रमेश समर्थनचार ठोकान
उबडखाबड मात्र हो कि मैदान पनि हो ? समस्या मात्र हो कि समाधान पनि हो ? थाहा हुनेले भनिदिनुहोला जिन्दगीको अर्थ अवतरण मात्र हो कि यो उडान पनि हो ?

रमेश समर्थन :
१.
समयले समयको समीक्षा गर्दै छ
जीवनले जीवनको प्रतीक्षा गर्दै छ
नतिजा जस्तो पनि आउन सक्छ
भोगाइले भोगाइको परीक्षा गर्दै छ ।
२.
आराम हराम हो भन्छन्, जीवनमा कतै आराम हुँदैन
बगिरहनु जीवनगति हो, जीवनमा कतै विश्राम हुँदैन
समस्यासित नजुधेसम्म साथ कहाँ दिन्छ र अवसरले
कृष्णाको तटमा छ भन्दैमा हरेक शिला शालग्राम हुँँदैन ।
३.
उनका अाँखाबाट सरेको मात्र हो, झरेको होइन
समयले समयलाई हेरेको मात्र हो, हरेको होइन
मसित टाढिने साथीलाई सुनाइदे न ए वनचरी
समर्थन बिरामी परेको मात्रै हो मरेको होइन ।
४.
उबडखाबड मात्र हो कि मैदान पनि हो ?
समस्या मात्र हो कि समाधान पनि हो ?
थाहा हुनेले भनिदिनुहोला जिन्दगीको अर्थ
अवतरण मात्र हो कि यो उडान पनि हो ?
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest







































