत दिने प्रचलन छ । मिठो र सुमधुर स्वर भएर पनि के नाप्न सक्यो, त्यो छुसी कोइलीले ? कस्ले सम्मान दियो त्यसलाई !”

हेर बाबु, रुखो र कटु बोली भएको कौवालाई मिठो मसिनो ख्वाउँदा र पूजा गर्दा मिठो र सुमधुर आवाजमा गुनगुनाउने कोइली चरोलाई कसैले सम्झन्छन् ? पूजा गर्ने त कुरै छोड्देउ !”

ती आफन्ती मामाको कुराले म तीन छक्क परेँ । वास्तवमा मामाको कुरो सोह्रै आना ठिक थियो । उनले थप पुष्ट्याइँ दिँदै भने “मान्छेले सुमधुर बोली भएको कोइलीलाई पुजा गर्न त परै जाओस् वास्तासम्म पनि गर्दैनन् । त्यसै गरि मलाई हेर, मेरो यही रुखो र कटु स्वरका कारण दुनियाले मलाई मान्ने गरेको छ । मेरो आदर सत्कार गर्ने गरेको छ । मेरो छायाँ देखे पनि मान्छेहरू तर्सने गरेका छन् । एक किसिमले भन्ने हो भने यो मलाई गरिएको यो पूजा होइन ?

तिमी मिठो र मधुर बोल्छौ, तिमीलाई कसैले टेरपुच्छर लगाउँछ ? यहाँ जसले रुखो र कटु बोल्न सक्छ । त्यसैको फलिफाप हुन्छ, त्यसैले इज्जत पाउँछ, उसैसँग मान्छेहरू डराउँछन् । हेर्दै जाउ, जब देशमा जब कुनैदिन पार्टी पद्धति सुरु हुन्छ सरकारमा, टोल गाउँ र शहर जताततै, कटु र कर्कस स्वरवालाहरूको बोलबाला हुन्छ । नेतृत्व तहमा त्यस्तै व्यक्तिहरू पुग्छन् । धुमधामले तिनकै पूजा हुन थाल्छ । यिनले कसैलाई पनि टेर्नु पर्दैन । नियम कानुन यिनलाई होइन, मधुर बोल्ने र लुतेलाङ्रेहरूलाइ मात्र लाग्छ ।

मामाले उहिले भनेका कुरा म अचेल बल्ल बुझ्दै छु । ती मामा भविष्यद्रष्टा रहेछन् । उनले भनेका सबै कुरा हुबहु मिलेपछि म आश्चर्यचकित भएको छु । मामाले भने जस्तै अचेल म जता हेर्छु त्यस्तै दृश्य देख्न थालेको छु । जब ती मामाले यस कुराको रहस्य बताए सायद त्यसै दिनदेखि मैले पनि आफ्नो बोलीमा व्यापक परिवर्तन गरेको थिएँ । मैले उनको जस्तै रुखो र कटु बोलीको शैली टपक्कै टिपेँ । तर दुखको कुरा, उनको जस्तै मान मनितोको त कुरै छोडौं कतिले त मलाई मेरो बोलीकै कारण मान्छे स्वीकार गर्न पनि गाह्रो मान्छन् ।

सायद उच्च ओहोदामा र ठूलो पदमा नपुगि रुखो र कटु बोली बोल्ने मान्छे अलोकप्रिय हुन्छ र उसको पतन सुरु हुन्छ । मलाई लाग्छ, यसरी रुखो र कटु वचन बोल्ने भनेको उच्च पदमा पुगेपछि मात्र रहेछ । धन कमाएपछि रहेछ । अरु कटु वचन बोल्नेले कस्तो सम्झन्छन् खै कुन्नि !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x